म नेपाली हुँ मेरो पनि आफ्नै गाउँ छ,
सगरमाथाले चिनिएको उच्च नाउँ छ
हेर्दा मन्त्रमुग्ध बनाउने मनोरम दृश्य
बुद्धको जन्मथलो घुम्नै पर्ने त्यो ठाउँ छ
आँखामा राख्दा पनि नबिझाउने नेपाल
तर निर्धो बाँच्न गाह्रो बजारको भाउ छ
जन्मेदेखि चुकाउनु पर्ने थाप्लोमा ऋण
ब्याज तिर्दैमा ठीक्क जतिको त्यति साउ छ
छहरा, छाँगाको धनी सुन्दरताको खानी
त्यसलाई हत्याउने छिमेकीको दाउ छ
मलाई आघात माया मेरै जन्मभूमिको
नबिदेशिऊँ त बेरोजगारको घाउ छ
म नेपाली हुँ मेरो पनि आफ्नै गाउँ छ,
सगरमाथाले चिनिएको उच्च नाउँ छ
गीता थापा (दोषी)
