पात्रहरू :— बालबालिकाहरू —(१) निधि, (२) सरोज र (३) अमित, हजुरआमा : परी,

(शनिबारको दिन हजुरआमा परी आफ्ना नातिनातिनाहरू निधि, सरोज र अमितका साथमा फूलबारीको फलैँचामा बसेकी छिन् । प्रत्येक शनिबार उनले कथा नभनी सुख पाउँदिनन् । आज पनि उनी कथा भन्ने सुरसार गर्न थालिन् ।)

परी : बाबू हो ! आज म तिमीहरूलाई एउटा अचम्भको कथा सुनाउँछु । नडराउनु नि ।

निधि : हुन्छ, हुन्छ । बरू सुरू गरिहाले हुन्थ्यो ।

परी : (मुस्कुराउँदै) धैर्य गर, अधैर्य नामको रोग छ भने तुलसीको पत्ता खाओ र फुर्ती बढाओ । हिम्मत छ भने हुती बढाओ, छैन भने आँसु बगाओ ।

सरोज : हजुरआमाको आज्ञा शिरोधार्य गर्न हामीहरू तयार छौँ । (तुलसीको पत्ता चवाउन थाल्छन् । तुलसीको पीरोले उनीहरूका कान ठाडा हुन्छन् ।)

परी : अब भने मस्तिष्क पनि छुराझैँ धारिलो भयो । भन्ने नै हो भने मन पनि हिउँदका घामझैँ पारिलो भयो, कि कसो ?

अमित : (तुलसीको पातको पिरोले आत्तिँदै) तुलसीमा त केके रछ, रछ । कान ताता भए । अब मन पनि तातो भइदिए हुन्थ्यो ।

परी : लौ, सुन त । (उनी कथा भन्न थाल्छिन् ।) एक समयमा एउटा लाम्चो गाउँ थियो । त्यस गाउँकी मालिक्नी मझैं सेतै फुलेकी तर दिमाख चाहिँ खुलेकी, ओठतालु खुइलिएकी तर सुखसयल भोग गर्न भुसुक्कै भुलेकी थिइन् । उनको उमेर भने त्यस्तैे बाह्र कोरी नाघेको थियो । मेरो नाम ‘परी, उनको नाम ‘नरी’ । उनका तीन भाइ छोरा थिए । बाँस जस्तै ठिङ्गरिङ्ग खडा हुने सबभन्दा अग्लो ‘सिकुटे’ नामको जेठो छोरो, प्वाक्क मुखैमा हान्नूँ जस्तो स्वभावको भुक्क गाला भएको ‘भूक्के’ नाम भएको माहिलो र उचाइका आधारमा सबभन्दा होचो अलिक श्याम वर्णको ‘लिखुरे’ नामधारी कान्छो । जन्माउन त उनले सबैलाई एकै वेतमा जन्माएकी थिएन् । को पहिले र को पछि जन्म्यो त्यसको हेक्का राख्ने फुर्सद उनलाई भएनछ । छोरा पाउनु थियो, पाइन् । सुरूमा छोरा हुनेहरू ‘भुँइमा न भारामा कुकुर टाँडामा भए’जस्तो गर्छन् । सुख दियो भने त ठीकै छ । सानामा मर्ला कि भन्ने पीर, ठूलो भएपछि मार्ला कि भन्ने पीर हुँदा भने दाह्रा किटेर भन्न थाल्छन्–यो असती गर्भमै तुहेको भए हुन्थ्यो ।

निधि : (छक्क पर्दै) नरीलाई धेरै दु:ख भयो होला हगि हजुर आमा ।

परी : अँ, सुन्दै जाओ र मनमा गुन्दै पनि रहो । त्यसपछि नरीले प्रलय वेदना खपेर भए पनि जेनतेन तीनै छोराहरूलाई जोगाइन्, हुर्काइन् । किनभने नि नानी हो, त्यस गाउँदेखि दक्षिणतिर एउटा बडो शक्तिशाली सिंह बस्थ्यो । ऊ कसै गरेर कोही भेटिएमा चिरिप्पै पारूँला भन्थ्यो । त्यस्तै उत्तरतिर पनि एउटा अजङ्गको अजिङ्गर बस्थ्यो । ऊ पनि के कम ? कसै गरेर छेउछाउ आएका र देखा परेकाहरूलाई सिङ्गै निल्न पाए हुन्थ्यो भन्ने सोच्थ्यो । त्यसैले नरीलाई छोराहरू जोगाउन गाह्रो भयो । पछि आएर भने उनका तिमरूजस्तै भाल्टाङ्गभुल्टुङ्ग नेप्टे, चेप्टे, थेप्चे, काले, घैटे, कैँटे, मुडुली, गुडुली, फुडुलीजस्ता नाना थरीका नामधारी अढाई कोटी भन्दा बढ्ता नातिनातिना भए । अनि भने ती सिंह र अजिङ्गर अलिक डराए र खूल्लमखुल्ला खाइहाल्ने विचार चाहिँ त्यागे ।

सरोज : (मुण्टो हल्लाउँदै ) हुन पनि हो, थोरैलाई हराउन सजिलै हुन्छ । धेरैलाई सिद्धध्याउन गाह्रो हुन्छ ।

परी : अँ, त्यसपछि भने दुबै थरी बेग्ला बेग्लै रूपमा भए पनि एउटै बोली निकाले– ए नरीका छोराहरू हो ! तिमीहरू आओ । भेट गर । सल्लाह दिन्छु । मेरो इच्छा मुताविक मुखिया हुन पाउँछौ । तिमीहरूलाई खानु भनेको ‘हात्तीको मुखमा जिरा’ मात्र हो । पेट भरिन्न । डर चाहिँ मान तर ज्यानै जाने त्रास नबोक । जे भने पनि मान । मानेनौ भने कानमा पक्रेर मामा घर घुमाउँदै, घुमाउँदै थानामा बुझाइदिउँला नि !

अमित : नरीलाई डर लागेन र ?

परी : लाग्यो । छिमेकीका कुराले नरी डराइन् । सिकुटे, भुक्के र लिखुरे भने आ–आफ्नो दाउ पर्छ कि भनी लुकिछिपी उनीहरूलाई भेट्न जाँदा भए । उनीहरूको सबभन्दा बढी कृपा जसमाथि भयो ऊ नै त्यस गाउँको मुखिया भएर ढलिमली गर्न पाउँथ्यो । यस काममा भुक्के आठ, दश हात नै अघि थियो । उसले धेरै वर्ष मुखिया भएर मोजमस्ती गरेको पनि थियो । विशेष गरेर उसैले नै सिंहलाई पनि दानापानी खुवाउँदै गयो ।

निधि : भुक्के खराब रछ हगि ?

परी : ठीक भन्यौ । एक समयमा सिकुटे र लिखुरे लगायतलाई पाखापाखै पारेर चिढ्याएको थियो । सहन नसकी उनीहरूले पनि भुक्केका विरूद्ध धुनचट्टी उठाउन सुरू गरे । धेरै वर्षसम्म मर्ने र मार्ने खेल भयो । नरी रोइकराइ गर्न थालिन् तर ऊ कसैका कुरा नसुनी अझ आफ्ना गाला भुक्क पार्नमै व्यस्त भयो । यस्तो चर्तिकलाबाट रूष्ट भई आमाले नै अरू सन्तानलाई साथ दिइछन् । अनि भने भुक्के बाबुको विहे देख्न थाल्यो र मुखिया पद त्यागी हारगुहार माग्दै अघोषित रूपमा सिंहकै शरणमा परेको थियो ।

सरोज : अनि के भयो, हजुरआमा ?

परी : के हुनु नि । भुक्के सत्ताच्युत भएकोमा जताततै विजयोत्सव भयो । केही दिनमै नयाँ मुखिया को हुने, कस्तो नियमले गाउँ चलाउँने भन्ने विषयमा विवाद देखापर्यो । आमाकै निर्देशनमा सबै मिली अन्तरिम कालको लागि अस्थायी मुखिया निर्योल भई अस्थायी नियम पनि बन्यो । हुँदाहुँदै मुखिया बन्ने र सर्वसहमतिले सधैँका लागि मूलनियम बनाउने कामका लागि चुनाव भई बहुमत ल्याउने जननिर्वाचित नयाँ मुखिया भयो । पुन: किचलो सुरू हुँदा उसले राजीनामा दियो र अर्को तेस्रो दर्जाको मत ल्याउने चाहिँ नयाँ मुखिया बन्यो । किचलोबाट जन्मेको मुखिया किचलोमै फस्नु कुनै नौलो कुरो थिएन । सन्तान नियम बनाउनुभन्दा मुखिया पदकै लागि लुछाचुडी गर्न लागेकाले नरीको कन्पारो तात्यो ।

अमित : अनि उनले केही भनिन् त ?

परी : भनिन्, उनले ठूलो स्वरले भनिन्– यत्तिञ्जेल त माहिलो भुक्केले मेरा अङ्गप्रत्यङ्ग लुच्छयो, लुछायो । दु:ख दियो, दिलायो । अब त ऊ वनवासी भएको छ भनेर ढुक्क नमान । ऊ सिंहसँग मिलेर षडयन्त्र बुन्दै छ । तिमीहरू पनि उसकै मार्ग पक्रिँदै छौ । तिमीहरू आपसमा लड्न थाल्छौ । कमजोर हुन्छौ । अनि फेरि भुक्केको पालो आउँछ । अब ऊ मुखिया हुनु भनेको खुंखार तानाशाही शासक हुनु हो । त्यसपछि भने तिमीहरूले उसको बात मात्र हैन लात सहेर ज्यान जोगाउनुपर्छ । मलाई थाहा छ– मेरा छोरानातीनातिनाहरू केकस्ता स्वभाव र आचरणका छन् भन्ने कुरा । (कथाका कुरा सुनेर सबै डराए र थुरथुर काँप्न थाले ।)

निधि : (रुँदै) डर लाग्यो ।

परी : बाबूहरू हो ! यसरी किन डराएका, कतै कट्टु पो चिसो पारेऊ कि ? (सबै बालबालिकाहरू कट्टु छाम्नतिर लाग्छन् । परी भने छक्क पर्छिन् ।)

सरोज : हैन, हैन । म त डराएको छुइनँ ।

परी : बाबूहरू हो ! तिमीहरू थर्कमान नहोओ, नराम्रो काम गर्नेले पो थर्कमान हुनुपर्छ । तिमीहरू त हर्कमान नै भए पनि हुन्छ । अनि त्यही संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै उत्तरबाट अजिङ्गर र दक्षिणबाट सिंहले आमालाई दिनुसम्मको दु:ख दिन थाले । दुवैतिरबाट गाउँ फाँडफुँड बनाउन थाले । यता घरकाहरू कानमा तेल हालेर र मुखमा लड्डू कोचेर बसेको देखेर नरी (अभिनय गर्दै) यसरी डाँको छोडेर रून थालिन् । (सबै नातिनातिनीहरू रून थाल्छन् ।) ।

परी : धत्, चुप लाग ।

अमित : (एक क्षणपछि) हजुरआमा रून थाल्नुभो भनी बहिनीले अनि रून थालेको क्या !

परी : अरूले भन्दैमा जे पनि गर्ने हो त ? बुद्धि र विवेक बन्धकमा राखेर काम गर्दै जाने हो भने एक दिन कन्धनी बाँधेर, लौटी भिरेर, झोलीतुम्मा बोकेर कि उत्तरतिर लाग्नुपर्छ कि दक्षिणतिरै भासिनुपर्छ । हर्दम होसको ओखती खाएर काम गर ।

निधि : हवस् । अब रून्नौँ । बाँकी कथा भन्नुस् न, हजुरआमा ।

परी : (फेरिे कथा जोड्दै) अँ, नानी हो ! एक दिन नरीले सुख्खा ठाउँमा ठूलो पोखरी खनिन् र दुबै सिकुटे र लिखुरेलाई डाकेर ठूलो स्वरले भनिन्– पुत्रहरू हो ! मैले प्रतिज्ञा गरेकी छु । आजको तेस्रो दिनमा मैले यस पोखरीमा माछाका भुरा खसाउनु छ । पानी विना माछा बाँच्न सक्तदैनन् । तिमीहरूलाई दुई दिनको समय भयो, यो पोखरी टनाटन भर । यदि यत्ति पनि गर्न चाहदैनौ भने तिमीहरू पनि कुपुत्र रहेछौ भन्ने म ठान्छु । मैले लिएको अखण्ड प्रतिज्ञा असफल पार्छौ भने जाओ अजिङ्गर र सिंहको गुलाम गर्न । मेरो नजिक नबस । हैन भने, ख्याल गर, मात्र दुई दिनको समय छ ।

सरोज : दुई दिनमै पोखरी भरियोे त ?

परी : भरियो कि भरिएन भन्ने बुझ्न कथा सुन्दै जाओ । (कथा जोड्दै) त्यस पछि नरी पुत्रहरू बडो विलखबन्दमा परे । सुख्खा ठाउँको यत्रो ठूलो पोखरी कसरी भर्ने ? संकटमा परे । आमाको अखण्ड प्रतिज्ञा पनि पूरा नगराई नहुने, बडो धर्मसंकट आयो । भएभरका सबै सन्तानलार्ई भेला गरिए । त्यसपछि लिखुरेले भन्यो– सबै मिलेर भर्न थाल्यौँ भने क्षणभरमै पोखरी भरिन्छ । आमाले हार्नु भनेको हामी पराइको दास बन्नु हो । त्यसकारण मिलौँ । सिकुटेले थप्यो– हातमा हात मिलाएर सबैजना आओ । घरघरैबाट घैलाका घैला पानी लिएर आओ । सबैले भरौँ पोखरी । यही पोखरीमा कमल फुलाऔँ । आमाको मुहारमा मुस्कान भित्र्याऔँ ।

अमित : बोकेको पानीले पोखरी भरिन्छ र ?

परी : एक, दुई जनाले पानी बोक्ने हो र ? नरीका छोरा नातिनातिनाहरू सबै मिली रातारात गरेर, घैलाका घैला पानी हाली क्षण भरमै पोखरी टनाटन पारे ।

निधि : हजुरआमा ! ती सबै जम्मा कति जना थिए ?

परी : अढाई कोटी थिए, बाबू ।

सरोज : बाफ रे बाफ । अनि के भयो ?

परी : त्यसपछि नि एकाविहानै आमा आइन् र खुशी हुँदै सबैलाई सम्बोधन गर्दै भनिन्– उपस्थित मेरा प्यारा सज्जन सन्तानहरू हो ! आज मैले तिमीहरूको पौरख खान पाएँ । अघोरै खुशी छु । खुशीले मन र तन दुबै फुरूङ्ग छ । सधैँ यस्तै मेल रहोस् । मेले जे चाहेकी थिएँ आज शतप्रतिशत भेट्टाएँ । यसको अर्थ हो, आजसम्म तिमीहरू निदाएका रहेछौ । बल्ल जाग्यौ । यसरी नै सधैँ जाग । बुझ, निदायौ कि तिमीहरूको आफ्नु भन्ने कुरो अरूले लुट्नेछ, हाँडीमा मकै भुटेझैँ तिमीहरूलाई भुट्नेछ । तिमीहरूमा मेल भइरह्यो भने ऊ फेल भइरहनेछ । ऊ चलाख छ । उसले पुन: झेल गर्न सक्छ र कहरको पोखरीमा तिमीहरूलाई ठेल्दिन सक्छ । तिमीहरू एकताबद्ध भयौ भने उसको हप्की, दप्की र धम्कीको सामना गर्नुपर्दैन । आफ्नो मुखिया आफैँ छान्यौ, सबै मिली मूलनियम आफैँ बनायौ र मलाई मनैदेखि आदर गर्दै रह्यौ भने तिमीहरूको सधैँ जय हुन्छ, भय हुनै पाउँदैन । यही लय सधैँ पक्र, आफ्नातिर मात्र फर्क । अजिङ्गर डुक्रियोस् कि सिंह फुर्कियोस्, वास्ता नराख । ईष्र्या, रिस, क्रोध, डाहा, अहङ्कार भए जति फेँक, मेरा प्यारा सन्तती भइरहू सधैँ एक ।

अमित : (खुशी हुँदै) आमा नरीका कुराले सबै खुशी भए त ?

परी : भए, भए । त्यसपछि नि आमाको तेजस्वी मुहारतिर हेर्दै ढोगे र हातेमालो गर्दै अघि बढे ।

निधि : कथा सकियो र हजुरआमा ?

परी : सकियो, सकियो । आजको कथा यत्ति नै । अन्तमा, पहिलेको कहिरन फेरौँ । त्यसपछि हेरौँ । नमान्नेलाई केरौँ । पेटमा भएको दुष्ट्याइँ जति छेरौँ । शत्रुलाई सबै मिली घेरौँ । सुन्नेलाई फूलको माला, बुझेर काम गर्नेलाई सुनको माला, यो कथा सबै नेपालीको मनमनमा जाला, काम बिगार्ने बखतमा झट्टै मनमा आइजाला ।

सबै : धन्यवाद, हजुरआमा । क्या राम्रो कथा सुन्न पायौँ । ( हजुरआमा उठ्छिन् र स्यावासी दिएको संकेत गर्छिन् । पर्दा खस्दै जान्छ ।)

२०६६.१०.२७

तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६/९८१४७०००९९
हाल : लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी फोन नं ०३१५२००३८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “राष्ट्रिय एकता (बाल–एकाङ्की)”

  1. प्रतीकात्मक रुपमा लेखिएको
    प्रतीकात्मक रुपमा लेखिएको भन्ने चाहिं बिचमा पुगेपछि मात्र थाहा लाग्यो । सन्देशात्मक छ । पोहोरै लेख्नुभा’रैछ; सायद त्यो बेलामा अलि समयसापेक्ष थियो ! अहिलेको अवस्थामा झनै सन्देशात्मक छ, तर खै यस्ता मेलमिलापका कुरा झन झन सपनारुपी भैराख्या छ ।

    स्कूलको अभिभावक दिवस या सडक नाटक आदिमा मञ्चन गर्न सुहाउने छ जस्तो लाग्यो । आफ्नै विद्यालयमा पनि प्रयोग गर्ने हो कि!

    अनि अर्को कुरा, बिचमा शब्द चयनले प्रस्तुति निकै रसिलो बनाउनुभएको छ। जस्तै: फुलेकी …खुलेकी, …खुइलिएकी … भुलेकी । ‘परी, … ‘नरी’ । यस्ता शब्दलाई के भनिन्छ, मैले भुलें तर भैरब अर्यालको लेखनको सम्झना आयो । नाटकमा यस्ता शब्दको चयनले निकै रस दिन्छ भन्ने मैले महसुस गरेको छु । मह जोडीको केही नाटकमा पनि कति पय ठाउँमा यस्त शब्दचयनले दर्शकलाई निकै आकर्षित पार्नसकेको देखें ।

    नाटक लेख्नको लागि निकै परिश्रम र कल्पना अनि धैर्यताको आवश्यक पर्छ । त्यसैले होला यस बिधामा हात हाल्नेहरू निकै कम देखिन्छन् । तपाईंको नाटकलेखनप्रतिको आकर्षण देखेर म नतमस्तक छु । कृपया निरन्तरता दिनुहोला । सधैं झैं छाप्नको लागि मझेरी रोज्नुभा’कोमा धेरै धेरै धन्यवाद छ ।

  2. धन्यवाद उत्साहबर्द्धक
    धन्यवाद उत्साहबर्द्धक प्रतिक्रियाको लागि कुमारजीलाई
    मन त मलाई पनि पर्यो तर अर्कै कुराको डर पो लाग्यो
    यहाँ प्रयोग भएका शब्द र प्रतिकात्मक भावनाले यो बालएकांकी भन्न सुहाएन कि जस्तो लाग्यो
    नाट्यविधा कलम चलाए पनि बालसाहित्य फलामको च्युरा नै भो

  3. kbs g यहाँका स्कूलहरूले नाटक
    kbs g यहाँका स्कूलहरूले नाटक के मञ्चन गर्थे
    राष्ट्रिय मुद्दाप्रति गम्भीरता वास्ता राखेको देख्दिनँ
    कतै मञ्चन भएमा भनुँला
    मन ठूलो भो
    मनका तीताटर्रा कुरा पाउदै रहूँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *