सम्झना : गोविन्दबहादुर गोठाले

  • by


तीन वर्षअघि बानेश्वरस्थित गुरुकुल परिसरमा प्रसिद्ध साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको प्रतिमा अनावरणमा साहित्यानुरागीहरूले उनको दीर्घायुको कामना गरेका थिए। तर, नेपाली साहित्यको मूल बाटो खन्नकै लागि जन्मे झैं लाग्ने गोठालेले पनि अरूले जस्तै मृत्युलाई सँगै लिएर आएका थिए। २७ मङ्सिर २०६७ मा काठमाडौंमा गोठालेको देहावसान भएपनि नेपाली वाङ्मयले उनले बाँचेको सार्थक जीवनलाई सम्झिरहने छ, जसको उनी मूल खम्बा बनेका छन्।

आफ्नै पिता ऋद्धिबहादुर मल्लको ‘शारदा’ पत्रिकामा “उसको भाले” शीर्षकको कविता छपाउन जाँदा उक्त मासिकका सम्पादक भवानी भिक्षुले गोठाले बनाइदिएका गोविन्दबहादुर मल्लको ८८ वर्षको जीवन पूर्ण अर्थात् सार्थक, भरिलो र सफल रह्यो । कालान्तरमा नेपाली साहित्यका सबै विधाको साँच्चै गोठालो बनेका उनले आफ्नो साहित्यिक यात्रा “किशोरकालमा” कविताबाट शुरु गरेका थिए, पछि प्रयोगधर्मीका रूपमा नेपाली साहित्यका सबैजसो विधामा परैबाट देखिने ठूल्ठूला कोसेढुङ्गा गाड्दै गए। समालोचक लक्ष्मणप्रसाद गौतमका अनुसार उपन्यासमा “पल्लो घरको झयाल”, कथामा “भाँडो” र नाटकमा “भूसको आगो” त्यस्तै कोसेढुङ्गा हुन्।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. गौतमका अनुसार नेपाली उपन्यास विधामा फ्रायडवादी यौन मनोविज्ञान भित्र्याउने श्रेय गोठालेलाई नै जान्छ। पल्लो घरको झयाल (२०१६) यौन मनोविज्ञानको अतुलनीय कृति हुनपुगेको गौतम बताउँछन्। २०१३ मा प्रकाशित गोठालेको “भूसको आगो” नाटकका सबै पात्र महिला छन्। त्यो जमानामा गोठालेद्वारा प्रस्तुत नाटकका विषयवस्तु र पात्र आफैंमा क्रान्तिकारी भएको गौतम बताउँछन्, जसलाई श्यामदास वैष्णव र चित्तरञ्जन नेपालीले २०१६ सालमा मञ्चन गरेका थिए।

आनन्दमाया मल्लको कोखमा २६ असार १९७९ मा काठमाडौं, ‘मबहालमा जन्मेका गोठाले घरमा साहित्यिक वातावरण नपाएको भए भविष्यमा के हुन्थे होलान्? जुनसुकै वातावरण भए पनि उनी साहित्यकार नै हुन्थे भन्न सकिने आधार हो― १९९२ तिरै लेखेको “ममता” शीर्षकको कविता। ‘शारदा’का प्रकाशक/सम्पादक उनका पिता ऋद्धिबहादुर भाषासेवी थिए भने दाजु विजय मल्ल ठूला साहित्यकार।

यस्तो परिवेशमा हुर्केका गोठालेले आफ्नो साहित्यिक परिपक्वतासँगै क्रमशः च्यातिएको पर्दा, दोष कसैको छैन, भोको घर प्रेम र मृत्यु, कथैकथा, कथा सङ्ग्रह-२०२९ जस्ता उच्च साहित्यिक महत्ताका कृति दिँदै गए। तर, उनले २०५७ सालमा प्रज्ञा-प्रतिष्ठानलाई प्रकाशनार्थ दिएको उपन्यास “दुई प्राणी” भने अझै पनि पाठकको हात आइपुगेको छैन। त्यसअघि २०५३ मा आएको अर्पणा मा उनले मान्छेको मनको केस्रा-केस्रा केलाएका छन्।

नेपाली साहित्यमा सतीसाल बनेका यी साहित्यकर्मीले पछिल्लो पारिवारिक वियोग (गत वर्ष जीवनसँगिनी र कान्छो छोराको निधन) सहनुबाहेक जीवनलाई सन्तुष्ट ढङ्गले बिताए। उनले आफ्नो कर्मका लागि मुलुकको सरकारी र गैर-सरकारी दुवै क्षेत्रले अर्पण गर्ने सबै खाले मानसम्मान, पद, विभूषण र पुरस्कार पाएका थिए।

साहित्य सिर्जना बाहेक प्रेस र पत्रकारिताको क्षेत्रबाट गोठालेले गरेको नेपाली वाङ्मयको सेवा पनि अतुलनीय रहेको बताउँछन्, समालोचक डा. गौतम। उनी ‘शारदा’ का सम्पादक र जोरगणेश प्रेसका निर्देशक रहे। साथै विभिन्न कालमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य, प्रेस काउन्सिलका सदस्य, निर्वाचन आयोगका सदस्य, नेपाल लेखक सङ्घका अध्यक्ष पनि। आफू सम्पादक हुँदा ‘शारदा’ लाई उनले नेपाल बाहिरका नेपालीभाषीमाझ समेत पुर्याएका थिए।

स्वर्गीय गोठालेका एक छोरा र चार छोरी छन्।

(२६ असार १९७९-२७ मङ्सिर २०६७)

हिमाल खबरपत्रिका
वर्ष २०, अङ्क १७
पूर्णाङ्क २७७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *