Skip to content

जलेको हृदयमा फुलेको प्रेम


आदरणीय मित्र गीताजी, मेरो नमस्कार । तपाईंको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु । तपाईंलाई पहिलोपल्ट यो पत्र लेख्दै छु । मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमि आई सकेको छ किनभने मेरा जीवनका अक्षरहरू निकै गरिब भइसके । यो पुँजीवादी समयमा यस्ता दरिद्र अक्षरको केही अर्थ छैन । यी निरही र अभागी अक्षर पढ्ने तपाईंका कोमल नयनहरूमा परिवर्तनको झलक आइसक्यो । तपाईंका नजर खानदानी अक्षरतिर आर्कषित भइसके । मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र बिर्सन नसकिने विगतका ती दिब्य यादहरूले गर्दा अन्तिम पत्र लेख्न विवस छु ।

स्वर्गहरूमा पनि स्वर्ग जस्तो आफनो सुन्दर मातृभूमिलाई चटक्कै छोडेर यो विरानो दुनियाँमा रुमल्ली रहेको छु । यो विरानो ठाउँमा यादहरू नै सहयात्री बन्दारहेछन । सात समुन्द्र तरेर, सबैलाई माया मारेर एक्लै तड्पेर बस्दाका दिनहरूमा, तिनै सुन्दर अतितहरूले विगतलाई कोटयाइरहन्छ ।

सिस्नेहिमालको अनुपम सौन्दर्य र सौम्य मुस्कानको न्यानो आभाषबाट टाढा भएको पनि तिन दशक भैसकेछ । बाउन्न पोखरी त्रिपन्न ताल भनेर चिनिने मेरो प्यारो रुकुम छोडेको यत्तिका दिन भैसकेछ । समयको गर्भभित्र जीवित ती हाम्रा यादहरूले बेला बेलामा स्मृतिको कोखमा जन्मि दिंदा मन प्रशव पीडामा छटपटिन्छ । हामी पुतलीसडकमा भेटेको पनि एक दशक बितिसकेछ । समयको गतिले कहाँबाट कहाँ हुत्याइदिन्छ कुनै सिमा छैन । आज तपाईं कहाँ कस्तो परिवेशमा पुग्नु भो र म कहाँ कस्तो परिवेशमा पुगें ।

त्यतिखेर, तपाईंका चन्चल आँखाले आखा, मनले मनलाई र बदनले बदनलाई अपनाइसकेका थिए । हामीले सँगै स्वयम्भुमा बालेको आपसी प्रेम र सद्धभावको दियो अझैं बल्दै होला तर सम्बन्धको लक्षमण रेखा नाघेर कुनै रावणको पछि गैसक्नु भएछ । दिल्लीको लोटस टेम्पल जस्तै मायाँको फूल ह्रदयमा फुल्न थालीसकेको थियो । मैले त्यो फूल साँच्चै यर्थाथको दृष्टिकोणबाट सुन्दर र अमर छ भन्ने ठानेको थिएँ । म दंग थिएँ । कछुवाले बालवा भित्र छोपिएका आफना फूललाई बाहिरबाट स्मरणशक्तिले कोरल्द छ त्यही हिसाव मैले पनि हाम्रा सपनाहरूलाई कोरल्दै गएँ ।

आज कत्रिक १६ गते, २०५० साल, भर्खर नेपाल छोडेर जीवनको एक लामो यात्रामा जुटिरहेको छु । यतिखेर मेरो मनभरि तपाईंकै अनुपम प्रेम साथमा लिएर त्यो गन्तब्यहीन यात्रामा लाग्दै छु । जहाजमा बसेर तपाईंकै अनगिन्ती स्मृतिहरू केलाउदै नागोया एरपोर्टमा उत्रिदै छु । जापान मेरो कल्पनाको देश थियो । एशियन हेल्थ इन्स्टीचुटको निमन्त्रणमा नागोया पुगेर झण्डै एक हप्ता बिताएँ । आहा, कति आत्मिक जापानीहरू । कस्तो सद्धभाव पाहुनाहरू प्रति, कस्तो मेहेनत । नागोयाको टोयटा सिटीमा केही क्षेणको आनन्दमया त्यो बातावरणमा तपाईंलाई सम्झी रहें । सुन्दर ठाउमा सुन्दर मनहरू एकहुदाको अबस्था कस्तो हुदो हो भन्दै मन्को लडु घिउसँग खाइरहें । हारामाचिदा सहरको फुलै फूलले सजिएको त्यो शहरमा तपाईंलाई सम्म्के अनि त्यो बेला ती फूलहरू टिेपेर मायाको निसानी दिने कल्पनामा एटलान्टीक महासागर बिचमा सुर्य डुबेको देखिए झैं भावमा डुबी रहें । नागानो कति सुन्दर ठाउ रहेछ । भगवान बुद्धको बिशाल काठैकाठले बनेको मन्दिरको दर्शन गर्दा बहुतै सम्झें । मन्दिरमा दुईजनाले सँगै बसेर ध्यान गरेको एक्लो हुदा खल्लो लाग्यो । वोलम्पीक सहर बनेको त्यो नागानोको आतित्थ उच्चस्तरको थियो । आफूलाई सगरमाथालाई ठान्दै माउन्ट फुजीलाई अंकमाल गर्न पुगेको भान भो । त्यो हिउँ थिएन प्रेमको भावुक आभाष थियो । मैले फुजीलाई तपाईंकै अनुभूतिमा धेरै पटक चुमें । त्यसैको वरीपरी घुमे । अनि फेरि ओसाका, वकिनावा जतातिर घुमे पनि एक्लो यात्रामा केवल बिगतका ती यादहरूमा रुमल्लिएको छु । करिव ३ महिनाको जापान यात्रामा मायाको अनुभूति अबिछिन्न भैरह्यो मलाई । अनि म फेरि काठमान्डौ फर्किए र त्यही बाहुपासमा बाँधिएँ । हाम्रो बिस्वास फल्दै फुल्दै गै रहेकै थियो ।

फागुण २१ गते २०५० सालमा फेरि दोस्रो यात्रा नर्वेको ओवस्लोमा तया गरें । एरपोर्टबाट भर्खरै ओर्लिदै होटल तिर लागें । हिउँ नै हिउको सेतो खास्टो ओडेको नर्वे एक परम सुन्दरी गोरी झैं लाग्यो । हिमालै हिमायलयको देश नेपालबाट गएपनि हिउँ आफनै हातले स्पर्श गरेको थिएन । तर यहाँ हिउँबाट यात्रा तय भयो । ओस्लो सहरभरि घुमेर लिलाहम्मरसम्म पुगें । आधारातमा सुर्य देखिने देश आफैमा एक कौतुहल बनेको छ । । बिकास र प्रबिधि अनि प्रजातान्त्रीक देश नर्वे आफैमा एक अटल मानताबादी राष्टको मिठो अनुभूति भयो मलाई । त्यस महान देशमा पनि तपाईंकै अनुपम प्रेमको मिठो कवाफ खाँदै यात्रा तया गरें । तिमी बिनाको यात्रा केवल निरस थियो । नर्वेको ३ हप्ते लामो यात्रा पछि फेरि म यहाँबाट अमेरिका टेक्ने सोच बनाएँ र म अमेरिकातिर लागें ।

भर्खर चैत्र १५, २०५० गते म फेरि मिठा भावहरूमा डुब्दै अमेरिका तिर लागें ।

स्वर्गहरूमा स्वर्ग हो अमेरिका भन्ने सुनेको थिएँ त्यही भएर नर्वेबाट घुम्दै कोपनहेगन भएर म अमेरिका तिर लागें । जीवनमा पहिलो पल्ट अमेरिकामा पाइला हाले । जोन अफ केनेडी अन्तराष्ट्रीय बिमानस्थलमा ओर्लिए । बाहिर नर्वे कै जस्तो हिउँको खोल ओडेर बसेको पाएँ । सहर, बाटोघाटो र बिकासको चरम सिमामा पुगेको अमेरिकाले मेरो मन्मा नयाँ आभाष छर्न थाल्यो । म संयुक्त राष्टसंघको बिशाल भवनमा पुगें र त्यहाँ नेपालीसँग सम्पर्क भयो । अन्तमा मिसन टु नेपाल हाउसमा पसें । बैकुन्ठ सर, बिष्ट सर, भेटें र अन्तमा महामयिम राजदुत डा.जयराज आचार्यज्युलाई भेटें । बिरानो ठाउमा पुगेर अलमल परेको बेला यस्तो ठाउ र त्यस्मा पनि आतिथ्यपूर्ण व्यावहार पाउदा म खुशीले गद गद भएँ । राजदुत ज्युले नजीकै एक होटलमा राखी दिनु भो । त्यसै बेला डा. कुलचन्द्र गौतम ज्युसँग पनि भेटघाट भो । आपसमा सद्धभावपुर्ण भेटघाट र आत्मीय आतिथ्यले संधैव मनमा जरो गाडेको छ । यस्तो बेलामा प्रिय गीताजी एक्लो हुदाको पिडा महसुस् गर्ने क्षमता तपाईं सँग रहेन छ । सँग सँगै यस सुन्दर अमेरिकाको काखमा लुटुपुटु गर्ने सपना कहिल्ये पुरा भएन । एक पटक क्यालिर्फोनियाको गोलडेन ब्रिजमा सँगै यात्रा गर्ने रहर थियो । लसएन्जलस सहर भरि घुमे एक्लै, डेनभर नदीको किनारामा बसी बिछोडका हरफहरू कोरें ।

कोलोराडो हुदै रक्की माउन्टेनको पहाडहरूमा बैशाखी तान्दै यात्रा गरें । ती काला चटटानहरूमा तपाईंको छाँया खोजें । हरेक अमेरिकन नागरिकको मुस्कान भित्र तपाईंकै माया खोजें । बाल्टोमोरमा पुगेर नेपालीको माहोल पाए । त्यस्मा डा.गोपाल श्रेष्ट र अचुत श्रेष्टदाइको भात्रित्वले अल्म्काइ दियो । बुढीआमा, मलाई असाध्यै माया गर्नु हुन्थो । महाभारत हेरेर दिनहरू बिताएँ । आमाको मायाले मलाई केही दिन नेपाल भुलायो । त्यस पछि म भर्जिनियामा साहित्याकार होमनाथ सुबेदीदाइलाई भेट्न पुगें । उहँासँगै साहित्य र सेवाको अग्रगामी कदम चाल्ने अबसर मिल्यो । भर्खरै अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको थियो र कार्यक्रममा समेत सहभागी भएर सृजनात्मक काममा हात हालें । सन १९९४ तिर हो । भर्जिनियको लामो बसाइ पछि म मिचिगन घुमे । त्यहाँ पनि नेपाली मित्रहरू सँग भेटघाट भो । अनि फेरि बोष्टन हुदै मायमीतिर लागें । मायामी विचमा केही दिन रमाउदै गए । तर प्रिय गीताजी, म साँच्चै हरेक अभाव भित्र तपाईंकै भाव खोज्दै समुन्द्री छालहरूमा रमाए । अनि बहामाको नासु टापुमा एक महिना बिताएँ ।

त्यहाँ पनि बहामा युनिर्भर्सिटीमा नेपाली प्रोफेसर टेकनाथ पोखरेलज्युलाई भेटें । नेपाली पनको खाना र आतिथ्यले मलाई मुग्ध बनायो । अनि म त्यतैबाट जमैकातिर पसें । क्यारिवियन टापुमा जमैका आफैमा मिश्रित सास्कृतिक पहिचान बोकेको पाएँ । भारतीय नागरिकको बाहुल्यताले मलाई भारत मै बसीरहेको अनुभव भो । त्यहाँको हरेका समुन्द्री वेहरूमा नरीवलका काँचो फल भित्रको पानीले तपाईंकै अधरको झस्को दिन्न्थ्यो । कति रसिलो थियो त्यो कति पोसिलो । बालुवाका कण कणमा तपाईंकै चित्रहरू खोज्दै, बार्को (सानो पाण्डुबी)मा यात्रा गरें । अहो यात्रा कति मनोरम थियो तर त्यो यात्रामा तपाईंको न्यानो आलिंगन पनि हुदो होत कति आनन्द आउदो हो । छालले माथी उचाल्ने र पछार्ने गर्दा बेला बेलामा लाग्दथ्यो समुन्द्रका बिशाल माछाले नेपाली स्वाद पाउने छ झैं लाग्थ्यो । क्युवाकोको हवाना सहर पनि आफैमा सुन्दर तर फिडेल क्यास्ट्रोको भुतले सातो खाएका कुन्ठीत जनताको मुहार मलिन देखिरहेको छु । यो मलिन अनुहारमा पनि तपाईंलाई खोजें कतै भेटिन । यादहरू मनभरि छछल्कीय नुनीला छालहरू झैं । पानी चाहेर पनि पिउन सक्ने अबस्था थिएन मेरो हाल त्यस्तै थियो मैले चाहेर पनि तपाईंलाई पाउन सकिन । बार्कोको अर्को चुनौतीपुर्ण यात्रा शुरु गरें । मेक्सिकोसम्म पुग्दा दिमाग खराव भयो । रिंगटा लाग्यो । बिरामी नै भए । झन कम्जोर भएको बेला नै आत्मीय जनको याद आउदो रहेछ । तर…. ।

मेक्सिकोको साँकृतिक घना बस्ती न्यानो भुगोल र मायाजातीको सुन्दर मिश्रण पाएँ । चेतुमाल हुदै मेक्सिको सहर जुन बिस्वको तेस्रो ठूलो सहर थियो । क्याथलिक धर्मले बाहुल्यता पाएको मेक्सिकन एतिहासिक सास्कृतिक अवसेस्हरूले सजाएको पाएँ । पोलाक्कोदेखि सान्तामारिया बजार जताततै घुमियो । मेक्सिकोको पुराना ती धरोहर भित्र पनि तिनै आस्था खोजें पाउन सकिन । अनि लामो पटयार लाग्दो बसको यात्रा गर्दै बेलिजतिर लागें । बेलिज सानो देश जहाँ गोखौली सेनाहरूले जंगल र्टेनिगं गर्न आएको भेटेँ । हाइड्रो पावरमा काम गर्न आएको २०० जना नेपाली भेटें । जंगलै जंगल भित्र पुराना मायान रुइनहरू हेर्दै, क्रोजल टाउन, बेल्मोपान, बेलिजसिटी, कुन्तार्गोदा, बेंम्गे हुदै म फेरि अर्को देश ग्वाटेमाला लागें । ग्वाटेमाला पनि सारै प्राकृतिक र सास्कृतिक सुन्दरताले सजिएको देश पाएँ । अनि म त्यहीबाटो हन्डुरसको र्पोतोर्कोतेस, सानपेद्रोसुला घुमे । त्यो पलमा बसका झ्यालबाट देखिने ती सुन्दर दृश्यहरूमा तपाईंका स्मृतिहरू खोजें । मायाजाती कै बाहुल्यता रहेको हन्डुरस पनि कम सुन्दर र्छैन । टिगुचिगाल्पा राजधानीमा पुगेर मायाँ होटलमा बसें । झन्डै काठमाण्डौ जस्तो उच्चस्थानमा रहेको राजधानी स्पानिस एतिहँास र वर्तमान भित्र बाँधिएको त्यो टिगुचागाल्पाका हरेका ठाउमा मायाको अभावमा धेरै गीत लेखें । तामालिसा घोलेर कुखुराको मासु लाई स्वदिष्ट मसालाले पकाएर हरियो केराको पातभित्र पोको पारेको खाजा हो तामलिसा । त्यो खाजामा पनि तपाईंकै यादहरू संगालेर स्वाद लिएँ । जब हृदय प्रेमको कारागारभित्र निर्दोष कैदी भएर रहन्छ र बिछोडका बाणले घायल हुन्छ तव थाहा हुन्छ प्रेम केहो भन्ने । मदर टेरेसा बिनाका बिरामी झैं अलपत्र हुन्छ जिन्दगी ।

अर्काको घरमा बलेको आगोले आफनो घरको रोटी पकाउने स्वार्थी नेताहरूको चंगुलमा परेर देश क्षेतबिक्षत भएको छ । त्यो क्षेतबिक्षेत देशको ह्रदय नै मेरो जीवनको पहिचान हो । एकदिन तपाईंको गोधमा आएर जीवनको दृष्टि बिसाउने मेरा सपनाहरू जलजलामा हिउँ बिलाए झैं बिलाए । त्यही चोटले बगेका आँशुको नसा पिउदै पुन सतीदेवी गुमाउदाका महादेव बनेर म घुमिरहे यस धरामा ।

हन्डुरसबाट सान्साल्भाडोर हुदै निकारागुवा पुगें । मानगुवा पनि प्राकृतिक रुपमा बिक्षिप्त नै पाएँ । तरेली परेका होचा पहाड र दुबैतिर महासागरले छाएको सानो देश पनि औधी मन पर्यो । त्यहाँको प्रकृतिसँग खेल्दा डुल्दा पनि तपाईंको झम्कल्कोले निकै सताइरहेको छ । अनि बसको लामो यात्रामा फेरि अर्को उस्तै देश कोष्टारिका पुगें । कफी उत्पादनमा नाम कमाएको कोष्टारिका धेरै अगाडी पाएँ । मनोरम दृश्यहरू, अनुपम सौन्दर्य र सान्तप्रिय देश मलाई अति नै मन परयो । ज्वालामुखी पहाडको फेदमा रहेको सहर सानजोसे राजधानीको रुपमा निकै सम्मपन्न पाएँ । क्फीको स्वादिष्ट पियाका चुस्कीहरूमा तपाईंको मायाको अकल्पनीय अनुभव गरें । यो देश कफी उत्पादन गर्ने एक सम्पन्नसाली देश रहेछ । सानजोसेको बगलमा उभिएको होचो पहाड झैं तिम्रो याद स्मृतिको बस्तीमा सवैभन्दा उच्च थियो । बसैबसबाट लामो यात्रा तया गरी पानामा सहर पुगे । पारोको खानी र प्रकृतिको अनुपम मेल बनेको पानामा दक्षिणी अमेरिका र मध्य अमेरिकालाई भूमिको मार्गले जोड्ने पुल जस्तै लागी रहेको छ । पानामाको नहर भनेर चिनिने त्यो मानवनिमृत नहरमा जहाजी यात्रा गर्दै कोलम्वीयको कार्टाहिना सहरमा पुगें । कोलम्वीय अफिम खेतीको उत्कृष्ट भूमि हो । कार्टाहिनाबाट बसमा फेरि तिम्रो यादहरूलाई गीतमा उन्दै बोगोटा सिटी पुगें । बोगोटामा साथी जर्मन जो नेपाल पनि घुमी सकेको रहेछ उस्को साथमा बसेर कयौ दिनहरू बिताए ।

सन २००१ मार्च ७ गने फेरि म पृथबिको भू-मध्य रेखामा पर्ने इक्वाइडोरमा आएँ । पृथ्वीको केन्द्रबिन्दुमा कतै हाम्रो बिस्वासको केन्द्र पनि छ कि भनी फनफनी घुमे । पहिलो पल्ट यो ठाउमा टेकेर पृथ्वीलाई छुटयाइएका रेखाहरू हेरें । पुर्ब पश्चिम उत्तर दक्षिण त्यहीबाट शुरु भएको रहे छ । त्यो रेखाहरूमा तपाईं र मेरो बिस्वासको रेखालाई केलाएँ तर रेखा मेटिने स्वार्थको मसीले लेखेको भेटें । क्षेणिक मायाको नाटकिय रेखालाई एकपटक थुकें । अनि त्यो पवित्र र ऐतिहाँसिक ठाउँबाट निस्केर क्युटो सहर पसें । काठमाण्डौ झैं भल्कानिक पहाडै पहाडले ढाकेको न धेरै चिसो न धेरै तातो, मनोरम सहरमा हराए आफूलाई । पोर्तोलोपे, माछाला, मान्ता, सान्ताडोमींगो, गयाकुल घुम्दै फेरि कोथोबालोमा अवस्थीत भल्कानिक कोतोप्याक हिमाल हेर्न पुगें । त्यो हिमालको उचाइ जस्तै हाम्रो प्रेमको उचाइ नाप्न खोजे तर त्यहाँ उचाइ थिएन त्यो त सेती भासिए झैं समयको गर्भमा कतै हराएको वियोगान्त कथा मात्र थियो । अर्को चिम्बारासो हिमाल देख्न रहर त्यसै हरायो जसै हाम्रो मिलनका क्षेणहरू हराएका थिए ।

अर्को चर्चित ठाउ गालापागोस आइल्याण्ड घुम्न पाइन जसरी हामीसँगै मनकामना जान पाइन । इक्वाइडोरमा पनि अमेरिकन डलर नै चलेको रहेछ । अचम्म लाग्यो छुटै स्वतन्त्र राष्टमा पनि अर्को देशको पैसाले स्थान ओगटेको रहे छ । सायद नेताहरूको नार्मदी र नेत्रीत्वहिन राजनीतिको कारण त्यो अबस्थामा अमेरिकाले सघाएको होला । अनि जलेको ह्रदयलाई सान्त पार्न साउथ अमेरिकाको अर्को देश ब्राजिलतिर लागें जुन देश फुटबलका जन्मदाता पेलेको देश भनेर जानिन्छ । रियो दे जेनारियोको सुन्दर सहर भित्र हराएँ । आहा कति राम्रो ठाउ । समुन्द्री छालमा रमाउदै तिम्रो स्मृतिमा गीत लेखें । जुन गीत चर्चित गायिका नालिना चित्रकार बहिनीले गाएकी छिन ।

एक बिसाल चटानमाथी उभिएको पहाडको टुप्पोमा उभिएको भिमकाय जिसस् क्राइष्टको सालिक आफैमा पबित्र गन्तब्य बनेको छ । दिनभरि त्यही उचाइमा अनगिन्ती भावहरू गीतमा उर्तादै बसें । त्यो सुन्दर स्थानमा तिमी बिना एक्लै बस्दाको पीडा, देशको मर्म नबुम्कने नेताहरू झैं बुम्कने कोही भएन ।

घात र आघातको मर्मले जलेको ह्रदयमा स्मृतिका फूलहरू उम्रिए र बिरबलको खिचडी बनेर प्रसान्त महासागरमा हराए । अर्को सहर साँपाउलोतिर मेरा कम्जोर पाउहरू अगाडी बढाएँ ।

बसको झ्यालबाट दाँयाबाँयाका अनमोल दृष्यहरू नियाल्दै लामो यात्रा तय गरी फेरि काराकास सहरतिर लागें । भेनेजुयालाको राजधानी बनेको काराकास सहर आफैमा सुन्दर छ । संसार प्रशिद्ध सुन्दरी र सुन्दताको नमुना नै हो भेनेजुयाला पनि । प्रशान्त महासागरको छालले संधै चुम्ने त्यो भूमि सारै राम्रो लाग्यो । स्रसारको सवैभन्दा अग्लो छहरामा एक पटक मनमुग्ध भए जस्को आनन्द तपाईंको छली मायामा थिएन ।

काराकासको छोटो बसाइपछि वोनारिस सहर, अर्जेनटिनातिर उडें । नीलो आकास माथी उडेको जहाजबाट आमाजोनस नदी र पहाड अनि घनाजंगल हेर्दै अगि बढें । सेता बादलका टुक्रामाथी आफू उडीरहेको क्षेणले झसक्क फेरि तिनै यादहरू छचल्किए आँखाभरि । वोनसयरिस सहरका मनोरम दृश्यहरू नजरमा जम्मा गर्दै अगी बढे । यताउता हेर्छु मात्र स्पेनिस परीहरूमात्र पाउछु । कयौ पटक उनीहरूका हाउभाउमा तपाईंलाई खोजें, उनीहरूको सहवासमा तिमीलाई खोजें अहँ पाउन सकिन किन भने तिम्रो प्रेम त फूलचोकी डाँडामा हिउ बिलाए झैं बिलाई सकेछ । अनि फेरि सान्टीयागोमा रोकिएँ । राजनैतिक गन्जागोलमा रन्थनियको चिलीले भर्खर गति लिन लागेको भएर जोसिलो राष्ट लाग्यो । सान्त लाग्यो । देशमा गतिहिन बनाउने त गलत राजनीति नै रहेछ । एकपटक मेरो देशका अपांग नेताहरूलाई देखेर थुक्न मन लाग्यो । राम्रो नेता देशमा नजन्मिएकै कारण हामी युगौदेखि भारतीय हेपाहामा परेका रहेछौ । बिशाल नेपाल गुमाएका नेपाली बचेको आफनो अलिकति माटोमा पनि भारतीय हस्तक्षेप देखेर भारत प्रति घृणा लाग्यो । त्यो आत्मीय पीडा कि त देशलाई थाहा थियो कि त तपाईंको धोकाले मलाई थाहा थियो । चिलिको स्वाद लिने अबसर पाएँ । सान्टीयागो अति नै मन परिरहेको छ मलाई । बाहिरको मनोरम सहर हेर्ने कोसिस् गरें तर मनभित्र पाकेको पीडाको घाउले त्यो क्षेणलाई गौण पारी दियो । अनि पेरुको लिमातिर उक्लिएँ बसै-बसबाट । जीवनमा मेरो यो नै लामो यात्रा भयो । लिमासम्म बसमा हिंडनु । लिमाको पौराणिक बस्ती र सांस्कृतिक तामम्कामको साथ आफनो बसाइलाई स्मरणीय बनाउदै अगी बढे । साउथ अमेरिकालाई सलाम गर्दै दक्षिण अफ्रिाकातिर लागें । स्वतन्त्रताका पुजारी नेलसन मन्डेलाको भूमिमा टेक्ने सपना भित्र हराउदै जोहानसवर्गमा ओर्र्लिए । २००२ साल जुलाई महिना गर्मीको प्रचन्ड धुपसँगै साथ अप्रिको जाम्वियातिर लागे । लन्डन सिटी हुदै भिक्टोरिया सहरबाट बाहिर निस्के । त्यो मन्डेला भूमिमा मेरो प्रेमको स्वतन्त्र अस्तित्व खोजें कतै पाइन । बरु तपाईंकै निहित स्वार्थको पाण्डुलीपि भेटियो । हाम्रो आपसी विस्वासको उचाइ पत्ता लगाउन खोजें तर त्यो पनि नेपाल झैं ठूलो संकटमा परेको थियो । ऋनी त्यहाँबाट म केन्याको नैरोवीमा रोकिएँ र केही दिन बिताएँ । बाक्लो भारतीयहरू भेटिए । कतै उजाड र बिरक्त लाग्दो बाताबरण पाएँ । गरिवीमा अत्यन्तै गरिव र धनीमा अति धनीको मारमा पिल्सिएको केन्याबाट फेरि म अन्तै मोडे मैले मेरा पाइलाहरू ।

नैरोवीका ती उजाडउजाड बस्तीहरूमा आफूलाई तुलना गरें । हो म त्यही उजाड प्रतिनिधि हुँ । मेरो जीवनका सपनाहरू रित्तिएका छन । आशाका कोपिलाहरू चुँडिएका छन् । बल्ल तान्जानियाको दारेसलाममा पुगें । अनि हिन्द महासागरको छालले हरपल चुमिरहेको कृर्षिजन्य भूमिमा पाइला राखें । किलीमन्जारो हिमालकै फेदीमा बसेर अतितलाई नियालें । संसारभरीका पर्यटकहरूलाई मन तान्ने त्यो सुन्दरताले तपाईंको धोकेबाज स्मृतिलाई तान्न सकेन । चाहे जस्तो सुकै सुन्दर ठाउमा पुगु यदि प्रेम छैन भने त्यो निरस नै हुन्छ । त्यो भावले मलाई त्यहाँबाट डोरयाउदै इजिप्ट तिर लग्यो । पुरानो धार्मिक इतिहाँस बोकेको काइरोमा अवस्थीत पिरामिड घुम्न पुगें । तीनवटा अग्ला मानव निर्मित पिरामिडमा एक किसिमको कौतहल थियो । कसरी कहिले बन्यो होला त्यो भब्यता । त्यतिमात्र कहँाहोर बालुवामाथी पाइला राख्दै जमिनमुनि राखिएका कफनहरू हेरें । हो मेरो प्रेम पनि ती नै चिहान बनेर अस्ताएका छन् भन्ने लाग्यो ।

साँच्चै मित्र गीताजी, किन ममाथीको तपाईंको प्रेम आज यस्तै कफनमा अस्ताएका अबशेष झैं भए? अदभुत चित्र र चिहानका कफन हेरी निस्कीएँ । मलाई लाग्यो हाम्रो प्रेमको शव त्यही गाडीएको रहेछ । कहिल्यै पनि हेरी नसकीने अनन्त गाथाले भरिएको काइरोको पिरापिंड आफैमा जीवित शाक्षी थियो । तर हाम्रो प्रेमको साक्षी केही थिएन । अनि म फेरि अर्को सहर नायल नदीमाथी पानीजहाज चढेर लामो यात्रा गरें । आहा जहाजबाट वरीपरीको मनोरम दृष्य हेर्दा अलौकिक आनन्द आउथ्यो । उजाड मरुभूमिलाई चिस्याउने पबित्र नदी नायल भित्र हाम्रो प्रेमको खाका कोर्न खोजें । सकिन त्यसै त्यसै त्यो यात्रा सकियो र अलेक्ज्यान्ड्रीय सहर भित्र हराएँ । मलाई लाग्थ्यो हाम्रो प्रेम पनि नायल नदी झैं लामो हुनेछ तर यो हेर्दा हेर्दै बिस्नुमती बन्यो । मरुभूमिमा पनि चिसो हिमाल भएको दक्षिणीभागमा अवस्थित सिनाइमा पुगें । त्यो सिनाइ हिमाल, क्याथिरिन अनि उमासाउमारको नजिकैबाट अवलोकन गरें ।

मेडिटेरिएन सागरसँग जोडिएको इजिप्टले मलाई अर्कै आनन्द दियो । उँटमाथी चडेर पिरामिडमाथी घुम्दा होस या नायलमाथी डुगा चढेर लुक्जोर सहर पस्दा होस एक अदभुत यात्रा लाग्यो । अफ्रिकी भूमिलाई सलाम गर्दै मेडिटिरिएन देशतिर यी दुखारी पाइलाहरू बढाएँ ।

म आफनो सद्धिक्षालाई सिसिपसको कथाबाट सुरु गर्न चाहान्छु । फान्सेली दार्शनिक अलबट कामुको पात्र हो सिसिपस् जस्ले लगातार असि बर्षसम्म समुन्द्रीतटबाट पहाडको टुप्पोसम्म ढुंगो बोकेर पुरयाउने प्रयास गरयो र अन्तमा सफल भयो । तर ममा त्यो साहास छैन । त्यो घायल सिसिपसले कहिल्यै हरेस खाएन तर मैले खाइ सके गीताजी । यही चोटले रन्थन्नियर फेरि यो मनमा लागेको आगो निभाउन खोजें । सन्तुषको पानी खन्याउन खोजें झन झन आगो दन्कियो । हृदय जलिरहयो । तपाईंले मेरो सपनालाई चकनाचुर पारे झैं । नेताले देशको सपनाहरू छिया छिया पारे झैं त्यो घायल परिवेशबाट मुक्त पाउन सकिन ।

इतिखेर म इटालीको सिसेली टापुमा पुगेर पुग्लीयमा बसें । चर्चका पुराना भग्नावसेषहरू हेरे र आफूलाई त्यसैसँग तुलना गरें । त्यस पछि समुन्द्रीतट हुदै नापोली पुगें । इटालीको एक प्रशिद्ध सहर नापोलीमा सागरका छालहरूसँगै गाएर बसें । कोसेन्जाबाट ट्रेन चढेर नापोलीमा केही दिन बिताए । फेरि टे्रन चढेर त्यहाँबाट रोम सहर लागें । रोम सहरका पुरातत्वयिक महत्वका अबशेषहरू हेदै हेर्दै मिलान पुगें । बाटोमा एक गीत लेखे जुन गीत स्वरुप राज आचार्यले आलोकश्रीको संगीतमा गाएका छन ।

“गुँरास सरी फुलेकै होउली हिमाली पाखैमा ।
म्कम्कन्को तिम्रो अल्मि्क नै रहयो, यी मेरा आँखैमा । । ”

मिलानको बसाइ निकै यादकर रहयो । एक समारोहमा सहभागी भै गोल्डमेडल पनि प्राप्त गरें । अनि इटालीलाई बाइ बाइ गर्दै भेरोनाको बाटो समातेर क्रोसिय तर्फ लागें । इटालीसँग समुन्द्रीतटले मात्र सिमाना जोडिएको क्रोसियको यात्रामा फेरि बोट चढनु परयो र अति आनन्दमयी लाग्यो । एकल यात्रामा अरु जो भएपनि आफना कोही नहुदाको क्षेण सारै खल्लो लाग्दो रहेछ । प्रेकमा ओर्लिए पछि बसको यात्रा शुरु गरें र रिजेकामा बिश्राम लिएँ । समुन्द्रीतट निकै आर्कषक र रमाणीय लाग्यो । केही समय बिताएर कुपा नदीको किनारै किनाराबाट जाग्रिव जुन राजधानी हो त्यहाँ बसें । ब्ोास्नीय जाने मन थियो तर समयले साथ दिएन र म जाग्रिवबाट बसैबाट यात्रा तय गरें । साभा नदीको किनारै किनारबाट साल्नाभोस्की ब्रोडबाट सर्बियतिर पार भएँ । जुन तिन देशको त्रिकोणत्मक सिमाना भएको छ । एउटै देश टुटेर बनेको स्थानहरू आपसमा कठोर छन । जातीय र राजनीतिको गलत बाटो लियको त्यो कठोर भूमिले लाखौ नागरिकको मृत्यु भोगेर पन्छिएको छ । एक पटक नेपाल सम्म्के जहाँ जातिय र भाषाको अधिकारको नाममा राजनीतिलाई बढाउदै लगेकोमा दुख महसुस भो । ज्ातियताले कसरी टुटाउदो रहेछ आत्मा । ज्ासरी हामी दुई बिच आत्मीयता टुटयो त्यसैगरी टुटछ राष्टियता । यही अनुभव गरिरहेको छु यतिखेर ।

देशमा भएको जात जातीको आवाज कुल्चिएकै कारण, उनीहरूको पहिचान नगरिदिएकै कारण अंशबण्डा बेहोरेको सर्विय आफैमा म जस्तै घायल थियो । अमेरिकन सेनाले हानेको बमले उडाएका घरहरू हेर्दा छिया छिया भएकेा बिसाल बेलग्रेट सहर मेरो आफनै छाती जस्तै लाग्यो जुन तपाईं दिएको धोकाले जलेको ह्रदयमा खरानीको खण्डहरसँग मिल्दथ्यो । डानुबे नदीको चिसो पानी पिउदै एक पटक अतितलाई केलाए । समयको गतिलाई नछाडी बगेको नदी जर्मनीको कालो जंगलबाट बग्दै बग्दै कालो महासागरमा मिल्दछ । डानुबे नदीको शुरु पनि छ र अन्त पनि तर मेरो प्रेमको नदी त बिचैमा सुक्यो पस्चातापको आगोभित्र । बेलग्रेटबाट प्राइबेट भ्यानमा मेसोडोनिया तर्फलागे । बाटोमा आशा सिडीका गीतहरू सुन्दै मनलाई बहलगाएँ । हिउले ढाकिएको बाटो आफैमा उदास लाग्दो र पटयार लाग्दो थियो ।

रामकृष्ण ढकालका गीत लगायत, कुन्ती मोक्तान, यम बराल, कर्णदास, अनि हरिबंश आचार्य र मदनकृष्ण श्रेष्टको आधुनिक गीतले कल्पनाको अर्कै संसारमा पुर्याइरहेको थियो । मेसोडोनियाको राजधानी स्कोपजेमा पुगेर मोटलमा बसें । पहाडको टुप्योबाट । कतै अरुणा लामाका गीतहरू कतै नारायण गोपाल, गोपाल योन्जन र अम्बर गुरुङका गीतहरू सुन्दै यात्रा तया गरें । अनि फेरि भ्यानमै अलबानियातिर लागें र अल्बानिया नपुग्दै बिसाल ताल वोर्चिट देखें । बिछोडको बेदनाले धर्किएको नयानबाट बगेको आँशुको ताल झैं लाग्यो । ताल कति सुन्दर । बााहिर जति राम्रो देखे पनि भित्रिपाटो मेरो ह्रदय झैं घायल थियो । किनभने त्यही ताल मेसोडोनिया र अलबानियको अंशबणडा भित्र छटपटाएको रहेछ । एकछिन नास्ताखाने समयमा फोटो खिचें र धित नमरेसम्म हेरीरहें । फेरि गन्तब्यतिरै लागें । अग्ला होचा पहाडबाट निस्कदै कुदिरहेको गाडीमा भगवान भण्डारी र बद्री बगेनी, कोमल वलीको कबिता आले लगायत थुर्पै लोक गीतहरू सुन्दै अगी बढे । अलबानियाको राजधानी टिराना सहरमा ओर्लिएँ ।

भर्खरै युगस्लाभीयबाट छुटटीयको अलबानीय एक स्वतन्त्र भएर पनि धरै पछि परेको पाएँ । टिरानाबाट एथेन्स सहरको उडान भरे । ओहो आकासबाट एथेन्स सहर हेर्दा अचच्म लाग्दो थियो । लोभलाग्दो दृष्यले मनै लोभायो । ग्रिसबाट टर्कीको इतसानबुलमा लागें । टर्कीका बजारमा घन्केका ती गीतहरू साँच्चै लोभलाग्दो थियो । भाषा नबूम्के पनि संगीतको भाषा बूम्कन सकिने खालको थियो । टर्कीका ती मिठा गीतहरूमा हाम्रो बिगतको मिलन खोजे तर परिवर्तित स्वरको कुनै झलक पाएन । त्यस पछि रुशमा जाने योजना बनाएँ । लेलिनग्राडमा पूगेर साम्यबादको अर्थहरू खोजें जसरी मेरो जीवनको किताबबाट विस्वास गुमीसकेको थियो ।

मस्को नदीको किनारमा बसेर गीत लेख्न थाले जून आत्मीय चोटका भावभंगीमा सिमित थिय । नेपाली एम्बेशीमा गएर आगून्तक पूस्तिकामा हस्ताक्षेर गरें । मे यूनिर्भरसिटीमा अध्यानरत नेपाली साथीहरू भेट भो जस्मा चन्द श्रेष्टजीको नाम मेरो यात्राको बहीखातामा अंकित छ । मस्केाबाट सन्ट पिटसवर्ग हुदै स्टोनिय पुगें । राजधानी तालिनमा घुम्दा घुम्दै गोबिन्द थापा र रानाजीसँग चिनजान भो । इन्डिएन रेष्टुरेन्टमा हैकम जमाएर बसेका साथीहरू पाउदा खुशी लाग्यो । त्यतै घरजम गरेका साथीहरू निकै उत्साही र सहयोगी लाग्यो । मेरो साथी निकोलाई लाई इन्डिएन खाना खुवाइयो र मैले पनि खाए । साथीबाट बिदावारी भएर फिनल्याण्डको हेल्सिन्कीमा अबतरण गरें । मलाई सारै मनपर्ने देशहरूमा फिनल्याण्ड पनि एक हो । फिनिसको प्राकृतिक सुन्दरतामा तपाईंको न्यानो आभाष खोजें तर पाउन सकिन । स्वीडेनबाट लण्डनको यात्रामा लागें । बेलायत मेरो अर्को सपनाको देश थियो । हिथ्रो एरपोर्टबाट सेन्ट्रल लण्डन गएर लण्डन ब्रिजसँगैको कमफ्रट इन होटलमा बसें ।

बाराइटन, लिभरपुल, एडनबरा लगायत आइल अफ जर्जीमा फन्को मारे । पलमस्टेट जहाँ नेपालीको घना बस्ती छ । धर्मराज थापा मेरा अभिन्न मित्र बन्नु भो नेपाली एम्बेशीमा गएँ ।

नेपालबाट युबा संगीतकार अनिल शाहीजीसँग भेट भो । आपसमा कुराकानी गरी बिदा मागे अनि इग्लीस च्यानलबाट फ्रान्स आएर आइफल टावरमा चडी आनन्दको उत्सव मनाएँ । अनि बसमा पेरिसबाट बेल्जियम, लग्जमबर्ग हुदै जर्मनमा यात्रा बिसाएँ । बोनमा पुगेर नेपाली एम्बेशीमा आगन्तुक पुस्तीकामा हस्ताक्षेर गरें । न्ाोबेल किसोर राइ राजदुतलाई भेट गरें । अनि स्वीजील्याण्डको जुरिचमा पुगें । झन्डै पोखरा झैं लाग्ने बिसाल तालहरूमा, उच्च हिउले ढाकिएका पहाडहरू हेर्द जेनेभा गए । डा.शभ्मुराम सिंखडा लगायत धेरै नेपालीसँग साक्षात हुने अबसरमा जुटे । अनि मेर्डिड् सिटीमा अबतरण गरेपछि लिजबिनमा गएँ । लिजबोनका पुरानो सहरका भग्नअबशेषभित्र हेरें । त्यस्मा हाम्रो अस्तित्व लुकेको छ कि भनि खोजें । पाइन केवल उही उदासी मन लिएर फेरि भियाना सहर, अष्ट्रेयमा पसें । भियाना सहर नयाँ अनुहार लिएर झल्किएको थियो । जाडोमा तातो भियाना म्युजिकमा कफी पिएर म पोल्याण्डको वार्सा सहरतिर पसें । वार्सा युनिर्भसिटीमा केही दिन बसे पछि, ब्रातिसलाभा, स्लोभानियतिर हानिए । बसैबसबाट । ब्रातिसलाभामा भएको मदर टेरेसा होममा बसेर उपचार गरें । हिउँको कारण चिसोले बिरामी नै परे पछि मदर टेरेशा होमले न्यानो बास दियो र उपचार पनि गरयो । मदर टेरेशालाई धन्याबाद चढाउदै फेरि रेलको यात्रामा लागें । चेक रिपब्लीकको प्राग सहर सानो, सुन्दर र रमणीय लाग्यो मलाई ।

युरोपियन देशहरूको यात्रा सकिय पछि म दुबइमा लागें र तेतैबाट बहराइन पनि घुमे । अनि दुबइबाट सिंगापुरतर्फ बढें । सिंगापुर सानो सम्पन्न र समृद्धिले सजिएको सुन्दर देश हो । गोर्खाली सेनाले शुरक्षा दिएर बसेका भेटाए, मुस्ताफामा सपिंग पनि गरें । अनि त्यतैबाट मलेसिया लागें र अग्ला दुई टावरबाट सहर अवलोकन गरें । त्यस पछि पानी जहाजमा इन्डोनेसिय पसें र बाली हुदै जार्काता सिटीमा प्रवेश गरें र सेन्ट्रल होटलमा बसें । निकै रमाइलो भ्रमण पछि फिलिपिल्सको शुभु टापुमा दिन बिताए अनि मनिालामा उर्तिएँ ।

मनिलाबाट एक अनौठौ देश पपुवान्युगिनीको पोर्टमर्सेबीमा पुगें । त्यहाँको उदेक लाग्दो सामाजिक बातावरण हेरें । सारै पिछडिएको त्यस देशबाट सिडनीतर्फ पसें । अष्ट्रेलियाको कंगारु मनको जंगलमा हुल्दै फेरि न्युजिल्याढको अक्ल्याण्मा उत्रिएँ । सारै रमणीय, सम्मन्न र स्वच्छ बाताबरण पाएँ । नेपालका एक अभिन्न मित्र एडमण्ड हिलारीको दर्शनपछि फेरि थाइल्याण्डमा ल्याण्ड गरें । थाइल्याण्डका सहचरीको बिचबाट फुत्केर कम्बोडिया गएँ ।

युद्धले छोडेको दुईलाख भन्दा बढी मानब अस्तिपन्जरहो भन्डार हेरे । प्रिय गीता जी, ती अस्तिपंजर बनेको हाम्रो सम्बन्धलाई अबलोकन गरें । चित्त बुम्काउनु भन्दा अरु औषधी केही थिएन । अनि लावसको भेलिन्टन सहरमा अवस्थीत बिसाल बुद्धको अलौकिक मन्दिरको दर्शन पछि युद्धले इतिहास कोरेको भेतनाम पसें । होचिमिन्ह सहरको पार्कमा बसें र उर्त्सग प्रेमको माहोल नियालें । मोटरसाइकलको भीडैभीडमा हराउदै साइगोन नदीमा सितल यात्रा थालें । अनि हनोइको रेड रिभर पार गरें । होजिमिन्हको म्युजियम र चिडियाखाना हेरी बिचमा रहेको सुन्दर तालमा रमाएँ । त्यो तालमा पौडिएका हाँसहरूसँगै गीता जी, हाम्रो अतितलाई हेरै जहाँ त्यस्तै बाचाहरू बाँधेका थियौ । तालमा हाँस मात्र थिए हाम्रो बाचाहरू ीथएनन । सवैभन्दा स्मरणीय यात्रामा मेरो भेतनाम नै हो जहाँ बे नामको समुन्द्री किनारामा सानो बोटबाट पुरै तालहरूको यात्रा गरें । अनि त्यही स्मरणीय हनोइबाट बर्माको रंगुन तिर बढें र धर्मशालामा गै नेपालीहरूको बिस्थापित जमात भेटें । मातृभूमिलाई गुमाएका नेपालीहरू चित्त बुम्काइ बाँचेका पाएँ । कठोर सैनिक सासनको निंरकुस्ताको बुटमुनी कुल्चीएका जनताको माम्कमा नेपाली पनि थिए । आँगसागं सुचीको देश भएर पनि सेनाको कब्जामा थियो । शासक निरंकुस भएपछि जनता कति दुखी हुदा रहेछन यो पनि वर्माबाट थाहा पाएँ । एभरेष्ट होटलमा पाण्डेजीले निकै रामो स्वागत गर्नु भो । बर्मेली सरकारको त्यो बुट मुनी मेरो माया पनि भेटे जुन तपाईंले गला घोटेको अनुभव गरें । मिंग्लाबा भन्दै बिदा मागेर म हंङकङ तिर लागें । त्यहाबाट पानी जहाजमा घूम्दै मकाउ पुगें । मकाउ क्यासिनोको अखडा रहेछ । लामो पूल पार गरी सान्ता डोमिंगो एतिहासिक चर्चमा गएँ । पोर्चूगीच भूमिकामा परिचित त्यो मकाउ चाइनाको अंगालोमा बाँधियो तर प्रिय गीता तपाईं मेरो अंगालोमा म बाँधिन चाहानु भएन । अनि गोज्जाउ हुँदै बेजिंगको यात्रामा लागे र संसारको अलौकिक निसानी ग्रेटवाल लाई सूमसुम्याउन पाएँ । मलाई लागेको थियो हाम्रो प्रेमको उचाइ र लम्बाइ पनि त्यतिकै छ तर हाम्रो प्रेम बर्लिनको पर्खाल भएर डल्यो । उन्नाइस दिनको जनआन्दोलनले राजतन्त्र ढल । सांघाइको औध्योगिक सहर पछि ताइवानको ताइपेइमा अलमल्लिएँ । असोका होटलमा केही दिन बसेर कोरियाको सियोलमा पुगें । इथिवनमा रंगिन रात बिताउन मूनलाइट डिस्कोमा छिरें । धेरै नेपालीहरू पनि भेट भयो । सियोल टावरमा बसेर फकूमफाप र किम्चीको अचार खाएँ ।

अनि फेरि हङकङ हुदै कोलोम्बो आएँ र युद्धले ग्रस्त श्रीलंकामा केही समय मात्र बिताएँ अनि देल्ही, भारत पुगें । देरादून गएर दर्शन गरें शिवपार्वतीको मन्दिरमा । बम्वैदेखि चेनाइसम्मको यात्रा गरी बंगलादेश पसें र ढाँका अबतरण गरें । इगंलिस रोड, टिपुसल्तान रोड अनि इलेफेन्ट रोड तिर घूम्दै, तारी पिउदै छुटटै मजा लूटें । गीताजी मनको डाहा कतै पूगेर निभ्दैन रहेछ । त्यही बेला मैल संकल्प गरेको थिएँ । यदि म बाँचे भने यिनै अपांग खुट्टाले पूरै पृथिवी घुमेर देखाउँछु भनेर अठोट गरेको थिएँ । अपांग त ती हुन जस्ले आफनो क्षमतालाई चिन्दैनन ।

यही नै मेरो जीवनको मन्त्र हो । आस्था डगमगाएको छैन । गन्तव्यहीन यात्राको अन्यहीन कथा मेरो एउटा जीवन गाथा हो । आघात र बिछोडको त्रिवेनीमा अनगिन्ती सपनाहरू बोकेर फेरि नयाँ जीवनको विउ छरेको छु । तपाईंको जीवन सफल होस । सम्बृद्धशाली होस । मभित्रका घायल अनुभूतिलाई म भित्र भित्रै मेटिदिने छु । जेहोस तपाईंसँगको बिछोडले मलाई बाँच्ने प्रेरणा दिएको छ । जीवनको एक सहयात्री हुन नसके पनि, बिना पर्खाल भित्रको कैदी सम्म्केर बिर्सने कोसिस् गर्नु । अन्तमा यति भन्दै मेरो मनोन्यासलाई बिट मार्दछु ।

लौ त गीताजी, बिछोडको उत्सव रमाउदै गर्नुहोला । समयको अन्तरालमा कतै फेरि भेट भए संयोग ठानौला । आजलालाई बिदा माग्दछु ।

उही तपाईंको बसन्तकालमा नफूलेको फूल–मृदुल

भाग्यले साथ दिएछ भने भेटौंला कुनै दिन ।
मरेर यदि गएछु भने रोइदिनु एकै छिन ।

1 thought on “जलेको हृदयमा फुलेको प्रेम”

  1. लेखको विषय वस्तु साँच्चैको हो
    लेखको विषय वस्तु साँच्चैको हो कि काल्पनिक? पढ्दा वास्तविक नियात्रा जस्तो लाग्छ । विश्ववरिपरिको यो बिसाल भ्रमणले सायद लेखकलाई निकै अनुभवहरू अनि सोचाइहरू पस्केको हुनुपर्छ । आशा गरौं भविष्यमा वहाँबाट अत्यन्त मौलिक रचनाहरू निस्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *