Skip to content


बिहान उठेर चिया खाइवरी नरेश काकाको घरतिर लागेँ । जानुका काकी भुतभुताउनु हुँदैरहेछ । राति रूपेशले ओछ्यानमा पिसाब फेरेको अरे ।

नरेश काकाका दुई छोरा थिए- दीपेश र रूपेश । दीपेश कक्षा ५ मा पढ्थ्यो! रूपेशचाहिँ २ कक्षामा । काका जागिरमा बाहिरबाहिरै हुनुपरेकाले काकीले नै सबै व्यवहार पूरा गरेर खुवाउने, पढाउने इत्यादि कार्य गर्नुभएको थियो ।

काकीको स्वभाव अलि पुरानो र अनौठो प्रकारको थियो । उहाँ काम नगर्नेलाई पनि गाली र गर्नेलाई पनि बिगार गर्नेवित्तिकै उत्तिकै गाली गर्ने गर्नुहुन्थ्यो । छोराहरूले जेजस्तो काम गरे पनि किन गरेको, कसरी गरेको, बिगार्ने भयो, गर्नै जानेन आदि लाञ्छना लगाएर कराएको करायै गर्नुहुन्थ्यो । कसैसँग भेट भयो कि छोराहरूको उद्दण्ड स्वभाव र कुकृत्यको बखान गर्न थालिहाल्नुहुन्थ्यो । छोराहरूले गरेको राम्रो कामले भन्दा नराम्रो कामले आफू खुसी भएको हो कि भन्ने भान पर्दथ्यो, सुन्नेहरूका लागि ।

काकी कसैले छोएको खानुहुन्नथ्यो अनि पूजा-पाठ र न्यासध्यानमा खूब लगाव थियो । तसर्थ उहाँ काकासँग जागिरमा जान मन पराउनुहुन्नथ्यो । उहाँ जति काम गर्नुहुन्थ्यो त्योभन्दा बढी बकबक गर्ने बानी परेको थियो । एक कप चिया पकाउनु पर्‍यो भने चियाकै बारेमा एक डोको गफ गर्न सक्ने क्षमता थियो, जानुका काकीसँग । पण्डितकी छोरी घरैमा साउँअक्षर खारेको अरे । रामायण, कृष्णचरित्र, देवीभागवत्, गुणरत्नमाला आदि पुस्तकलाई भाका हालेर पढ्ने सामर्थ्य थियो, उहाँमा । काकीको मुख कतिखेरै पनि खाली हुँदैन थियो । कि कसैसँग छोराहरूको कुकृत्यको बयान कि भजन कि शिलोक फलाकेको हुन्थ्यो काकीको मुखले ।

काकीको व्यवहार देखेर भाइहरू दिक्क भएका झैं लाग्दथ्यो । जति जे गरे पनि जस नपाउने हुनाले उनीहरू काकीका कुरालाई सुनेको नसुन्यै गर्थे । उहाँको कराउने बानीले गर्दा उनीहरूमा नकराइकन कामै नगर्ने आदत बसिसकेको थियो ।

“हेर न दिनेश ! यी मेरा साहू मोराहरूले मलाई रुवाइसके । भनेको केही टेर्ने होइनन् । दीपेश पढ्दा पनि पढ्दैन भनेको पनि मान्दैन । काम अरायो भने पढ्नुछ भन्छ अनि काम केही गर्दै गर्दैन । रूपेशले ओछ्यान मुतेर हैरान पारिसक्यो । सानो छउञ्जेल त सानै छ भनियो, ठूलो भएपछि पनि त्यो बानी छोडेन मोराले । म त बौलाउ”m कि के गरौँ भइसकेँ । तिम्रा काका केही वास्ता गर्नु नै हुन्न । आएको बेला छोराहरूलाई गाली गर्नु त कहाँ हो कहाँ उल्टै मलाई नै धेरै कचकच गरेर छोराहरू बिगारी सकिस् भनेर गाली गर्नुहुन्छ ।” मलाई देख्नेबित्तिकै काकीले एकै पटकमा भन्नुभयो ।

काका मोरङ जिल्ला अदालतमा बिचारी हुनुहुन्थ्यो । म पनि उहाँसँगै बसेर विराटनगरको मोरङ कलेजमा बी.एड. पढ्दै थिएँ । म सानैदेखि नै बुबासँग बाहिरै बसेर पढेको हुनाले मलाई परिवारका सबैले पाहुनाझैं माया गर्दथे । बुबाले अवकाश पाएर घरमा बस्नुभएदेखि म काकासँग बसेको हुँ । नरेश काका र हाम्रो घर एउटै गाउँमा तर अलि वरपर छन् ।

“घर गएको बेला भाइहरूलाई पढाउने, सिकाउने गर्नू है । काकी सामान्य पढेकी मात्र छे । पढाउन जान्दिनँ । गाली धेरै गर्छे । गाली गर्नुहुन्न भनेर कत्ति सम्झायो मान्दिन । छोराहरू बिगार्ने पो हो कि भन्ने लाग्दछ । छोराहरूका खराब काम गाउँभरि सुनाउँदै हिँड्छे । केटाकेटीका गल्तीकमजोरीहरू अरूलाई सुनाउनु नै हुँदैन नि । त्यसो गर्दा सपि्रनुको सट्टा झन् बिग्रन जान्छन् । तँ गएको बेला सम्झाइदे है । मैले सम्झाए त उल्टै कराउँछे ।” काकाले मलाई कलेज विदा भएर घर आउने बेलामा भन्नुभएको थियो ।

“दिनेश चिया खान आऊ ।” काकीले चिया खान भित्रै बोलाउनु भयो ।

“मैले घरमै खाएर आएको, पर्दैन काकी ! दीपेश र रूपेश बाहिरै पढ्दै छन् । म यिनीहरूले पढेको हेर्दै यहीँ बस्छु ।” भनेँ र म सिकुवामा राखेको गुन्द्री टकटक्याएर बसेँ ।

“त्यसो भए दूध खाऊ न त !” काकीले हातमा दूधको गिलास बोकेर आउनुभयो । मैले भाइहरूले पढेको हेर्दै गिलास रित्याएँ ।

रूपेश र दीपेश लेख्ने र पढ्ने कार्यमा तल्लीन थिए । घरिघरि मात्र मलाई सोध्ने गर्दथे । विचराहरू आमाले कराउनु होला भनेर आ-आफ्नो काम गरिरहेकै थिए ।

“ए अल्छे मोरा हो ! दिनेश दाइलाई पनि सोध्ने गर है । उहाँ त आफ्नै दाजु हो धक नमानीकन, नलाजाइकन सोध्ने गर है । केके न जानेजस्तो लेखेको लेख्यैमात्र गर्ने होइन नि । यी लाटा मोराहरू त अचम्मका पो छन् त ।” काकी फतफताउँदै भित्र छिर्नुभयो ।

“हाम्री आमा त कचकच मात्र गरिरहनुहुन्छ । पढे पनि गाली खाइन्छ । नपढे पनि गाली खानुपर्छ । कहिले काहीँ त पढ्नै छोडेर बसौँ जस्तो लाग्छ, मलाई त ।” -दीपेशले निन्याउरो मुख लगाएर भन्यो ।

“धत् ! त्यस्तो कुरा पनि सोच्ने हो ? पढ्ने काम त कहिल्यै छोड्नुहुँदैन नि ।” मैले दीपेशलाई काकीले नसुन्ने गरी गाली गरेँ ।

“नमस्कार दाइ ! कहिले आउनु भयो विराटनगरबाट ?” कार्की काकाकी कान्छी छोरी कलाले आँगनको पल्लै छेउबाट कराएर भनी ।

“नमस्कार ! के छ कला नानी तिमी त एस.एल.सी दिएर बसेकी होइनौं ?” काकी भित्रैबाट कराउँदै हात जोडेर बाहिर आउनुभयो । मैले नमस्कार फर्काउन झण्डै नभ्याएको ।

फेरि काकी बोल्न थाल्नुभयो- “हेर्नु न कला बहिनी यी मेरा दुई साहू मोराहरूले त टाउको खाने भए । दीपेश भनेको केही मान्दैन । मलाई त दुई पैसाको पनि ठान्दैन । रूपेश भने ओछ्यान मुतेर हैरान पार्छ । यत्रो लाठे भइसक्यो । त्यसका मुतेका गनाउने थाङ्ना मलाई धुवाउँछ । मैले यिनीहरूको कुन जन्मको ऋण खाएकी रहेछु कि क्या हो । मलाई त मार्ने नै भए ।”

“काकी, यस्ता कुरा सबैसँग भन्न मिल्दैन । प्लिज काकी यस्तरी नभन्नुस् ।” मैले काकीलाई सम्झाउने तरिकाले भनेँ ।

काकीले मेरो भनाइ सुन्नु नै भएन । अझ बखान थप्दै जानुभयो- “यी दुबै जना नै किस्ने काकाजस्तै हुन्छन् होला । भनेको पनि केही नटेर्ने, जता पायो त्यतै जाने, जाँडरक्सी खाने, तासजुवा खेल्ने ।”

दीपेश लेख्नै छोडेर टोल्हाएजस्तो गर्न थाल्यो ।

“हेर न टोल्हाएर बसेको । खालि कुरा सुन्यो पढ्नु छैन, लेख्नु छैन । बिग्रिने भए, यी मोरा साँच्चै बिग्रिने भए ।” काकीले एकै स्वरमा सबै भन्न भ्याउनुभयो ।

“काकी ! तपाईंमात्र कलासँग बोल्ने कि मलाई पनि बोल्न दिने ? बस न कला ।” मैले काकीको बकबकलाई रोक्दै कलालाई बस्ने इसारा गरेँ ।

“ए हो त, मैले त कला बहिनीलाई बस नै नभनी कुरा गर्न थालिहालेछु । मेरो पनि सुद्धि नै कस्तो । हेँ.. हेँ… हेँ… । अनि के कामले आएकी थियौ, कला ?” काकीले हाँस्तै सोध्नुभयो ।

“दिनेश दाइ आउनु भएको छ भनेको सुनेर उहाँलाई भेट्न उहाँको घर जाउ”m भनेर हिँडेकी थिएँ । उहाँ त यहीँ हुनुहुँदो रहेछ । त्यसैले यता पसेकी नि काकी !” कलाले मतिर हेरेर भनी ।

“ल, तिमीहरू कुरा गर्दै गर म चिया पकाएर ल्याइदिन्छु ।” काकी निहुरिएर भित्र पस्नुभयो ।

“पर्दैन काकी ।” कलाले औपचारिकता दर्साई । “दाइ कलेजको हालखबर के छ ? एस.एल.सी. पास गरियो भने त पढ्न त्यतै जानुपर्ला ।” कलाले मनको इच्छा प्रकट गरी ।

“हैन, पास हुनेगरी लेखेको छैन कि क्या हो । किन यसरी शङ्का गरेर बोलेकी, कला ?” मैले पनि शङ्का गरेँ ।

“पास त किन नहुनु नि ! तर सर्वको बात र गर्भको बातको विश्वास नगर्नु भन्छन् नि त त्यसैले भनेकी ।” कलाले आफ्नो तर्क दिई ।

काकीले चाँडै चिया लिएर आउनुभयो । कलाले चिया खाई । अनि हामी त्यहाँबाट बिदा भएर घरतर्फ लाग्यौँ ।

काकीले आँगनको डिलबाट हामीतिर फर्केर कराएर भन्नुभयो- “राम्ररी पढाइदेऊ है दिनेश, तिमी बसुञ्जेल भए पनि मलाई केही सन्चो होला कि नत्र यी मोरा खानका कालहरूले मलाई नै खान्छन् ।”

“दिनेश दाइ तपाईं त कत्ति गोरो हुनुभएछ नि । हामी त गाउँमा बस्यो, घाममा काम गर्‍यो, कालो भयो, दिन कटायो, त्यति मात्र भएको छ अहिले त । कलाले बाटामा बोल्ने निहुँ झिकी ।

गोरो त विचारमा हुनुपर्छ, कला ! शरीरमात्र गोरो भएर त केही हुँदैन । कालाको पनि विचार राम्रो हुन्छ भने त्यो नराम्रो होइन । हेर न हाम्री जानुका काकी कति गोरी हुुनुहुन्छ तर छोराहरूलाई साँच्चै बिगार्ने हुनुभएछ । के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । मलाई त भाइहरूको माया लागेर आयो ।” मैले आदर्श देखाएँ ।

“हो दाइ ! यो कुरा त मलाई पनि भन्न मन लागेको थियो । नसकेकी मात्रै । वास्तवमा काकी सज्जन हो कि मूर्ख ? सज्जन भए आफ्ना छोराहरूलाई किन सौतेलो व्यवहारजस्तो गरेको हो मैले त केही बुझ्नै सकिनँ । जोसँग पनि यसरी छोराका कुरा गर्दा विचरा ! ती नाबालखलाई कस्तो हुँदो हो । मलाई पनि माया लागेर आउँछ । बरु काकालाई भनेर उतै लानु नि ।” कलाले बोल्नै पर्ने कुरा बोली ।

“हेर कला ! कुनै पनि बालकले गल्ती गर्‍यो भने त्यसको गल्ती कसैलाई सुनाउनु हुँदैन । सुनाइदिउ”m भन्न सकिन्छ । त्यो चाहिँ उनीहरूलाई डर देखाउने बाटो मात्र हो । सुनाइहालियो भने त अब के नै बाँकी रह्यो र भन्ने हुन्न र । अनि झन् यसै बिग्रेको उसै बिग्रेको भनेर लत्तो छोडिहाल्छन् नि । त्यसमाथि कुनै बिग्रेका आफन्त वा खराब मानिससँग केटाकेटीलाई दाँज्नुनै हुँदैन ………… ।” म भन्दै थिएँ ।

“त्यसरी दाँज्दा त झन् उनीहरू बिग्रनुहुन्न । बिग्रियो भने त्यस्तो होइन्छ भन्ने सोचेर सतर्क हुन्छन नि होइन र ?” कलाले मेरो कुरा काट्दै बीचैमा भनी ।

“त्यसरी दाँज्दा ऊसँग दाँजिएको मानिस कहिले काहीँ घरमा आउँदा आदर-सत्कार गर्नै पर्‍यो । छिः छिः र दुरदुर गर्नु पनि त हुँदैन नि हैन । अनि त सत्कार पाएको देख्दा त्यस्तै बने पनि हुनेरहेछ भन्ने सोच्दैनन् र झन् उनीहरू सुल्टो कुरा, सत्य कुरा, राम्रा कुराभन्दा नराम्रा कुरा, उल्टा कुरा चाहिँ चाँडै दिमागमा राख्छन् । राम्रा मानिसका चरित्र भन्दा नराम्रा मानिसका चरित्र छिटो सिक्छन् । अनि आफू उन्मुक्त भएर हिँड्न रमाउँछन् । वरपरकाले यो त दादा पो भएछ भनून् भन्ने उनीहरूको चाहना हुन्छ ।” घर आइपुगेकोले मैले कुरा बन्द गरेँ ।

हामी दुबै जना आँगनको फलैँचामा बस्यौँ ।

“ए त्यस्तो पो हुन्छ ? हुन त नराम्रो कसैले नभनोस् । आफ्नो बेइज्जत हुने कुरा कसैले नगरोस् भन्ने चाहिँ लाग्छ नै ।” कलाले बस्दै आफ्नो अनुभव सुनाई ।

“केटाकेटीहरूलाई त राम्रा कुरा मात्र सुनाउनुपर्छ, असल मान्छेसँग भेट गराउनुपर्छ, असल मानिससँग पो दाज्नुपर्छ । अनिमात्र उनीहरूको दिमागमा राम्रो कुराले बास गर्छ । अझ उनीहरूले गरेका काममा स्यावास पो भन्नुपर्छ । काकी त कहिल्यै पनि स्यावासी दिनुहुन्न अनि के तिनीहरूलाई काम गर्न मन लागोस् ।

काकालाई भनेर यसपालिदेखि उतै लानुपर्ला । म पनि अब उतै जगिर खोजेर बस्छु होला ।” मैले आफूले बुझेका कुरा कलालाई बुझाउन खोजेँ ।

आमा बारीबाट तरकारी लिएर आइपुग्नुभयो ।

“नमस्कार ठूलीआमा !” कलाले अभिवादन गरी

“नमस्कार ! कला तँ कतिखेर आइपुगेकी ? यो मोरी त मेरो छोरो दिनेश भनेपछि हुरुक्कै हुन्छे कि क्याहो । म त कार्की भाइलाई सम्धि त भन्दिन नि ।” आमाले जिस्क्याउने पाराले भन्दै भान्सातिर लाग्नुभयो ।

कलाले लाजले रातो मुख लगाई ।

“दिनेश दाइ म अहिले जान्छु ल ।” कलाले मस्किँदै भनी ।

“आमाले जिस्क्याउनु भयो भनेर हिँड्न लागेकी क्या हो ।” मैले मन बुझाउने पाराले भनेँ ।

“होइन । बाख्रालाई घाँस काट्न जानुछ ।” उसले समस्या देखाई ।

“अब त तिमी बुझ्ने भइसक्यौ आमाले जिस्क्याउँदैमा रातो हुनुपर्छ त । ल ल फेरि कुनै दिन भेटेर धेरै कुरा गरौँला । अहिले जाऊ न त ।” मैले मुसुक्क हाँसेर विदाको हात हल्लाएँ ।

कलाले पनि मुसुक्क हाँसेर हात हल्लाई ।

कला साँच्चै सरल केटी हो । मलाई पनि कलाको स्वभाव मन पर्छ । धेरै पनि बोल्दिन । नराम्रो पनि बोल्दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *