Skip to content

सम्पन्न परिवारका विद्रोही कवि : उषा शेरचन

  • by


विश्वभरका अधिकांश साहित्य कि त माया, प्रेम, पीडा र सुख जस्ता मानवीय संवेदनाबारे लेखिएका छन् या उत्पीडनमा परेका मानिसले लडेका सङ्घर्ष र मुक्तिका कथा उन्दै लेखिएका छन् । यस अर्थमा साहित्य लेखनमा लाग्ने पनि दुई वर्गमा विभाजित छन् । त्यसो त कुनै विषयबारे प्रत्यक्षसम्बन्धित नभई त्यसबारे गहिराइमा गएर लेख्न सक्दैनन् भन्ने मान्यता पनि साहित्यमा प्रशस्तै पाइन्छ । अर्थात् मानिसले आफ्नो जीवन भोगाइमा अनुभव गरेका विषयलाई नै कलात्मक ढङ्गले साहित्यमा उतार्छन् भन्ने आम मानिसको विश्वास पाइन्छ । के त्यसो भए अभावको कुनै पीडा नभोगेका लेखकले भोकाका लागि उत्कृष्ट साहित्य सिर्जना गर्न सक्दैनन् त? यसको सहज उत्तर नहुन सक्छ । तर थोरै जनसङ्ख्या भए पनि गरिव नेपालको सम्पन्न समुदायभित्र पर्ने थकाली जातिभित्रबाट नेपाली साहित्यमा उम्रिएका ‘शेरचनको ताँती’ त्यसको फरक विम्ब हुनसक्छन् ।

नेपालकै सर्वाधिक उत्कृष्ट कविमध्येको एक भूपी शेरचनदेखि उषा शेरचन हुँदै पछिल्लो पुस्ताका शशि र मनिषासम्म आइपुग्दा साहित्यकार उषा शेरचनकै शब्दमा ‘जीनमै व्यापार व्यवसाय’ बोकेर आउने थकाली भने आफ्नो सम्पन्नताको वैभव छाडेर नेपाली समाजले भोगेका दुःख र जीवन सङ्घर्षको विषयलाई आफ्नो कलात्मक सिर्जनाद्वारा साहित्यमा उतारिरहेका छन् । आफ्नै भाषामा साहित्य लेख्ने केही अग्रजको सीमा नाघेर सर्वाधिक लोकप्रिय कविको सार्वजानिक छवि बनाउने भूपी पछाडिको दोस्रो पुस्तका सबैभन्दा चर्चित कविमध्ये पर्नुहुन्छ कवि उषा शेरचन । उषा थाकखोलाबाट बसाइँ सरेर पोखरा आउने पहिलो थकाली परिवारको प्रतिष्ठित सदस्यमध्येमा पर्नुहुन्छ । चालीसको दशकदेखि अहिलेसम्मको नेपाली साहित्यबारे चर्चा गर्दा छुटाउनै नसकिने नाममध्येको एक उषाको जन्म त्यहि पोखराको गणेश टोलमा (२०१२) भएको थियो । तथापि उहाँको सिर्जना भने मानवीय संवेदनाको अलवा कवि भूपीकै शैलीमा नेपाली जनजीवनले भोग्नु परेका दुःख र समस्यामा केन्द्रित छन् ।

एक जना व्यक्तिलाई मुखिया बनाएर गाउँको थिति चलाउने थाकखोलाका थकाली समाजको आजीवन मुखिया झपटबहादुर भट्टचनका छ सन्तानमध्ये माइली छोरी उषाले साहित्यमा लाग्नु नै पनि तत्कालीन समाजका लागि एउटा विद्रोह थियो । निरङ्कुश शासनको चङ्गुलबाट उन्मुक्ति पाए पनि त्यतिबेला छोरीलाई पढाउनु पर्छ भन्ने मान्यता थिएन । शिक्षाको उज्यालोबाट टाढै रहेको आम नेपालीको कुरा त परै जावोस सम्भ्रान्त परिवारले पनि आफ्नो छोरीलाई पढ्न लेख्नभन्दा घर परिवारको रेखदेख र घरायसी काममा निपुण बनाउनु नै प्रमुख कुरा ठान्थे । महिलाका लागि पढ्नु एक फुर्सदको समय कटाउनु जस्तै थियो तर सामाजिक सेवामा दिलो ज्यान दिने बाबु जसले आफ्नै पहलमा एउटा स्कुलसमेत खोल्नु भएको थियो, को उदारताको कारण उषाले समाजको त्यो परिस्थिति चिर्दै आफ्ना साथीसँग स्कुल बाल्यकालदेखि नै औपचारिक शिक्षा प्राप्त गर्नुभयो । मनोरञ्जनको कुनै माध्यम नभएको त्यो समयमा धार्मिक प्रवचन दिने ‘स्वामी’को कलात्मक प्रस्तुति र परम्परा अनुसार गुफा बस्ने नेवारी साथीकोमा जाँदा गीत गाउने बानीले आफूमा साहित्यिक मनोभावना बढाउन सहयोग पुगेको ठान्ने उषाले आफ्नो औपचारिक साहित्यीक यात्रा भने वि. सं. २०३५ सालमा गोरखापत्र दैनिकको परिशिष्टाङ्क शनिबाशरीयमा कविता प्रकाशन गरेर गर्नुभएको थियो ।

त्यसो त उहाँ स्कुले जीवनदेखि नै साहित्य सिर्जनातिर लाग्नुभएको थियो । साहित्यिक प्रवृति पाठ्यक्रम बाहेकका ‘उपन्यास तथा अन्य साहित्यिक कृति पढेमा छोरी बिग्रन्छ’ भन्ने सामाजिक मनोविज्ञान भए पनि उषा लुकिलुकी पुस्तक पढ्नुहुन्थ्यो । ‘हामी स्कुलमा बेन्च मुनि राखेर लुकाइलुकाई पढ्थ्यौँ’ उपन्यास पढ्दाको रोमाञ्चक बन्धन सुनाउँदै उषा भन्नुहुन्छ ‘पुस्तक चाँहि साथी इन्दिरा बाटाजू र शारदाले खै कताबाट ल्याउँथिन । पछि पोखरामा साझा प्रकाशनको शाखा खोलिएपछि दाइ (समाजशास्त्री डा. कृष्ण भट्टचन)ले पुस्तकालयबाट ल्याउने पुस्तक पनि उहाँले थाहै नपाइ म पढ्थेँ ।’ महिलाप्रति समाज त्यति धेरै अनुदार भए पनि उहाँले साहित्य सिर्जना मात्र होइन नाटक खेल्नसमेत भ्याउनुभयो । अलिपछि सरिता शेरचनबाट हिन्दी उपन्याससमेत पाउन थाले पछि भने उहाँभित्र रहेको साहित्यिक मनोवृद्धिलाई प्रस्फुटन हुने सुनौलो अवसर दिएको थियो ।

जिन्दगी शीर्षकमा कविता प्रकाशन भएपछि उहाँलाई पाठकको पत्रको ओइरो लाग्नु पनि उहाँको साहित्यिक यात्राको भावि यात्राको लागि थप हौसला प्राप्त हुनु थियो । पत्रिका भन्नु नै गोरखापत्र र गोरखापत्र भन्नु नै पत्रिका भन्ने परिस्थिति रहेको तत्कालीन समयमा आफ्नो ठेगानासहित कविता प्रकाशन भएपछि उहाँलाई नेपालभित्रबाट मात्र होइन दार्जिलिङ र सिक्किमबाट समेत दर्जनौँ पत्र प्राप्त भएको थियो । कतिपय पत्रमा त प्रेम प्रस्ताव पनि हुन्थ्यो भने कतिमा साहित्यिक सहकार्य गर्ने नाममा अप्रत्यक्ष प्रेमिल भावना समेटिएको हुन्थ्यो । तथापि उहाँले कहिल्यै पनि ती पत्रको प्रतिउत्तर दिनुभएन । अनेकौँ फुर्का जोड्दै ‘मन साट्ने’ प्रस्तावसहित आउने पहिलो पत्र नै अन्तिम पत्र पनि हुन्थ्यो । प्रायः मिडियामा छाइरहनुहुने उषालाई अझै पनि पाठकको तर्फबाट कयाँै एसएमएस आई नै रहेका हुन्छन् । आफ्नो मोबाइलमा रहेका करिव दर्जन एसएमएस पढेर सुनाउँदै उहाँले भन्नुभयो- पाठकको यस्तो रेसपोन्स एउटा लेखकका लागि गर्वको कुरा हुँदो रहेछ ।

एउटा सम्पन्न परिवारको सदस्य हुनुको फाइदा नै भन्नुपर्छ उषा शेरचनले अधिकांश नेपालीले भोग्नु पर्ने अभावको पीडा बाल्यकालदेखि अहिलेसम्म महसुस गर्नु परेको छैन । तथापि पुरुष प्रधान समाजको मनोविज्ञानबाट भने उहाँ पनि टाढा हुनुहुन्न । ‘पहिलेभन्दा अहिले महिलालाई स्वतन्त्रता छ भन्नु भ्रम हो । महिलाबारे समाजले देखाउने व्यवहारबारे टिप्पणी गर्दै उहाँ भन्नुहुन्छ, निश्चय नै पहिले भन्दा अलि बढी छ तर आफ्नो क्षमता अभिवृद्धिका लागि जति एउटा पुरुषले व्यक्तिगत स्वतन्त्रताको उपभोग गर्छन् त्यति नेपाली महिलाले गर्न अझै पाएका छैनन् ।

प्रतिष्ठित व्यवसायी डीबी शेरचनकी श्रीमती उषाको परिवारमा अहिले छोरी आस्था र छोरा आस्तिक पनि सामेल छन् । नजन्मेका आस्था, अक्षरको शिविरबाट तथा सर्वकालीन पीडा र जागृतिको शङ्खघोष गरी एक मुक्तक तथा दुई कविता सङ्ग्रह प्रकाशनमा ल्याउनु भएको उषा अहिले कथा लेखनतिर लाग्नुभएको छ । करिब दर्जन कथा सङ्कलन भइसके पनि केही समयपछि मात्र सङ्ग्रह निकाल्ने उहाँको योजना छ । नेपाली साहित्यमा लागेको करिब तीन दर्जन वर्षभित्र उहाँले व्यथित-काव्य पुरस्कार, लोकप्रिय पुरस्कार र पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली साहित्यमा पुर्‍याएको योगदानवाफत उहाँले रत्नश्री सुवर्ण पदक, कविता महोत्सव पदक र वीरेन्द्र-ऐश्वर्य सेवा पदक पनि प्राप्त गर्नुभएको छ । भने भूपी स्मृतिलगायत करिब आधा दर्जन राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्नुभएको छ । साहित्यिक कार्यक्रम तथा भ्रमणको क्रममा विश्वका विभिन्न देश घुमिरहनुहुने शेरचन आफ्नो जीवनप्रति सामान्यत सन्तुष्ट नै हुनुहुन्छ । ‘जुन दिन मान्छे पूर्ण सन्तुष्ट हुन्छ, त्यस दिनदेखि उ समाप्त पनि हुन्छ ।’ जीवनप्रतिको दार्शनिक उत्तर दिँदै उहाँ भन्नुहुन्छ ‘औसत नेपाली महिलाले भोग्नु पर्ने समस्या मैले अनुभव गर्नु नपरेको कारणले एकहदसम्म म सन्तुष्ट नै छु । तर अझै पनि केही नमिले जस्तो के के नपुगे जस्तो त लाग्छ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *