Skip to content


प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुनसक्छ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहासलाई फर्केर हेर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेको थियो । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेब्रुअरीमा संसारमा ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो ।

त्यसै समयदेखि महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फ्रेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ ।

भ्यालेन्टाइन डे जति नजिकिइँदैछ, फूल तथा कार्ड व्यवसायीहरू आफ्नो पसल सजाउन उत्तिकै उत्साहित भएका छन् । न्युरोडका ‘हलमार्क कार्ड एण्ड गिफ्ट सप’ का व्यापारी भन्छन्- ”हाम्रो कमाई राम्रो हुने समय भनेकै भ्यालेन्टाइन डे हो ।” भ्यालेन्टाइन डे धूमधामका साथ मनाउनेमध्ये बढी जसो दस जोड दुई र क्याम्पस पढ्ने विद्यार्थी भएको खिचापोखरी ‘आर्चिज’ का व्यापारी बताउँछन् । ‘यो समयमा उपहार छनोटभन्दा युवायुवतीहरू आकर्षक प्याकिङ चाहन्छन् ।’

‘भ्यालेन्टाइन डे’ लाई उपहारमार्फत प्रेम साटासाट गर्ने पर्वको रूपमा लिएकी छन्, खुसिबुँकी हीराकुमारी श्रेष्ठले तर आफूले हालसम्म प्रेमी नपाएको हुनाले यो दिन परिवारका सदस्यसँगै बसेर मनाउने उनको सोचाइ छ ।

जेभियर इन्टनेसनलका छात्र सन्दीप सेवाको प्रेम दिवसबारे सकारात्मक धारण छ । ‘भ्यालेन्टाइन डे’ एउटा पर्व हो, हरेक वर्षको आफ्नै महìव छ, उनी भन्छन्- ”उनले सो दिन आफ्नी प्रेमिकासँग मनाउने कार्यक्रम बनाइसकेका छन् ।”

एक टेलिभिजनका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालक (भि.जे.) राजन घिमिरे तेस्रो शताब्दीदेखि चल्दै आएको उपहार आदानप्रदान गर्ने चलनले विश्वभरी महìव पाएको बताउँछन् । यस्ता कुराले संस्कृति बिगार्‍यो बिगारेनभन्दा पनि अरूको अहित नगर्नु नै प्रमुख भएको उनी थप्छन् । सो दिन आफ्नै कमाईले प्रेमिकासँग डेटिङ जाने उनी बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत दिलीपमान मिलनको विचारमा ‘भ्यालेन्टाइन डे’ ले नेपाली संस्कृतिमाथि अतिक्रमण गरेको आरोप छ । उनका अनुसार यस दिनको प्रभावले वसन्त पञ्चमीको आकर्षणलाई कम गरेको छ । सञ्चार माध्यमले पञ्चमीको दिनलाई प्रेम दिवसको रूपमा प्रचार गरे यसको महìव बढ्ने उनको धारणा छ । पाल्पाको रानीमहल, काठमाडौँको रानीपोखरी पनि प्रेमको प्रतीकका रूपमा लिइन्छ । फागुपूणिर्मालाई प्रेम, सद्भाव बाँड्ने पर्वको रूपमा लिइन्छ तर यी सबैलाई ओझेल पारिएको उनको आरोप छ ।

त्यस्तै धारणा अधिवक्ता स्वयम्भुरत्न शाक्यको छ । उनको विचारमा ‘भ्यालेन्टाइन डे’ बकवास र पश्चिमी संस्कृतिको नक्कलबाहेक केही होइन । अहिलेका युवायुवतीमा हाम्रो चाड पर्वको चर्चा छैन तर ‘भ्यालेन्टाइन डे’ का बारेमा विज्ञ छन्, हामी आफ्नो थुप्रै मौलिक संस्कृतिलाई जोगाउनु पर्छ यसको जिम्मा आजका युवापुस्ताले लिनु पर्छ ।

तर, अर्की महिला शिक्षिका सुश्री निलम प्रधान भने ‘भ्यालेन्टाइन डे’ लाई सकरात्मक रूपमा लिन्छिन्- ”हाम्रो पालामा पनि ‘भ्यालेन्टाइन डे’ भइदिएको भए कस्तो राम्रो हुन्थ्यो । हाम्रो पालामा चिठ्ठी लेखेर, आँखा आँखा जुधेर प्रेम हुन्थ्यो । अहिले सोझै फूल दिएर प्रेमको निवेदन गरिन्छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।”

यस्तै, पुतलीसडकको एक गिफ्ट पसलका सुमन मानन्धर ‘भ्यालेन्टाइन डे’ का अवसरमा आफ्नो निकै गिफ्ट आइटमहरू जाने बताउँछन् । ‘भ्यालेन्टाइन डे’ सुरु हुनु पूर्वका तीन-चार दिन अघिदेखि नै पसलमा निकै घुइँचो हुने र सो दिन मात्र करिब ५०० वटा गुलाफको फूल बिक्री हुने गर्दछ ।

‘भ्यालेन्टाइन डे’ मनाउनुमा अप्ठेरो छैन तर हाम्रो संस्कृतिको संरक्षणमा समेत ख्याल राख्नुपर्ने सबैको धारण रहिआएको छ । ‘भ्यालेन्टाइन डे’ मा प्रेमप्रेमिकाबीच सबैभन्दा धेरै रातो रङको गुलाफको फूल आदानप्रदान हुन्छ । यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ । कुन रङको गुलाफको फूलको प्रतीक के हो यसबारेमा केही जानकारी लिने हैन ?

रातो गुलाफः शान्ति, प्रेम र क्षमताको प्रतीक

रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक हो । ‘भ्यालेन्टाइन डे’ मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम-प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो ।

गुलाफी गुलाफः मित्रता र मुटुको धड्कनको प्रतीक

यो रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । ‘भ्यालेन्टाइन डे’ मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाफः मित्रताको प्रतीक

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । ‘फ्रेण्डसीप डे’ अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा ‘भ्यालेन्टाइन डे’ मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महìवपूर्ण भूमिका खेल्छ ।

कालो गुलाफः बिदाइको प्रतीक

कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।

प्रेम व्यक्त गर्न फूलहरू मात्र नभएर अन्य प्रतीकहरू पनि प्रचलित छन् । यस्ता प्रतीकहरूमध्ये एउटा वाणले हृदय चिरेर गएको प्रतीक सबैभन्दा प्रचलित छ । प्रेमीप्रेमिकाहरूका लागि हृदयभन्दा राम्रो प्रतीक अरू हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई सर्वस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो सङ्केतले तपाईंको हृदय उसको प्रेमको वाणले घाइते भएको छ भन्ने देखाउँछ । प्रेम पक्षी (लडवर्ड) पनि प्रेमको प्रतीक हो । प्रेमप्रेमिकाको साथ (जोडी) विना यो बस्न सक्दैन भन्ने धारणा छ ।

ख्रिष्टियन धर्मका अनुसार प्रेम पक्षी (लडवर्ड) निर्मलता र प्रेमको प्रतीक हो । त्यसैले ‘भ्यालेन्टाइन डे’ को दिन यसको प्रशस्त प्रयोग गरिन्छ ।

http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=207&cat_id=5

Leave a Reply

Your email address will not be published. Required fields are marked *