उहाँको घरमा भेट्न जाँदा तल्लो तल्लाको वैठक कक्षमा प्रतीक्षारत रहँदा सबैभन्दा पहिले सीसाको फ्रेमभित्र सजिएका हिउँजस्तै सेता अर्धकदका माधव घिमिरेसँग जो कोहीको पनि पहिलो साक्षात्कार हुन्छ । कमलनेत्र छुनामुना स्कुलका हेडमास्टर डीवी लामाले आफैँले बनाएको अर्धकदका माधव घिमिरेलाई उहाँको पचासीऔँ शुभजन्मोत्सवका अवसरमा उपहारस्वरूप प्रदान गरेका रहेछन् । दौरासुरुवालसहितको कोट र ढाकाटोपीमा चिटिक्क नपरी उहाँ हम्मेसी तल झर्नुहुन्न तर यो पछिल्लो भेटमा भने अलिक हतारै भयो र उहाँले टोपी पहिरिन सम्भवतः बिर्सिनुभयो । मैले कुनै प्रश्न गर्नुभन्दा पहिले उहाँले नै सोध्नुभयो-तपाईं अहिले फोटो पनि खिच्नुहुन्छ ? अहँ खिच्दिन भनेपछि मात्र उहाँ सहज हुनुभयो ।
गाउँछ गीत नेपाली,
ज्योतिको पङ्ख उचाली
जय जय जय नेपाल,
सुन्दर शान्त विशाल…..
उहाँको मुखबाट मलाई ‘वा’ निकाल्नु थियो, निस्कियो । बयानब्बेऔँ शुभजन्मोत्सवका अवसरमा पाटनको यालमाया केन्द्रमा स्वयं राष्ट्रकविद्वारा सिर्जित गीत, कविता र विशेषगरी गौरीका श्लोक कविहरूले वाचन गरिरहँदा भक्कानिएर आँसु झार्ने स्रष्टाहरू धेरै भए पनि उहाँले चाहिँ धेरै पटक ‘वा-वा’ गर्नुभएथ्यो । सधैँ तरोताजा र हँसिलो मुहारमा देखिए पनि घिमिरेको यो आयुले धेरै कष्टका घामपानी पचाएको छ, उकाली-ओरालीका हण्डरहरू खेपेको छ, त्यसैले उहाँ भन्नुहुन्छ-दुःखको आरनमा अर्जापिएको फलाम हुँ म ।’
वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएर तीन वर्षको दूधे वालकमै मातृत्वविहीन बन्न पुग्नुभएको घिमिरेले बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्न सफल हुनुभयो । १४ वर्षको उमेरमा वैराग्य पुष्प शीर्षकमा वि.सं.१९९० मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे २००५ सालमा त गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि हुनुहुन्थ्यो । आफ्नो जागिरे जीवनका सम्बन्धमा उहाँ भन्नुहुन्छ-‘वनारसबाट फर्किएपछि वि.सं. १९९८ सालमै नेपाली भाषा प्रकाशिनी समितिको लेखक भइसकेको थिएँ । त्यसपछि गोरखापत्रको सह-सम्पादक पनि भएँ तर वि.सं. २००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि म निक्कै अस्थिर भएँ । मातृवियोग र पत्नीवियोग भोगेकालाई थाहा हुन्छ यो पीडाको गहिराई । वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर पनि बसेँ केही समय ।’
उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभयो । उहाँको काविक यात्राको पहिलो कृति ‘नव मञ्जरी’ वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ । अहिलेको चर्चित बनेको राजनीतिक पार्टीहरूको रटानको नारा ‘नयाँ नेपाल’ छ तर घिमिरेले त वि.सं. २०१३ मै ‘नयाँ नेपाल’ काव्य प्रकाशित गरिसक्नुभएको थियो । राजनीतिज्ञको दृष्टि र कविको दृष्टिको भिन्नता भनेकै यही त हो नि, कि कसो ? भनेर उहाँ मुस्कुराउनु भयो ।
उहाँसँग म अलिक तीतोरूपमा प्रस्तुत भएको थिएँ । त्यो तीतो मेरो आफ्नो थिएन, साहित्यिक बजारको आवाज थियो । राष्ट्रकवि घिमिरे धेरै भाग्यमानी कवि हो, राष्ट्रमा यतिका लेखक-कविहरू छन् तर उसलेजस्तो लाभ अरू कसैले पाएको छैन, ऊ सदैव राजतन्त्रवादी भएर सुविधामा रमाएको व्यक्ति हो जस्ता कुराहरू मैले सोध्नै पर्ने थियो ।
‘म सर्वसाधारणदेखि बौद्धिकस्तरका नेपालीले पनि रुचाएको कवि हुँ । अरुले भन्दा बढी सुविधा -लाभ मैले पाउनुपर्छ भन्ने मेरो दावी होइन र अरूले भन्दा बढी पाएको छु वा छैन, त्यो मलाई थाहा छैन । ‘राष्ट्रकवि’ को उपाधि सिर्जनामा समर्पितभावले लाग्ने अरू साहित्यकारले पनि पाउनुपर्छ । ‘राष्ट्रकवि’ उपाधि प्रदान गर्ने परम्परा मबाट प्रारम्भ भयो । भोलि अरूले पनि पाउँदै जानु हुनेछ, परम्परा हो यो । हिन्दुस्तानले पनि ‘राष्ट्रकवि’ उपाधि प्रदान गर्ने परम्परा बसालेको छ र सबभन्दा पहिले मैथिलीशरणले पाएको कुरा मैले अखवारमा पढेको थिएँ’ भन्दै राष्ट्रकवि घोषित हुँदाको खुसी जीवनको सार्थक खुसी भएको उहाँले बताउनु भयो । ‘पहिले एकचोटि गाउँका एकजनाले तिमी त ठूलो कवि बन्छौक्यार भन्दाखेरि खुसी लागेको थियो । अहिले राष्ट्रले ‘राष्ट्रकवि’ प्रदान गर्दा उनको वाणी साकार भएजस्तो लाग्यो । एउटा कविले जीवनबाट कवितामा समर्पित भएर के पाउनुपर्ने हो, त्यही नै पाउँदाखेरि अत्यन्त हषिर्त भएँ । राष्ट्रप्रति कृतज्ञता प्रकट गर्दछु! भनिरहँदा त्यो कृतज्ञताको भाव अनुहारमा पनि देखिइरहेको थियो ।
‘राष्ट्रकवि’ लाई पुरस्कार र सम्मानका मामिलामा ज्यादै लोभी भन्छन् नि ? ठूलै हिम्मतले मैले ओकलेँ ।
‘पुरस्कार र सम्मानको लोभी त्यसलाई भन्छन्, जसले मलाई देऊ भन्दै हिँड्छ । मैले ‘राष्ट्रकवि’ पुरस्कार पाएपछि कतिपय पुरस्कार त अरूलाई नै दिनुस् भनेको छु । तैपनि इन्कार गर्न नसक्ने अवस्थामा चाहिँ लिएको पनि छु । किनभने श्रद्धालाई पैसामा राखेर तौलिन मिल्दैन । कुनै पुरस्कार नसोधी नै घोषणा गरिदिन्छन्, म नलिउँ कसरी ! ‘राष्ट्रकवि’ त झन् देशको संसद्बाटै पास भएर दिइएको हो, राजा त दाताजस्तो देखिएका मात्र हुन् । ‘ उहाँले औँलो ठड्याउँदै मलाई भन्नुभयो-यो प्रश्न तपाईँ किन गरिरहनुभएको छ, म छक्क परेको छु ।
तपाईंका बारेमा सुनिएका कुराहरू उठाउने नै हो भने त- माधव घिमिरेले श्रीमतीको निधनको शोकमा काव्य लेखेर चर्चित भए, बिक्रीबाट राम्रो आम्दानी पनि भयो र त्यही पैसाबाट दोस्रो विहे गरिहाले समेत भन्छन् नि कविज्यू-‘गौरी मैले शोककै बेलामा लेखेको हुँ । सानी छोरीहरूका कारण २००५ सालमै विहे गरिहालेँ भने ‘गौरी’ प्रकाशित भएको २०१३ सालमा हो । यस्ता वाहियात कुरा ममाथिका जलन हुन् । तपाईं पनि जल्नेहरूको प्रतिनिधित्व गर्दै आउनुभएछ भनेर उहाँ जङ्गिँदा कुराकानीमा अगाडि बढ्न निक्कै हम्मेहम्मे परेको थियो ।
‘राष्ट्रकवि’ को उपाधि पाइसकेको यस्तो बेजोड कवि-गीतकार भएर पनि र ‘गाउँछ गीत नेपाली’ जस्तो चर्चित राष्ट्रिय गीत भएर पनि किन यसलाई छानिएन त राष्ट्रिय गान ? कि तपाईंलाई आग्रह नै गरिएन ? भन्दा उहाँ भन्नुहुन्छ-‘राष्ट्रिय गीत’ मा पुरानोमा केही संशोधन र समयसापेक्ष बनाएर पनि पठाएको थिएँ र नयाँ पनि लेखेर दिएको थिएँ । अहिले पनि जनमत सङ्ग्रह गर्ने हो भने सम्भवतः पन्चान्नब्बे प्रतिशतले मेरो ‘गाउँछ गीत नेपाली’ लाई रोज्ने छन् । यो किन छानिएन, म कसरी भनौँ । कमिटीलाई राम्रो जचेन होला । कमिटीमा भएका केही व्यक्तिका कताकति अन्तर्वार्ताहरू पनि पढेथेँ- नयाँँलाई मौका दिएको भन्ने । जे भो राम्रै भो ।
राष्ट्रकविले अहिले ‘महाकाव्य’ लेख्दैछु भनेर धेरै ठाउँमा सार्वजनिक रूपमै भनिसक्नुभएको छ । यो उमेरमा पनि यस्तो सक्रियता कसरी सम्भव भएको ? यसको सन्दर्भ र विषय भन्न मिल्ला ? भनेपछि मात्र उहाँ अलिक सहज भएर फुर्तिलो भावमा उक्लिनु भयो ।
‘हो, म महाकाव्य लेख्दैछु । कुरा के हो भने- पहिले मैले जीवनलाई काव्य सम्झिएँ र त्यसैमा जीवन अर्पित गरेँ । अहिले म काव्यलाई जीवन सम्झिरहेको छु र अर्को कुरा नलेखी म बस्नै सक्दिनँ । मुख्य कुरा यही हो । अरू थप कुरा के भने-पहिले यति धेरै समय लाग्ने काव्य लेख्न मैले समय नै पाएको थिइनँ । अहिले समय पनि पाएँ । राष्ट्रले ‘राष्ट्रकवि’ को उपाधि र सुविधा पनि प्रदान गर्यो । अनि म सम्पूर्ण तवरले यही महाकाव्य लेखनमा समर्पित भइरहेको छु । यसको विषय चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर छ । मैले यस विषयमा काव्य रचना गरेको थिइनँ । यद्यपि त्यसका कतिपय कथ्यहरू अन्तर्राष्ट्रको निम्ती पनि लागू हुनसक्ने खालका थिए । जस्तो कि -कालीगण्डकी शीर्षक कविता । यो कवितामा केवल भौगोलिक वर्णन मात्र होइन । जस्तो नदी सतत् गतिशील छ र शालीग्राम पनि सिर्जनकर छ, त्यसरी नै मानव जीवन पनि सतत् गतिशील र अझ भनौँ कविको जीवन त सिर्जनशील पनि हुनुपर्छ । म आशा गर्छु यो कथ्य केवल नेपाली जीवनको निम्ती मात्र होइन, मानव मात्रको जीवनको निम्ती हो ।
अब मूल विषयमा जाउँ र तपाईंसँगको कुराकानीको सार्थक पाटो पनि यही हो । म त भन्छु ‘उहाँ’ भन्ने तपाईंको जुन छ, त्यसमा म यही विषयमा हुनु महत्त्वपूर्ण मान्छु । मैले ‘अश्वत्थामा’ गीति नाटक नेपालको पृष्ठभूमिलाई र पूर्वीय पौराणिक परम्परालाई पनि आधार बनाएर लेखेँ र यसलाई नोवेल पुरस्कार कमिटीमा पठाउने काम पनि भएथ्यो । यसको कथ्य अथवा विस्तारित अर्थ अहिलेको सर्व संहारकारी ‘ब्रहृमास्त्र’ को प्रयोगलाई नरोक्ने हो भने मानव सभ्यता नै समाप्त हुन्छ । केही बाँकी रहे पनि पागल बन्ने छन् भन्ने हो । अहिलेको महाकाव्य ‘ऋतम्बरा’ पनि विश्वको पृष्ठभूमिलाई नै लिएर लेखिरहेको छु । वर्तमान विश्व विज्ञानप्रविधिले त एक भइसक्यो तर आन्तरिकरूपले एक हुन बाँकी नै छ । त्यही अन्तदर्ृष्टि नै यो काव्यको सूत्र र आधार हो । त्यही भावना नै यसको हृदय हो ।’
कति समयमा यो महाकाव्य सकिएला भनेर सोध्नै पर्दैनथ्यो । किनभने उहाँले ९२ औँ जन्मोत्सवमै दुई वर्ष लाग्ने बताइसक्नुभएकै हो तर दीर्घायुको कामना व्यक्त गर्दै पूरा गर्न स्वास्थ्यले साथ दिइरहला त ? भन्दा उहाँले भन्नुभयो – यसलाई भगवानमै छोडेको छु । मैले त आफ्नो यात्रा नरोक्ने मात्रै हो । चाँडै सक्छु भनेर निस्सार कुरा पनि किन लेखौँ । अस्तिदेखि एक ठाउँमा अड्केको छ, त्यसबाट अघि बढ्न सकेको छैन । मेरो वानी नै यस्तै छ, अड्केको गाँठो नफुकी अर्को बाटोबाट हिँड्दै हिँड्दिन । महाकाव्य लेख्न कविशिरोमणिले पनि थालेका हुन् तर त्यो ‘गङ्गागौरी’ पूरा गर्न सक्नुभएन । त्यसैले भगवान्को इच्छा भनेको हो । स्वीकार भए पूरा हुन्छ ।’
कवि आफ्नो विवेकले जे देख्छ, त्यही लेख्छ । त्यसको निम्ती उसले अनेक शैलीको अवलम्बन गर्दछ । मलाई पञ्चायतकाल रुचिकर थियो कि थिएन ? ती कुरा चाहिँ मेरो कतिपय कविता र गीत पढे थाहा हुन्छ भन्दै राजा र व्यवस्थाको समर्थक भएकाले लोकतन्त्र आएपछि उहाँमाथि केही आरोप लगाएकाप्रति कुरा कोट्याउँदा उहाँले अगाडि भन्नुभयो-उदाहरणकै निम्ती लिउँ-‘सारङ्गी त रेटे पनि बोल्छ मीठो धुन’ । यो गीतले नेपालको पञ्चायती व्यवस्था आखिर निरङ्कुशतन्त्रमा नजाओस् भन्ने आकाङ्क्षा गरिरहेको थियो । अर्को कुरा म उदार राजतन्त्रको विरोधी पनि थिइनँ र अहिले प्राप्त गणतन्त्रको म विरोधी पनि होइन । मैले जे देखेँ, त्यही लेखेँ । मेरो लेखाईलाई सबैले समर्थन गर्नैपर्छ भन्ने पनि छैन । काम लाग्छ राख, लाग्दैन फाल, वस् ।’
उहाँमाथि छन्दकवि माधव वियोगीले ‘छन्दशिरोमणि’ नामक महाकाव्य नै लेखेर ८५ औँ शुभजन्मोत्सवमा सार्वजनिक रूपमा उपहार दिएका थिए भने पूर्णप्रकाश नेपाल ‘यात्री’ले पनि महाकाव्य नै लेख्नुभएको छ उहाँमाथि । उहाँहरूले मलाई माया गरेको प्रमाण हो यो भन्नुहुन्छ घिमिरे ।
आफ्ना दौँतरी, समकालीनहरू नभएकोमा उहाँ दुःख व्यक्त गर्नुहुन्छ । आफ्नो जीवनप्रतिको सार्थक दृष्टिकोण र नियमितको आहारविहारले सक्रिय रहनसकेको उहाँको अनुभव छ । उहाँका जनजिब्रोले टिपेका भनौँ आमपाठकले मन पराएका यतिका कृतिहरू छन्- ‘मालती मङ्गले ‘गीति नाटक, अश्वत्थामा, आफ्नै बाँसुरी, आफ्नै गीतजस्तो निबन्धात्मक कृति पनि छ तर पनि उहाँलाई बँचाइराख्ने कृति चाहिँ कुन होला त ? कि अब आउने ऋतम्बरा ? ‘ए यसमा त गौरी नै हो नि ! यो मैले आँसुले लेखेको थिएँ! यसैले चिनायो र यसैले बँचाइराख्नेमा ढुक्क छु, राष्ट्रकविले अनुहार उज्यालो बनाउनु भयो । अहिलेको लेखनलाई पनि उहाँ नजिकबाट मूल्याङ्कन गरिरहनुभएको छ । गीत, कवितामा अभूतपूर्व लेखन छ, हजार कविता मागे एक महिनामा जम्मा हुन्छन् तर तिनको गुणवत्ता र टिकाउ हुने नहुनेमा भरपर्ने उहाँको विचार छ । उहाँले भन्नुभयो – ल लेखिदिनुस्, साधना नगरी सिद्धि प्राप्त हुँदैन । आफूले लेख्दा अरूले के रुचाउँछन् भनेर लेख्ने कि आफूले रुचाएको लेख्ने भन्ने मूलकुरा हो ।
आफ्नो कृतिमाथि भूमिका लेखाउन र प्रमुख अतिथि बनिदिन आग्रह गर्नेहरूबाट हैरान भएको भन्दै उहाँ सुस्केरा हाल्नुहुन्छ । यो उमेरमा पनि मबाट केही चाहन्छन् भने म के भनौँ । यस्ता कामले गर्दा मेरो महाकाव्यलाई पूरा गर्न बाधा पुगिरहेको छ । त्यसैले घिमिरेको महाकाव्य आओस् भन्ने शुभेच्छा राख्नेहरूलाई यस्ता काम नलगाएर सहयोग पुराउन तपाईं मार्फत् पनि मेरो आग्रह छ भन्नुभयो । कुराको बीट मार्दैगर्दा उहाँले गोजीबाट निकालेर एउटा गीत दिनुभयो र भन्नुभयो – यो मधुपर्कमा आओस् है । धेरै भयो नछापेको ।
