सामाजिक र सांस्कृतिक विविधताले परिपूर्ण तराईमधेसका लागि यो चाडपर्वको मौसम हो । चाडपर्वको क्रम बाह्रै महिना चलिरहे पनि कृषिप्रधान यस क्षेत्रमा खेतिपाती सकिएपछि चाडपर्वको शृङ्खलाले तिब्रता पाउँछ । रक्षाबन्धन, कृष्णाष्टमी, चौठचन्द, ईंद, रमजान र अनन्त पूजालगायतका पर्व केही अघि सकियो भने जितिया र विजयादशमी तराईवासीले भर्खरै मनाएका छन् । त्यस्तै दीपावली र छठ मनाउने तरखरमा छन् ।
जितिया पर्व ः
पुत्रको सुखशान्ति र दीर्घायुका लागि अति श्रद्धा र निष्ठाका साथ यो पर्व तीन दिनसम्म मनाउने गरिन्छ । छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले अचेल यसलाई आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व भन्न थालिएको छ । यस पर्वको पहिलो दिन सधवा महिला कोदोको रोटी र माछाको परिकार खान्छन् भने विधवा महिला अरबा अन्नका परिकार खान्छन् । दोस्रो दिन अर्थात् आश्विन कृष्ण अष्टमीका दिन दुबै छाक उपवास गरी प्रातःकाल तिथि बदलिएपछि पारण गर्ने विधान छ । तिथि बदलिन ढिलो भए उपवास दुई दिनसम्म लम्बिन जान्छ । यो ब्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास छ ।
जितियाबारे नेपाली सञ्चारमाध्यम र केही व्यक्तिले भ्रम उत्पन्न गर्ने गरेका छन् । उनीहरूले यसलाई मात्र थारू महिलाको पर्वको रूपमा प्रचार गर्ने गर्दछन् । यथार्थ के हो भने ऐतिहासिक मिथिलाको भूभागमा बसोसास गर्ने मुस्लिमबाहेकका महिलाको पर्व हो यो । अचेल मिथिला क्षेत्रमा बसोवास गर्ने थारू महिलाले पनि यो पर्व अति उल्लासका साग मनाउने गर्दछन् । अर्थात् कोशीदेखि गण्डकी र यस आसपासका आमाहरूको पर्व हो यो । दुई दिनसम्म उपवास बस्नुपर्ने अति कठोर नियमका कारण मिथिला क्षेत्रमा यस पर्वका सम्बन्धमा एउटा उखान नै प्रचलित छ – जितिया पाबैन बड भारी, धियापुताके ठोइक सुताबी, अपना खाय भैर थारी ।
विजयादशमी ः
मिथिला र यस आसपासका क्षेत्रमा एउटा अर्को भनाइ पनि प्रसिद्ध छ – जितिया दशे दशमी, दशमी बीसे सुकराति, सुकराति छबे छइठ । जितिया सकिएको लगभग १० दिनपछि विजयादशमीको रमझम सुरू हुन्छ । नेपाली भाषामा बडा दसैं भनिएजस्तै तराईमधेसमा यसलाई विजयादशमी, दशमी, दुर्गापूजा, दशहरा, शारदीय नवरात्राजस्ता नामले चिनिन्छ । विजयादशमीको पहिलो दिनलाई कलस्थापन भनिन्छ । कलस्थापनदेखि दश दिनसम्म दुर्गा भगवतीको विधिपूर्वक पूजाअर्चना गरिन्छ । दुर्गा सप्तशती पाठका साथै घरघरमा महादेव पुजन गरिन्छ । प्रत्येक दिन बिहानै गोबरमोटोले घरआँगन लिप्नु अनिवार्य नै मानिन्छ । यस अवधिमा प्रत्येक बिहान घरघरमा ढोल बजाएर दुर्गा भवानीलाई आहृवान गर्ने चलन पनि यथावत् छ ।
दसैंमा भगवती र कालीलगायतका देबीदेवताको मूर्ति स्थापना गरी पूजा गर्ने परम्परालाई तराईमधेसको खास विशेषता भन्न सकिन्छ । खासगरी पञ्चमी, सप्तमी, अष्टमी र नवमीलगायतका तिथिमा बलि प्रदान गर्ने चलन छ । दशैँभरि नै प्रायः सबै काली र भगवतीका मठमन्दिर र देवालयमा भक्तजनको भीड देख्न सकिन्छ । दसौं दिन अर्थात् विजयादशमीका दिनलाई जात्रा अथवा यात्रा पनि भनिन्छ । यस दिनलाई कुनै पनि कार्य शुभारम्भ गर्न वा यात्रा थाल्नका लागि शुभ मानिन्छ । विजयादशमीका दिन बिहानै उठेर नीलकण्ठ चराको दर्शन गरेर दही चिउरा खाने परम्परा छ । यसले वर्षैभरि यात्रा शुभ हुने र मनोकामना पूरा हुने
जनविश्वास छ । विजयादशमीकै दिन मूर्ति स्थापना भएका स्थान तथा काली र भगवतीका मन्दिरमा मेला लाग्ने गर्दछ । अन्य समुदायमा मनाइने विजयादशमीसँग तुलना गर्दा आसामी र बङ्गाली समुदायजस्तै मधेसी समुदायको दशहरा बढी धार्मिक र तान्त्रिक हुन्छ भने नेपालीभाषी समुदायको बडादसैं बढी सांस्कृतिक र सामाजिक हुने गर्दछ ।
तिहार ः
मिथिला क्षेत्रलगायत सम्पूर्ण तराईमधेसमा तिहार मुख्यतः तीन दिन मनाइन्छ । पहिलो दिन दीपावली अर्थात् दियाबाती, दोस्रो दिन गोवर्द्धन पूजा अर्थात् हुराहुरी र अन्तिम दिन भाइटीका अर्थात् भातृद्वितिया मनाइने चलन छ ।
कात्तिक अमावश्याको कालो अँध्यारो रातमा घरआँगनमा दीपको माला सजाएर दीपावली मनाउने पुरानो परम्परा रहिआएको छ । दीपावलीका दिन बिहानैदेखि गोबरमाटोले घरआँगन लिपेर चौख्याउने गरिन्छ । यसका साथै घरका हरेक वस्तु र टोलछिमेकलाई सफासुग्धर राख्ने र चौख्याउनु अनिवार्य हुन्छ । साँझ पर्नै लाग्दा दियो र अन्य बत्तीले घरआँगन र टोलछिमेक झकिझकाउ गरिन्छ । त्यसै अवसरमा बच्चादेखि बूढापाकासम्मले उक बालेर उकालोली खेलिन्छ । रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मीलाई आहृवान गर्ने चलन पनि छ । यस दिनलाई नयाँ बहीखाता र नयाँ उद्योग व्यवसाय आरम्भका लागि शुभ मानिन्छ । दोस्रो दिन अर्थात् गोवर्द्धन पूजाका दिन गाई वस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ । परिवारका हरेक सदस्यले पनि मीठो परिकार पकाएर खाने गर्दछ । दिउँसोतिर गाउँभरिका सबै गाईवस्तुलाई एकै ठाउँ भेला गराएर हुराहुरी खेल्ने चलन छ । त्यसैबेला तराईको परम्परागत खेल कुस्ती पनि खेल्ने गरिन्छ ।
तेस्रो दिन मनाइने भातृद्वितिया वास्तवमा भाइबहिनी र दिदीदाजुबीचको सम्बन्धको पर्व हो । दिदी बहिनीले एकाबिहानै घरआँगन लिप्छन् । आँगनमा पिर्का राखेर त्यसमाथि परिपन बनाएर सिन्दूरको थोपा लगाइन्छ । दाजुभाइ आएपछि दिदीबहिनीले आफ्नै हातले गोडा धुन्छन् र स्नेहपूर्वक अरिपन दिइएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा सिन्दूर, पिठार लगाएर त्यसमाथि पानको पात, सुपारी, कुभिण्डोको फूल, जायफल राखेर पानी खन्याउने गर्दछन् । यसलाई मैथिलीमा न्यौतब अर्थात् निमन्त्रण दिनु भनिन्छ । त्यसअवसरमा दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपियाँ, गहना, लुगा उपहार दिने गर्दछन् ।
छठ पर्व ः
परम्परागत रूपमा छठ पर्वको उत्पति प्राचीन मिथिला र मगधमा भएको मानिन्छ । प्राचीन मगधको भूभाग भारतको विहारमा पर्दछ भने मिथिलाको करिब एक तिहाई भूगोल नेपालमा पर्दछ । नेपालमा यो पर्व मूलतः मैथिली र भोजपुरीभाषीको पर्व हो तर केही वर्षदेखि मारवाडी, बङ्गाली र पहाडी समुदायले समेत बडो श्रद्धापूर्वक यसलाई अपनाउने परम्परा सुरु भएको छ । भाकल पूरा भएका मुस्लिम धर्माबलम्बीले पनि छठ मनाउने गरेको पाइन्छ । बहुसांस्कृतिक र बहुधार्मिक नेपालको यो अत्यन्तै सुन्दर पक्ष हो ।
षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने भएकोले यसलाई षष्ठीब्रत अर्थात् छठ भनिन्छ । मैथिलीमा यसलाई छइठ भनिन्छ भने छठसम्बन्धी गीतहरूमा छठी मैया शब्दको प्रयोग भएको पाइन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् चौठको दिनलाई अरबाअरबाइन अथवा नहायखाय भनिन्छ । चौठकै दिन ब्रतीले माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि खानेकुरा परित्याग गर्दछन् । यही दिनदेखि नङ काटी, नुहाइधोइ गरी ब्रती शुद्ध भएर बस्न थाल्दछन् । पञ्चमी तिथि अर्थात् खरनाको दिन ब्रतीले दिनभर जलसमेत ग्रहण नगरी उपवास बस्छन् र रातमा चन्द्रोदय भएपछि चन्द्रमालाई खीर चढाउँछन् र त्यही खीर आफू पनि ग्रहण गर्दछन् । त्यसपछि ब्रतीको निर्जला उपवास सुरु हुन्छ । षष्ठीको दिन अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने गरिन्छ भने सप्तमीमा उदाउँदो सूर्यलाई दोस्ा्रो तथा अन्तिम अघ्र्य दिने गरिन्छ । अन्तिम अघ्र्यपछि मात्रै ब्रतीले पारण अर्थात् अन्न ग्रहण गर्ने गर्दछ । उदाउँदो सूर्यलाई अघ्र्य दिनुलाई डाँडामाथिको घाम मानिने बूढापाकाको सम्मान गरेको मानिन्छ । यसले पराजितको समेत सम्मान गर्नु पर्दछ भन्ने सन्देश दिन्छ ।
मिथिलाका हरेक अनुष्ठान र शुभकार्य गीत र सङ्गीतमय हुन्छ । यसका पनि छठी मैया र सूर्य अराधनासम्बन्धी गीतहरू अत्यन्तै मौलिक र लोकपि्रय हुन्छन् । छठको तयारीदेखि समापनसम्म हरेक पाइलामा गीत गाइन्छ ।
हमरा अँगनामे पोखरी खनाएल, छठी मइया औथिन्ह आई…
आन दिन उगह सुरुज भोरे भिनसरबे, आई किएक भेलह एतेक बेर, सुरुज हो
