Skip to content


काठमाडौंनजिकको एउटा रमणीय गाउँमा बस्थ्यो, रमेशको परिवार । उसका दाजुभाइ थिएनन् । ऊ गाउँकै स्कुलमा पढ्थ्यो । हिसाब पढ्न ऊ निकै रमाइलो मान्थ्यो । आकाशमा उडेका चरा हेर्दै, गाइने कीरा र पुतलीसँग जिस्कँदै रमाउँथ्यो, रमेश । ऊ अहिले सात वर्षको भयो । विज्ञानका नौला र रमाइला कथा पढ्न खुब रमाउँथ्यो ऊ । कक्षाका अरू साथीभन्दा निकै फरक किसिममा प्रस्तुत हुन्थ्यो, रमेश ।

रमेशले एक वर्षको उमेरमै आमा गुमायो । बुझ्ने हुँदै गएपछि फलँैचामा बसेका बुबाले रमेशलाई काखमा लिएर आँखाबाट आँसु झार्दै भन्नुभएको थियो, ‘तेरी आमा बर्खाको बेला घाँस काट्न जंगल गएकी थिई । माथिबाट बग्दै आएको ठूलो पहिरोमा पुरिएर भगवान्कहाँ बास बस्न पुगी । त्यसपछि त घरमै फर्किन बाबु तेरी आमा । त्यतिबेला तँ कोक्रोमा लडिबुडी गरिरहेको थिइस् ।’

श्रीमतीको मृत्युपछि रमेशको बुबालाई धेरैले ‘अर्की विहे गर’ भने । रमेशको अनुहार हेरेर उहाँले विहे गर्नुभएन । रमेश बुबाको आज्ञाकारी छोरा थियो । आमाको माया नपाए पनि बुबाको अत्यन्त मायाले गर्दा रमेशको मन कमलो बन्यो । स-साना कमिला, गाइनेकीरा, पुतलीले पनि दुःख पाएको ऊ देख्न सक्दैनथ्यो । कक्षामा पढ्ने आफ्ना साथी मात्र होइन, घरको आँगनमा उफ्रिंदै खेल्ने पाठा, सानो कुकुर, बिरालोलाई चोट लाग्दा आफैँलाई दुःखेजस्तो अनुभव गर्थ्यो । ‘बुबा ऊ बटरफ्लाई मर्‍यो’ भन्दै बुबालाई गुहार्न पुग्थ्यो, रमेश ।

एकदिन बुबाले रमेशलाई गौतम बुद्ध, महात्मा गान्धीको कथा सुनाउनुभयो । कथा सुनिसकेपछि उसले बुबालाई भन्यो, ‘म पनि बुद्धजस्तै बन्छु ल बुबा ।’ बुबाले उसको कैलो कपाल सुमसुम्याउँदै ‘ल ल हुन्छ’ भन्नुभयो ।

रमेश एक्लो छोरो भएर होला, उसका बुबा रमेशलाई अति नै माया गर्नुहुन्थ्यो । यही मायाले लाडिएर रमेशको ढिला स्कुल जाने बानी लाग्यो । बुबाले पनि ‘बिस्तारै पढिहाल्ला नि’ भनेर खासै वास्ता गर्नुभएन ।

रमेशको कक्षाको केही साथी अति नै बरालिएका थिए । सरकारी स्कुलमा चार कक्षा पढ्ने रमेश भने निकै असल विद्यार्थी थियो । तर, उसको गाउँका ऊसँगै पढ्ने साथी गाउँघरमा उपद्रो गर्थे । उनीहरू स्कुलबाट भागेर खोलामा पौडी खेल्न पुग्थे, गाउँको अनार, काँक्रा देखे भने चोरिहाल्थे । उसका सँगै पढ्ने साथीहरूको उमेर उसकोभन्दा बढी थियो । त्यस्तै १०/११ वर्षजत्तिका थिए उनीहरू ।

रमेश उनीहरूसँग खासै मिलजुल गर्दैनथ्यो । तर, एउटै गाउँ, स्कुल र कक्षा भएपछि सामान्य बोलचाल त भइहाल्थ्यो । रमेश पनि कहिलेकाहीँ उनीहरूसँग खेल्न पुग्थ्यो । सानो उमेरको र असल रमेशलाई उसका साथीहरू आफूजस्तै बनाउन चाहन्थे । उनीहरूका आमाबुबाले रमेशको उदाहरण दिएर ‘मान्छे त्यस्तो बन्नुपर्छ’ भनेको रमेशका साथीहरूलाई मन पर्दैनथ्यो ।

एकदिन तिनै साथीले रमेशलाई गाउँनजिकको खोलामा ‘पौडी खेल्न जाऔँ’ भनेर हौस्याए । सुरुमा रमेशले ‘जान्न’ भन्यो । तर, उसलाई पनि ‘पौडी खेल्न पाए कत्ति मज्जा होला !’ भन्ने लाग्थ्यो । यसमा साथीहरूले ज्यादै कर गरेपछि रमेशले नाइँनास्ती गर्न सकेन र ऊ पनि साथीहरूको पछि लागेर गयो ।

साथीहरूले भने पौडी खेल्न रुचि देखाएनन् । बरु स-साना माछा समात्नपट्ट िलागे । साथीहरूसँग लागेर रमेशले पनि एक/दुईवटा राता, सुन्तला रंगका माछा समात्यो । माछा समात्दा पानी नपाएर छट्पटिइरहेको दृश्य उसलाई निको लागेन ।

सबैजना मिलेर खोलाकिनारमा दाउराका टुक्रा बटुलेर माछा पोलेर खान थाले । पानीमा रमाउने ती माछा आगोमा परेपछि छट्पटाउन र उफ्रिन थाले । त्यस्तो अवस्था देखेर रमेश साह्रै दुःखी बन्यो । र सहनै नसकेपछि साथीहरूलाई छोडेर घर फक्र्यो । बाटाभरि उसका आँखामा छट्पटाइरहेका ती रंगीबिरंगी माछा झलझली आइरहे । उसले खोलामा पुगेर माछा मारेकोप्रति धरै पछुतो मान्यो ।

घर पुगेपछि पनि रमेश शान्त हुन सकेन । आगोमा छट्पटिँदै डढेका राता, सुन्तला रंगका स-साना माछा उसको आँखामा आइरहे । माछाका पिर्लिक्क परेका आँखा र सेतो भँुडी पनि सम्झियो रमेशले । फुच्च्ो रमेश एक्कासि ठूलो स्वरले चिच्यायो । ‘के भयो बाबु तँलाई, किन रोएको ?’ बुबा उसको त्यो हाल देखेर आत्तिनुभयो ।

रमेशले रुँदै भन्यो, ‘बुबा आज मलाई सञ्जय, सञ्जीव, सागरहरूले फकाएर खोलामा माछा समात्न लगे र त्यसलाई मारेर, पोलेर खाए । ती स-साना माछा आँखा पल्टाएर भुइँमा छट्पटाइरहेका थिए, तिनीहरूलाई आगोले पोल्दा कत्ति दुख्यो होला, कत्ति गाह्रो भयो होला हगी बुबा’ मैले गर्न नहुने काम गरेँ होइन त बुबा ?’

‘हो त नि, ती फटाहा केटाहरूको संगतमा लागेर तिमीले नचाहिँदो काम गर्‍यौ’ बुबाले रमेशलाई काखमा राख्दै भन्नुभयो, ‘यस्तो काम तिमीले गर्नुहुन्नथ्यो । एकपटक गरिहाल्यौ, अबदेखि यस्तो काम नगर्नु है ।’

रमेशले अबदेखि बुबासँग कहिल्यै कुनै पनि प्राणीलाई दुःख नदिने र खोलामा गएर माछा नमार्ने प्रतिज्ञा गर्‍यो । यतिबेलासम्म पनि रमेशका आँखा रसाइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *