देवकोटाले ‘कमलमणि डजन्ट लिसन टु मी’ भनेको छोडेँ

  • by


”मान्छेको रगतमा दुई कोशिका हुन्छन्-राता र सेता । आर.बी.सी. र डब्लू.बी.सी. । मेरो रगतमा चाहिँ अर्को एउटा कोशिका पनि पसेको रहेछ-एन.बी.सी. । त्यो भनेको नेपाली भाषा कोशिका हो । आर.बी.सी.को कमी भयो भने मान्छे सुकेर मर्छ अरे । डब्लू.बी.सी.को अनुपातमा कमबेसी भयो भने मान्छे क्यान्सर भएर मर्छ भन्छन् । मलाई के लाग्छ भने मेरो रगतबाट चाहिँ त्यो एन.बी.सी. निकालिदियो भने ‘हार्ट एट्याक’ हुन्छ कि मलाई ।”

पहिलो त कुशे औँसी, त्यसमाथि तेलिया परेर वि.सं. १९८६ भदौ १२ गते काठमाडौँका गैह्रीधारामा केदारमणि आचार्य दीक्षित र विद्यादेवी दीक्षितको परिवारमा जन्मिएको १० सन्तानमध्येको माहिलो छोरोको न्वारनमा मुकुन्दराज शर्मा नाम राखिएको बालकले आफ्नो जन्मको पैँसठीऔँ वर्षमा आएर नेपाली भाषामा आफ्नो प्राण अड्किएको छ भन्नु मात्रै पनि ठूलो कुरा थियो तर जीवनकालका ८२ वर्षका क्रियाकलापहरूबाट उहाँका ती अभिव्यक्तिहरूलाई थप पुष्टि मिलिरहेको अनुभव हुन्छ । औँसिया र तेलियाको दोष मेट्न सात घरको पानी र सातै घरको तेल जम्मा पारेर नुहाइएको शुद्ध बालकले वास्तवमा सबै दोष काटेछ र मन, वचन र कर्मले नेपाली भाषाको सेवामा समर्पित हुन सक्नुभएको छ ।

हो, नयाँबजारस्थित लेखनाथ साहित्यसदनको सभाकक्षमा वि.सं. २०५१ साउन ३२ गते उहाँलाई प्रदान गरिएको पुरस्कार ग्रहण गरिरहेको औपचारिक समारोहमा आफ्नो मन्तव्य राख्नेक्रममा नेपाली भाषा र आफ्नो मुटुको धड्कनको सम्बन्ध यति गाढा भएको अभिव्यक्ति दिनुहुने साहित्यिक व्यक्तित्व हुनुहुन्छ उहाँ ।

दीक्षित परिवारको राणा परिवारसँग पुस्तौनी पारिवारिक सम्बन्ध भएकाले शिशुबेलामा उहाँलाई हेर्ने राणासाहेबहरू अचम्म मान्दै भन्थे अरे-हैन, बाहुनका छोराछोरी पनि यति राम्रा हुँदारहेछन् ! यसलाई अहिलेको उहाँको धाकिलो र फुर्तिलो व्यक्तित्वले पनि पुष्टि गर्छ ।

बग्गीमा चढाएर मदनशमशेरको श्रीदरबारमा प्रत्येक दिन लगिने बालकलाई एक जना साहेबज्यूले बाटोमा देखेर यतिसारो मन पराएछन् कि आफू घोडाबाट ओर्लिएर सोधीखोजी गरेपछि छक्क पर्दै-बाहुनको बच्चा पनि यति राम्रो ? भन्दै दुई रुपियाँको डबल दिएका थिए अरे । त्यो दुई रुपियाँको झझल्को यतिबेला पनि कताकता आउँछ भन्नुहुन्छ, साहित्यसेवी कमलमणि दीक्षित । अहिलेको वृद्धावस्थामा पनि उहाँ उत्तिकै राम्रो, चमकदार मोहडा र फुर्तिलो हुनुले बाल्यकालको पुष्टि आफैँ हुन्छ नै ।

जनरल मदनशमशेरले औधि मन पराएकाले उहाँको बाल्यकाल ज्यादै रोचक भएको स्मरण फुकाउँदै उहाँ भन्नुहुन्छ- मलाई लिन श्रीदरबारबाट एकघोडे बग्गी आउँथ्यो दैनिकजसो नै । त्यसरी बग्गी आउँदा बाटोमा हल्लीखल्ली नै हुन्थ्यो । कमललाई लिन बग्गी आयो भन्दै सबै बाहिर निस्किन्थे । बग्गीमा चढेर सरर हिँड्दाको त्यो बच्चाको बेलाको आनन्द र रोमाञ्चक अनुभूति, आहा ! अलिक ठूलो भएपछि त साइकल नै किनिदिनुभएथ्यो मदनशमशेरले । त्यतिबेलाको साइकल भनेको अहिलेको पजेरो नै भने पनि हुन्छ ।

”सानो बेलामा म त ज्यादै चकचके र उद्दण्ड बालक थिएँ नि । एक दिनको घटना भनौँ-मदन जर्साहेवको घरमा बसेकी जमुना डिट्ठिनीलाई झण्डै मार हानेथेँ । उनी जनरललाई मुखारी गराउन निहुरिँदा तरिएको खसीको आकारमा देखिएकी थिइन् । मैले खुकुरीले झ्याम्म छप्काउन आँटेको बेला जर्साहेबले ‘एए चण्डालमणि के गरेको’ भनेर कराउनु भएपछि म रोकिएँ । मेरा यस्तै क्रियाकलापका कारण मलाई जर्साहेबले चण्डालमणि भनेर जिस्क्याउने मात्र होइन, मेरा किताबहरूमा पनि चण्डालमणि आचार्य दीक्षित भनेर लेखिदिएर साथीभाइहरूले पनि जिस्क्याउँथे । बिचरा ती डिट्ठिनी मलाई औधि माया गर्थिन् । पछिसम्म पनि मलाई देख्नासाथ झन्नै काटिथिस् नि काठा भन्थिन् । मेरोजस्तो बाल्यकाल त्यतिबेलाका केटाकेटीहरूमा उनै राणापरिवारका केटाकेटीले मात्रै भोगेका थिए होलान्” भन्नुहुन्छ कमलमणि ।

उहाँले दरबार हाइस्कुलबाट एस.एल.सी. गरिसकेपछि त्रि-चन्द्र कलेजबाट आई.ए.गर्नुभयो । त्यसपछि बनारसको हिन्दु विश्वविद्यालयबाट बी.ए. पास गर्दा उहाँ बीस वर्षको हुनुहुन्थ्यो । एम.ए, बी.एल, गर्ने उद्देश्यले अध्ययनलाई निरन्तरता दिनुभएको भए पनि आँखाको रोगका कारण पढाइ छोडेर घर फर्किनु परेकोलाई उहाँ आफ्नो जीवनको दुखद् क्षण मान्नुहुन्छ ।

दीक्षित परिवार शिक्षित मात्र नभएर साहित्यिक पनि थियो । हजुरबुबा राममणि आ.दी.को नाम नेपाली भाषा र साहित्यमा अग्रणी छ भने पिता केदारमणि पनि साहित्यकार नै हुनुहुन्थ्यो । पारिवारिक वातावरणकै कारण पनि म सानैदेखि नेपाली भाषा र साहित्यका क्षेत्रमा तानिएँछु भन्नुहुन्छ उहाँ । उहाँको साहित्यिक लेखनको प्रारम्भ वि.सं. २००० सालभन्दा अघिबाटै भएको भए पनि पहिलो रचना प्रकाशन चाहिँ यसैसाल बनारसबाटै प्रकाशित ‘उदय’ पत्रिकामा प्रकाशित भएको हो । ‘फुरफुर पुतली’ शीर्षकको तोटक छन्दको त्यो कविता छापिएपछिको आफ्नो खुसीको फुरफुर उहाँ यसरी सुनाउनुहुन्छ-पत्रिका हातमा लिएपछि मुटु ढुकढुक भयो । आफ्नै आँखालाई विश्वास नलागेजस्तो भयो । पत्रिका बोकेर त्यो दिनभर डुलेर बिताएँ । दिनभरमा दसौँपटक पढेँहुँला । यो सुरुआत थियो । त्यसपछि केही कविता कमलमणिबाटै र केही कविता कमलमणिलाई अङ्ग्रेजी रूपान्तरण गरेर ‘लोटस जेम’ नामबाट पनि लेखेँ । यो नामबाट अङ्ग्रेजीमा पनि लेखेथेँ ।

लेखनका हिसाबले कविता पहिलो भए पनि जम्माजम्मी दस/बाह्र वटाभन्दा ज्यादा लेख्नुभएन उहाँले । त्यसपछि मेरो आफ्नो क्षेत्र भनेको निबन्ध र खोजअनुसन्धान नै हो जस्तो लाग्यो र त्यतै लागेँ भन्दै उहाँ आफ्नो लेखनको पहिलो निबन्धसङ्ग्रह-‘यस्तो पनि’ वि.सं. २०१३ सालमा प्रकाशित भएको हो भन्नुहुन्छ । आफूले सम्पादन गरेको कृति ‘बुइँगल’ ले नै नेपाली भाषा र साहित्यका क्षेत्रमा आफूलाई स्थापित गराएकोले अहिलेसम्मका प्रकाशित सत्तरीजति (लेखन र सम्पादन) कृतिहरूमा आफ्नो प्यारो ठान्नुहुन्छ । करिब तीन सय नेपाली कविका कवितालाई बुइँगलमा समेटिएको छ । यो नै नेपाली पद्यको सबैभन्दा पहिलो र वृहत् सङ्ग्रह हो । यसको छैठौँ संस्करण प्रकाशित भइसकेको छ र यो नै उहाँको धेरै संस्करण प्रकाशित भएको एकमात्र कृति पनि हो ।

”मेरो लेखनको क्षेत्र भनेको निबन्ध र अनुसन्धान हो तर सबैभन्दा कम पढिने विधा पनि यही हो । त्यसैले मेरा किताब पाठकले उतिसारो पढ्दैनन् । अहिलेसम्म चानचुन आठसय लेख निबन्धहरू लेखिसकेको छु र वर्षमा दुइटा, नभए पनि एउटा चाहिँ किताब निकाल्दै आएको छु तर पनि समालोचकहरूले मलाई निबन्धकार मान्दैनन् । मैले निबन्ध र प्रबन्धमा भेद छुट्याएको छैन । यत्ति हो कि ‘म’ जोडिएको निबन्ध हो र त्योबाहेक प्रबन्ध ।” आफ्नै लेखनका सम्बन्धमा अझ स्पष्ट पार्दै उहाँ भन्नुहुन्छ- ‘ममा शास्त्रीय ज्ञान छैन, लेख्ने काममा लागिहालेँ, मनले अह्राएको लेख्दैआएको छु । सुरुसुरुमा मन लागेर रहरले लेखियो, पछि नाम चलाउनुभन्दा पनि नाम जोगाउन लेख्न करै लाग्यो ।’ उहाँको नाम जोगाउने कृतिहरूमा कागतीको सिरप, उखान मिलेन, नेतिनेति, कालो अक्षर, सग्लो अक्षरलगायत धेरै छन् ।

कमल दीक्षितका अभिन्न मित्र थोरै छन् र विष्णुप्रसाद धिताल थोरैमध्ये पनि पहिलो थिए । फणिन्द्रप्रसाद आचार्य, यज्ञविक्रम राणा, केशरजङ्ग रायमाझी मिल्ने साथीमा पर्ने नाम हुन् तर पनि साहित्यिक गुरु चाहिँ आफ्नै भिनाजू हरिहरनाथ रेग्मी हुनुहुन्थ्यो ।

कमलमणिले नेपाली भाषा र साहित्यका क्षेत्रमा ठूलो काम गरेको छ भनेर फुक्र्याउनेहरू धेरै छन् तर यसलाई म ठूलो काम मान्दिनँ । म गीताको दर्शनमा विश्वास गरेर चल्ने मान्छे हुँ । त्यसैले आफूले गरेका कामप्रति पूर्ण सन्तुष्ट हुन्छु भन्दै जीवनको सबैभन्दा खुसीको क्षणको स्मरण गर्नुहुन्छ उहाँ -वि.सं. २०१२ सालमा मदन पुरस्कार स्थापनाको दानपात्रमा हस्ताक्षर हुँदाको क्षण मेरो जीवनको ज्यादै महत्त्वपूर्ण र खुसीको क्षण थियो ।

जनरल मदनशमशेरको पुण्यस्मृतिमा रानी जगदम्बाबाट स्थापित पुरस्कार गुठीबाट वि.सं. २०१३ सालमा पहिलो पटक पुरस्कार प्रदान गरिएको थियो भने रानी जगदम्बाको स्वर्गारोहणपछि उनैको पुण्यस्मृतिमा गुठीले वि.सं. २०४५ सालबाट जगदम्बाश्रीको स्थापना गरेको हो । प्रारम्भमा मदनपुरस्कारको राशि चार हजार रुपियाँ रहेकोमा हाल यी दुबैको राशि दुई-दुई लाख रहेको छ ।

मदन पुरस्कारलाई नेपाली साहित्यका क्षेत्रमा निकै महत्त्वपूर्ण र सम्मानित पुरस्कार मानिन्छ । यसपटक कुन कृतिले पाउला ? भनेर साहित्यिकवृत्तमा चासो र चर्चा जसरी चल्छ, घोषणापश्चात् टीका-टिप्पणीहरू पनि उसैगरी हुन्छन् । नेपाली साहित्यको नोबेल पुरस्कार पनि भन्छन् कसैले भने कसैले चाहिँ राणाको अपुतालीको पुरस्कार भनेर हियाएको पनि नसुनिने होइन । पुरस्कारका लागि छनोट गर्दा कमिटीले कमलमणिको रुचिलाई बुझेर सिफारिस गर्छ, यसपटक फलानो किताब राम्रो छ है भनेर उहाँ स्वयंले भनेपछि त्यसैमा निर्णय हुन्छ, कमलमणिको जीवनभर उहाँको इच्छाभन्दा बाहिर गुठी जान सक्दैन, नियमसियम केही छैन, सबै देखाउनका लागि मात्र हुन्, यस्ता धेरै चर्चा-प्रसङ्गहरू साहित्यिक बजारमा छरपस्ट छन् ।

यथार्थ के हो त ? यी सबै आरोपहरू मिथ्या हुन् भन्दै उहाँ भन्नुहुन्छ- ”गुठीको आफ्नै नियम छ, शम्भुप्रसाद ज्ञवालीले बनाइदिएको नियममा चलेको छ । मेरो केही चल्दैन, नियमबद्ध कमिटीले काम गर्छ । मैले चाहेको हुने भए डायमनशमशेरको ‘सेतो बाघ’ लाई पुरस्कार दिने थिएँ, तारिणीप्रसाद कोइरालाको सर्पदंशलाई दिने थिएँ तर तिनीहरूले पाएनन् । ५४ वर्षको इतिहास छ, यो निरन्तर चलिरहन्छ । धेरैलाई भ्रम छ र अझ भनौँ भने नपाउनेले जे पनि कुरा फुराएर हल्ला पिटाउँछन् । केही आकाङ्क्षी लेखकहरूले लविङ चलाउँछन् जहिल्यै पनि । मेरो वरिपरि आउनेहरू पनि प्रशस्तै हुन्छन् तर म खुसी भएर हुने होइन । यो वर्ष यसको किताब राम्रो छ भनेर पनि म कहिल्यै भन्दिन । एउटा दाताको इच्छाले गुठी बन्यो । म संरक्षक मात्र हुँ । मैले हस्तक्षेप गर्नुपर्ने आवश्यक के छ र ? एउटा कुरा मैले पहिले पनि भनेको छु र यहाँ पनि दोहोर्‍याउँछु – मदनपुरस्कार साहित्यिक पुरस्कार हुँदैहोइन, यो नेपाली भाषाको पुरस्कार हो । केही समयसम्म त छुट्टाछुट्टै चार क्षेत्र नै छुट्याइएका थिए तर पछि एउटै बनाइयो । कुरा यत्ति हो कि नेपाली साहित्यका पुस्तकले ज्यादा पुरस्कृत हुने अवसर पाएका छन् ।

साहित्य जत्तिकै हकदार कला, संस्कृति, भाषा, विज्ञान, कृषि, भूगोललगायतका क्षेत्र पनि हुन् । वर्षभरि निस्किएका पुस्तकहरूमा कुन विषयमा निस्किएको कुन कृतिलाई जुरीले पुरस्कारका लागि हकदार ठान्छ, त्यसमा मेरो हस्तक्षेप हुने कुरै हुँदैन । यसपटक पनि पुरस्कारका लागि ९५ वटा पुस्तक दर्ता भएका थिए भने यो सङ्ख्यामा १० वटा मात्र साहित्यभन्दा बाहिरका थिए । कृषि क्षेत्रले वि.सं. २०१५ सालमा पाएको थियो, ५१ वर्षपछि बल्ल यसपटक पायो ।”

उहाँसँग सम्बन्धित अर्को संस्था मदन पुस्तकालय नेपालका पुस्तकालयहरूमध्ये सम्भवतः सबैभन्दा व्यवस्थित पुस्तकालय होला । केही वर्ष अघिसम्म त्यहाँबाट पाठकले पुस्तकहरू घरमै लगेर पनि पढ्न पाउँथे । पछिआएर लान नपाउने तर फोटोकपि गर्न पाउनेसम्म भयो । अब त त्यो सुविधा पनि हटिसकेको छ, केवल पढ्न मात्र खुल्ला छ । त्यसैले साहित्यकारहरू रिस ओकल्छन्-न पढ्न पाइन्छ, न फोटोकपि गर्नै पाइन्छ, के पुस्तकालय भन्नु ! तर कमलमणि भन्नुहुन्छ- ”पढ्न किन नपाउनु ? इच्छा हुनेहरू आइरहेका छन्, पढिरहेका छन् । मैले पढ्न नपाई फर्किएँ भन्ने एकजना मात्र मान्छे ल्याउनुस् म जे सजाय पनि भोगुँला । फोटोकपि गर्न दिँदा सबै च्यातिए, नासिए । पानापानै च्यातेका पुस्तकहरू देख्दा रुन मन लाग्छ । सय/डेढसय वर्ष पुराना सामग्रीहरू छन्, देखादेख ध्वस्त पार्न कसरी दिनु । पछिल्लो पुस्ताका लागि के देखाउने भनेर हो । पहिले पहिलेका एम.ए.का विद्यार्थी, विद्यावारिधि गर्नेहरू यहाँ आएर दिनभर पढ्थे । वासुदेव त्रिपाठीले छ महिनासम्म लगातार पढेको रेकर्ड छ । त्रि.वि.पुस्तकालय, केशर पुस्तकालयका किताब हेर्नुभयो भने एउटा किताब सद्दे पाउन धौधौ छ । यहाँ पनि त्यस्तै गर्न खोजेकाहरूले नपाएपछि आरोप लगाएका हुनसक्छन् । आधुनिक प्रविधिमा छौँ हामी, डिजिटलबाट खिच्न सकिएला, सीडीबाट लान सकिएला, क्यामेराले खिच्न सकिएला । उपाय त धेरै छन् नि इच्छा हुनेहरूलाई ।”

उहाँकहाँ सहयोग माग्न, पुस्तक छापिदिनुपर्‍यो भन्न धाउने साहित्यकारहरू धेरै छन् तर गुठीबाट त्यस किसिमको सहयोग गर्ने व्यवस्था नभएकाले महाकविको उपचारका लागि समेत सहयोग गर्न नसकेको त उहाँले ‘गुरुभेटी’ नामक पुस्तकमै लेख्नुभएको छ भने पछि बनारसमा रहँदा देवकोटाका नाममा चन्दा माग्न आएका गणेशमान सिंह र ईश्वर बराललाई एक रुपियाँ दिएको रोचक घटना पनि त्यसै पुस्तकमा उल्लेख छ ।

उहाँले महाकविसँग अङ्ग्रेजीको ट्युसन पढ्न थालेको तीन दिनमै पढाइरहेको बेला ध्यान नदिँदा देवकोटाले ‘कमलमणि डजन्ट लिसन टु मी’ भनेकाले छोडेको र त्यो एक रुपियाँलाई त्यतिबेलाकै गुरुभेटी मानेको लेख्नुभएको प्रसङ्गले उहाँलाई लोभीजस्तो देखाए पनि ‘होइन म पनि विद्यार्थी नै थिएँ र त्यतिबेला एक रुपियाँ पनि मेरालागि ठूलै थियो’ भन्दै उहाँ अहिलेको प्रसङ्गमा थप्नुहुन्छ- त्यसरी आउनेलाई हात खाली पठाउँदिन । तपाईंको यज्ञमा चरु हाल्छु भन्छु र सकेको दिन्छु ।

उहाँलाई वि.सं. २०६० सालमा ‘नइ प्रकाशन’ का तर्फबाट करिब चार दर्जन वरिष्ठ लेखक-साहित्यकारहरूको हस्ताक्षरसहित ‘आधुनिक युगका मोतीराम’ को सम्मानसहित सार्वजनिक अभिनन्दन गरिएको थियो । सोही अवसरमा ‘कमल दीक्षित ः कालो अक्षरदेखि सग्लो अक्षरसम्म’ नामक समालोचनात्मक ग्रन्थको प्रकाशन पनि गरिएको थियो । साहित्यकार जोडी नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंद्वारा सम्पादित उक्त कृतिमा ५० जना लेखक-समालोचकहरूले दीक्षितका विभिन्न कृतिहरूको बारेमा समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यसरी उपाधि दिइने प्रचलन नेपाली साहित्यमा प्रशस्तै देखिँदैआएको भए पनि वास्तवमा उहाँ भने उपाधि दिनलायक व्यक्तित्व नै हुनुहुन्छ तर पनि उहाँको दृष्टिकोणमा यो सब भ्रम हो, झुक्याएको हो । वास्तवमा म केही होइन भन्दै यसबारेमा उहाँ थप्नुहुन्छ-त्यसरी हस्ताक्षर गराइएकालाई पनि कुन प्रयोजनका लागि आफ्नो हस्ताक्षर लिइएको हो भन्ने धेरैलाई जानकारी थिएन अरे । पछि भेटमा केहीले भन्थे-सही गरिदिनु भने, लौ त भनेर गरिदिएको हो । वास्तवमा हो पनि त्यस्तै । जसको अगुवाईमा गरिएको थियो, पछि अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा वक्ताहरूले उहाँलाई नै ‘आधुनिक युगका मोतीराम’ भनेर सम्बोधन गर्दा यो उपाधि त सार्वजनिकरूपमा कमलमणिलाई दिइसकिएको छ, उहाँ हो म होइन भनेर भन्न सक्नुपथ्र्यो नि त । खै त भन्न सकेको ।

उपाधि दिनु र लिनुले काम गर्नेहरूलाई कुनै असर पर्दैन । उहाँले नेपाली भाषा र साहित्यका क्षेत्रमा वास्तवमा दिनैपर्ने ‘दिगो उपाधि’ दिनलायक काम गर्नुभएको छ । भलै सम्पत्ति अर्कैको होस्, त्यसको व्यवस्थापन उचित ढङ्गले हुनु पनि ठूलो कुरा हो । वि.सं. २०१५ सालदेखि उहाँ सम्पादक र प्रकाशक रहनुभएको त्रैमासिक पत्रिका ‘नेपाली’ निरन्तररूपमा प्रकाशित हुँदैआएको छ ।

उहाँ दर्जनौँ सङ्घ-संस्थाहरूसँग जोडिनुभएको छ । थप केही योजना पो छन् कि ? अब यो उमेरमा आएर के नयाँ योजना बनाउनु । जस्तो चल्दैआएको छ, चलिरहन्छ । इतिहास नमरोस् भन्ने एउटै कामना मेरो छ भन्नुहुन्छ दीक्षित ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *