राणा शासनकालमा बिद्रोहीभावका कविता लेखेबापत् सर्वस्वहरणसहित १८ वर्षको जेल सजाय सुनाइएका सिद्धिचरण श्रेष्ठका तीन दर्जनको हाराहारीका कृतिले उनलाई ‘युगकवि’ बनाएका छन् । वि.सं. १९६९ सालमा जन्मिएका कविको वि.सं. २०४९ सालमा स्वर्गारोहण भइसकेको भए पनि अनेकौँ कृतिमार्फत् उनी सम्झनामा तरोताजा छन् । उनीद्वारा लिखित अप्रकाशित पाण्डुलिपिहरूको ‘युगकवि सिद्धिचरण प्रतिष्ठान’ मार्फत् खोजीनीति र प्रकाशन गर्ने काम हुँदै आएकोले पनि उनीप्रतिको साहित्यिक चासो निरन्तर देखिँदैआएको छ । यसैक्रममा पद्यनाटक ‘बालिवध’ भर्खरै प्रकाशित भएको छ । ‘बालिवध’ नामक यो पद्यनाटक अध्यात्म रामायणको किस्किन्धा काण्डसँग सम्बन्धित छ । यसलाई किस्किन्धा काण्डको पुनर्लेखनका रूपमा लिएका छन् भूमिका लेखक प्राध्यापक मोहनराज शर्माले पनि । वनबासमा रहेका श्रीराम, किस्किन्धाका वानरराज बालि र उनका भाइ सुग्रीवको वरिपरि घुमेको कथावस्तु नाटकमा पाइन्छ । रामायणमा श्रीरामप्रधान कथावस्तु छ भने यसमा युगकविले बालिप्रधान कथावस्तुको विनिर्माण गरेका छन् ।

बालिवधको मूल कथावस्तु भनेको वीर पराक्रमी वानरराज बालिलाई मय नामको दानवले युद्धका लागि लल्कारेपछि लखेट्दै गएका बालिलाई राक्षसले गुफाभित्र छिरेर छक्याउन खोज्छ । मायावी राक्षस बाहिर नआएपछि बालिले भाइ सुग्रीवलाई बाहिरै बसिरहन भनेर आफूभित्र जान्छ । लामो समयपछि गुफाभित्र ठूलो आवाज आएको र भित्रबाट रगतको भेल बगेर बाहिर आएपछि सुग्रीव डराउँछ र दाजुलाई राक्षसले मारेको निष्कर्षमा पुग्छ । राक्षसले बाहिर निस्किएर अरू वितण्डा मच्चाउन नपाओस् भनेर ठूलो ढुङ्गाले गुफालाई बन्द गरिदिएर सुग्रीव फर्किन्छ र राजा बन्छ । त्यसको केही समयपछि राक्षसलाई मारेर निस्किएको बालि आइपुग्छ र सुग्रीवलाई षड्यन्त्रकारी ठहर गरी मार्न तम्सिन्छ । सुग्रीव भागेर आफ्ना केही सहयोगीहरूसहित ऋष्यमूक पर्वतको गुफामा गएर लुक्छ । वनबासमा रहेका रामसँग हनुमानको भेट भएपछि हनुमानले सुग्रीव र रामको मित्रता गराउँछन् । यही मित्रतापश्चात सुग्रीवले बालिसँग युद्ध गर्ने षड्यन्त्र गरेर रामले लुकेर वाण हानी बालिको वध गर्छन् । बालि अत्यन्तै बलवान् हुनुका साथै उसको सामुन्ने पर्ने शत्रुको आधा बल उसमै सर्ने बरदान प्राप्त वानरराज थियो । रामले रावणसँग युद्ध गर्नका लागि किस्किन्धाको सहयोग प्राप्त गर्न बालिलाई छल गरेर मारेका थिए । यता मर्ने बेलामा बालिले ‘मलाई भनेको भए मै पनि सहयोग गर्थे, सुग्रीवमा भन्दा ममा ज्यादा शक्ति थियो, तिमीले लुकेर वाण हानी अधर्मी काम गर्‍यौ’ भन्दा श्रीराम पनि आहत हुन्छन् ।

‘किस्किन्धा भोग्न चाहेमा माग्न आए दिने थिएँ
लुकीछिपी बनी दागी भागी आई यहाँ बसी
हडप्न राज्य खोजेको मैले उचित मानिन ।’

‘बालिवध’ मा नाटककार सिद्धिचरणले बालिलाई वीर पराक्रमी, धर्म र कर्तव्यनिष्ठ, वानर जातिको एकता र वंश रक्षामा समर्पित देखाइएको छ । वास्तवमा बालिको रामायणभित्रको चरित्र पनि यस्तै नै हो । रामायण राम केन्द्रित भएकाले त्यसमा बालिको चरित्र ओझेलमा परेको छ भने यसलाई नाटककारले बालि केन्द्रित बनाएका छन् । बालिलाई रामले वाण हानिसकेपछि बालिले गरेका कुराले सुग्रीव पनि आहत हुन्छ र बोल्छ –

‘दाजुको हुँ म हत्यारा ! म नै अधम नीच हुँ
मलाई राज्य चाहिन्न, चाहिन्न राम नै पनि ।’

प्राचीन द्रविड संस्कृतिको कलासंस्कृति झल्काउने दृश्य संयोजन उल्लेख गरिएर प्रारम्भ गरिएको पद्यनाटक बालिवधमा बालि, सुग्रीव, सुग्रीवकी पत्नी रूमा, बालिकी पत्नी तारा, हनुमान, राम, लक्ष्मण, सेविका हेमा, जाम्बवान् अङ्गदलगायतका पात्र-संवाद रहेका छन् । यस नाटकले जातीय एकता र देशभक्तिलाई जोड दिएको छ । अहिलेको परिवेशबाट हेर्दा यो नाटक सन्देशमूलक भएकाले मञ्चनयोग्य देखिन्छ । यति हुँदाहुँदै पनि नाटकमा शुद्धाशुद्धीसम्बन्धी समस्या निकै नै भएकाले पाठकलाई असजिलो अनुभव हुन्छ । प्राध्यापक मोहनराज शर्माको भूमिकाले कृतिलाई अझ स्पष्ट पारेर ओज थप्ने काम गरेको छ ।

कृति ः बालिवध (पद्य-नाटक)
नाटककार ः युगकवि सिद्धिचरण श्रेष्ठ
प्रकाशक ः युगकवि सिद्धिचरण प्रतिष्ठान
प्रकाशन ः वि.सं. २०६७
पृष्ठ ः ६०
मूल्य ः रु. ७५।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *