राणाकालीन गाउँको गर्जमान ठालूजस्तो
जाबो दसहाते पटुकीको पगरी पहिरिएर
हामी पूर्व मेची र पश्चिम महाकालीमाथि
जंगे हैकम चलाउने
ए को हो, त्यो काठमाडौँ ?
एक दिन होइन, दुई दिन होइन
महिना, वर्ष र दशक पनि होइन
सदियौँदेखि हाम्रा नामको साँवाब्याज असुलेर
हामीलाई नै भोकैनांगै पारेर
उल्टै हामीलाई नै आपसमा जुधाएर
हामीलाई देखेर पनि नदेखेझैँ गर्ने
कहिल्यै नहल्लिने/नपग्लिने
ओजीमन्डिजको प्राचीन ढुंगे सालिकझैँ संवेदनाहीन
ए को हो, त्यो काठमाडौँ ?
होइन, होइन, त्यस्तो पटक्कै होइन
बरु काठमाडौँ त ‘सदाबहार’ भिखारी हो
कसले चिन्दैन उसलाई ? संसारले चिन्छ
ऊ दुनियाँको सबैसित हात पसार्छ
भित्रभित्र आफन्तको जेब काट्छ
भिक्षाबाट प्राप्त धन थुपार्छ
पाकेट मारेर प्राप्त भएको धन थुपार्छ
दिउँसै भट्टीमा जान्छ र मस्त जाँड धोक्छ ।
अनि, वाग्मतीको काखमा ढुन्मुनिँदै ह्वालह्वाल बान्ता गर्छ
(कठै ! सभ्यताकी जननी पवित्र वाग्मती कहाँ आफैँ
दुर्गन्धित भएकी हो र ?)
काठमाडौँ कान सुन्दैन
पैतालामा पहिरो परोस् कि शिरमाथि सगर झरोस्
समयको पदचाप पत्तै पाउँदैन
ऊ युगको स्पन्दन र आवाज सुन्दैन
राष्ट्रको ढुकुटीमा ढुक्कै बाँचेको ढाडे बिरालोझैँ
अरे, खै कहाँ कहिले गर्यो उसले न्याय ?
राष्ट्रप्रति नै इमानदार भएर ?
शताब्दी बगाएर टुकुचाको गन्धे नालीमा
इमान बेचेर गुन्द्रुकको झोलमा
आदर्शको खोल ओढेर हिले राजनीतिमा
ऊ गाईजात्रे भाषण भट्याउँछ
र खूबसित जग हँसाउँछ
मत्थु काठमाडौँ हरेक साँझ ठमेलमा झुम्छ
अनि, लमतन्न पर्छ नयाँ सडकमा
कामोन्मत्त भैरवझैँ
भीमसेन स्तम्भ उचालेर सीधै आकाशतिर
जून/तारामाथि कामुक नजर फ्याँक्छ
बालकुमारीका छाडा बोकाझैँ वीर्यपात गर्दै
तिरिक्क… तिरिक्क… तिरिक्क…।
(हो, काठमाडौँ नपुंशक हो, अब ऊबाट कुनै
गतिला सन्तानको आशा नराखे हुन्छ ।)
निर्लज्ज, निर्वस्त्र र अकर्मण्य काठमाडौँ
भन, तिमी आफैँ कहिले ‘नयाँ नेपाल’मा रूपान्तरित हुन्छौ ?
इतिहासको कठघरामा उभिएर अविलम्ब
काठमाडौँ आजै भन
हाम्रो सवालको जवाफ तिमी कहिले दिन्छौ ?
नेपाल साप्ताहिक ४२६
