Skip to content


तिमीभन्दा ठूलो अर्को छैन कोही यहाँ अब
नाता हुन् पछिका बाँकी आएथे जोडिँदै सब ।। (पृष्ठ ६४)

आमाको यादमा (२०६५) खण्डकाव्य काव्यकार नारदमणि पौड्यालद्वारा रचित कृति हो । यसमा आमाको महिमागान गर्दै आमाप्रति उच्चसम्मान प्रकट गरिएको छ ।

संसारमा हुन त सबै हुन्छन् तर आमाजस्तो सम्माननीय र ममतामयी कोही पनि हुँदैन । हामीले तीर्थब्रत गर्नुको सट्टा पनि आमाको दर्शन, पूजा र सम्मान गरे हुन्छ भन्ने कुरा यस काव्यमा अभिव्यक्त गरिएको छ ।

तिम्रो चरणमा आमा गङ्गादर्शन पाउँछु ।
तिम्रो दर्शनमा मैले तीर्थको फल पाउँछु । (पृ.११)

अनुष्टुप छन्दमा सिर्जित यस काव्यमा कवि नारदमणि पौड्यालले आफ्नी आमाको आचारविचार, मायाममता, दुःखकष्ट आदिको राम्रो वर्णन गरेका छन् । हामी यस धर्तीमा जन्मेपछि पहिलो गुरुको रूपमा आमा हुन्छिन् । आमाबाट नै हामीले आफ्ना बुबा र नातेदारहरूको सम्बोधन र सम्मान गर्न सिक्छौ । हामीलाई हुर्काउने-बढाउनेदेखि लिएर असल आचरण सिकाई देशको योग्य नागरिक एवं धर्तीको असल मान्छे बनाउने प्रयास गर्ने महान् अभिभावक एवं दक्ष गुरु आमा नै हुन् । त्यसैले हामीले आमालाई जति सुविधा प्रदान गरे पनि अपूर्ण हुन्छ, जति सम्मानका शब्द बर्साए पनि सुख्खा हुन्छ भन्ने आदर्श पक्ष यस काव्यमा उठाइएको छ ।

अहिले एकल परिवारको नाममा, सानो परिवार-सुखी परिवारको नाममा वृद्ध बाबुआमालाई आश्रममा राख्ने प्रचलन बढिरहेको छ । आश्रममा नराख्नेले पनि घरमा उचित स्याहारसुसार र सम्मान गरेको देख्न पाइएको छैन । यस्तो अबस्थामा यो कृति राम्रो शिक्षाको रूपमा देखापरेको छ । गर्भवरण प्रक्रियादेखि जन्मदान एवं त्यसपछि लालनपालनमा आमाले छोराछोरीप्रति कति त्याग र समर्पण गरेकी हुन्छिन् त्यसको लेखाजोखा मनन नगरी आफू त्यसै फुत्त उब्जेझैं तिनै आमालाई अपमान गर्नु भनेको एकदमै भूल हो, भूल मात्रै होइन महाभूल हो । यस्तै आसय ‘आमाको यादमा’ । कृतिमा प्रकट गरिएको छ ।

कवि नारदमणि पौड्यालले यो खण्डकाव्यमार्फत् बाबुआमा जीवित छँदै उनीहरूको सम्मानमा सालिक निर्माण गर्नु आमाको उपस्थितिमै खण्डकाव्य सिर्जना गर्नु उनको ठूलो एवं राम्रो काम हो । मरेपछिको श्रद्धाभन्दा जीवितैमा श्रद्धा गर्नुपर्छ भन्ने पक्षमा कवि देखिएका छन्, ।

आमाको शक्ति साँच्चै नै अपरम्पार हुन्छ, त्यो शक्ति अतुलनीय हुन्छ । आमा अनपढ, अशिक्षित वा अचेत नै किन नहोऊन्, उनी ममता प्रदान गर्नसक्ने र सन्तानको राम्रो हेरविचार गर्ने हुन्छिन् भन्ने कुरा व्यक्त गर्दै कवि पौड्यालले आफ्नी आमा कृष्णाकुमारी पौड्याल एकदमै आदर्श र ममतामयी भएको बताएका छन् । यो उनको आमाप्रतिको सम्मानित भावना हो । आफू जति परिपक्व भए पनि आमाको सामु बच्चै भइने, आमा जति वृद्ध भए पनि बाँचिरहे हुन्थ्यो जस्तो लाग्नेरहेछ यसका कविलाई । सबैलाई यस्तै लाग्यो भने बल्ल सबैकी आमाले सम्मान पाउँछिन्, सबै महिलाले सम्मान पाउँछन् ।

समग्रमा यो कृति आमालाई श्रद्धा गर्न सिकाउने कृति हो । सरल भाषा प्रयोग गरेर छन्दमा लेखिएको यो कृतिले आमाको मुख हेर्ने दिनमा मात्र नभएर सधैंभरि आमाको नजिक रहन र आमालाई सम्मान गर्न सिकाउँछ ।

कृति ः आमाको यादमा
कृतिकार ः नारदमणि पौड्याल
प्रकाशक ः कृष्ण मनोरथ प्रतिष्ठान
संस्करण ः प्रथम, २०६५
पृष्ठ ः ११०+८
मूल्यः रु. १००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *