युवाकवि तथा नाटककार रोशन सुवेदीको कवितासङ्ग्रह ‘धूपीको गीत’ २०४३/०४४ सालदेखि छापामा आएका कविताहरूको सङ्ग्रह हो । सुवेदीका कवितामा उनका प्रजातन्त्रसँगै मौलाएका विकृतिहरूको प्रतिनिधित्व पनि गरेका छन् । कवि पनि यही समाजको एउटा अङ्ग भएकोले पनि उसले समाजको हरेक कुराहरूलाई भोग्नु पर्दछ, केही सुखद भोगाई र केही दुःखद भोगाईका द्रष्टाको रूपमा रहने भएकोले समाजका हरेक पक्षहरूमा उसको उपस्थिति रहेको हुन्छ । यही भोगाईहरूलाई कविले कविताको माध्यमबाट पोख्ने गरेका भावनाहरूलाई ‘धूपीको गीत’मा भेट्न सकिन्छ । सङ्गत विसङ्गतहरूलाई कवितामा केलाएका छन् रोशनले ‘धूपीको गीत’मार्फत् । नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा वढी लेखिने विधा कविता नै भए पनि पाठकको रुचि निकै घट्दै गएको पाइन्छ कविहरूले आफ्नो पदचिहृन आफैँ बनाउनु पर्ने देखिन्छ । केही यस्ता कविका कविताले निकै उत्कृष्टता हासिल गर्न सकेका छन्, र सफल पनि भएका छन् । युवाकवि रोशन सुवेदीले पनि नेपाली साहित्यमा कविका रूपमा आफ्नो पदचिहृन बनाउन सफल भइसकेका छन् । ‘धूपीको गीत’ कवितासङ्ग्रह अध्ययन गर्दा यही आभाष मिल्छ । सरल र सहजरूपमा प्रस्तुत भएका छन् उनका कविताहरू । यसले गर्दा पाठकले सजिलै कविताका भावहरू बुझ्न सक्छन् । समाज, जीवन र समयसँगै परिवर्तनका विविध पाटाहरूलाई कवितामा बिम्ब खोज्दै छन् कवि रोशन । ४७ ओटा विविध शीर्षकका कवितासँगै ‘जङ्गबहादुर र समय’ शृखलावद्ध कविताहरू पनि रहेका छन् । ‘जङ्गबहादुर र समय’ शृखलावद्ध कवितामार्फत् शासन सत्ता हातमा भएपछि सबै कुराहरू भुल्ने र इतिहासले पनि सहनै नसक्ने गल्तिहरू गर्दै जाने परम्पराप्रति कवितामार्फत् पाठकलाई सचेत गराउँन खोज्दैछन् कवि । हुन त समय जो चलिरहन्छ कसैलाई उसले कुर्दैन । यही समयसँग हामीले पनि चल्न सक्नुपर्छ तर वागडोर समालेर बस्नेहरूले यी कुरालाई बिर्सन्छन् । सत्तालिप्साले कुर्सीमै टासिइरहन्छन्, त्यसले गर्दा जनताले भोग्नुपरेका अनेकन कष्टहरू ओझेलमा पर्ने गर्दछन् । यस्ता कुराहरूलाई साहित्यमार्फत् जनतालाई सचेत गराउने कार्य भइरहेका पनि छन् । मुलुकको बिगँ्रदो स्थितिप्रति निकै दुःखी छन् कवि, बिगँ्रदो मान्छेको नियतिप्रति चिन्तित छन् कवि, मुलुकमा व्याप्त अशान्तको भेलवाढीलाई रोक्ने प्रयास गर्दै कविताका हरफहरू कोर्न व्यस्तछन् कवि रोशनका हातहरू ।

अनि शब्दहरूलाई आहृवान गर्न पुग्छन्- ‘…..समयको अँध्यारो गुफाभित्र युगौँदेखिको पीडा, चित्कार पोखेर धमिराग्रस्त सपनाहरूको सिरानी फ्याँकेर ए शब्दहरू उठ समयको आगो बोकेर ……’ भन्ने गर्छन् कवि रोशन सुवेदी ‘धूपीको गीत’ कवितासङ्ग्रहमार्फत् । समग्ररूपमा हेर्दा कवि सुवेदीका कविताहरू मानवीय मूल्यमान्यताका पक्षमा उभिएका छन् । केही कविताहरू प्राकृतिक छटाहरूमा मोहित भएका पनि छन् । कवि जहाँजहाँ जान्छन् त्यहाँको प्राकृतिक रूपहरूबाट मोहित हुन्छन्, र कविताका माध्यमबाट त्यहाँको वर्णन गर्दछन् । यस्ता कविताहरू पनि धूपीको गीतभित्र अटाएका छन् कविले । मानवीय संवेदनाहरूसँगै वर्तमान परिवेशलाई कविताका माध्यमबाट निहालेका थुपै्र पुस्तकहरू रहे पनि रोशनका कविताहरू केही पृथक रहेको छन् नै । उनले आफ्नो शैलीको अलग पहिचान पनि बनाएका छन्, धूपीको गीतमार्फत । केही टुक्रे कविताहरू पनि रहेको यस सङ्ग्रहका समग्र कविताहरू पठनयोग्य छन् । कविता लेखनलाई निरन्तरता दिएमा सम्भावना बोकेका कविका रूपमा रोशन सुवेदीलाई लिन सकिन्छ ।

कवि ः रोशन सुवेदी
कृति ः धूपीको गीत (कविता सङ्ग्रह)
संस्करण ः प्रथम २०६६
प्रकाशक ः प्रशान्ति प्रकाशन
पृष्ठ ः ९४ -१०
मूल्य ः रु. ८०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *