अभियुक्त समय र सपनाको तलतल

  • by


झरी थामिएपछिको झिसमिसे
पीडाको धराप साँघु बिछ्याएर छातीमा
निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा
कोही फर्केर आउने आशाको
साँघुरो गल्छेडीतिर
उन्मत्त वैंश उम्लिएको
घोडा युगलाई कोर्रा मार्दै
आगोका झरिला कोइला चबाउने
तरुनी अनुहारहरूले
थुन्सेभरि लिएर आउने उज्यालो हेर्न
धमिलो आँखा मिच्दै
पर्खिरहेछ ऊ आतुर मन लिएर
के आउलान् त तिनीहरू ?
चिसो आङहरूमा न्यानो स्पर्श लिएर
वा कस्ता होलान् ती सपनाहरू ?
उसको आदिम बस्तीमाथि
पिरामिड उभिएको
अभियुक्त समयको टाउकोमा टेकेर
हिँडिरहेका जवान छोराहरू हेर्दै
नियाल्छ सुस्तरी
आकाश चुहिएको छाप्रोको छानो
कहिल्र्य नभरिने अभावको मानो
धनुकाँड खोसिएका रित्ता काँध
सभ्यताको पोल्टाबाट लुछिएका
झुलो, चकमक र दल्छिन् ढुङ्गाहरू
ढुङ्गासँगै टुक्रिएका विश्वासहरू
विश्वाससँगै भत्किएका जीवनहरू
यस्तै-यस्तै होलान् ?
या कस्ता होलान् ती सपनाहरू ?
ऊ नागरिकता पाएर अनागरिक बाँचेको मान्छे
तिम्रो आश्वासनको जीवन्त अभिनय
हेरिरहेछ ध्यानपूर्वक
आफ्नै आँगनमा परदेश उभिएका
मेची र महाकाली
आफ्नै धारमा बेधार बग्न विवश
कोशीका छालहरू हेर्दै
सोचिरहेछ ऊ
के फेरि फुल्छन् बागहरूमा निर्भयफूल ?
या कस्ता होलान् ती सपनाहरू ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *