तिमी जमेका कविता कलामा
हामी रमेका कविकै तलामा
त्यो काव्य धारा छहरा खसायौ
दिएर माया दिलमा बसायौ
यात्रा त तिम्रो रविकै समान
ईश्वर तिम्रो मनुजै महान
निबन्ध, काव्यै मनमा सहर्ष
छ नाम तिम्रो जनमा सगर्व
सोच्ने र लेख्ने सब काम छाडि
भोकै र तिर्खै कलमै नछाडि
अगाध आस्था मनमा रहेछ
दीर्घायु तिम्रो शतकै भएछ
जलेर आफैँ पनि बल्नु धर्म
अपार नौलो कविको छ कर्म
न मान पायौ, धन नै कमायौ
लेखेर सारा मनमै रमायौ
थ्यो भोक साथी अनि रोग साथी
त्यो लक्ष्य तिम्रो अझ चन्द्रमाथि
हामी त होचा, धवलै तिमी हौ
महान स्रष्टा अजरामरै छौ
यो जीवनैको नव गीत गायौ
धर्मान्धताको भ्रम जो हटायौ
त्यो डाँक बोल्यौ नव चेतनाको
सचित्र खिच्यौ सव वेदनाको
बिर्सेर बोटै फल खान्छ मान्छे
अल्छे छ जो, त्यो तब बन्छ भान्से
आजन्म लेख्दै श्रम जो लगायौ
निस्वार्थ लक्ष्मी ! पसिना बगायौ
खुलेर फुल्दो कवि फूल जस्तै
आकाश हाँस्दो कवि जून जस्तै
प्रेमादरै यो, छवि उच्च मोटा !
हे ! अग्रगामी कवि देवकोटा !!
फाक्टाङ –२,खोटाङ
मो.नं. ९७५३००४३६०
