धेरै लेखिने र थोरै पढिने विधा हो कविता । पाठकमा मात्र होइन, समालोचकमा पनि न्यून खपत हुने अपच र निरीह कविता । कवितासङ्ग्रह भनेपछि पुस्तक पसलेले उपेक्षा गर्दै लेखक, प्रकाशकबाट लिनै मान्दैनन् । कविता होइन, अन्य विधाका रचना पठाउने सम्पादकीय आदेश हुने यो साहित्यिक माहौल । चालिसको दशकपछिको नेपाली कविताको अध्ययन, अनुसन्धान र समालोचना शून्यप्रायः, ठप्प छ । र पनि कविहरू हात बाँधेर बसिरहेका छैनन् । नयाँ कवितासङ्ग्रहहरू साहित्यिक बजारमा धमाधम आइरहेका छन् ।
श्रीशीशा राई पुरानो नाम होइन । २०३६ सालमा भोजपुरमा जन्मेका नवोदित तर उदीयमान कवि श्रीशीशा राई सुनसरीमा बसेर गोरखापत्र दैनिकमा पत्रकारिता गर्छिन्् । पत्रकारिताको अतिरिक्त यिनी कविताको सार्थक खेती पनि गर्छिन् । मनमा बीउहरू रोपेर कविताको लहलह बाली फलाउँछन् । यसको ज्वलन्त उदाहरण हो । कवितासङ्ग्रह-चेतनाहरू चबाएर ।
वि.सं. २०५५-२०६६ को करिब एक दशकको कालखण्डमा सिर्जित ५० ओटा कविताहरूको समष्टिगत रूप हो यो कवितासङ्ग्रह । केही हो कि जस्तो र फेरि होइन कि जस्तो ! बुझेबुझे जस्तो र फेरि नबुझेजस्तो । मात्र हावाको आकस्मिक स्पर्श जस्तो । यस्तै भावार्थमा कविताको मिठास पाइन्छ, सौन्दर्यानुभूतिको छनक भेटिन्छ । कहिलेकाहीँ यसो विचार गर्दा ईश्वर र कविता उस्तै-उस्तै जस्ता पनि लाग्छ । कविताको राम्रो पाठक बन्नु उति सहज छैन । राम्रो कवि बन्नु जति गाह्रो छ, राम्रो र मर्मज्ञ पाठक बन्नु अझ गाह्रो ! रुचि, स्तर, परिवेश, धैर्यता, मुड, वातावरण, समय र एकाग्रताको संयोजनबाट मात्र कविता पढ्न सकिन्छ, बुझ्न सकिन्छ । नत्र कविको मन (सन्दर्भ) पक्रिन फलामको चिउरा चपाउनु तुल्य हुन्छ ।
‘म र सपनाहरू’ बाट शुभारम्भ भएको काव्यावाज ‘चेतनाहरू चबाएर’ मा पुगेर अन्त्य हुन्छ । यी बीचमा काँधमा आशाहरू, मृत्यु दोस्रो, तिम्रो बोलीको ठेगान, द्वन्द्वमा, शङ्कास्पद आगमन, कविताको लास, पारिजातको तस्बिर, मेरो असामयिक निधन, भिरालो रङ्गशाला, वाध्यताको भीरमा माया, अर्धाङ्गिनी पीडाहरू, देशबहादुर भरिया आदि विविध शीर्षकका बान्किला र कसिला कविताहरू समाहित छन् । विम्ब, प्रतीक, अलङ्कार र शिल्पको तराजुमा ओजनदार लाग्ने यी कविताहरूले कविताको संरचनागत धर्म निर्वाह गरेका छन् । काव्यप्रेमी पाठकलाई हरेक कविताले आकर्षण गर्छन् र पाठकीय धैर्यता कायम गराउन कविताहरू सफल र सशक्त छन् । बरू कतैकतै कविताको भावभूमि ठम्याउन हम्मे-हम्मे पर्छ ।
श्रीशीशा राईले देश हेरे, समय हेरे युद्धकालीन परिवेश हेरे र गणतान्त्रिक नेपाल पनि हेरे । तरहराबाट हेरे, धरानबाट हेरे, ललितपुर र भोजपुरबाट हेरे । कविको चश्मा लगाएर विभिन्न तिथिमितिमा हेरे । कवितालाई कविताकै ऐनाबाट पनि हेरे । आदिम कविताको उपेक्षा र तिरस्कार हुन्छ भने लेख्नु किन कविता ? ‘कविताको लास’ शीर्षकको कवितामा राई भन्छन् ः
अचेल ताराहरू
घुर्की लगाउँछन् मलाई-
‘लास हुनलाई हो भने
किन खस्नु हँ आकाशबाट ……?’
कुनै पनि वस्तुप्रति उनको दृष्टिकोणको शैली र अभिव्यक्तिको शिल्प यस्तै हुने गर्छ । यस्तै अर्को ‘घाम’ शीर्षकको कवितामा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको सन्दर्भ जोड्दै समयप्रति कसिलो र चोटिलो व्यङ्ग्य प्रहार गर्छन् ः
‘खै त, अझै जाडो नै भइरहेछ
यो घाम हेर्नलाई मात्रै हो र आमा……?’
कवितासङ्ग्रहकै नाम बोकेको अन्तिमको कविता ‘चेतनाहरू चबाएर’ ले जनयुद्धकालीन एउटा ऐतिहासिक कालखण्डको जीवन्त चित्रण गरेको छ ः
उ…….., घण्टी बज्यो
फेरि पनि घण्टी नमिठो बज्यो
सर…., यो घण्टी स्कुलको हो कि मेरो मृत्युको….?
सर कालोपाटीमा ‘शान्ति’ लेख्नुहुन्छ
म त्यसलाई कापीमा सार्न खोज्छु
अकस्मात ढोकाबाट
जङ्गलदेखि निक्लेका आतङ्कहरू छिर्छन्
झ्यालबाट सहरदेखि आएका हिंसात्मक घुस्छन्
तत्कालीन दोहोरो मार र चेपुवाको के यो यथार्थ शब्दचित्र होइन र ? कान थुनेर, आँखा छोपेर, मुख बन्द गरेर र छाला मारेर अधमरो बाँचेका ती त्रासदीय जिन्दगीहरूको हिजोको आलो घाउ आज ताजै छ ।
मानवीय संवेदनाको भित्री तहलाई स्पर्श गर्दै लेखिएका यी कविताहरू कलापूर्ण, सुकिला र बान्किला छन् । कविताहरूले नयाँ विचार र तेजिलो ऊर्जा दिन्छन् । कवि जहिल्यै सत्ताको विरोधी हुने कुरा शाश्वत सत्यजस्तै लाग्छ । टेकनाथ, रिजाल, हर्क गुरुङ, पारिजात, फूलनदेवी, शुक्रा राईजस्ता मिथकीय पात्रहरू कवितामा जीवन्तरूपले आएका छन् । गोविन्दराज भट्टराई र टङ्क न्यौपाने डा.द्वयका भूमिकारूपी सम्मतिले कवितासङ्ग्रहको उचाई बढाएका छन् ।
केही अङ्ग्रेजी र केही अस्पष्ट शब्दहरूको प्रयोगलाई राम्रो मान्न सकिन्न । जे होस्, श्रीशीशा राई नयाँपुस्ताका राम्रो सम्भावना भएका उदीयमान कवि हुन् भन्दा अत्युक्ति हुने छैन ।
पुस्तक ः चेतनाहरू चबाएर (कवितासङ्ग्रह)
कवि ः श्रीशीशा राई
प्रकाशक ः वाणी प्रकाशन, विराटनगर
संस्करण ः प्रथम, २०६६ पुस
पृष्ठ ः ८४+२०/१०४
मूल्य ः रु. १००।-
मधुपर्क २०६७ चैत
