मधेसले थाहा पाउनैपर्ने ‘थाहा आन्दोलन’को उपादेयीता

  • by


‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझा-सीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ । असल मतदाता त बन्न सकेको छैन, खराव नेता बन्ने झन् चाहना नै जन्मेको छैन । कुरा जति घुमाए पनि पुग्ने ठाउँ एउटै हो । सबैले आफ्नो धर्म निर्वाह गर्नुृपर्छ । म मेरोतर्फबाट धर्म पालना गर्दै छु । नेपाल बिग्रनुको एक कारण नेपालले नेता नै नेता जन्मायो तर नेतानेतृले नीतिलाई जन्माएनन् । राजनीति षडयन्त्र गर्ने थलोको रूपमा परिभाषित हुँदै गएको परिप्रेक्ष्यमा म थपिन चाहन्नँ । म षडयन्त्र र सत्तालिप्तमा भुलेर रहन रुचाउँदिनँ ।’ एक ठूला नेताले एक बुद्धिजीविलाई नेता बन्न र आफ्नो दलमा सहभागी बन्न गरेको आग्रहको प्रत्तिउत्तर हो यो ।

नेपाली समाजले मान्छेलाई चिन्न सकेन, सकिरहेको पनि छैन । भोलिको कुरा आजै गर्ने भविष्यवाणीकर्ताको विल्ला भिरिएला कि भन्ने त्रासले भोलि नेपाली समाजले के गर्छ त्यो भने आजै भन्नु उचित नहोला । आजको नतिजाले भोलिको संकेत गर्छ । विद्वत्ताको कदर गर्ने दिन नआउञ्जेल हामी थाहा नपाईकनै जन्मन्छौँ र थाहा नपाईकनै मर्छौँ । यस सानो लेखमा ‘थाहा’ आन्दोलनका प्रणेता राजनीतिज्ञ कम र दार्शनिक बढी ठानिएका व्यक्तित्व रूपचन्द्र विष्ट र उनको थाहा आन्दोलनलाई आजको सन्दर्भमा घोटेर केलाउन खोजिएको छ ।

पञ्चायती शासनकालको अन्धकारमय समयमा शासकहरू मस्ती लुटिरहेका थिए भने जनता अबुझ खसीबोकाझैँ डोहोरिरहन्थे । उनीहरू शासकको स्वार्थको जालमा अल्झिएका थिए । एक हिसावले नबुझेर जनतालाई त्यही मज्जा लागेको थियो । आफ्नो हैसियत र सामथ्र्यबाट जनता अनविज्ञ थिए । केही जागरुक नेपालीहरू मुक्तिको द्वार खोजिरहन्थे । जसरी आफ्नो नाइटोको विनालाई चिन्न नसकेर र त्यसको वासनामा लोभिएर मृग रनवन डुल्दै विना खोज्छ, त्यसै गरी जागरुक नेपालीहरू रनवन डुल्दै थिए । ती अनगिन्ती नेपालीहरूमध्येका रूपचन्द्र विष्ट त्यस्ता नेपाली हुन् जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक बन्न सकेनन् । मकवानपुर जिल्लामा कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर पनि कृषिक्रान्तिका अभियन्ता मानिएनन् । आफ्नै र जनताको जनश्रमदानद्वारा पालुंगको जनकल्याण मावि बनाउँदा उनी शिक्षासेवी वा समाजसेवी कहलिएनन् । मात्र हन्डर खाए, राज्यस्तरबाट चोट पाए । बौद्धिक कहलिएका राजनितिज्ञहरूको सोचमा सन्की स्वभाव, तामसी र पागलपनले मात्तिएको व्यक्ति भन्ने दर्जा पाए । उनका हरेक क्रियाकलाप सत्यमा आधारित र जनकल्याणले ओतप्रोत भएका थिए । उनका विचारको हिजो पनि खाँचो थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ । उनी सदावहार राजनीतिज्ञ, दार्शनिक, कृषि अभियन्ता, समाजसेवी, शिक्षासेवी र जनप्रिय एवं सम्मानीय राजनेता हुन् भन्ने कुरा उनका निम्न क्रियाकलाप र विचारले पुष्टि गर्दछ ।

१.केटाकेटी बिग्रे बाबुआमा दोषी,
जनता बिग्रे सरकार दोषी,
सरकार बिग्रे व्यवस्था दोषी,
व्यवस्था बिग्रे अगुवा दोषी,
अतियथार्थमुखी,
कर्तव्यमुखीवाहेक,
पछुवा, भगुवा सारा दोषी,
जात ठूलो कि जनता ?
नाता ठूलो कि न्याय ?
स्वार्थ ठूलो कि निस्वार्थ ?

उनको यो कवितांश ०३९ सालको स्थानीय चुनावको पर्चामा लेखिएको थियो । हामी यिनै पंक्तिलाई मूल्यांकन गर्दा पनि उनमा कवित्व भावना प्रशस्त पाउँछौँ । वैचारिक विशालता भेट्दछौँ । सत्यको पक्षमा वकालत गर्ने यस युगका विदुरका रूपमा उनलाई भेट्दछौँ ।

२. पैसाबाट सत्यता,
पदबाट इन्साफ,
जातबाट जनहित,
शोषकबाट विकास,
विदेशीबाट राष्ट्रियता,
रन्डीबाट इमान,
गुन्डाबाट राजनीति,
शासकबाट प्रजातन्त्र,
पाइँन्छ भन्नेले
लगाएछन् चितुवालाई
बाख्राको गोठालो ।

वि.सं. ०३९ सालकै पर्चामा छापिएको यो सदावहार कवितांशबाट समेत उनी सत्य बक्ने, प्रखर दूरदृष्टि भएका विचारक हुन् भन्ने कुरा सिद्ध हुन्छ । उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिएका छन् । व्यवस्थाले नै देश र जनतालाई खाएको कहिरन उतारेका छन् । खराव मन भएकाहरूबाट असल काम होला भनी सोच्नु दिवास्वप्ना भएको कुरा उल्लेख गरेका छन् ।

३. पूरापूरी उनले तीन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो,… निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु । पक्ष वा विपक्षमा उभिएर काम गर्न सजिलो हुन्छ तर त्यो निष्पक्ष हुँदैन । कुनै पनि सिद्धान्तको पक्ष वा विपक्षमा उभिएर काम गर्दा त्यसको अघि वा पछि ठूलो भीड एकत्रित हुन्छ । त्यसमा आग्रह वा पूर्वाग्रहले ओतप्रोत भई कार्य गर्नै पर्छ । यसो गर्दा आफ्नो विवेक गुमाएर मात्र कार्य सम्पादन गर्न सकिन्छ । यसो गर्दा पाइने प्रतिफल समेत निष्पक्ष हुँदैन । तसर्थ हामीले कुनै क्षेत्रमा रहेर कार्य गर्दा निष्पक्ष भएर आफ्नै विवेक र बरबुताले गर्न सक्यौँ भने त्यो सर्व स्वीकार्य सावित हुन्छ । सत्यको राजधानीमा देर हुन्छ तर अँधेर हुन्न । सत्य कुरालाई चाडै पचाउन वा अपनाउन नसकिएला तर कालान्तरमा त्यो सर्वत्र पुजनीय बन्दछ । सुकरातहरू, ओशोहरू, चाल्र्स डार्बिनहरू, तुलसीमेहरहरू शुरुमा कसैका आँखामा सत्य थिएनन्, अहिले उनीहरूलाई लोकले श्रद्धा गर्छ । लक्ष्मीप्रसादहरूले दरिद्र र राज्यद्वारा अपहेलित जीवन भोगेर मरे । अहिले उनीहरूकै जगमा उनीहरूकै नाम बेचेर लक्ष्मीपति बनेर राज्यबाट सम्मानित जीवन भोग्नेहरू धेरै छन् । तसर्थ रूपचन्द्र विष्ट दूरद्रष्टा थिए, वीर थिए, सत्य र न्यायका हिमशैल थिए भन्न हिच्किचाउने ठाउँ छँदै छैन् ।

४. रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पेलेटहरूमा तस्वीर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे । उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो । राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक बर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए । उनको आवाजले मूर्तरूप भने उनको निधन पछि मात्र पायो ।

५. श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महल (दरबार)ले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ । वास्तवमा जसलाई जेको खाँचो छ, त्यसलाई पाउन ऊ स्वयम् जाग्नुपर्छ । आमूल क्रान्ति ल्याउनुछ भने क्रान्तिकारीले स्वयम् अग्रसरता देखाउनुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ । अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।

६. हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् ।

उनको यस कथनले मानव जीवनको कटुसत्यलाई ओकलेको छ । प्रकृतिमा हामी एक्लै आयौँ तर समूहमा बाँच्छौँ र धर्तीबाट विदाचाहिँ एक्लै हुन्छौँ । जो न्याय र सत्यमा अडिग भएर बाँच्यो उसको जीवन सार्थक हुन्छ । रूपचन्द्रको कथनी र करणीमा सामञ्जस्य गर्दै न्याय र सत्यको जगमा उभिन गरेको आह्वान् स्तुत्य छ ।

७. सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्दछन् । यसका केही नमुना हेरौँ…उनी पञ्चायती व्यवस्थाविरोधी एजेण्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे । ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् । ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुनेगर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रमसजायको दायरामा ल्याउँथे । अरूको कानले मागेको हैन आफ्नो मुखले रोजेको भाषा र भाकामा आफ्ना कुरा राख्न पाउनुपर्छ भनेर खुल्ला वाक्स्वतन्त्रताको वकालत गर्थे । पञ्चायतलाई शोषक, फटाहाहरूको अराजक व्यवस्था भन्थे । नेतानेतृ सम्माननीय हुन जनता जाननीय हुनुपर्छ भन्ने उनको मत छ । उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे सर्वसाधरण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे । तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए । यसको कारण के थियो भने हामी सामु छँदा आदरसूचक सर्वनामको प्रयोग गर्छौँ तर उसको अनुपस्थितिमा अनादरसूचक सर्वनामको प्रयोग गछौँ । यसको कुप्रभाव पर्ला कि भनेर सहयोगीहरूले भन्दा उनी भन्थे…कसैलाई खुशी पार्न बोल्ने हैन । सत्य बोल्ने हो । उनी जसलाई जस्तो देख्यो त्यस्तै सम्बोधन गर्थे । कोही कालोधन सोहोर्न पल्केको छ भने उसलाई भ्रष्टचारीको विल्ला भिराइदिन्थे । उनी सबैलाई नाताले हैन नामले पुकार्थे । कसैले नाता लगाएमा मेरो नाम छैन, नामले पुकार् भन्थे । जसले पनि आफूले चाहेअनुरूपको वाक्स्वतन्त्रता जाहेर गर्न पाउनुपर्छ भन्थे । कतिपय प्रसंगमा कानुनी नजरबाट बचेर जनतालाई सूचित गर्ने काम फत्ते गराउन चाहन्थे । उनी सार्वजनिकरूपमै मानिसहरूलाई भन्थे…तँ एक अंगालो श्रीमती वा श्रीमान् र एक थाल भातमा जीवन फ्याकिराखेको छस् । पालुंगको जनकल्याण माविको निर्माणमा उनले सम्भ्रान्त परिवारकी पत्नी उमा शाहलाई आफू र अरू सरह ढुंगा बोकाएका थिए । यस्तै कारणले उनको वैवाहिक सम्बन्धविच्छेद पनि भयो । उनी राजनैतिक दलमा आवद्ध पनि थिएनन्, उनको आफ्नो दल पनि थिएन । उनी पूर्ण वाक्स्वतन्त्रताको पक्षमा उभिएका थिए । अरूले भनेका कतिपय कुरा उनी वेठीक भन्थे । तर आफूले चाहिँ आफू ठीक र संसार बेठीक भन्न पनि पाउनुपर्छ भन्थे । यसप्रकार उनी कतिपय ठाउँमा विवादास्पद व्यक्ति जस्ता पनि ठहरिएका छन् । उनका सार्वजनिक भएका धेरै कुराहरूमध्ये केही अन्धसमर्थन गर्ने खालका छन् तर केही कुराहरू रहस्यले भरिएका छन् । उनको निधन ०५६ साल असार ७ गते ताका केही सहयोगीवाहेक लगभग उनी एक्लो र विक्षिप्त मनोदशामै थिए । उनी राजा वा विदेशी दलाल वा त्यस्तै कुनै अपराधिक गिरोहका समर्थक वा कार्यकर्ता भएका भए सामान्यभन्दा सामान्य जीवन यापन र मरण स्वीकार्नु पदैनथ्यो होला । जे होस्, रूपचन्द्र विष्ट अराजकताले नछोएका पवित्र व्यक्ति भने थिएनन् । उनमा राम्रा नीतिको खानी थियो । नराम्रा लाग्ने कुरामा पनि सत्य र न्याय भने लुकेकै पाइन्छ । जीवनको वास्तविकता कतै न कतै लुकेकै पाइन्छ ।

८. जनकल्याण माविको स्थापनाजस्ता प्रसंगहरूले पनि शिक्षाप्रतिको उनको अनुराग झल्कन्छ । सबै बाबुआमाले आफ्ना सन्ततीलाई अनिवार्यरूपले पढाउनुपर्छ भन्ने मान्यता उनको थियो । छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्ने र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्ने नियम बनाएका थिए । यस नियमले आजित भएका एक बुज्रुकले आफ्ना छोराछोरीलाई पढाए पनि वा नपढाए पनि तिमीलाई के मतलव भनेर रिस देखाए । यसको उत्तरमा रूपचन्द्रको मत थियो…नपढेर सन्तान बिग्रे डाका गर्न हाम्रो घर आउँछन्, मुलुकको अहितमा काम गर्छन्, अतः सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ । घाटा हामीलाई हुन्छ । हाम्रो गाउँठाउँमा डकैत र गद्दार मान्छे हुँदा के तिम्रोमात्र इज्जत गुम्छ कि हाम्रो पनि ? रूपचन्द्रको यस प्रश्नले ती बुजु्रकको मुख थुनिएको थियो । त्यसैले उनी भन्थे…छोराछोरी पढाउने बाबुआमा जिन्दावाद, छोराछोरी नपढाउने बाबुआमा मूर्दावाद…….।

९. उनको जीवनशैली बडो सरल थियो । २०५६ सालको संसदीय चुनावमा उनले जम्मा ८१ मत पाएर पनि उनी चुनावै चितेकोजस्तो गरी खुशी भएका थिए । उनको मत थियो…कम्तिमा सत्य र न्यायमा रहने एउटा क्षेत्रमा ८१ जना त भाते कुकुरहरु रहेछन् । यी सबै क्षेत्रमा यही दरमा भाते कुकुर हुने हुन् भने जनता सहजै जाननीय हुने थिए । (आफूलाई मत दिनेलाई त उनी भाते कुकुर भन्थे, यो विशेषण उनको नजरमा हामीले भन्ने गरेको माननीय वा सम्माननीय शब्दभन्दा कम महत्व राख्ने थिएन ।) उनी श्रम नगरीकन रहनै सक्दैनथे । उनी सार्वजनिक हितको काममा सरिक रहन्थे, उनी सधैँ सत्य बोल्थे, ध्यान गर्थे, मूर्तिपूजाका विरोधी थिए । सधैँ सत्य कुरा अरूलाई जानकारी दिन्थे । उनी जनचेतनाका संवाहक र गरिव, दुःखीका पहरेदार भएर जीवन समर्पण गरेका एक जागरुक योद्धा हुन् । उनी भन्थे…एक दिनमा २८८ वटा ५ मिनेट हुन्छन् । मात्र तिमी ३ वटा ५ मिनेट खर्च गर । ५ मिनेट सत्य बोल, ५ मिनेट सत्य सोच (ध्यान गर) र ५ मिनेट सत्य अरूलाई थाहा देऊ । यस प्रकार दिनमा कम्तिमा १५ मिनेट खर्च गर भन्ने उनको भनाइ थियो ।

१०. पञ्चायती व्यवस्थालाई महाडाकातन्त्र मान्ने रूपचन्द्रले जीवनको उत्तराद्र्धकालसम्म पनि एकै किसिमको धारमा उभिएर विचार फैल्याए । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए । सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए । थाहा अभियान सफल पार्न युद्धकलाका राष्ट्रिय खेलाडी भतिजा रणसंग्राम विष्टको जति सहयोग लिए पनि उनलाई नाताको आधारमा जापान पठाउन सिफारिस गर्न उनी राजी भएनन् । भतिज रणसंग्राम योग्य भए पठाउन सिफारिस गर्छु, ऊभन्दा अरू नै योग्य भए उसैलाई पठाउन सिफारिस गर्छु भनेर सिफारिस पत्रमा लेखेका थिए । नाताको मोहले न्याय मर्न नदिने उनको हक्की स्वभावलाई यस घटनाले पनि पुष्टि गर्छ ।

कलाकार लक्ष्मण भुजेलले लगातार ९ वर्षको समय लगाएर बनाएको उनको मूर्ति (शालिक)को अनावरण एनेकपा माओवादीका अध्यक्ष प्रचण्डद्वारा अनावरण भयो । आफ्नो मूर्ति नबनाउन बुद्ध, ओशोहरूले भने पनि उनीहरूका पथमार्गीहरूले मूर्ति बनाएरै छाडेका छन् । त्यसै गरी रूपचन्द्र मूर्ति विरोधी भए पनि अनुयायीहरूले उनको मूर्ति बनाएरै छाडे । हुन त महान् मान्छेले कहिल्यै पनि मेरो मूर्ति बनाऊ, मेरो पूजा गर, मलाई श्रद्धा गर, म जे भन्छु, आफ्नो विवेक गुमाएर मेरो पथमा हिँड भन्दैनन् । श्रद्धाले, स्मरणीय बनाउन मूर्ति (शालिक) बनाउनु अन्यथा भने होइन । जसको पनि ठीक विचारलाई समर्थन गर्दा हुन्छ । प्रवृत्तिले, कार्यशैलीले अनि सिद्धान्तले रूपचन्द्र बामपक्षधर रहेको देखिन्छ । पत्रकार वेदप्रकाश त्रिपाठीले रूपचन्द्रलाई कम्युनिष्टहरूले कोपभाजनमा पारेर निरास तुल्याएको चर्चा गर्न पनि छाडेका छैनन् । उनको मतमा केही कम्युनिष्टहरूले रूपचन्द्रलाई मृत्युपछि कम्युनिष्ट पार्न खोजे भनेर उनले आफ्नो संस्मरणमा आरोप पनि लगाएका छन् । तर उनी दलीय झण्डामुनि आएनन् । उनी माओ, लेलिन, महात्मा गान्धीहरूजस्ता प्रखर राजनीतिज्ञहरूको नीतिबाट भने प्रशस्त प्रभावित थिए । अर्काको सुखसयल र समुन्नतिमा जीवन अर्पण गर्नेलाई राजनैतिक दलको झण्डामुनि हैन राष्ट्रिय झण्डामुनि राख्दा नै उचित होला ।

नेपालले चिन्न नसकेको महामानव भनेर पत्रकार वेदप्रकाश त्रिपाठीले रूपचन्द्रलाई चिनाउन खोज्छन् भने खगेन्द्र संग्रौला उनलाई मान्छेका रूपमा हैन एक छाताका रूपमा व्याख्या गर्दै भन्छन्….उनी चेतना र आदर्शका विशाल छाता थिए, त्यो छातामुनि ओत लाग्न मानिस त्यसै डोहोरिएर आउँथे ।… रूपचन्द्रका अनुयायीहरू जो थिए, तिनले जनमुखी ‘थाहा’ पथको राम्ररी भेउ नै नपाएको अल्पज्ञानी बटुवाजस्तो अभिनय गरे । रूपचन्द्रले विदा लिएको एघार वर्ष लागेको छ । उनीबाट आजका जनता र नेतानेतृले ठूलो पाठ सिक्नु जरुरी छ । मरिचमानसिंह श्रेष्ठ, लोकेन्द्रबहादुर चन्दहरूले मंत्री, उपप्रधानमंत्री बन्न गरेको आग्रहलाई उनले ठाडै अस्वीकार गरेर हामीलाई पाठ पढाएका छन् । जनता जगाउन र देशको हित गर्न पद नै चाहिन्छ भन्ने छैन । पद बाहिर रहेर पनि मुलुक र जनताको समुन्नती गर्न सकिन्छ भन्ने उदाहरण उनी स्वयम् भएका छन् । हो, साँच्चै हामीले रुपचन्द्रको विशाल रूपलाई चिनेकै छैनौँ । अब पनि चिन्न भुल गयौँ भने हामी आफ्नै शब्द र लवजमा भाते कुकुर मात्र हैन गद्दार कुकुर कहलिन सक्छौँ । सब कुराको औचित्य हुन्छ र औचित्य छ पनि । राष्ट्रियताको सवालमा एकमत हुनु आवश्यक छ । राष्ट्रिय स्वाभिमानका लागि काम गरे नगरेको खबरदारी गर्न पार्टी र नेतानेतृको खाँचो छ । जनताले वैयक्तिक स्वार्थमा डुबेर मुलुकलाई धरासायी बनाओ भनेर भोट दिएका हैनन् नि । राजनैतिक कुरूपताको दर्शनार्थी बन्ने भूत सवार उनीमाथि भएको छैन । कसैको अपेक्षालाई तिरस्कार गर्ने मन पनि उनको होइन । उनी राजनीतिज्ञ बन्न रुचाएनन् तर देश र जनतालाई अग्रगामी पथमा लम्काउने नीतिको समर्थक भने जरुर भए । मिथिलाञ्चल पनि कला–संस्कृति, रहनसहन, पर्व मेलामा कोहीभन्दा कम छैन, सांस्कृतिक सम्पदाले धनी छ, समृद्धशाली छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन् । यस्ता अनेकन कुरा भए पनि मधेस अझै विकासको पथमा लम्कन सकेको छैन । जनता जाननीय नहुनु नै प्रमुख कारण हो । अतः मधेसले भोगेको पीडालाई कम गर्न मधेसले थाहा पाउनैपर्ने ‘थाहा आन्दोलन’को उपादेयीताको पाटो महत्वपूर्ण छ । सबैलाई चेतना भया……।

तपेश्वरी–१, गल्फडिया, उदयपुर
हाल ः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी,
फोन ०३१५२००३८ सम्पर्क ः ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *