Skip to content

एक किलो जंगल


(२०४५ को जनआन्दोलनले चरम उचाई लिइरहेको अवस्थामा जेलनेल भोगिरहेका बिमल गुरुङद्वारा जेलयात्राकै क्रममा लेखिएको यो कविताले उनलाई निरंकुश पञ्चे शासकहरूको नजरमा अझ बढि अराष्ट्रिय कुतत्व हुन मद्दत मिलेको थियो)

अब मुद्दाको कविता लेख्न लागेको छु
बर्षौं – बर्षदेखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फाँसीको – फन्दाको
कविता लेख्न लागेको छु ।
~

तीन त्रिलोक, चौध भुवनको
समस्त फूलबारीहरूको
अपुर्व ब्याख्या गर्दै थाकका थाक लेखे कविहरूले
कविहरूले महलमा बसेर
पृथ्वीका सुन्दरी अप्सराहरूका
हाउभाउ र कटाक्षका कविता लेखे
कविहरूले समुद्रका कविता लेखे
कविहरूले झरनाका कविता लेखे
धकै नमानी
कविहरूले
दाउरे दाइले बनजाँचको आखा छलेर
बनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे
क्रमश:
टेबुलमाथि
ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरू लडिरहे
लडिरहे
ओंठमा याक जलिरहे जलिरहे
एष्ट्रेमा मोर निभिरहे निभिरहे
कविहरूले दाउरे दाइको भोक-प्यास-सपनाको
कविता लेखेको कसैलाई थाहा भएन
यसैले, म बाध्य छु तलबवाला कविहरू !
म अब गोलभेडाको कविता लेख्छु
म अब तिर्खाको कविता लेख्छु
म अब न्याउरी मुसाको चाहनाको कविता लेख्छु
म अब बेसी फुर्सद पाएर बैशले पात्तिएका
महाजनहरूका छाउरा/छाउरीहरूका खिल्ली उडाउँदै कविता लेख्छु ।
~

कविहरूले
खोलाका एकनास-एकनास धुनहरूका कविता लेखे
कविहरूले
चांप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कविता लेखे
कविहरूले
आफ्नै बहिनीको चोलो च्यात्ने
मालिक साहेबको जयजयकार गर्दै कविता लेखे
मालिक साहेबलाई रिझाइबक्सन
कविहरूले स्तुति र गुणगानका कविता लेखे
कविहरूले भक्ति र प्रसंशाका कविता लेखे ।
~

मैले यो भन्नै पर्छ कि
मलाई थाहा छैन
कविहरूले एकपक्षीय अत्याचारको बिरुद्धमा
युद्धका कविता लेखेर
साँझमा निस्कने मान्छेहरूका जमातमा गएर सुनाएको थाहा छैन ।
~

हजुर रिसाउनुहोस या खुसाउनुहोस
अर्थात
खुसाउनुहोस् या
रिसाउनुहोस चौधारी साहेब !
म अब झण्डै झण्डै बाध्य जस्तो भएको छु
दुख नमान्नुस है चौधरी साहेब !
खटिया माथिको मसीको बट्टामा
पाँच हजारवटा आकाश राखेर
अनि शिरमा चट्ट एउटा रुमाल सिउरेर
म अब टक्करको कविता लेख्छु ।
~

म अब झिल्काको कविता लेख्छु
लेखेनन् कविहरूले
फस्टेको पाठशालाको शुल्कबारे कहिल्यै लेखेनन्
कविहरूले
हैजाले सात दिनदेखि ओछ्यानमा परेको
रातेको बिरामी बुबाको अवर्णनीय कष्ट कहिल्यै देखेनन् ।
~

कविहरूले
केवल सम्राटहरूको दु:खका कविता लेखे
कविहरूले
केवल
सम्राटहरूका आनन्दका कविता लेखे ।
~

कविहरूले
केवल सुन्दरीहरूसंग नारिएर नाच्दा आउने
उत्तेजनाका कविता लेखे
कविहरूले केवल सिताको पतिप्रेमका कविता लेखे
कविहरूले
केवल, सेतो टिनको छाना माथि
टुक्रुक्क लौरो टेकेर बसेको
स्वास्नी कुट्ने
आयोतुल्ला खुमेनीको प्रफुल्ल आँखाका कविता लेखे ।
~

कविहरूका हात
कहिल्यै रातेको बाबुको दु:खको कविता लेख्न चल्मलाएनन्
कविहरूका हात
कहिल्यै रातेको बाबुको पसिनाको कविता लेख्न चल्मलाएनन् ।
~

चौधरी साहेब !
म अब हजुरलाई रातको रगना सकेर
सधैं झैं
रामायणको उत्तरकाण्ड/ बालकाण्ड र
इत्यादि, कुन्नि के के काण्डहरू पढेर सुनाउन सक्तिन
म अब संधै झैं
हरेक बर्ष स्वस्थानीको ब्रतकथा पढ्न पनि सक्तिन
म अब हजुरको
त्यो कालो हरहिसाब मिलाउन पनि सक्तिन ।
~

चौधरी साहेब !
साँच्ची, नरिसाउनुहोस है !
म अब रातेको बुबाको पिडाको कविता लेख्छु
म अब माटोको कविता लेख्छु
स्वात्त …!
अगेना भित्र पसेर
म अब एक किलो जंगलको कविता लेख्छु
म अब चोटपटकको कविता लेख्छु
चौधरी साहेब !
म अब तपाईं कै बिरुद्धमा कविता लेख्छु !
~

म अब जनई भिरेको ब्राम्हणले
सार्कीको होटेलमा पसेर
सुंगुर्/रांगो/भंसी/सर्प र
भ्यागुताको मासु
पड्काएको कविता लेख्छु
म अब
गिंठा र भ्याकुरको कविता लेख्छु
म अब
चिप्लेभेण्टीको कविता लेख्छु ।
~

समुद्रपारिको धावामा
मरेका आफ्ना छोराहरू सम्झदै
अनुहारका आकाशभरि पिडाका घाउहरू बोकेर
थुप्रै आमाहरू
आँगनमा
मुर्छा परिपरि रोएको मैले देखेको छु
म त्यसैको कविता लेख्छु !
म अब त्यसैको कविता लेख्छु !
हो म अब त्यसैको कविता लेख्छु !

(२०४५/११/२१)

1 thought on “एक किलो जंगल”

  1. saathiharu,
    yo kabitako

    saathiharu,

    yo kabitako sirsak “एक किलो जंगल” hunuparnema anyathaa hunagaekoma sachchaaera padhidina huna binamra anrodh… saathi pahile harafma अब मुद्दाको कविता लेख्न लागेको छु bhanne line pani chhutna gaeko chhha ra yo kabitako rachanaakaarr बिमल गुरुङ hunuhunchha …. dhanyabaad

Leave a Reply

Your email address will not be published. Required fields are marked *