मसँग तिम्रालागि दिन केही बाँकी छैन
सिर्फ सम्झनाका केही हिक्का बाडुली
सपनाका बहुरङ्गी तरङ्गहरू
र एक हस्को सम्झना ।
आठै प्रहर जागा हरिया पहाडका टाकुरीमा अल्झेका ध्वाँसे बादलका लर्कन
ठेसै लागे पनि हिँडौहिँडौँ लाग्ने उबडखाबड ढुङ्गेबगर
कत्तिखेर बगाउनै तम्तयार जीवन जत्तिकै सक्रिय सङ्लो / मैलो खोलो
उपद्रो बिर्सन मन लाग्ने साथीको बगाल
मौसमी फड्के/साँघु
कुनै समय हिँडिएको छपनीमाथिको मधुरो पद्चाप
सबैसबैको एक्कैचोटि यादको चस्का पस्छ ।
बालवयका चपल रहरहरू –
बनेली गोरेटोमा सुसेल्दै हिँड्नु
भर्खरै गुँडमा हुर्कंदो बचेराहरू समाउनु/ उडाउनु
माछाका कुरहरू भत्काउनु / बनाउनु
बालुवाका घर ठड्याउनु/ दिदिनभर पौडी खेलेर बेपत्ता हुनु
हत्केलाभरि ठेलामाथि ठेला उठाएर माटोलाई उर्वराइरहेकी आमालाई छकाउनु
सबका सब सम्झनाको बाढी बनेर आउँछ ।
आँसु थोरै हाँसो धेरै
भोक न भकारी / शोक न सुर्ता
जिम्मेवारीको ढाकर बोकी हिँड्ने अरु नै
पथिक हिँड्न छोडेको बाटोझैँ सुनसान र अनिश्चित भविष्यको क्षितिज
र जानिनजानी गुमाएका स्वणिर्म पलहरूको बेगन्ती फेहरिस्त ।
अघोर उत्सविला दैनिकी र समयको वायुपङ्खे घोडसवार
चाडहरू सधैँ कत्तिखेर सकिन्थे पत्तो हुँदैनथ्यो
टाढैबाट भागेको दुःखको रोमहर्षक क्षणिकासँगसँगै
सुखका रासलीला आमाका काख र बाबुको काँध छुट्दैनथे
सपनाका झालहरू घङारुका झाङतिर अल्झन्थे
विपना फुत्तफुत्त हातहातमा आउनुको सुखद नियति भोगिन्थ्यो
कत्तिमात्र सम्झूँ ?
स्मृतिका रासहरूको थुप्रो लाग्छ ।
यसरी –
शिशिर/ग्रिष्म/हेमन्त
वषर्ा/शरद र वसन्त ऋतुहरूमा
साटिएका उमेरका पाटाभरिभरि
मान्छे बन्न उद्यत प्रयत्नको घाम उदाइरहन
मलाई सम्झनाका मिहिनभन्दा मिहिन क्षणहरूले सघाएको छ ।
आज तिमीलाई यसरी सम्झन सकेँ
तिम्रो नाममा दिनलाई मैले केही पनि जोगाउन सकिनँ
यद्यपि केही बाँकी छ –
एक हस्को सम्झना ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *