Skip to content


रवि किरणले पायो लाली
शीतल पवनले थापी जाली
मेघरस चुहिँदा टङ्कार भयो जब
इन्द्रेणीले पयर उचाली

निस्केर रङहरू हाँस्दैरम्दै
क्षितिज पुलकित पारी
चम्के रुखहरू, लतिका
इन्द्रेधनुष उचाली ।

सब सागरका जलका थोपा
सप्ताचलका धूलीका साथ
गगन फुल्यो हेर अहा !
अर्धवृत्त कुसुम फुलाई ।

रङको लीला हरिया बाला
नीलो चोली टमक्क
रातो पारीमय त्यो सारी
बैजनी बर्को गमक्क ।

पीताम्बरको घुम्टो ढाकी
सुन्तली टीका माथ
चम्की सुधायम प्रकृति हाँसिन्
अनुपम षोडषी लाख ।

चीँ चीँ म्याँ म्याँ चरी सावकको
खुलुलुलु खोलानाला
धाकिटी धाकिटी गर्दैछ बादल
नाच्दै मायुरी नाच ।

आए इन्द्र लिन इन्द्रधनुष
फैलाइ कोमल हात
हटे दिवाकर, फाट्यो बादल
हल्लाई विदाइ हात ।

लुप्त भइन् क्षणकी मोहिनी
हटाई सब मनका मैला
अनुपम वरद प्रकृति हाँसिन्
फुकाई सुनौला थैला ।

गठ्ठाघर, भक्तपुर

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *