तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशब काल बित्यो
हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण हरियाली अनि छंग-छंग बग्ने छहरा । सुसेली हाल्दै बग्ने खोला । सेतै दन्ते लहर खोलेर मुस्कुराई रहेको हिमशृंखलाहरू । अनि दुई पहाड़को बिचबाट आफ्नै गतिमा बगिरहेको लिखुखोला । साच्चै सुन्दर र रमणीय छ ओखलढुंगा । त्यसैले त सिद्धिचरण श्रेष्ठले पनि ओखलढुंगाको बर्णन गर्न पछि परेका छैनन । भावना मार्फत ओखलढुंगालाई प्रस्तुत गरेका छन ।

बिभिन्न जात-जातिहरूको बसोबास । मध्यपूर्वमा पर्ने सागरमाथाको काखमा रहेको ओखलढुंगा जिल्ला । आफ्नै किसिमको महत्व बोकेका धर्मं, सस्कृति, परम्परा रीतिरिवाज । धरातलीय स्वरूपले पनि सुन्दरता जिल्ला स्वच्छ हावा, पानी, हराभरा अनि स्वच्छ वातावरण । “सयौ थुंगा फूलका हामी एउटै माला नेपाली” अर्थात नेपालको राष्ट्रिय गानको सर्जक ब्याकुल माईलाको जन्म थालो ओखलढुंगा ।

नेपालको दोस्रो लामो पोकाली झारनको छंग-छंग आवाज सुन्दा मन नै शान्त । अनि त्यहाँको मनमोहक हिमशृंखलाहरू । यस्ता बिभिन्न ठाउँहरू रहेका छन यस ठाउँलाई परिचित गराउने । भिरालो जमिनमा बसेका ती बस्तीहरू । त्यसको फेदीमा आफ्नै गतिमा बगिरहेको लिखुखोला । पर्यटकीय दृष्टिकोणले धेरै सम्भावानाहरू रहेका यहाँ साहसिक खेल प्याराग्लाडिंग, रक-क्लाइमबिंग अनि १३० मीटर नेपालको दोस्रो लामो पोकली झरनाको दृश्यले अझ यस क्षेत्रको महत्व बढाएको छ । यति मात्र होइन थुप्रै सास्कृतिक महत्व बोकेका ठाउँहरू पनि रहेका छन यहाँ । यस झरना वरपर सतभैया र वनझाँक्री बस्ने यहाँको बासिन्दाहरूको जनविश्वास रहेको छ । गाउँमा कोही मानिसहरू झाक्री वनाउन पनि यसै झरना वरपर लैजान्छ रे वन-झाँक्रीले ।

यहाँ तीन-वटा झरना रहेका छन । सबैजनाको मनै लोभ्याउने गरी निकालिरहेका तिनका आवाजहरू । सबैभन्दा पुच्छारको हाड़ी दहको झरना । बिचको पोकली र माथिको जोर छाँगा । झरनाको शिरमा जति खाए पनि नमासिने मूला छ भन्ने गाउँलेहरूको बिस्वास रहेको छ । यस्ता रमाइला किंबदन्ती बोकेका थुप्रै ठाउँहरू छन यस ठाउँमा । चुलीको चम्पादेबी, भाकरेढुंगा, ओढार, गुफा र पोकली झरनाको दहबारे कहानी सुन्दा मात्र होइन हेर्दा झन मनै रमाउछ ।

यस झरनाको पानीले दुई गबिसको झन्डै तीन सय घर धुरीलाई बिजुली उत्पादनको लागि पानी समेत दिएको छ । स्थानीय बसिन्दाहरूले आफ्नै लगानी र जनश्रमबाट बिजुली समेत निकालेका छन । बिजुलीले गाउँको आनुहार नै उज्यालो बनाएको छ । यस गाउँका मानिसहरूलाई लोडसेडिंग भन्ने थाहा छैन ।

यस ठाउँमा सुनुवार जातिको बाहुल्यता भएता पनि अन्य थुप्रै ज़ात जातिहरू बसोबास गर्दछन । यति खेर आन्तरिक तथा बाह्य रुपमा भ्रमण गर्न आउने पर्यटकको संख्या बढ़ी रहेको छ । पोकली छाँगाको नामले परिचित झरनाको मनोरम दृश्य हेर्न दिनहु सयौको संख्यामा पर्यटकहरू आउने गरेका छन । पहराको खोच हुदै झर्ने गर्दछ यो झरना । गत वर्ष सम्पन्न भएको पोकली झरना ओखलढुंगा महोत्सबले रास्ट्रीय तथा अन्तरास्ट्रीय रुपमा चर्चा पाएपछि यो झरना हेर्न पर्यटकको संख्या उल्येख्य रुपमा बढ़ी रहेको छ । यो क्षेत्रमा झरना हेर्न मात्र नभई झरना क्षेत्र वरपर रहेका जडीबुटी, बनजंगल, चूरे पहाड़, चाराचुरुंगी र जनावरहरू पनि यहाँ आकर्षकको बिषय बन्न पुगेको छ । झरना क्षेत्रभन्दा दुई कि. मी. माथि चुलीदेवीमाइको मन्दिर रहेको छ । जून घना जंगलको बिचमा पर्दछ । यसको नजिकै ठूलो पोखरी छ जहाँ बिभिन्न जातका माछा, हाँस, वनकुखुरा, नाग, गोही जस्ता जलचर प्राणीहरू स्वतन्त्र रुपमा रमाई रहेका हुन्छन । गौरी वनले परिचित ओखलढुंगाको सबैभन्दा ठूलो र घना जंगलमा बाघ, भालू, चितुवा, कस्तूरी मृग, डाफे, मुनाल आदि देख्न पाइन्छ ।

झरना क्षेत्रभन्दा एक कि. मी. उत्तरपूर्वको थोलेदिम्बा जहाँबाट सागरमाथा, गणेश हिमाल, कन्चनजंघा, महालंगुर धौलागिरी, गौरिशंखर लगायतका अन्य हिमशृंखलाहरू प्रतक्ष रुपमा अवलोकन गर्न सकिन्छ । जसले पर्यटकको लागी थप उत्साह जगाएको छ । यस क्षेत्रको थप पर्यटकीय विशेषता दूग्धेस्वर महादेव, मल्खू, लेतीमा रहेको जोरसल्ला, ठेकिफलको भीर, साल्मे चौतारो आदि हून । यस वरपरका गाउँहरू सिरिसे, ढाडे बेशी, लिम्ती, रगनी लगायतका गाउँले पनि पर्यटकीय महत्व बोकेका छन । पोकली झरना भन्दा तल रहेको हाडी दह जसको गहिराई आज सम्म पनि पत्ता लगाउन सकियको छैन स्थनीय बासी बताउछन ।

अचम्म लग्न सक्छ यहाँको गाउँलेहरूको परम्परागत मान्यता अनुसार विवाह, ब्रतबंध वा अन्य धार्मिक क्रियाकलाप र चाड पर्वहरूमा हाडी दहमा गई पूजा गरेपछि आवश्यक भाँडाकुँडाहरू निस्कन्थ्यो । प्रयोग गरिसकेपछि ती भाँडाकुँडालाई सफा गरेर त्याही दहमा लगेर हाल्नुपर्दथ्यो । यसै क्रममा एक जना गाउँलेले ती भाँडाकुँडाहरू सफा नगरी जुठै दहमा हालेपछि सो ठाउँबाट भाँडाहरू निस्कन छाड़ेको भन्ने किम्बदन्ती छ । यस्ता बिभिन्न किम्बदन्तीहरू बोकेका यस ठाउँको प्रचार प्रसारको अभावले यो क्षेत्र केही पछाडि परेको यहाँको स्थानीय बासिन्दाहरू दुखेसो पोख्छ्न । यस क्षेत्रमा राजनैतिक नेतृत्वको रुपमा पुगेका व्यक्तिहरू धेरै छन तर गाउँको मुहार फेर्न कसैको ध्यान पुगेको छैन ।

ओखलढुंगा महोत्सब पश्चात भने यहाँको जनताले केही बिकासको मुहर हेर्न पाएका छन । गत वर्ष मात्रै झरना क्षेत्रभन्दा १ कि. मी. उत्तर पश्चिममा पर्ने ढाडे बेंसीमा मोटर बाटो पुगेको छ । यस क्षेत्रमा यातायात पुगेपछि पोकली झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा बृद्धि भएको पोकली झरना सेवा समाजको जिल्ला सदस्य केशब ढुंगेल बताउनु हुन्छ । यसबाट स्थानीय गाउँलेहरूले कही राहतको महसूस गरेका छन ।

विकासको गतिले बिस्तारै कोल्टे फेर्दै गरेको यस ठाउँमा आय आर्जनको मुख्य श्रोत भनेको कृषि हो । यसको अलावा अन्य व्यापार व्यबसाय समेत आर्थिक श्रोत रहेको छ ।

धेरै पर्यटकीय सम्भावाना बोकेको यस ठाउँको सही ढंगले प्रचार प्रसार भएको खण्डमा पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउन सकिन्छ । जसबाट देशमा आर्थिक क्रान्ति गर्न र बेरोजगार युवाबर्गहरूलाई राम्रो अवसरको बाटो बन्न सक्छ । मेरो प्यारो ओखलढुंगा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “मेरो प्यारो ओखलढुंगा”

    1. thanks u too buddhi G … yo
      thanks u too buddhi G … yo aati nai sundar 6 . ra ek choti sambhab bhaye samma ghuma jana anurodh gardha 6u buddhi G…

Leave a Reply

Your email address will not be published. Required fields are marked *