सन्तानको चक्कर, छिमेकीको ठक्कर

  • by


लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने कुरा जिजुबाका छोराले भनेको सुनेको हुँ । कुरा उहिलेको भएर खुइलेको हो कि मेरो खप्पर उस्तो हो कुनी । म र मेरी पत्नीबीचको झगडा त मूढोमा सल्केको आगोजस्तो पो भएको छ । यसका कारक बनेका छन् आफ्नै छिमेकी प्रयागराज । छिमेकीलाई दोष लगाउँदा तपाईंहरूले प्याच्च भनिदिन सक्नुहुन्छ, नाच्न जान्दैन आँगन टेढो तर के गर्ने नाचको सुरताल नै अर्कैले दिने भएपछि उसले बीचबीचमा बाजा अर्कै गरी बजाइदिन्छ त सुरताल बिग्रने नै भयो । छिमेकीको दबदबाको पनि कारण छ । बिहेको लमी उही बन्यो, आफ्ना मनका बह पोख्ने मानिस पनि उही बन्यो तर के गर्ने आन्द्राभुँडी छामी सकेपछि बाउँठिएर आफ्नै खेदो खन्न थाल्यो । नुनदेखि सुनसम्म किन्न पनि उसैको मर्जी चाहिने, पत्नीसँगको भनाभनमा बोलिने शब्दमा पनि उसकै स्वीकृति चाहिने । हे भगवान् ! म पत्नीपीडित कम छिमेकीपीडित बढी पो भएको छु । यसो हिम्मत जुटाएर केही भन्यो कि ऊ आइलागि हाल्छ ।

“दुर्दशाका बेलामा दाल रोटी खुवाउने म, केटीदेखि भेटीसम्म जुटाइदिने म । कसैको भाग खोसेर दान दिने पनि म । अहिले मसँग जोरी खोज्छस् ?,” ऊ च्याँठिन्छ । म अक्क न बक्क । अचेल पत्नी र मेरोबीचको झगडामा नायकदेखि खलनायकसम्मको भूमिका गरिरहेछन् । एक साताअघिको कुरा हो, छोरा पाउने कि, छोरी पाउने भन्ने विषयमा पत्नी र मेरो बीचमा सामान्य छलफल के भएथ्यो, दुष्ट छिमेकीले आँखा सन्काइदिएछ ।

“के पाउने कस्तो पाउने भन्ने कुरा तपाईं र मेरो मात्र निर्णयले हुन्छ ?” ऊ बुरुक्क उफ्रिइ । अचम्मको कुरा प्रत्येक झगडामा ऊ त्यही छिमेकीलाई सत्तो सराप गर्छे, म पनि त्यसै गर्छु तर पनि पुग्ने र सल्लाह माग्ने चाहिँ उही हुन्छ । आजको झगडाले त ऊ कुम्लो कुटुरो बोकेर माइत जाने भनेर हिडीँ । क्या दिक्दार ! उसलाई फकाएर घरमा ल्याउन उही छिमेकी चाहियो ।

यो ग्रहदशाको खेल हो कि, क्षेत्रदशाको मूल हो भनेर खुट्याउन एक जना नाम चलेका ज्योतिषबाजे कहाँ पुगें । आश्चर्य म पुग्नु पहिले नै मेरी पत्नी पुगिसकेकी रहिछ ।

“तपाईं यहाँ आउनुहुन्छ भन्ने कुरा मलाई पहिलै थाहा थियो । उसले आँखा नचाउँदै भनी । ऊसँग सन्तान जन्माउने विषयमा ज्योतिषसँग सल्लाह लिने कुरामा सहमति भयो र हामी ज्योतिष बाजेकहाँ पस्यौं ।”

“मलाई थाहा छैन, मेरो सन्तान नेता बन्नुपर्छ । नेता बन्न नसक्ने रहेछ भने तपाईंबाट सन्तान जन्मने छैन ।” उसले औँला ठाडो पार्दै भनी । ज्योतिष बाजेलाई साष्टाङ्ग गर्दै सोधें, “हजुर हामी सन्तान जन्माउन चाहन्छौं जो नेता होस् । के छ अवस्था लौन हेरिदिनु पर्‍यो ।”

“तपाईंहरूबाटै जन्मने हो भने त तपाइँजस्तै जन्मन्छ । के तपाईंमा साम, दाम, दण्ड भेदजस्ता चार विद्या र मानिसको दिमाग भुट्न सक्ने चौध चतुर्‍याइँको ज्ञान छ ? भाइभाइ जुधाउने, लाशमाथि पजेरो गुडाउने, साधुलाई सुली दिएर, धेरै मान्छे मार्नेलाई फुली दिने तागत छ ? चौबीस घण्टामा बहत्तर झूट बोल्ने, माछा देख्दा कुरमा हात, सर्प देखे बगलीमा हात गर्ने, मुखले राम भन्न नछोड्ने, हातले छुरा घोप्न नछोड्ने आँट छ ? सधँै छिमेकी रिझाएर खान सक्ने बर्कत छ ?” ज्योतिषले दर्जनौं प्रश्न गरे । मैले छैन भनें । ”खै तपाईंको जन्मकुण्डलीमा राहु, केतु, उल्का, नक्षत्र र अरिष्ट ग्रह र शनिको मोर्चा बन्दी नै छैन । त्यस्तो मोर्चा बन्दी बिना देश सुलुक्कै खाने नेता कसरी जन्मन्छ ?” उनले उल्टै प्रश्न गरे ।

“अनि यसो गुण्डागर्दी, अपहरण, बलात्कार, चोरी डकैती गर्न पनि नजान्ने, सन्तान जन्मने भो त हजुर ?” मैले हात जोड्दै सोधें ।

”तपाईंलाई त्यस्तो अपराधी सन्तान किन चाहियो ?” उनले सोधे ।

“ए हजुर आफूलाई आˆनो सन्तान आफैंसँग रहोस्, यही मुलुकमा बसोस् भन्ने छ । यो मुलुकमा बसेर त्यो कला याने कि सीप जानेन भने त त्यो त अकालमा नै मर्छ हजुर । यो देशको उद्योगधन्दा भने पनि रोजगारी भने पनि त्यही होइन र ?” मैले समस्या राखें । ज्योतिषले खाउँलाजस्तो गरेर हेरे र धेरैबेरपछि खित्का छोडेर हाँसे ।

“हेर्नुस् त्यो नक्षत्र पनि तपाईंको सन्तानमा हुने छैन । तपाईंको सन्तान कि मरुभूमिमा भेडा चराउन जाने खालको हुनेछ, कि त देशको अस्तित्व खोज्दा मारिनेछ ।” ज्योतिषले भने ।

“ए त्यसो पो ? त्यसो भए म तिमीजस्तो नादानीको सन्तान जन्माउनेवाला छैन ।” मेरी पत्नी मलाई धक्का लगाएर हिँडिन् । घरमा पुग्दा उनी थिइनन् । छिमेकी प्रयागराज मुसुक्क हाँस्दै देखापरे ।

“धर्मजी, तपाईंबाट योग्य सन्तानको सम्भावना देखिएन । बरु यसो गर्नुस्, तपाईं मेरो सहयोग लिएर सन्तान जन्माउनुस् । त्यसो भए तपाईंको छोरो नेता मात्र होइन, नेतालाई मन्त्र सिकाउने गुरु बन्ने छ । ”

“चाहिन्न मलाई तिम्रो सहयोगको सन्तान । तिम्रो गन्धमात्रले पनि मेरो टाउको दुख्छ ।” म चिच्याएँ ।

“के गर्छौ बाबु, तिम्रा सबै खलक मेरै नुन खाएर बाँचेका छन् । किन यत्रो धक्कु ?” उनी चिच्याए ।

घर गृहस्थी गरेर बस्नभन्दा त कि छिमेकी पीडित सङ्घ खोलूँ, कि त अरबमा भेँडा चराउन जाऊँ । म सोच्दै छु । लौन केही सल्लाह पाऊँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *