म भर्खरै समय
पालुवामा खेल्दै हुर्किदै थिएँ
बुद्धि
हरियो र काँचो
मेरा धानका बालाहरूमा
लहराउदै थियो ।
परिस्थितिहरू
भत्किन लागेका पुलहरू
ममाथि तर्दै थिए ।
चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !
कत्ति छन् कत्ति
मैले उजुरी गर्नुपर्ने कुराहरू
आकासबाट उल्का झरेर गएको निहुमा
म कसरी पत्रकार सम्मेलन डाक्नु ?
टोक्न त मलाई
मच्छडले नै टोकेको हो नि !
तर कसरी अदालत जाउँ ?
राती आकास तर्फ नफर्किनू
उल्का खस्छ !
साँझपख बाहिर घुम्न नजानू
मच्छडले टोक्छ !
कति कम्जोर छन्
यी अर्तिहरू !
भेलको अगाडि
बालुवाको बाँध जस्तो ।
कसले भन्न सक्छ
यो चोकको धुलोले
मेरो चौबन्दी मैलो बनाएन भनेर ?
कसले भन्न सक्छ
यहाँ पर्ने दर्के झरीले
मेरो छाता समेत छेंडेर
मलाई चुटेन भनेर ?
म आँसु चुपचाप चुपचाप बगेको छु ।
म सुनसान सुनसान बादल गर्जेको छु ।
फगत्
चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !
कत्ति उल्काहरू झरे
देउसी—भैलीको रातमा
कत्ति दर्के झरी झर्यो
प्रतिभा—साँझमा
आँखाहरू लुक्दारहेछन्
धुलाका माझमा
आँखाहरू सुतिजाँदा रहेछन्
मध्यरातमा ।
फगत्
चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !
उम्लिरहेको तेलबाट
झीरले उनेर निकालें
तिम्रो तस्वीर पो होला भन्ठानें
तर सेलरोटी पो रहेछ
के गर्नु ?
तिहार हो
माइतीहरू आएका छन्
हाँसेर, मिलेर खानै पर्यो ।
म कत्ति कत्ति विलेर
मैनबत्ती पग्लिन्छु ।
म सलेदो जलेर
दीयो बलिरहन्छु ।
फगत्
चोरहरू जस्ता घटना
पित्त जस्तै सत्यता
लुगाले छोपे जस्ता लाजहरू !
तिम्रो तिर्खामा पानी
तिम्रो खुट्टा पखाल्न पानी
तिम्रो जिउ तात्तिदा
पौडी खेल्न त्यै पानी
पख !
चैत–बैशाखको घाम आवोस्
तिमी फेरी पौडी खेल्नलाई
हामफाल्ने बेला
म भक्भकी उम्लिएको पोखरी भइ
तिम्रै प्रतिक्षामा रहनेछु
आऊ … !
