Skip to content

मोती पुरस्कारको ऐतिहासिक दस्तावेज

  • by


नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा पुरानै भए पनि पुरस्कारहरूको क्रमबद्ध र व्यवस्थित इतिहास सङ्ग्रह गरेको पाइँदैन तर डिल्लीराम मिश्रको ‘युवावर्ष मोतीपुरस्कार सर्जक र सिर्जना’ पुस्तक राष्ट्रिय युवासेवा कोष र युवावर्ष मोती पुरस्कारको ऐतिहासिक दस्तावेजका रूपमा आएको छ ।

पुस्तक हेर्दा युवावर्ष मोती पुरस्कारले साढे दुई दशकको इतिहास बनाइसकेको, २०४२ देखि २०६६ सालसम्मको यस अवधिमा यस पुरस्कारबाट ४२ जना साहित्यिक प्रतिभाहरू पुरस्कृत भइसकेका तिनै स्रष्टाहरूका जीवनी, व्यक्तित्व र कृतित्व तथा प्रवृत्तिको परिचयात्मक विवेचनाका साथै योगदानको पनि चर्चा गरिएको छ ।

यसरी चर्चा गरिएका, यस पुरस्कार र पुस्तकले समेटेका प्रतिभाहरू दैवज्ञराज न्यौपाने, सरुभक्त, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, काजी रोशन, विष्णुविभु घिमिरे, डा. भुपहरि पौडेल, नरेन्द्रराज प्रसाइँ, दिनेश अधिकारी, शिव अधिकारी, फणीन्द्र नेपाल, इन्दिरा प्रसाईं, महेश प्रसाईं, डिल्लीराम मिश्र, विजय बजिमय, अविनाश श्रेष्ठ, श्रीहरि फुँयाल, गोविन्द गिरी ‘प्रेरणा’ प्रमोद प्रधान, जीवनाथ धमला, नकुल सिलवाल, कृष्ण धराबासी, तीर्थ श्रेष्ठ, दुबसु क्षेत्री, श्रीओम श्रेष्ठ ‘रोदन’, इन्द्रकुमार श्रेष्ठ, रमेश श्रेष्ठ, डा. खुमनारायण पौडेल, विमल भौकाजी, लालगोपाल सुवेदी, श्रवण मुकारुङ, युवराज नयाँघरे, विप्लव ढकाल, अमोददेव भट्टराई, भीष्म उप्रेती, मोमिला जोशी, रामेश्वर राउत ‘मातृदास’, रोशन थापा ‘नीरव’, गोर्बदन पूजा, बुनु लामिछाने, कृसु क्षेत्री, र आर.एम.डंगोल रहेका छन् ।

सम्बद्ध पुरस्कृत स्रष्टाका बारेमा विधावारिधि वा स्नातकोत्तर तहमा के कस्ता शोधहरू भएका छन् भन्ने तथ्यगत विवरणका साथै यी स्रष्टाका बारेमा कुनकुन समालोचकहरूले केके लेखेका छन् भन्ने कुरा पनि सम्बद्ध स्रष्टाकै कृतिका केन्द्रीयतामा कतिपय ठाउँमा प्रस्तुत गरिएको छ ।

यस कृतिमा यस कोषको स्थापनादेखि लिएर पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको विशेषताहरूको निरूपणसमेत गरिएको छ । साठीवटा विभिन्न शीर्षक, उपशीर्षक र सहायक शीर्षकहरूमा युवावर्ष मोती पुरस्कारको सम्पूर्ण इतिबृत्ति प्रस्तुत गरिएको छ । यस पुरस्कारसँग गाँसिएर आएका केही विवाद, पुरस्कार अस्वीकार (किशोर पहाडी र रामप्रसद ज्ञवाली) गर्ने, पुरस्कार प्राप्त गर्ने मोफसल र राजधानीका प्रतिभा, यिनको लिङ्गगत, क्षेत्रगत, अञ्चलगत, जातिगत वर्गीकरणका साथै उक्त पुरस्कार प्राप्त गर्नेमध्ये के कतिले अन्य प्रतिष्ठित पुरस्कार प्राप्त गरे भन्नेसम्मको तथ्य प्रस्तुत गरिएको छ ।

यस कृतिमा मिश्रले प्रभावपरक समालोचनाका मूल प्रवृत्ति र जीवनीपरक समालोचनाका मूल पद्धतिकै सेरोफेरोमा रहेर पुरस्कृत सर्जक र सिर्जनाको विवेचना गरेका छन् । समालोचनाको वस्तुगत भाषाभन्दा भिन्न आत्मपरक शैलीको समेत प्रयोगले उनको यस कृतिको भाषा सामान्य पाठकका लागि पनि सहज, सरल हुनपुगेको देखिन्छ । कृतिमा धेरैजसो ठाउँमा लेखक वस्तुगत नै देखिएका छन् तापनि कतिपय ठाउँमा भने उनी टिप्पणीकर्ताका रूपमासमेत देखिएका छन् ।

सम्बद्ध पुरस्कृत स्रष्टा र तिनका सिर्जनाको गुणदर्शन परम्पराका परिवृत्तमा रहेर मूल्याङ्कन गर्नु तथा सम्बद्ध स्रष्टाका साहित्यिक योगदानको कदर गरी ती सबैको यथातथ्य विवरण प्रस्तुत गरे पनि पुरस्कार अस्वीकार गर्ने किशोर पहाडी र रामप्रसाद ज्ञवालीलाई पनि संयुक्त पुरस्कार विजेतासँगै प्रस्तुत नगरेर अन्य शीर्षकमा समावेश गरेको भए यो पुस्तक अझ विशिष्ट बन्ने थियो ।

पुस्तक ः युवावर्ग मोतीपुरस्कार सर्जक र सिर्जना
लेखक ः डिल्लीराम मिश्र
प्रकाशक ः राष्ट्रिय युवासेवा कोष
संस्करण ः प्रथम, २०६६
पृष्ठ ः ३४८
मूल्य ः रु. ५००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *