मेहनती काँधको दरिलो आडमा उभ्याइँदै गरेको भरेङ र
थपिँदै गरेका केही खुड्किलाहरू
भत्किसकेको पुरानो पर्खाल र उज्यालिँदै गरेका अनुहारहरू
यता अर्धविरामको सुविधाजनक विश्रामगृह र उता
मूलबाटो जोड्ने अधकल्चो गोरेटो
थुपारिएको छ यौटा कुनामा
टुप्पामै पुगेर मन्दिरमा चढाउन बोकिएको फूलपाती
कोरिन बाँकी कविताका अपूरा र अधुरा पङ्क्तिहरू
मात्र रङहरूको थुप्रोजस्तो देखिने कुनै कलाकारको प्रस्टिन बाँकी चित्र र
सेतो चकको डल्लाभित्रै पोको परेको लेखिन बाँकी साउँअक्षरहरू
हिँड्नेहरूका लागि बाटो कहिले बिझाउँदैन
हिउँ थुप्रदै गर्छ बाटामा
जुका लाग्दै गर्छ पाइलामा र
बादल मडारिँदै गर्छ आकाशमा
छरपस्ट नभइदियोस्
नयाँ नक्सा कोर्न उकालिएको चित्रकारहरूको यात्रा
नकुजियोस् त्यसै तुइन बनाउन सिपालु प्राविधिकहरूको ज्ञान र
खिया लागेका भुत्तेऔजार नबनिदिउन्
अरनीको ब्यूँझाउने कलाकारहरूको सीप
समय दिगन्त यात्रीहरूको पर्खाइमा छ र निम्त्याइरहेछ शान्त, समृद्ध विश्राम

– गोग्राहा-३, विराटनगर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *