Skip to content


आँसुको थोपा “टप टप” खस्न थाल्छन । किरण आफैंलाई प्रश्न गर्छ धत्त के भएको होला मलाई? यस्तो सामान्य कुरामा पनि भावुक भै हाल्ने ? आँसु नै टप्कने ? अरुले सुने भने गलल हाँस्न बेर छैन । फेरि सोच्छ, ल म त एकछिन भावुक भएँ । आँसु झरे वा एकै छिनको लागि म बहुला भएँ रे । तर ती ‘साके’को (जापानी भाषामा परम्परागत चामलको रक्सी) गिलास, फल, फुलको गुच्छा चढाएर झुक्दै स्रद्धा सुमन व्यक्त गर्ने जापानीहरूलाई के भन्ने ? ती मभन्दा धेरै सभ्य छन् बुझेका छन् । किरण आँसु रोक्न मनलाई अन्तै दौडाउँन चाहन्छ, उफ सक्दैन । एकै छिन लामो स्वास फेरेर मनलाई स्थिर बनायो । तर उसको दृष्टि एकोहोरो त्यही सालिक माथि नै छ ।

जापानको राजधानी टोकियो शहरको पश्चिमी भागको केन्द्र बिन्दु सिबुया स्टेसनको उत्तरी ढोका अर्थात् जापानको प्रसिद्ध ”हाचीको पार्क” मानव समवेदनसीलताको एक अनुपम उदाहरण बनेर रहेको स्थान छ । त्यहाँ पुगेपछि जो कोही पनि त्यो सालिक अनि त्यसमाथि जापानी नागरिकको गरेको श्रद्धालाई एक छिन सोच्ने हो भने भाव विह्वल नहुने मानव कोही नहोला । आखिर किरण पनि त यही समाजको एउटा पात्र हो भावनामा बहकियो । रोक्दा रोक्दै उसका दुई आँखा रसाएर टप्किन थाले । ऊ बगलीबाट हाते रुमाल निकालेर आँखा पुछन थाल्यो ।

किरण टोकियो पुगेको दुई हफ्ता मात्र भएको थियो । घुम्ने क्रम अनि समय बिताउन ऊ दैनिक एक पटक हाचीको पार्क पुग्ने गर्दछ । किरण हुर्केको समाज र जापानी समाजबिच अकल्पनीय भिन्नता थियो । कहाँ आफ्नो कारणले अरुले दुख नपाओस भन्ने महानता, कहाँ अरुलाई दुख दिएर रमाउने निर्किस्टता ! जापानीहरूको बोल्ने मिठास, सहयोगी भावना अनि कोमल हृदय देख्दा लाग्थ्यो, हामी त २०० बर्ष पुरानो अवस्था र सोचमै छौं वा के मानव बस्तीमै छौं । कहाँ मानवीय सम्वेदनाशीलताको बिउ खोज्नु पार्ने समाज, कहाँ सम्वेदनशीलताको बिसाल महासागर । कहाँ सामन्ती सोचको बुढो वृक्ष, कहाँ मानवीय मूल्य र मान्यताको अग्लो शिखर ।

किरणको मन बारम्बार त्यही सालिक शालिक वरिपरि घुमिरह्यो । चढाएको पैसा, फल, फुलको गुच्छा, ‘साके’को गिलास देखेर किरण अचम्मित भयो । न त त्यो कुनै चाड थियो न त पर्व ! ठुलो मनका धनी जापानीहरू त्यो हाचीकोको अदभुत ब्यबहार देखी भावविह्वल भएर कसलाई कहिले अनुकुल हुन्छ त्यही समय श्रद्धा सुमन स्वरुप चढाउने गर्दा रहेछन । अँझ अचम्मलाग्दो कुरो त के भने त्यसरी सालिकलाई चढाएको फल, ‘साके’ अनि खानाबाट त्यहाँ वरिपरि बस्ने केही घरबारबीहिन जापानीहरूको लागि गुजारा गर्ने स्रोत बनेको छ त्यो सालिक ।

स्वार्थले बशिभूत भएर अर्काको ज्यान मार्ने मानव संसारमा त्यस्तो जनावर पनि छ जो मित्र (मालिक)को अनुपस्थितिमा उसलाई कुरेर नै प्राण त्याग गर्छ तर अन्त जादैन । कस्तो महान मन त्यो हाचीकोको ? सोच्दै किरण फेरि भावुक भयो । तामा रंगमा बनाइएको हाचीकोको सालिक अगाडी बसेर मित्रलाई पर्खिएको घन्टौ बित्दा पनि किरणको मित्र आइपुगेका थिएन। किरणको मन एक्कासि फेरि दशकौं अगाडीको उसको मोतीको सम्झनामा पुग्छ ।

किरणले घरमा मोती नामको साथीलाई पालेको थियो । एक दिन रुवाउँदै मरेर गयो, तर जहिले पनि त्यो प्राणी देख्छ, किरणको मनमा मोतीको अनुहार नाच्न थाल्यो । किरण फेरि भावुक भयो ।

किरणको त्यो मोती, जसलाई उसले आँखा खुलेकै दिन आफ्नो नातेदारको घरबाट एउटा हत्केलामा राखेर सुम्सुम्याउदै, गालामा टास्दै खुसी भएर लेराएको थियो । प्लास्टिकको बोत्तलमा दुध पियाएर आफ्नै ओछ्यानमा हुर्काएको थियो । मोती जब ठुलो भएको थियो उसमा एउटा अपत्यारिलो स्वभाव देखाउन थाल्यो । सुरु सुरुमा त बिरामी पर्यो कि भनेर चिन्ता हुन्थ्यो । प्रत्यक आइतबार मोती केही पनि खादैनथ्यो । अरु दिन मासुको गन्ध थाहा पायो कि भान्छा वरिपरि पुच्छर हल्लेर घुम्ने मोती आइतबार भने मुखमा कोच्याई दिदा ख्याक ख्याक । गर्दै भाग्थ्यो । रिसाए झैँ गरी ऊ अगाडी नै आउदैन थ्यो । खान भनी उसको भाँडोमा हालिदिएको खाने कुरो पनि कहिल्यै खाँदैनथ्यो । प्रत्यक बिहान ढोका खोल्ने बित्तिकै किरणको ओछ्यानमा आएर लडिबुडी गर्थ्यो ।

अति व्यस्त सिबुया स्टेशन, जहाँ एकै पटकमा हज्जारौं हुरुरु हुरुरु आवत-जावत गर्छन । सबैको हत्तारो, सधैको चटारो जापानीहरूको दैनिकी किरणको लागि अनौठो थियो । त्यो ठुलो भीडमा एक्लो किरण मित्रको प्रतिक्षामा बसी नै रहेको थियो । अगाडीको सालिकले किरणलाई मोतीलाई सम्झन घच्घचाई रहेको छ । आखिर गरोस पनि के, बोल्ने साथी कोही न भएको समयमा ?

अरुभन्दा पनि किरणलाई हमेसा उसको मोतीको अन्तिम दिनहरू नै बढी याद आइरहन्छ । मोतीले भर्खर ४ बर्ष काटेको थियो । अचानक उसको पछिल्लो भाग सिथिल भयो । खुट्टाहरूले काम गर्न छोडे । अगाडीको दुई खुट्टाको बलले ऊ शरीरलाई घिसारेर यता उति गर्दथ्यो । उसका आँखामा आँसु तर्किन थाले । अस्पताल पुर्याएको त हो नि, तर औषधीले काम गरेंन । अन्तिम दुई तीन दिन मोतीले अचम्मैको हर्कत देखायो । जति चोटी बोकेर उसलाई उसको ओछ्यानमा पुर्याईदियो सकी न सकी घिस्रेर बाहिर नै जान्थ्यो सुत्थ्यो । एक चोटी त किरणले गाली पनि गर्यो । बिचरा बोल्न सक्ने भए त मनको बिलौना गर्थ्यो होला नि ? यसो किरणको मुखमा हेर्यो बस । उसको मृत्युपश्चात मात्रै अनुमान गर्यौ कि मोतीको अन्तस्करणले जीवन यात्रा पुरा भएको थाहा पाई सकेको थियो । त्यसैले घर भित्र मरेर ऊ अगति हुन्न चाहँदैन थियो होला सायद । हुन् पनि आइतबार आइतबार ब्रत बस्ने मोतीलाई त्यस्तो अन्तर्ज्ञान भएको हुनुपर्छ । अन्तिम दिन त्यसै गरी बगैचामा सुतिरहेको मोतीलाई बोकेर उसको ओछ्यानमा राखिदिएको थियो किरणले । मोतीको आँसु झरिरहेको थियो । “यताउति जाने होइन नि” भनी हप्काउदै उसको टाउको सुम्सुम्याएर खाना आगाडी राखिदिएको थियो किरणले। “खा” भने पनि मोतीले वास्ता नै गरेंन । “भोक लागे खाला नि” भनी किरण सुत्न गएको थिए ।

अर्को दिन बिहान नियमित ढोकामा क्यार क्यार गर्ने मोतीको चाल चुल थिएँन । किरण ससंकित भयो । “ए मोती कता छस ?” भन्दै उसको ओछ्यान तर्फ गयो । मोतीले टसमस नगरेको देखेर टाउकोमा हात राखेर बिउझ्याउँन खोज्यो । मोती कहिल्यै न ब्युँझिने गरी सुतिसकेको रहेछ । शरीर अररो भैसकेको रहेछ । किरणले रुदै आमालाई बोलायो “आमा, मोती !”

“के भो मोतीलाई ?” आमाले के भन्दै थिइन, उनले देखिन मोतीले छोडेर गइसकेछ । “यस्तै हुन्छ भनेर हो मैले नपालौं कुकुर भनेको, छोरा छोरी झैँ हुर्कायो बढायो रुवाएर जान्छन ।” भन्दै आमा भान्छातिर लागिन् । किरणले मोतीलाई बगैचामा लगेर गाड्यो । त्यसमाथि बिरुवा रोप्यो अर्को दिन मोतीको सम्झनामा ।

त्यही मोतीको मित्र किरण आज फेरि टोकियोको सिबुयामा रहेको हाचीकोको कथाले भावुक भएको छ । THE FAITHFUL DOG CHUKEN HACHIKO लाई किन भगवानले कुकुर बनाए ? किरणको मनमा प्रश्न उठ्छ । किरणको मनमा घुमीफिरी हाचीकोको मित्र/मालिक प्रोफेसर उएनो र उसको प्रेमपूर्ण भावको बिसालताको मापन दौडिरहन्छ । करिब ८ दशक पुग्न लागेको त्यो हाचीकोको सालिक अनि कथा कुनै सामान्य मानिसकोभन्दा अतुलनीय माथिल्लो श्रेणीमा पर्दछ । प्रोफेसर र हाचीको प्रत्यक दिन स्टेसनसम्म सँगै आउँथे । हाचीको घर फर्कन्थ्यो, बेलुका फेरि लिन आउँथ्यो । त्यो दृश्य त्यहाँ यात्रा गर्ने अरु जापानीलाई पनि थाहा थियो । एक दिन प्रोफेसर उएनोको हृदयगति बन्द भएर कार्यालय मै जीवनलिला समाप्त भयो । हाचीको प्रत्यक दिन उही समयमा स्टेसन आउँथ्यो अनि अन्तिम रेलको समयसम्म कुर्थ्यो र घर फर्कन्थ्यो । यो क्रम निरन्तर दस बर्षसम्म चल्यो । कसैले हाचीकोलाई उपचार गरिदिन्थे त कसैले खाना खुवाई दिन्थे । एक दिन ( मार्च ८, १९३५) हाचीकोको त्यही स्टेसन अगाडी मृत्यु भयो । हाचीकोको वफादारी देखेर प्रभावित भावुक जापानीहरूले सालिक बनाएर आजसम्म उसको सम्झना र उस प्रति श्रद्धा सुमन चढाई रहेका छन् । यो कथाले किरणको आँखा रसाएको थियो ।

“किरण !” पछाडीबाट मित्रले धाप मारे, “के भो उदास जस्तो देखिन्छौ त ?” माधबले सोधे ।

“ठिकै छ । तिमी ढिला आएर तिमीले मलाई मेरो अतितमा फर्कने मौका दियौ,” किरणले जवाफ फर्कायो । “तिमीलाई थाहा छ यो हचिकोको सालिकको कहानी ?” किरणले ४ बर्ष टोकियोमा बिताई सकेको माधबलाई सोधे ।

“अहँ । किरण तिमी पनि ! त्यो कुकुरको सालिक त हो ! के पो जान्नु पर्यो र ?”

माधबको जवाफ सुनेर किरणले भन्यो, “त्यसो होइन यार । यो हाचीकोको कथा मनन योग्य छ ।”

किरणले हाचीकोको कथा बताई दियो । माधब पनि एक छिन टोलायो र भन्यो, “अचम्म ! यो त मानिसभन्दा धेरै गुणा ।”

किरण र माधब गन्तव्यतिर लागे ।

किरणको मनको मोतीले छोडेर गएको दुई दशक नाघिसक्यो । मोतीपश्चात उसको सम्झना भुलाउने बहानामा मित्र बनाएर पालेको लक्की र रक्कीले समेत मोतीकै बाटो पछ्याइसके तर पनि मोतीलाई भने किरणले भुल्न सकेको छैन । त्यो मोती बोल्न सक्ने हुँदो हो त कत्ति ज्ञानको कुरो सिकाउँथ्यो होला ?

किरण जहिले सिबुया स्टेसन पुग्छ, एक पटक हाचीकोको सालिकलाई हेर्छ, छुन्छ। धेरै पटक अरुको फोटो खिचिदियो हाचीकोसित अनि आफ्नो पनि खिच्यो । किरणको लागि मोती र हाचीको मनको मित्र बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *