रत्न प्रजापति समसामयिक जीवन र संस्कृतिलाई यौनसित जोडेर कथा सिर्जना गर्ने वर्तमानका प्रखर कथाकार हुन् । ‘उकुसमुकुस’ र ‘बिसन्चो’ पछि उनको ‘सेतो बादल’ (२०६६) कथासङ्ग्रह प्रकाशित भएको छ । यसमा चौबीसओटा कथाहरू सङ्कलित छन् र तिनले उपत्यकाको नेवारी संस्कृतिमा आबद्ध जीवनपद्धतिको स्वाभाविक उद्घाटन गरेका छन् ।
‘सेतो बादल’ कथासङ्ग्रहका कथाहरू सामाजिकतामा अन्तर्निहित मनोविश्लेषणले भरिएका छन् । उनले मानसिकतासँग वैज्ञानिक चेतना र प्राविधिक उपलब्धि पनि समावेश गरेका छन् । ‘आमा हो आमा होइन’ कथाले नै आमा भाडामा लिन सकिने प्रविधि चित्रण गरेको छ । यसले मान्छेको नैतिकता र सामाजिक संस्कारमा ल्याउने परिवर्तन तथा मूल्य विघटन देखाएको छ । उनका धेरै कथामा सहरीया समाजमा ह्रास हुँदै गएको मानवता, प्रेम र वात्सल्य पाइन्छ । राजनीतिले उत्पन्न गरेका विसङ्गति, धूर्तता र भ्रष्टाचार अनि मान्छेलाई आर्थिक लुटतिर अभिमुख गराउने पुँजीपरस्त समाजतिर उनको आलोचना लक्षित छ । ‘आगो लागेको सहर र निरोहरू’, ‘एक नेताको दिनचर्या’ ‘तथाकथित’ आदि यस्ता कथा हुन् ।
रत्न प्रजापति यौन चाहना र आवेगलाई प्रकट गरेर कथा बुन्छन् । ‘पौडी’ मा पोखरीमा पौडी खेलेको प्रतीक गरी यौनक्रियाको कलात्मक चित्रण गरिएको छ भने ‘उमेर’ मा यौवनको सिँढी उक्लिरहेका पात्रहरूको स्वच्छन्द क्रियाकलाप अभिव्यक्त छ । यौनलाई अनिच्छा, पीडन र शोषणका रूपमा हेर्ने ‘ङ्हेलु’ उनको सफल कारुणिक कथा हो । यसमा थकाली संस्कारमा देखिने यौनको ध्वंसात्मक रूप पाइन्छ र बेवारिसे सन्तान जन्माउन बाध्य नारीको व्यथा यसले प्रकट गरेको छ । उनका कथा पढ्दा पाठक आफू सँगसँगै हिँडिरहेको पाउँछ र उसमा आक्रोश, कुण्ठा र निराशा पनि जन्मन्छ ।
समाजमा पाइने अपनत्व र भोगिने कष्ट दुबै प्रजापतिका कथामा पाइन्छन् परपीडक बनेर ओछ्यानमा प्रस्तुत हुने लोग्नेलाई ‘भोक’ कथाकी पत्नीले चरम आनन्द प्रदायक ठान्छे तर यथार्थमा लोग्ने चाहिँ गरिबी, रोग र जिम्मेवारीको बोझ थाम्न नसकी क्रूर बनेको हुन्छ । वात्सल्यको अभावमा जन्मने दाम्पत्य तिक्तता ‘सेतो बादल’ मा पाइन्छ । कृष्णकुमारीले सेतो बादललाई नबर्सने देखाई आफ्नो बाँझोपनसित तुलना गरेको प्रसङ्ग यसमा निकै सशक्त छ ।
रत्न प्रजापति कथामा शब्दको मितव्ययिता खाज्छन् तर तिनले सङ्क्षेपमै पनि विस्तृत अनुभूतिको गहु्रङ्गोपना छोडेर जान्छन् । अहिल्यै खोज्न हिँडेमा बर्गेल्ती भेटिने जीवन्त पात्र, तिनका समस्या, चरित्रका कुनाकन्दरा, अँध्यारा-उज्याला पक्षहरूलाई सही परिवेशमा राखेर तिनको प्रतिक्रिया उनका कथामा टिपिएका छन् । अर्थ, गाँसबास र यौनको भोकबाट मान्छे मुक्त हुन सक्तैन भन्ने सार्वजनिन सत्य ‘सेतो बादल’ का कथाले अनुभूत गराउँछन् ।
कृति ः ‘सेतो बादल’ (कथासङ्ग्रह)
कथाकार ः रत्न प्रजापति
संस्करण ः प्रथम, २०६६
प्रकाशक ः रत्न पुस्तक भण्डार
पृष्ठ ः १४४
मूल्य ः रु. १५०।-
