अनार दाना दाँतका लहर खोलेर हाँस न
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन ।
प्रसिद्ध खण्डकाव्य मुनामदनको मार्मिक पङ्क्ति हो यो । वैदेशिक रोजगारीका लागि मदन धन कमाउन ल्हासा जाँदा आफ्नी प्रेयसी मुनालाई सान्त्वना दिन र हाँसोपूर्ण बिदाइको आग्रह यसमा गरिएको छ । अहिले मात्र होइन करिव ७५ वर्ष अगाडि मुनामदनको रचनाकालमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान्थे भन्ने दह्रो साहित्यिक प्रमाण पनि हो यो । ‘हातका मैला सुनका थैला के गर्नु धनले ? साग र सिस्नो खाएको बेस आनन्दी मनले’ भन्ने देवकोटाको जीवन धेरै कष्टपूर्ण र अभावै अभावमा बितेको थियो । दैनिक दाल-भात र डुकुका लागि अहोरात्र ट्युसनमा खट्ने देवकोटाको दिनचर्या १८ घण्टासम्म हुन्थ्यो भन्ने चर्चा सुनिएको छ । तलब पाएको दिन उनी अघाउँजी पेट भर्थे रे, कसैले माग्यो भने आफूले लगाएको कोट फुकालेर दिन पनि उनी पछि पर्दैनथे भन्ने भनाइले उनमा मानवता र उपकारी भावना कस्तो थियो भन्ने बुझिन्छ । यात्री कवितामा उनले मानवता र ईश्वरसत्ताको राम्ररी वकालत गर्दै तीर्थयात्रा गर्न जानेहरूलाई जाऊ समाऊ आर्तहरूको पाउ, मलहम लगाऊ चहर्याइरहेको घाउ भनी आग्रह गरेका छन् । धेरै टाढा, अर्काको पिठ्युँमा बोकिएर कुन मन्दिरमा जान्छौ यात्री भन्दै गरिब, दीनहीन र असहायको सेवा गर्न प्रेरित गरिएको कवितामा माटो र ढुङ्गाले बनेको मन्दिर जाँदैमा भगवानको दर्शन र भगवत्प्राप्ति हुँदैन भनिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्र हुन् । विराट् प्रतिभाका धनी देवकोटाले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाई नेपाली साहित्यको भण्डार भरिपूर्ण बनाएका छन् । छवटा महाकाव्य शाकुन्तल, सुलोचना, महाराणाप्रताप, वनकुसुम, प्रमिथस र पृथ्वीराज चौहानले देवकोटामा अगाध ज्ञानराशि र विराट् प्रतिभा थियो भन्ने पुष्टि हुन्छ । दस दिनमा सुलोचना र तीन महिनामा शाकुन्तल लेखिसक्ने उनको प्रतिभालाई भेट्न अहिलेसम्म कुनै साहित्यकारले सकेको छैन । लक्ष्मी निबन्ध सङ्ग्रह, दाडिमको रुखनेर, लक्ष्मी कविता सङ्ग्रहका उनी स्रष्टा थिए भने सावित्री सत्यवान् नाटक र चम्पा उपन्यासका उनी सर्जक थिए । कुञ्जिनी, म्हेम्दू, लूनी, राजकुमार प्रभाकर, रावण-जटायु युद्ध, सुनको बिहान जस्ता काव्यका उनी प्रणेता थिए । उनका प्रसिद्ध केही कविताको नाम लिनुपर्दा यात्री, गरिब, भिखारी, पागल सार्वकालीन र युगसापेक्ष देखिन्छन् भने निबन्धमा के नेपाल सानो छ, भलादमी, गधा बुद्धिमान कि गुरु, असारको पन्ध्र र हाई हाई अंग्रेजीलाई उच्चकोटिका रचना मान्न सकिन्छ ।
उनको लेखन यात्रा १० वर्षको उमेरमा सुरु भई ५० वर्षसम्म निरन्तर भइरहेको थियो । उनले ‘शारदा’ पत्रिकाबाट साहित्यिक यात्राको थालनी गरेका थिए भने ‘युगवाणी’ पत्रिकाको सम्पादन गरेका थिए । पुस्तकालय खोले बापत राणाशासनमा देवकोटा दण्डित भएका थिए भने लाइब्रेरी पर्वमा सक्रिय सहभागी हुँदै मकैको खेतीका लागि कृष्णलाल अधिकारी र बीए परीक्षाको उत्तरपुस्तिकामा ‘नपुंसक राणा’ लेखे बापत लक्ष्मीनन्दन चालिसेले पनि सर्वस्वसहित जेलसजाय भोग्नुपरेको थियो । २००४ सालमा बनारस प्रवासका बेला राणाशासनविरुद्ध आवाज उठाउन युगवाणी पत्रिकाको प्रकाशन सुरु गरेका थिए ।
यस्ता जीवनी, कृतित्व र व्यक्तित्वका धनी लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा भएको थियो । न्वारानको नाम तीर्थमाधव भए पनि लक्ष्मीपूजाका दिन जन्मेका हुनाले लक्ष्मीको प्रसाद ठानी पिता तिलमाधव र माता अमर राज्यलक्ष्मीले छोराको नाम लक्ष्मीप्रसाद राखे । यही नामले नै उनी परिचित र सुप्रतिष्ठित बने । दरबार हाइस्कुलबाट प्राथमिक शिक्षा सुरु गरेका उनले बीए बीएल सम्मको अध्ययन पटना र त्रिचन्द्र कलेजबाट पूरा गरे । गरिबी र समयाभावका कारण उनले एमए को पढाइलाई निरन्तरता दिन सकेनन् । उनलाई भारतका प्रसिद्ध विद्वान् राहुल सांकृत्यायनले प्रसाद, पन्त र निरालाभन्दा उच्च दर्जाका कवि भनेर प्रशंसा गरेका थिए । तत्कालीन भारतमा जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठीलाई प्रसाद पन्त र निरालाको उपनामले चिनिन्थ्यो ।
देवकोटा तासकन्द साहित्य सम्मेलनमा रूस (तत्कालीन सोभियत सङ्घ) गएका बेला तत्कालीन सरकारले खाइपाई आएको भत्ता रोकेर अपमान गरेको थियो । आफ्नो जीवनकालमा उनले त्रिचन्द्र क्याम्पसको प्राध्यापक, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संस्थापक सदस्य, नेपाली भाषालाई विद्यालय एवं महाविद्यालयमा अनिवार्य पठनपाठनको व्यवस्था गर्ने तथा २०१४ सालमा केही महिना शिक्षामन्त्री भई भाषा, साहित्य र देशको सेवा गरेका थिए । महाघातक क्यान्सरको रोगले लुछिंदा उचित उपचारको अभावमा २०१६ साल भदौ २९ गते पशुपति आर्यघाटमा उनको दुःखद निधन भयो । मरणोपरान्त २०२३ सालमा त्रिभुवन पुरस्कार र २०४९ सालमा साझा पुरस्कारबाट सम्मानित देवकोटाले जीवनकालमा चाहिं उचित कदर र सम्मान नपाएको तीतो यथार्थ छ । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ उनले दिएको अजरामर सन्देश हो जसले हामीलाई कर्तव्य र दायित्वबोध गराई जीवनपथमा अग्रसर हुन प्रेरणा दिएको छ । अध्यात्मवादी, धर्म र ईश्वरलाई मान्ने, प्रकृतिपूजक र मानवतावादी देवकोटा अहिले हाम्रा सामु छैनन् । यस्ता सरस्वतीका वरदपुत्र देवकोटाप्रति १०२ औं जन्मजयन्तीमा श्रद्धासुमन अर्पित छ ।
कार्तिक २०६७
