सपनाहरू मनमा कतै नभएपछि
सपनाहरू भोग्न नजानेपछि
सपनाहरू भुल्दै गएपछि
सपनासँग पनि –
मान्छेहरू दुख्दारहेछन् ।
००
जसले पनि
जस्तो भए पनि
जसरी भए पनि
सपनासँग आलिङ्गनमा भुलेर
मान्छेहरू सपना भोग्दारहेछन् ।
००
सपनामा जे पनि देख्न सकिन्छ
सपनामा जे पनि भोग्न पाइन्छ
सपना जस्तो पनि हुनेरहेछ
सपना न हो –
सपनाजस्तै भएर देखिँदोरहेछ ।
००
घोडाले मान्छेलाई चढेको सपना देख्नेहरू
घोडासँग किन माया साट्छन्
यस खालको सपनाको जवाफ
मैले सपनामा पनि पाउन सकिनँ
त्यसैले म सपनासँग प्रश्न गरिरहेछु !
००
कुन अर्थमा लिप्त भएको हो – सपना
कुन शब्दमा व्याप्त रहेको हो – सपना
कुन विन्दु र कोणमा छरपष्ट भइदिएको हो – सपना
सपनाका कलेवर रङहरूमा –
म रङ खोज्दै सपना हेरिरहेछु ।
