Skip to content


आमा आज किन,
मेरो मन तुलबुल भएको हो ?
राती सपनामा देखेकी थिए,
सानो छदा जस्तो,
पिठ्युमा बोक्नु भएको थियो |
ओहो ! म त सानो नानी भएको थिए,
तोते बोलीमा बोल्न खोज्दै थिए |
पिठ्युमा बोकेर ,
सिस्नुको मुण्टो डालोमा टिप्दै,
एई चुपचाप बस भन्नुभयो |
त्यो मुन्टाको तिहुन पकाउने भन्दै
एई सिस्नुले पोल्ला,
कति हल्लिएको भनि हकार्नु भयो |

आमा म बेचैन छु
तपाईलाई सन्चो भएन कि |
अस्ति भर्खर फोनमा,
सदा, सुखी रहेस, भाग्यमानी भएस,
परिवारको ख्याल राखेस् भन्दै,
आशिर्वाद दिनु भएको थियो |

आमा म कति अभागी,
म कति निष्ठुरी,
म आफैलाई धिकार्छु |
चाड पर्वको बेला,
सधै मेरो अनुस्पस्थिती,
बर्षौ भयो विदेशिएको |
बर्ष दिनमा १ महिना छुट्टी आयो,
हतारमा पारिवारिक जमघट गर्यो |
हतारमा नै फेरी विदेश फर्क्यो |
कति मातृत्व माया होला म माथि,
म भने तपाईको ख्याल नगरी,
आफ्नै धुनमा दौडी रहेको छु |
वस् पैसा पठाएको नै छु,
घर खर्च चलेको छ टरेको छ |
यो नै मेरो कर्तब्य ठानी,
यस्तो भ्रममा परेको रहेछु |

आमा आज अतितमा फर्किएको छु,
त्यो मेरो बाल्यकाल,
चुलबुले, चकचके छोराले
कति हैरान दिएको थिए |
म ठुलो नभइन्जेल सम्म,
कति पिरलो थियो होला |
सानो भइन्जेल चोट पटक लाग्ला भनेर,
अलि ठुलो भए पछि
नराम्रो संगतमा पर्ला भनेर |
तापनि,
मैले तपाईको हरकुरालाई,
शिरोधर गर्दै उच्च शिक्षा लिन सफल भए |
सायद,
त्यो खुशी,
मेरो खुशी भन्दा उच्च थियो |
तपाईको सपना पुरा गरेको थिए,
कल्पनालाई सफल बनाएको थिए |

आमा आज मलाई त्यो न्यानो,
काखको याद आएको छ |
म सानो नानी जस्तो,
लुटपुटिन मन लागेको छ |
आखिर,
मैले तपाईको अवहेलना गरेको रहेछु
तपाईको मायाको अवमुल्यन गरेको रहेछु |

आमा अब यो सपना मात्र हुने छैन,
म फर्कदै छु नेपाल,
मेरो प्यारो गाउँ, मेरो ठाँउ |
अब सधै नै,
म तपाईको आँखा वरिपरी,
हरपल घुमिरहने छु |

अक्टोबर २०१०

2 thoughts on “आमा”

  1. sewaroo
    “मनको बह सबैलाई कह” साह्रै राम्रो लाग्यो लुङ्गा ,बधाई छ । प्रगतीको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *