Skip to content

मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)

RamBikramThapa-02


रामविक्रम थापाज्यू, तपाईंलाई मझेरीमा स्वागत छ । शुरुमा आफ्नो परिचय दिनुहोस् ।
धन्यवाद, २०२६ सालमा बाम्राङ-८, खोटाङमा जन्मेको म रामविक्रम थापा जिल्ला शिक्षा कार्यालय खोटाङको स्रोत व्यक्तिमा कार्यरत छु र थोरबहुत साहित्यकर्मी पनि हुँ !

आफ्नो साहित्यिक यात्रा बारेमा केही बताइदिनुहुन्छ कि ?
वाल्यकालमा बालकविता सिर्जनाबाट मेरो साहित्यिक यात्रा शुरू भएको हो । पछि क्रमशः छन्दोबद्ध कविता, गजल, लघुकथा, लोककथा, समीक्षादि विधामा मेरो साहित्यिक यात्रा विस्तार हुँदै गयो । २०३५ सालदेखि लेखन र २०४० सालदेखि फुटकर प्रकाशन भएको हो । मेरा तीन कृति प्रकाशित छन् ।

साहित्यमा लाग्नुपछाडि केही विशेष भूमिका छ कि ?
म साहित्यमा लाग्नुको त्यस्तो उल्लेख्य र विशेष भूमिका त केही छैन । पारिवारिक अभाव, सामाजिक विकृति-विसंङ्गति र लेखनाथ, देवकोटाका कविता पठनले म साहित्यमा लागेको हुँ । अहिले त जीवन बाँच्नुको सार्थकता नै ठान्छु म साहित्यलाई ।

साहित्य बाहेक अन्य कुनै पेशामा संलग्न हुनुहुन्छ ?
साहित्यले खान दिँदैन र पारिवारिक अभाव पूरा गर्दैन । अतः कुनै पेशामा संलग्न नभएमा हातमुख जोड्न समेत धौधौ पर्ने भएकाले जिल्ला शिक्षा कार्यालय, खोटाङ, अन्तर्गत फाक्टाङ श्रोत केन्द्रको श्रोत व्यक्तिमा हाल म कार्यरत छु ! मेरो पदाधिकार भनेको मा.शि. तृतीय श्रेणी हो ।

लेख्नको लागि भनेर कत्तिको समय छुट्याउनुहुन्छ ?
अहँ, म त्यसरी लेख्नका लागि भनेर निश्चित समय छुट्याउँदिनँ । सिर्जनात्मक लेखन भन्ने कुरा लेख्छु भनेर लेखिने होइन र लेख्दिनँ भनेर धर पाउने पनि होइन । यो एउटा आकस्मिक र अप्रायोजित कर्म हो ।

नेपाली साहित्यका तपाईंका आदर्श व्यक्तित्वहरू को हुन्? तिनका कस्ता पाटा मन पराउनुहुन्छ?
नेपाली साहित्यको सन्दर्भमा महाकवि देवकोटा र भूपी शेरचन मेरा आदर्श व्यक्तित्वहरू हुन् । देवकोटाको अभावग्रस्त जिन्दगानीको निरन्तर सिर्जना र भूपीको सरलता एवम् विद्रोहबाट म बढी प्रभावित छु ।

मन पर्ने लेखक अनि रचनाहरू ?
महाकवि देवकोटा, भूपी शेरचन, माधव घिमिरे र दिनेश अधिकारीका कविताहरू मलाई विशेष मन पर्छन् । खोटाङे कवि जसराज किराँती पनि मेरा प्रेरणाश्रोत र आदर्श कवि हुन् ।

हालका आशा गर्न सकिने लेखक लेखिकाहरूको कुरा गर्दा को को सम्झनुहुन्छ ?
नेपाली साहित्यको सन्दर्भमा मेरा समकालीन पुस्ताका साथीहरू अरुण नदी, युवराज नयाँघरे, श्रवण मुकारुङ, ज्ञानेन्द्र विवश, रत्न प्रजापति, रमेश श्रेष्ठहरूलाई आशलाग्दा सर्जकहरूका रूपमा यत्तिवेला यहाँ म सम्झिरहेछु ।

तपाईंका कथा, कविता, गजल, समीक्षाहरू पढ्न पाइएको छ । आफैंले आफूलाई कुन बिधाको लेखक मान्नुहुन्छ?
साहित्यका बहुविधामा कलम चलाए पनि आत्ममूल्यांकन गर्नुपर्दा म आफूलाई कविता, लघुकथा, र बाल-कविताको विधाको लेखक मान्नु उचित ठान्छु । हालसम्म ‘छरिएका कविता’ (कविता संग्रह), ‘पात्रहरू’ (लघुकथा संग्रह) र ‘वालपोष’ (बालकविता संग्रह) प्रकाशित भैसकेका छन् ।

तपाईंको घनिष्टता भएका समकालीन साहित्यकारहरू को को हुनुहुन्छ ? के कस्ता साहित्यिक गतिबिधिहरू गर्नुहुन्छ ?
नेपाली साहित्य संसारका कुरा गर्दा खोटाङका विष्णु आभूषण, नगेन्द्रराज रेग्मी, धनप्रसाद सुवेदी तथा उदयपुरका पुन्य कार्की र
नन्दलाल आचार्यहरू मेरा घनिष्ठ समकालीन साहित्यकारहरू हुन् । वहाँहरूसित म साहित्यिक अन्तरक्रिया र योजनामा संलग्न हुने गर्छु । काठमाण्डौंका अरूण नदीबाट पनि साहित्यिक जानकारी लिने गर्छु ।

एक असल लेखकले के-कस्ता नियम अनि मान-मर्यादा पालना गर्नुपर्छ?
लेखक इमान्दार र प्रतिबद्ध त हुनै पर्यो । निरन्तरता र धैर्यता लेखकका गहना हुन् । अध्ययन, चिन्तन र मनन त आधारभूत शर्त हुन् जस्तो मलाई लाग्छ ।

साहित्यकार नभएको भए के हुनुहुन्थ्यो ?
ठोकुवा गरेर त भन्न सक्दिनँ । सायद नेता हुन्थेँ कि । कुनै इन्जिनियर वा डाक्टर । कि, मानसिक असन्तुलन भएर पागल पो हुन्थेँ कि …! (एकछिन हाँसो छाउँछ । साँच्चै कहिलेकाहीं गम्भीर कुराले पनि हाँसो ल्याउँछ । सायद अचेतन मनमा उब्जेको सम्भावित आँसुको द्वार छेक्न पो यस्तो अवस्था आउँछ कि !)

साहित्यकार हुनुमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अर्थ र पदको मामलामा कमजोर भए तापनि साहित्यकार हुनुमा मलाई आत्मसन्तुष्टि भने मिलेकै छ । आफ्नो पहिचान कायम हुनु पनि ठूलै कुरा रहेछ जस्तो लाग्छ- कहिलेकाहीँ ।

मोफसलको लेखकको हैसियतले साहित्यिक समाजबाट कत्तिको न्याय पाएको जस्तो लाग्छ ?
मोफसलका लेखकलाई कुलामाथिको बाली (बिरूवा) भन्छु म । मोफसलका लेखकहरू धेरै अवसर र सुविधाबाट बञ्चित भएर कलम चलाइरहनु परेको तीतो यथार्थ छ । आजको इन्टरनेटको जमानामा फोन, मोवाइल पनि नचल्ने ठाउँमा बसेर हुलाकबाट रचना प्रेषण गर्दै साहित्य सिर्जना गर्नु निक्कै कष्टकर कुरा हो । पुस्तक प्रकाशन र पुरस्कार प्राप्तिको त के कुरा फुटकर रचना प्रकाशन गराउन पनि सहज हुँदैन ।

नेपाली साहित्य कस्तो अवस्थामा छ ? कतातिर जानुपर्छ जस्तो लाग्छ?
नेपाली साहित्य सिर्जनामा नयाँ पुस्ताको सकृय सहभागिता छ । तर यो पुस्ताको मूल्यांकन र समालोचना हुन सकेको छैन । राजधानीले मोफसललाई अझै पनि किचिरहेछ, थिचिरहेछ । सङ्ख्यात्मक वृद्धि भएर पनि गुणात्मकतामा ह्रास आइरहेको तीतो सत्यलाई पनि नकार्न सकिंदैन ।

नेपाल साहित्यफाँटमा के कस्ता कमी-कमजोरी छन् जस्तो लाग्छ?
नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशन सत्तामुखी छन् । विशुद्ध साहित्यिक भए राम्रो हुन्थ्यो । राजनीतिका अतिरिक्त स्रष्टाहरू
विभिन्न गुट-उपगुटमा विभक्त हुनु अँझ नराम्रो कुरा हो ।

अहिलेको साहित्यिक वातावरणको कुरा गर्दा यसो गर्न पाए, उसो गर्न पाए अलि सजिलोसँग स्रष्टाहरूलाई सजिलो हुन्थ्यो भन्ने त्यस्तो केही छ ?
साहित्यिक संस्था र प्रकाशन संस्थाहरू राजधानीकेन्द्रीत हुनु भएन । शाखा र उपशाखा खोलेर भए पनि यस्ता संस्थाहरूलाई विकेन्द्रित गर्दै प्रकाशन र पुरस्कारजस्ता कुराहरूमा समावेशी सिद्धान्त लागू गर्नुपर्छ । सर्जकहरूको वृतिविकास र उपचारतर्फ पहल गर्नुपर्छ ।

साहित्यमा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?
आफ्नो पहिचान र साथी-भाइ पाएँ । साहित्यलाई मैले जीवन बाँच्ने आधार बनाएँ । गुमाउने सन्दर्भमा पद र पैसा गुमाएँ कि जस्तो
आत्मानुभूति हुन्छ ।

हालसम्म के कस्ता रचनाहरू बाहिर निकाल्नुभा’ छ?
नेपाल प्रज्ञा प्रतिष्ठानको ‘समकालीन साहित्य’ बाहेक अरू सबै जसो राष्ट्रिय स्तरका पत्रिकामा मेरा रचना प्रकाशित भइरहेका छन् । पुस्तक प्रकाशनमा समकालीनहरूभन्दा पछि छु । अहिलेसम्म प्रकाशित गरेका पुस्तकमा ‘पात्रहरू’ (लघुकथासंग्रह ०५५), ‘छरिएका कविता’ (कवितासंग्रह ०५६), र ‘वालपोष’ (बालकविता संग्रह) छन ।

तपाईंका रचनाहरू, अरू पत्रिकाका तुलनामा, अक्सर गोरखापत्र, मधुपर्क, मुना, र युवामन्चतिर अलि निकै पाइन्छ । सरकारी पत्रिकाहरू नै रोज्नुमा त्यस्तो केही छ कि ?
हो, मेरा बढी रचनाहरू सरकारी पत्रिकाहरू मै आइरहेका छन् । यसको कारण भनेको थोर-बहुत भए पनि पारिश्रमिक पाइने, शुद्ध र आकर्षक छपाइ हुने, र बिक्री वितरणको व्यवस्था राम्रो भएकाले पत्रिका धेरै ठाउँमा पुग्ने अवस्थाले गर्दा हो ।

तपाईंका लागि पाठक कत्तिको महत्वपूर्ण छन् ? कि, आत्मसन्तुष्टिको लागि मात्रै लेख्नुहुन्छ ?
पहिले त आत्मसन्तुष्टिकै लागि लेखिन्छ । लेखिसकेपछि रचनाले पाठक खोज्छ र पाठकले पढिदिएपछि लेखकलाई थप सन्तुष्टि प्राप्त हुन्छ । त्यसैले सिर्जनापछि म आफ्ना रचनाहरू पत्नी र छोराछोरीलाई सुनाएर मजा लिने गर्छु । अनि तुरून्त पत्रपत्रिकामा पठाउने गर्छु ।

पाठकहरूसँग दूरी घटाउन त्यस्तो केही प्रयासहरू गर्नुभएको छ ?
अहँ, त्यस्तो केही गरेको छैन । मात्र कोठामा बसेर लेख्ने र पत्रिकामा छपाउने बाहेक । साहित्यिक गोष्ठीहरूमा पनि वाध्यता भए पछि मात्र पुग्ने गरेको छु ।

भविष्यका लागि के कस्ता योजनाहरू ठिक पार्नुभा’छ ?
साहित्यमा त्यस्तो प्रायोजित योजना छैन । कविता, लघुकथा, बालकविता र लोककथाका पुस्तक निकाल्ने धोको छ । समय र पैसाका कारणले अवरोध भइराखेको छ । प्रकाशकहरूलाई तेल लगाउन पनि लेखकीय स्वाभिमानले दिइराखेको छैन ।

मझेरी कत्तिको हेर्नुभएको छ ?
तराई झरेको बेला कहिलेकाहीँ अरूको सहयोगले मझेरी हेर्छु । नन्दलाल आचार्यजीले तपाईँका रचना मझेरी डट कममा छन् भनेर जानकारी दिएपछि यस बारे चासो र खोजी बढेर गएको हो ।

संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई केही सन्देश दिन दिनुस् न!
‘साहित्यलाई माया गरौँ, लेख्न र पढ्न नछाडौँ । केही अंश समय र अर्थ यसमा लगानी गरौँ । ‘ सबै लेखक र पाठकहरूलाई मेरो आग्रह यही हो ।

अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला ।
मजस्तो विकट जिल्ला (खोटाङ)को अति दुर्गम गाउँ (फाक्टाङ कृष्णगर्त) मा बस्दो बबुरोलाई मझेरीको ‘भलाकुसारी’मा सहभागी गराउनुभएकोमा आभारपूर्वक धन्यवाद भन्छु र त्रुटिहरूमा क्षमाप्रार्थी छु । मेरा विचार र रचनाका सन्दर्भमा पाठकहरूको रचनात्मक प्रतिक्रियाको अपेक्षा पनि गर्दछु । अन्तमा, नव वर्ष ०६८ को सबैमा शुभकामना ।

रामविक्रम थापाका रचनाहरू पढ्न यो लिंक थिच्नुहोस् ।

साहित्यकार रामविक्रम थापाज्यूलाई मझेरी भलाकुसारीमा सहभागी भैदिनुभएकोमा हार्दिक धन्यवाद छ । बिकटताको बाबजूद संघर्षद्वारा केन्द्रीय स्तरमा छवि पुर्याउन सक्नुभएका वहाँलाई मझेरीको तर्फबाट बधाई तथा शुभकामना ! साहित्यकार नन्दलाल आचार्यज्यू विना यो भलाकुसारी सम्भव थिएन । वहाँ अर्का धन्यवादका पात्र हुनुहुन्छ ।
–मझेरी डट कम

7 thoughts on “मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)”

  1. साहित्यकार थापाज्यूसितको भलाकुसारी
    साहित्यकार थापाज्यूसितको भलाकुसारी पढ्न पाउँदा मैले आफूलाई धन्य सम्झें / प्रेरक र ओजस्वी प्रतिभा हुनु हुँदो रहेछ/ वहाँलाई र मझेरीलाई अनि भलाकुसारी प्रकाशनमा पुर्याउनु भएको चाँजोपाँजोका लागि साहित्यकार नन्दलाल आचार्यज्यूलाई धेरै धन्यवाद/
    शरण आँसु

  2. स्रष्टाभलाकुसारीले नयाँ जोस थप्छ
    लामो समयदेखि यस साहियत्य संसारमा रमाउँदै आउनुभएका थापा सरका विचारहरू पढ्न पाएर गर्व महसुस भइराखेको छ !
    राविथा सरको संघर्षशिल जीवनचर्चाको एउटा चोइटो हो यो !
    विज्ञान क्षेत्रको छात्रले साहित्यमा त्यत्रो विशाल घर बनाउनु अनुकरणीय कदम हो !
    अर्को कुरा
    साहित्यकै लागि उहाँले ठूल्ठूला लाभलाई तिरस्कार गर्नुभको बारे धेरै रोचक कहानी मैले सुनेको छु
    उहाँका भावनालाई मेरो सलाम र मझेरीको प्रयत्न र अनुरागलाई जदौ !
    अन्तमा
    शरण सरलाई पनि मेरो धन्यवाद !
    साहित्यलाई माया गर्नेहरू गरिरहन्छ
    हरतरहले
    कृष्णगर्त कसैको लागि नहोस्
    यही चाहाना र कामना
    अनि वसन्त ऋतुके शुभ आगमनको
    शुभकामना !

  3. अर्काका विचारलाई मथ्दा नयाँ विचार आउँछ
    गुन देख्नुभकोमा धन्यवाद शरण सर
    अनि
    मेरो मात्र हैन
    हाम्रै चाहाना
    मझेरी सधैँ सबैको बनोस् भन्ने हो
    यसैका लागि पहुँचबाट बाहिरकाहरूलाई मझेरीले समेट्ने कार्यमा तीव्रता दिनेछ भन्ने आस गर्न सकिन्छ

    कथाकार उपन्यासकार र निबन्धकार पुन्य कार्की
    गजलकार, कवि लघुकथाकार इन्द्रकुमार श्रेष्ठ
    अनि गीत गजलकार (नेपाली, मैथिली र थारू भाषामा) देवकरण माझीजस्ता सर्जकको जोसिला विचारले मझेरीको पर्खाल ढाकियोस् भन्ने चाहाना छ

  4. रामविक्रम थापाज्यूलाई धन्यवाद
    रामविक्रम थापाज्यूलाई धन्यवाद छ ! नन्दलालजीलाई धन्यवाद! आशा छ यो भलाकुसारी मझेरीका पाठकहरूको लागि सकारात्मक सन्देश पुग्नेछ । भविष्यमा भलाकुसारी पनि निरन्तरता दिनेछौं ।

  5. उज्वल साहित्यिक भबिस्यको कामना
    मोफसलमा रहेर साहित्यको क्षेत्रमा उल्लेखनिय काम गर्ने सिमित स्रस्टाको सुचीमा रामबिक्रम थापा जी पर्नु हुने बुझाइ रहयो मेरो । वहाँको अन्तर्बार्ता पढे पस्चात । फुटकर रचनाको साथमा तीन वटा कृती समेत बहिरा ल्यायी सक्नु भयका थापा जी को बारेमा धेरै कुरा जान्ने अबसर दियकोमा मझेरी परिवारलाई हार्दिक धन्यवाद । भलाकुशारी स्तम्भ लाई यसरि नै नियमित बनाउन अग्रह समेत छ सन्चालक कुमार जी सँग ।
    राम बिक्रम थापा जी मात्र होईन झापा देखी कंचनपुर सम्म र ताप्लेजुङ देखी दार्चुला सम्म धेरै स्रस्टाहरु हुनुहुन्छ्, जस्ले थापा जी ले जस्तै गरी साहित्य लाई औधी माया गर्नु हुन्छ र साहित्य सेवा समेत उत्तिकै गरिरहनु भयको छ । फेरी पनि थापा जी लाई धन्यवाद अनि उज्वल साहित्यिक भबिस्यको कामना ।

    प्रकाश पौडेल माइला
    योकोहामा, जापान

  6. हार्दिक हार्दिक वधाई छ, दाइ रामवित्रम लाई ।
    लामो समय देखि साहित्य साँधनामा लागिरहनहुने दाइ रामवित्रम थापालाई भलाकरासारीमा समेट्नु भएकोमा हार्दिक हार्दिक वधाई छ । दाइ रामवित्रम लाई शुभकामना ।
    नेपाली साहित्यमा अनवरत रुपमा लाग्ने यस्तै स्रष्टाको वारेमा जानाकारी गराउदै जाननु होला। धन्यवाद ।

    -केशु बिरही, [तेह्रथुम]

  7. हार्दिक बधाई
    मैले तपाईको अर्तर्बात सुने लामो समय देखि साहित्य छेtrमा लाग्नू भयको रहेछ नयाॅ लेख हरु प्रकाशि होस मेरो शूभकामना
    धिरज रावल
    (अछाम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *