दिवंगत पुज्य पिताको स्मृतिमा


यति खेर म ब्राइटन नजिकैको सहर होपमा बसेर दिउसोतिर समुद्री किनाराहरूसँगै लुकामारी खेल्दै थिएँ । अचानक देव्रे कानमा ठुलो स्वारले ठक्कर दियो । भयानक घटना घटेको छ मेरो जीवनमा । यो अशुभ धमाकाले कानमा प्रवेश गरी मनमा एककासी अनेक कुराहरू सम्झन पुगें । अनि समुद्री किनारालाई छोडेर म आफ्नो कोठामा पुगें । हिजो मात्र सेन्ट्रल लन्डन कंगक्रस गएको थिएँ । बिरह जागेता पनि नेपालबाट कति खेर के खवर आउछ भन्ने त्रास लागिरह्यो । यसै त गत राति सपना पनि भयानक देखेको थिएँ । सपनामा हामी बाबु छोरा पहाडको कुनै कुनाबाट जहाजमा उँडिरहेका थियौं र अचानक बाबा त्यो जहाजबाट खस्नुभयो र म एक्लै बाँकी यात्रा पार गरें । यस अर्थमा पक्का पनि बाबाकै ज्यान तलमाथि परेको डर मनमा लागिरहेको थियो । त्यो रात म राम्रोसँग नसुतेर बिताएँ । भोलिपल्ट एकाबिहानै नेपालबाट फोन आयो । नभन्दै बाबा बितेको २ दिन भैसकेछ । त्यो सुनेर म स्तब्ध भएँ । न म रुन सँके न बोल्न । नेपाल गएर बाबालाई भेट्ने रहर पनि अनयास सेलाएकोले म स्तब्ध भएँ । केही दिन मात्र रुकुम गएर फर्कने र काठमान्डौ आउँछु कान्छा भनेर फोन गर्नु भएको थियो एक महिना अगाडी मात्र । म बिदा हुँदा खै किन हो बाबाले मलाई निकैबेर अंगालो हाल्नुभो र तपतप आँशु चुहाउँदै बिदा दिनुभएको थियो । सायद त्यो नै अन्तिम भेट भनेर हो कि ।

समयको त्यस यात्रामा मेरा अभिन्न अबिभावक गुमाएको छु । हुन पनि आज साँच्चै टुहुरो भएको छु । बाबालाई गुमाउनुको सहज हुदैन रैछ । बाबाको स्वरुप आँखा वरिपरि नाचिरहे उहाँका तस्वीरहरू । भोक पनि हरायो । निद पनि हरायो । फेरि हामी चार भाइमध्ये मलाई बिषेश चासो दिनुहुन्थ्यो । किनकि म कान्छो र त्यसमा पनि अपांग भएकोले छोराको भविस्यप्रति निकै चिन्तित हुनु हुन्थ्यो । उमेर ढल्किंदै गयो, घरजम भएको छैन । के गरी खाला के गर्ला जस्ता केही चिन्ताहरू उहाँका थिए । अनि बाबाको फोटो निकालें र हेर्दै स्मृतिको गहिरामा डुब्दै गएँ । मन रोइरहेको छ । बिरानो ठाउमा दुख बाँढने पनि कोही थिएन एकाद भन्दा ।

छोरा भोको छ कि प्यासी छ कि भन्दै हरपल चिन्ता लिने बाबालाई आज बिदा गर्नु परेको छ । चार भाइ छोरा हुँदाहुँदै पनि अन्तिम अबस्थामा कसैको पनि मुख हेर्न पाउनु भएन । यति खेर पुराना कुराहरू मनमा खेलिरहेका छन । मलाई आफ्नो पुर्खाको समेत सम्झना गर्दै लेख्न बसें । मेरा जिजु बाजे लटु खत्रीका तर्फबाट दुई परिवार बने । जेठीबाट जन्मिएकाहरू चोत्राबोट, रुकुम आलातिर बसे भने कान्छीबाट जन्मेकाहरू नाथीगार आए र पाँच भाइ छोरा भए । जेठा बाजे कालु खत्रीबाट दुई भाइ छोरा जन्मिए । राम बहादुर खत्री र गंगाराम खत्रीमा मेरा बाबा गंगाराम खत्री उहाँको बोलाउने नाम गाउँलेले सुनौले खत्री भन्थे । बाबा चार बर्षको हुँदा बितेको र ८ बर्षको हुँदा बाजे पनि बिते पछि बाबा टुहुरो हुनु भयो । काइलाबाजेले बाबा टुहुरो भएपछि भतिज आइज भाइहरूसँगै गाइ-भैसी हेर । म तँलाई १ भैसी दिउला भन्नुभएछ । केही बेर काइलाबाजेसँगै बसे पछि १३ वर्षको उमेरमा सोच्नु भएछ, “आज त म सानो छु बाबु हुन । मायाले मलाई राखे । तर पछि भाइहरूले मलाई बचन लाउन सक्छन । गासे भन्न सक्छन् । त्यो भन्दा बरु भारत जान्छु,” भनेर कसैको साथमा भारत पस्नु भएछ । २ बर्ष जति अनेक दुखकष्ट गरेर बस्नुभएछ र १५ बर्षको उमेरमा १९४२ मा ब्रिटिस गोर्खा फौजमा भर्ना हुनु भएछ । अनि आर्मीमा भर्ती भएर बर्माको युद्धमा होमिनु भएछ । ब्रिटिसले भारत छोडेपछि जम्झ कास्मीरको लडाईं लडनु भएछ । अनि सात आठ बर्षपछि गाउँमा फर्कदा कसैले चिन्न सकेनछन ।

गोरो फुर्तिलो र जोसिलो अनि आर्मीको अनुशासनमा बसेर पौरख र सच्चाइको जीवन बिताउनु भएछ । ठुलाबाले पनि अंशबन्डा गरिदिनु भयो । र भतिजाहरू नै मेरा छोरा हुन भनेर बस्नु भएछ । तर साइला बाजेको छोरा भीमबहादुर खत्री ठुला बाले सम्झाई-बुझाई “अरुलाई आफ्नो भनेर हुन्न भाइ । आफ्नै त आफ्नो हुदैनन, भने अरुलाई आफ्नो भनेर नबस” भनेर सम्झाए पछि मात्र बत्तिस बर्षको उमेरमा विवाह गर्न राजी हुनु भएछ । दुई भाइ अत्यन्त मिल्ने भएको भएर एक अर्काको बचन हार्न सक्दैनथे । दुई भाइ अत्यन्त घनिष्ट थिए । भीमबहादुर ठुलाबाबाट दुई भाइ-दाइ र तीन दिदी बहिनी थिए । कान्छी बहिनी सावित्री र म सानोमा साउनेपानी लेकमा जान्थ्यौ । जुका लाग्दा चिच्याउदै बहिनी उफ्रिन्थी ।

मेरा बुवा ठुला बाबा भीमबहादुरको आपसी सल्लाह अनुसार फेरि गाउँ फर्केर नया जीवन शुरु गर्नु भएछ । भारतमा जाने आउने त छदै थियो, अनि जम्झ कस्मीरबाट घर फर्किदा मौसमको बिउ पनि लिएर आउनु भएछ । रुकुम जिल्लालाई मौसमको प्रख्यात बनाउनु भयो । गाउँमा शिक्षा-दिक्षा थिएन । नाथीगार प्राथमिक स्कुल खोलेर छोरा भतिजालाई शिक्षा दिन थाल्नु भयो । मेरा बाबा कहिलै एकक्षिण पनि बिना पौरख बस्नु भएन । नाथीगारमा आफ्नै पौरख र दिमागले हामी चार भाइलाई शिक्षा दिक्षा दिन र नैतिकता शिकाएर समाजको उपयोगी नागरिक बन्न प्रेरणा दिनु भयो । साँमु बिहान गुणरन्त मालाको मन्त्रहरू भन्दै हामीलाई सम्झाउनु भयो । जोसँग भए पनि आत्मा जित्न सक्ने र फुर्तिलो र सुनौलो सुन्दर मुहार भएकोले सबैले सुनौले खत्री भनेर बोलाउथे । बुबाका भाइहरूमा कान्छाबाका छोरा नन्दराम र प्रताप खत्री थिए । जेठा बाजेका छोरामा मेरा बाबा र राम बहादुर खत्री ठुला बाबा हुनुहुन्थ्यो । मेरा ठुलाबाका छोराहरू लाल बहादुर केसी, याम बहादुर केसी र तविल केसी थिए । काइलाबाजेका छोराहरू सानाकान्छाबाट तिलक दाइ र सात दिदी बहिनीहरू थिए भने कान्छी पटि भने चार भाइ छोरा र एक बहिनी छोरी थिइन । कान्छाबा थिए र कान्छी आँबैका तर्फबाट चार भाइ कान्छाबा छन । सेरबहादुर केसी, चक्रबहादुर केसी, लाटा कान्छाबा र धनबहादुर केसी । साइला बाजेबाट भीमबहादुर ठुलाबा हुनुहन्थ्यो । माइला बाजेका दुई भाइ थिए । जेठा ठुलाबाबाट छोरा बलबहादुर खत्री थिए ।

माइला ठुलाबालाई त मैल देखेको थिएँ तर ठुलाबालाई देखिन किनकि उहाँ भित्रेखोलामा घाँस काटदा रुखबाट खसेर बित्नु भएछ । ठुला माइलाबाको कोही सन्तान भएनन् । कान्छबाजेबाट दुई भाइ थिए । नन्दराम खत्री र प्रताप खत्री । त्यस्मा नन्दराम कान्छाबाका सबै सन्तान मरे । तर पछि दागको कुइरे पानीमा आएर बस्नु भयो । मैले पनि २०४७ सालमा घोराहीमा भेटेको थिएँ ।

मेरा बाबाको सोच सच्चाइ र पौरख नै जीवनका गहना हुन भन्दै हामीलाई गन्तब्यमा डोर्याउनु भयो । उहाँ गजे घलेको पल्टनमा भएको र युद्धका कथा सुनाउनु हुन्थ्यो । डाक्टर हर्क गुरुग पनि सँगै पल्टनमा हुनुहुन्थ्यॊ । लाहुरे जीवन त्यागेर घरमै खेतीपाती र शिक्षण पेसा गर्नु भयो । आफ्नो जेठो छोरा थमन केसीको नाती सिद्धि गौतम माइलो छोराको नातीनी गिता हिटलर र साइला छोरा पहलका नातीनी बसन्तीलाई असाध्यै माया गर्नु हुन्थ्यो । त्यो सवालमा कान्छा छोराको घरजम नहुँदा उहाँमा ठुला पीडा थियो ।

बाले सबै छोराहरूलाई उत्तिकै माया गर्नु हुन्थ्यो । नेपाली सेना भएर काम गरेको र छोरा पनि लाहुरे भएकोमा गर्व गर्नु हुन्थ्यो । जेठा दाइ मास्टर हुनुहुन्थ्यो । साइलो पनि आफ्नो जीवन निर्बाह गर्ने भैसकेकोमा खुशी हुनुहुन्थ्यो ।

म २०२६ सालमा आमा डमर कुमारीको कोखबाट जन्मे । सानैदेखि पोलियो लागेर हिंड्न नसक्ने भएको थिएँ । म आफूलाई आफ्ना खुट्टाले टेकेर हिंडेको देख्न पाइन । बामे सरेर भए पनि म रुकुमका गाउँ-गाउँमा पुग्थे खोला गार तर्न र तालमा पौडन पनि सक्थे । नागीगारबाट रुकुमकोटसम्म पुगेर पढन जान्थे । न कुनै बाटो थियो न कुनै सुविधा । धारिला ढंगामा कलिला खुटाहरू म जता पनि पुग्न सक्थें । भाइ प्रताप खत्री, कान्छाबाको माइलो छोरा, धने कान्छाबा काइला बाजेका कान्छा छोरा, पार्वती बहिनी, काइला बाजेकी कान्छी नातिनी लगायत हामी धाउने बगरदेखि हिनेर लम्फाकोट बाँफीकोट पाँगा पोखरा सान्ज्याको घरमा पनि जान्थे । रुकुककोट त सबै ठाउमा पुगे । माथि लेकमा कान्छी ज्यासँगै पार्वती र म पनि गयौ । कान्छी ज्याले हदै माया गर्नु हुन्थ्यो । चार भाइ हुर्काउन कान्छी ज्याको पनि ठुलो देन थियो । मेरी आमा र कान्छी आमा दुई बहिनी थिएँ । र मेरा बाबा र कान्छाबाले एउटै घरबाट विवाह गरेका थिए । एकातिर मेरी आमाको साख्खै बहिनी, अर्कोतिर कान्छी ज्या भएकोले हामीलाई बच्चामा धेरै स्यास सुसार गर्नुभयो । कान्छाबा प्रताप खत्रीसँग निकै घनिष्ट सम्बन्ध थियो । कान्छबाले सिद्ध बाबाको पुजारी हुनुहुन्थ्यो । कान्छी ज्यालाई त आफ्नो अन्तिम अबस्थासम्म पनि देख्न पाउनु भयो । कान्छी ज्याले नै सेहार सुवार गरेर उहाँकै अगाडी प्राण पखेरु गएछ । कान्छी छोरी नन्दालाई बाबाले धेरै माया गर्नु हुन्थ्यो । चार भाइ मात्रै भएकोले मुन अरु सबै छोरीलाई माया गर्नु हुन्थ्यो । म सानो जोखी दिदीसँगै नौधारी गोठ जान्थे । साउने पानी लेक जान्थे । बल्लेजुरी जान्थे । तिलधारा स्कुलमा पनि पढे । स्कमेणी साधारण मा । वीमा पनि चार कक्षासम्म पढें । केही समय लम्झाकोटमा पनि पढें ।

साथमा धन बहादुर दाइ प्रताप कान्छाबाको जेठो छोरासँगै लम्फाकोट पढेका थियौ । बा र प्रताप कान्छाबाले हामी दुई भाइलाई लिएर जानु भएको थियो । म बाबालाई न छोडन नसक्ने भएकोले रोइरहे । त्यतिखेर एकपटक बाबाले मलाई हानेको याद छ । तर कान्छाबाले उत्तिखेर बालाई रोक्नु भएछ । मेरो जिद्धिलाई मेटाउन हप्काउनु भएको होला । मलाई पढाउनु नै उहाँको ध्यान थियो । किनभने मेरो जीवनमा पढाइभन्दा महत्वपुर्ण अरु केही थिएन । मेरो संसार सजाउने साधन केवल शिक्षा नै थियो ।

त्यो बिकट ठाउमा पढदा मेरो हालत देखेर बाबाले राजधानी नै लिएर जाने सोच बनाउनु भयो । त्यस पछि म २०३५ साल पुसको ६ गते नागीगारबाट मुसीकोट बाबा ज्या र साइलोदाइसँगै गए । दिदीको घरमा बसे तीन महिना जति अनि सेरी गाउँमा जोखी दिदी बस्नु हुन्थ्यो र दिदीको घरमा पनि जान्थे । दिदीहरूले मलाई असाध्यै माया गर्थे र भिनाजुहरू साहै राम्रो हुनुहुन्थ्यो । टंक भिनाजु मेरो जेठो दाइको साथी पनि भएकोले हामी धेरै घुलमिल भएका थियौ । खास गरी बाबाले मुसीकोटमा हेलिकप्टरबाट काठमान्डौ ल्याउने सोच थियो । सरकारीतबरबाट केही मद्दत र सल्लाह पाइएन । अनि बाबाले फेरि बैशाख र जेठको चर्कौ धुपमा मलाई बोकेर खाने सामान ओडने सामान सहित चौर जहारी पुर्याउनु भयो । अनि बाबा र म चौर जहारीमा हवाइजहाजको प्रतिक्षामा २ महिना बस्यौ । तर हामीलाई उडने अबसर पाएनौ । बाटोमा बाबालाई गारो भयो भनेर कति ठाउँमा आफै बामे सरेर पनि ती ओराला उकालामा जान्थे । सल्यानको फालाबागको धुरी र गरिजिउलामा हिन्दै सात दिन पछि तुल्सीपुर पुग्यौ । त्यो चर्कौ घामलाई घाम नभनी भोक प्यास र बोझलाई बोझ नभनी मेरा बाबाले मलाई बोकेरै तुल्सीपुर पुर्याउनु भयो । ११ बर्षको थिएँ । तुल्सीपुर दागमा टरीगाउँमा बसौ र त्यहाँ कान्छामामाको घरमा बस्यौ । अनि मुन्डै २ हप्ता पछि हजाइजहाज मिल्यो र बाबा अनि म तुल्सीपुरबाट काठमान्डौ आयौ । काठमान्डौमा आएर भीम कुमारी दिदीको घर त्रिपुरेस्वर थियो त्यहाँ बस्यौ अनि दिदी र नानी मैया दहालले मलाई जोरपाटीमा अबस्थित खगेन्द्र नवजीवनमा भर्ना गरिदिनु भयो ।

२०३६ साल लागेको थियो र बैशाख ५ गते म जोरपाटीमा भर्ना भएँ । त्यतिबेला प्रो गनेशराज सिहं अध्यक्ष हुनुहुन्थ्यो । म जोरपाटीमा भर्ना भएँ तर जुका लागेर धेरै थला परेको थिएँ । जोरपाटीमा उपचार गरेपछि म बल्ल तल्ल निको भएँ । अनि बिस्तारै बिस्तारै वैशाखीको आडमा हिड्न सक्ने भएँ । अनि २०३९ सालमा सात कक्षा पास गरी आठ कक्षामा मित्र माध्यामिक बिद्यालयमा पढे । त्यति बेला मलाई त्यो स्कुलमा पढन र बस्नको लागि श्री श्यामकृण्ण तिमिल्सिना दाइले धेरै सहयोग गर्नुभयो । दाइको प्रेरणा र आत्मबालबाट म भानु मेमेरियल स्कुलमा पनि फेरि आठ कक्षबाटै पढेर २०४३ सालमा स्कुलको अध्यान सिध्याएँ । अनि २०४९ त्यही बेला म टिबीको ठुलो बिमारी भएर थला परें । मुन्डै १ बर्षको उपचार पछि म बिस्तारै लेखन र समाजसेवामा सकृय भएँ । त्यही अनुरुप नेपाल अपांगसंघ जोरपाटीमा सदस्यमा नियुक्त भएँ ।

१९९१ मा बिस्तारै आफ्नै नेतृत्वमा नेपाल अपांग ब्यावसायिक संघ खोलें । अपांगहरूको बृहत हितको निम्ति एउटा संस्थाको सोच बनाएँ र १९९३मा युनिसेफको सहयोगमा आफ्नै हातले राष्ट्रिय अपांग महासंघ नेपालको नामाकरण गरेँ । अनि आफू त्यस्को संस्थापक महासचिव भएर सबै बर्गलाई समेटेर अगाडी बढें भने निर्मल देवकोटा अध्यक्ष थिए । अपांगहरूको बृहत हितको बारेमा जे जति भएको थियो त्यो सबै स्व खगेन्द्र बहादुर बस्नेतज्यूले गर्नु भएको थियो र बाकी अरु कुनै उपलब्धी थिएन । अपांगहरूको सामु मन्च बनाएर देशभरका तमाम अपांगहरूलाई संगठित गरे मात्र अपांगहरूले आफ्नो अधिकार पाउन सक्छन् भन्ने लाग्यो र त्यही अनुसार बढे । नेपाल जस्तो देशमा बिशुद्ध समाजसेवा गर्न सम्भव भएन । सामाजिक सेवामा पनि राजनीति घुस्यो र खुटा तान्ने प्रवृत्तिको प्रवेश भयो । राजनीति गरेको मन परेन । अपांगहरू आफ्नो अधिकार प्राप्तिको लडाइमा लाग्नुभन्दा खुटा तान्ने युद्धमा होमिएपछि म समाजसेवालाई नमस्कार गरी नेपालबाट पलाएन भएँ । मेरो मनमा एउटा धोको थियो कि मलाई गाउँमा घस्रेर हिड्दा कति बचन लगाउँथे । हिड्नेहरूको घमन्डले मलाई पेल्थे । भन्थे, “हिड्न पनि नसक्ने काम पनि गर्न नसक्ने ।”

आमाले पनि पढनु पर्छ बाबु तेरो लागि पढाइ नै सर्वस्व हो भन्नु भयो । त्यो मेरो मनमा थियो नै यदि म बाँचे भने यिनै अपांग खुटाले यो पृथिवीको फन्को मार्नेछु र जीवनमा सार्थक काम गरेरै देखाउने छु भनेर संल्कल्प गरेको थिएँ । त्यही अनुरुप म जापानबाट यात्रा शुरु गरी १०० देश भ्रमण गर्ने क्रममा बेलायतमा बसेको थिएँ । अपांगहरू समाजका बोझ होइनन भन्ने कुरा म आफैले देखाउन चाहान्थे । अँझै जीवनमा साहित्य र सेवाकै भुमिका निभाउन मन छ । अँझै कयौको भाग्य रेखा बदल्ने मन छ । कुन कुनामा थन्केर बसेका तमाम अपांगहरूको हित गरी सवल जीवन बिताउन साथ दिने मन छ । यसरी मेरा बाबाले दिएको सही ज्ञान र गुणले मलाई अरुको साथ दिन मद्धत गरयो र मैले कसैको बोझ बन्नु परेन । म अरुको आश र भरमा बाँच्नु परेन । त्यही नै हो मेरो जीवनको लक्ष्य थियो । अपांग भएपछि धेरैले अपमान गर्छन र तर मैले अपमानलाई श्रद्धामा बदले । बोझलाई सकृतामा बदले । एकठाउमा थन्केर बस्नु पर्नेमा विस्वभरि घुम्न सफल भए । ज्यान तन्दुरुस्ती भए पनि मन कमजोर छ भने त्यो बेकार हो । मान्छेमा त हृदय दरो हुनु पर्छ । बाबाले मलाई सम्झाउनु हुन्थ्यो । म जुन अदम्य साहस र पौरख प्राप्त गरे त्यो मेरो बुबाको हौसला र प्रेरणा पाएर नै हो । असम्भवलाई सम्भव बनाएर जीवनलाई सिंगार्दै थिएँ । अनयास मलाई मेरा प्यारो बाबाले छोडेर जानुभयो । मेरो भविष्यलाई बनाउन बाबाले धेरै पौरख गर्नु भयौ । न त आज कान्छा भोक लाग्यो कि भनेर सोध्ने कोही छन । यत्रो निर्दयी दुनिया बीचमा एकलो पारेर बाबा हजुर कहाँ जानु भयो दुखको मुरीमा होस कि सुखको घाममा होस मलाई न्यानो ओत दिनुभयो । मेरो श्रीपेज हुनुभयो । आज मेरो शिरबाट टोपी मरेको छ । कहाँ कहिले कसरी भेट हुन्छ बाबा हजुरसँग बाबा म हरेक जुनीमा म हजुरकै छोरा भएर जन्मन पाऊँ । हजुर साँच्चा बाबा हुनुहुन्छ जो आफ्नो सन्तानको औधी माया गर्नु भयो । इमानदारपूर्वक बाबु हुनुको अहम भुमिका निभाउनु भयो ।

अब बाबुको माया भन्ने नै अभाव भो । अब मेरो दुखमा रुने र सुखमा खुशी हुने नै को छ र ? म कसरी सन्चो खोसेर बिसन्चो बनाउनेहरू अमन चैन खोसेर तनाव दिनेहरूको बिचमा एक्ले कसरी जिउन सकुला हजुरको धोको थियो कान्छी बुहारी देख्ने नाती नातिना हेर्ने । त्यो पनि देख्न पाउनु भएन । मेरो साहारा दिनेको होला भनेर चिन्ता गर्नु भयो । ऐरीको काँडा जस्तो कठोर समाजमा जिउन गाहयो भयो बाबा ।

मेरो हरेक गतिबिधिमा हौसाला दिने, यस्तो हँसिला खुला दिल भएको पुजनीय बाबा अब हजुरको दर्शन पनि दुर्लभ भयो । हजुरसंगको बिछोड असह्य भइरहेको छ मलाई । बा म हजुरलाई देख्न चाहन्छु बाबा पटक पटक सपनामा भए पनि आउनुहोस । हजुरलाई भेट्न म एकान्तमा आउला त्यहा सुटुक्क आएर मलाई दर्शन दिनोस बाबा । हजुरको स्मृति पनि हजुरकै भएर पूर्ति होस मलाई । मैले हजुरको कुनै सपनाहरू पुरा गर्ने ताकत प्राप्त होस । ए बाबा यदि आत्मा जीवित हुने भए मेरै आत्मामा आएर बास बस्नोस् । भौतिक संसारमा बनेको घरमा राख्न नसके पनि आत्मामा म सुखपूर्वक बसाउने छु । सुन्दर घर बुहारी नातीनातिना सानो बगैचा अन्नपानीको भकारो सन्चो बिसन्चो सोध्ने आत्मीय जनहरू भएको छुटै दुनिया आत्मामा तयार गर्ने छु । यथार्थमा यी सबै कुराहरू मैले पुरा गर्न सकिन । माफ गर्नु होला बाबा । अब रनबनमा गाउँ बस्तीमा यसो मुरकाटे हिमाल हेर्दै म माया सबैको मान्छु बस वरिपरि भन्दै चाडबाडमा सबैलाई आर्शिबाद दिन डाक्नु हुन्थ्यो । बालाई देखेपछि सबैतिर सबैमा खुशी छाउथ्यो । रमाइलो पार्ने कहिलेकाहीं पिएर साथ दिनु हुन्थ्यो । बंगलादेशमा बाबु छोरा घुम्न गएका थियौ । सँगै तारी खाएर रमाएका थियौ । कति आनन्दित थिए ती सँगै घुम्दाका अनमोल क्षणहरू । अब आउने हरेक चाडबाड पनि निरस हुने भयो ।

अब बाबा भनेर कोसँगको कुरा गर्ने जीवनमा जसरी हामीले बिगतमा एकसाथ बितायौं, त्यसै गरी आउने हरेक जुनीमा पनि हजुरसँगै बिताउन चाहन्छु म । घरको रापिलो चुला वरिपरि बसेर न्यानो आगो ताप्दै हजुरको माधुर्य बोली र अर्ती उपदेश सुन्ने दिन कहिले आउछ र ? हजुरको भरिलो हँसिलो मुहार मुलमुली याद आइरहेको छ मलाई । म मर्दा पनि हजुरकै गाथमा जान पाऊँ छिटै भेटन चाहन्छु । अभाव कति हुदो रहेछ यो पीडा हजुर गएपछि मैले महसुस गरेको छु । हजुरको अभाव कत्तिको खट्किदो रहेछ त्यो पनि पलपलमा भोगिरहेको छु । यो निर्दयी दुनियामा कुन्ठित हुँदाका दिनमा हजुरको अंगालोमा टाँसिन आउन पाऊँ बाबा । मेरो अगाडीको भरोसा र पछाडीको अडेस आज ढलेको छ । बाबा मलाई पनि त्यही दिव्य ईश्वरसँग मिलाई दिनोस जहाँ हजुर बसिरहनु भएको छ । आँशुले पखालेर मेरो पापी जीवन हजुरको सामु राखेको छु । अब यो मन भित्रको स्मृतिले मलाई धेरै दिन धान्न सक्ने छैन । मेरो बास्तविक पीडा र अनुभूतिलाई बुझ्ने हजुर बाहेक ईश्वर पनि छैनन । अन्तिमपल्ट हजुरको चाहाना सुन्न पनि पाइन । सबैभन्दा ठुलो पाप त परदेशी हुनु नै रहेछ क्यार । आफ्नो ठाउँ फर्केर आफन्तहरूलाई भेट्न नपाइने । भने जस्तो गर्न नसकिने । अन्तिम पटक दर्शन गर्न नपाएर म आफूलाई धिक्कार्दै बाँचेको छु ।

मलाई मेरा पल्टनका साथीहरू सबै लिन आइसके म जाँदै छु । सबैलाई सम्झना भनी दिनु भन्दै आफ्नो प्राण पखेरु त्याग्नु भयो रे भन्ने सुने । अरुले भनेकै कुरामा चित्त बुझाएर बस्नु पर्ने यो परदेशी जीवन कसैले नभोगे हुन्थ्यो । म अब बाँचु कस्का लागि म अब हासो कस्को लागि । आज मेरो जीवनमा समाउने हाँगो भाँचिएको छ । हजुरका हरेक रहरहरू अधुरै राखे मैले । मेरा सपनाका लालाबालासँग रमाउनोस । मेरो आत्मा भित्रका सुन्दर विम्व प्रतिविम्वहरूसँग समाहित हुनोस बाबा । यो कुन्ठित जीवनले कैले शान्तिको स्वास फेर्न पाएन । मेरो सबैभन्दा ठुलो सुख भनेकै हजुर हो । त्यही अनमोल सुख मैले सदाका लागि गुमाइसकें । आफ्नो भौतिक सुखका निम्ति मैले आत्माके सुखको अनमोल सम्पत्ति गुमाइसकें । मेरो सबैभन्दा ठुलो चैन हजुर हो, त्यो पनि मैले गुमाइसकें ।

यो बेचैन मन लिएर शिथिल शरिरमा जिउन कति कठिन हुन्छ होला । आज हरेक बृद्ध अनुहारहरूमा हजुरकै आकृति देख्न थालेको छु । सेतै फुलेको कपाल त्यसमा ढाँका टोपी लाएको । गलबन्धी भिरेको हलका जाकेट लाउने । छुता हातमा टेक्दै आउने जाने ती गोरेटाहरू प्ाछयाएर हजुरको अभावमा तड्पिरहेको छु । हरेक बृद्धहरूमा हजुर नै पाउछु । त्यसैले असाध्यै श्रद्धा लाग्छ मलाई हरेक बृद्ध जीवनहरू । ह्जुर जस्तै धेरै भेट्न सकुला तर हजुर नै भेट्न कहिलै सक्ने छैन यो जुनीमा । हजुर त मेरो जीवनको सौन्दर्यै हुनुहुन्थ्यो । तर आज हेर्दा हेर्दै यो जीवन मरुभुमीमा बदलीएको छ । हजुर त मेरो जीवनको बिहानी हुनुहुन्थ्यो बाबा तर आज त्यो बिहानी पनि अस्ताइसक्यो यो जीवनबाट ।

कसरी म चित्त बुझाऊँ बिरहमा जली
गै दियौ नि मेरो बाबा मलाई नै छली

अब कसले ल बाबु तँलाई भनेर कोसेली किनेर ल्याइदिन्छ र ? अब हजुरको त्यो दिव्य आवाज कसरी सुन्ने । कहाँ सुन्ने । अब मेरा हरेक गाँसमा हजुरको माया अल्झेको छ । अब मेरा हरेक स्वासमा हजुरको छायाँ बल्झेको छ । मैले खाएर हजुरलाई सन्तुष्टि मिलोस बाबा । मैले लाएर हजुरलाई न्यानो मिलोस बाबा । अब सुनाऊँ कसलाई टुहुरो कथा । अब मलाई हजुरको जस्तो माया र ममता कसले दिन्छ र ? मेरो लागि हरेक पिताहरूमा पनि हजुर पिता हुनुहुन्थ्यो । बाबा मलाई क्षमा गर्नोस ।

मैले अन्तिम पटक पनि भेट्न पाइन ।
हजुरको मुख हेर्ने धोको मेट्न पाइन

मैले हजुरको बुढौलीमा सेवा गर्न पाइन । हजुरले मेरो लागि जीवनका हर खुशीहरू हर सुखहरूको बलिदान गर्नु भयो तर मैले केही गर्न सकिन । कुनै जुनीमा पनि बाबा आमाको गुण कुनै सन्तानले चुक्ता गर्न सक्दैनन् । सधैं सधैंलाई कृतज्ञ बनाएर जानु भयो बाबा । हजुरको जर्जर भै सकेको त्यो जिउमा तेल लगाएर मालिससम्म पनि गर्न पाइन । हजुरले मलाई कति गर्नु भयो त्यो म कुनै जुनीमा तिर्न सक्दैन । हजुरको जीउमा एक जोर नयाँ लुगा हाल्न पनि सकिन । हजुरले कति जोर मलाई किनिदिनु भयो होला । आफ्नो जिन्दगीलाई धिर्क्कादै हजुरको अभावमा तड्पिरहेको छु । हजुरको स्मृतिलाई मेरा नजरहरूमा साँचेर एक पटक हजुरलाई आफ्नै आत्मामा नियालन चाहन्छु ।

हजुरलाई मेरा सृजनाहरूमा सजाएर फेरि जीवित पार्न चाहन्छु । फेरि त्यही हाम्रो गुमेको संसारलाई निर्माण गरेर हजुरकै चरणमा बिसाउन चाहन्छु । हजुरले देख्न नपाएको मेरो सुन्दर संसारलाई पुरा गर्न चाहन्छु ।

त्यो दिव्य स्वर्गबाट मलाई आशिष दिनुहोस बाबा ! भौतिक रुपमा मेरो प्रगति र सुन्दर सपनाहरू देख्न नपाए पनि त्यो स्वर्गीय दिव्य आत्माले नियालिरहनु होला । उही हजुरको टुहुरो छोरालाई आर्शिवाद दिइरहनु होला ।

फेरि मलाई जीवनमा गुमेको त्यो सपना प्राप्त गर्ने क्षमता दिनोस । जहाँ जीवन हुँदामा पनि नहुँदामा पनि रमाउन सकोस । मृत्युपछि पनि हाम्रो जीवन उही नाथीगार गाउँमा स्मरण गर्न पाइयोस । सबै नाति नातिनीहरूलाई आशिष दिनु होला । हजुरको आशिष बिना हरेक जीवनहरू अधुरो नै रहने छन ।

जनुवरी ९, १९९९
होप, बेलायत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “दिवंगत पुज्य पिताको स्मृतिमा”

  1. बाबा को सम्जनामा आज मलाई पनि
    बाबा को सम्जनामा आज मलाई पनि केहि लेखन मन लाग्यो ! एकदिन को कुरा हो ! म हाम्रो स्कुल मा शरस्वतीमाता को पुजा थियो हामी सबै तेही बेस्त थियेउ ! र म पुजा गरिसके पछी घर आए ! र म बाहिर बसिरहेको थिए ! ३बजे तिर एउटा दादा आएर मेरो हात चिठी दिएर जानु भयो तो दादा को अनुहार एकदमै न्युरो थियो ! र म पनि १२ बर्सको थिए ! चिठी पनि एस्तो थियो खाम नै थिएँन र मलाई कस्तो चिठी होला भनेर हजुरआमा लै सोदे अनि हजुरआमा ले भानु भयो पदिहाल्ट भनेर भनु भयो र मैले पढे तेस्मा मेरो बाबा आब हामी साग नरहनु भएको कुरा थियो तेती मात्रै मैले पढे र उता क थियो मैले पढ्न सकिन तेसैदीन बाट हामीले हाम्रो बाबा गुमाएका छौ र आज बाबा हजुर जहाँ भएपनी हजुर को प्यारी छोरी ले हजुरलाई मिस्स गरिरहेको छु !उही हजुरलाई माया गर्ने छोरी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *