हो,
सन्तोष र सन्तुष्टिले
शून्य फलाउँछ,
असन्तुष्टि र आक्रोसले
नयाँ गणित बनाउँछ ।
दुई दुई जोड्दा चार हुँदैन
अर्कै हुन्छ,
आफू पदबाट हटेको दिन
सागर सुक्छ, सगर खस्छ,
झन्झावात आउँछ
एकबाट एक झिक्दा
एकै बाँकी रहने गणितको
अर्थ बिर्सन्छ
दृश्य सुन्न थाल्छ
शब्द देख्न थाल्छ
पारदर्शिताको नाममा
नाङ्गो हुन्छ ।
माघको ठण्डीमा
ताराको राप तापेर पसिना निकाल्ने
दौडमा सामेल हुन थालेपछि
होस र ताल भुल्न थाल्छ
भनिन्छ-
सपनालाई समात्नु पर्छ
विपना त अगाडि हुन्छ
लाटोलाई बोलाउनु पर्छ
वाचाल आफैँ बोल्छ
निबन्धमा गद्य बलियो हुन्छ
पद्य तरल हुन्छ ।
के मा के जोड्दा के बन्छ
कतिमा कति जोड्दा कति बन्छ
बाबु आमा जोडिँदा भाइ बन्छ
अफ्रिकी र गैर अफ्रिकी जोडिदा
वर्णशङ्कर बन्छ
गणित यै भन्छ ।
तर,
तिमी गुलाबलाई गुलाबमात्र देख्छौ
कलमी गर्न सिक
सुन्तलाको बोटमा नास्पाती फलाउ
नास्पातीको रुखबाट आरु टिप
ज्ञानको भण्डारबाट विज्ञान निकाल
अनि देख्छौ, सम्झन्छौं र अनुभव गर्छौ
दुईमा दुई जोड्दा
सधैँ एउटै उत्तरमात्र
न आउने यथार्थ गणितको
मनन गर्छौ
जगत्को गणित बुझ्छौं
अनि,
दृश्यलाई सुन्न सक्छौ
शब्दलाई देख्न सक्छौ
संसारको गणित
बुझ्न थाल्छौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *