सपनीमा बर्बराउने गरी
पागल बनाइरहनुभन्दा
अगस्ती पान गर आज
मायाको सागर बुत्याई
बनाइदेऊ मरुभूमि
मेरो यो दिल !
तीर मार्ने नसालु नजर
तप्प चुहिने जहरिला अधर
सताइरहनुभन्दा
घोच सियो बरु
झिकिदेऊ मुटुमा पल्टेको
मायाको खिल !
द्रोणाचार्य र अर्जुनहरूका बीचको
एकलव्य जिन्दगीमा
वाण मात्र प्रहार गर्नुभन्दा
बरु काटिदेऊ
त्यही एक अंगुली पनि
प्रतिज्ञा गरेँ- भीष्म – सापटी !
दुर्योधन र दुःशासनहरूका लागि वीर्यदान गर्ने
धृतराष्ट्रहरू अझै धेरै छन्
लाचार भएर शरशय्याबाटै भए पनि
पहरेदारी गर्नुछ
तिनको हस्तिनापुर
मेरी मातृभूमि !
आऊ, सिकाइदेऊ
मायाको अर्थ, त्यागको महिमा
मातृभूमिको आस्था
महाभारत अझै जारी छ
बन तिमी पनि
एक नयाँ भीष्म !
नेपाल साप्ताहिक ४२१
