सुखको खोजीमा ,
म चारैतिर भौतारिएँ ।
असीमित चाहनाहरू लिएर
अनि ,
आफ्नो जीवनलाई बिर्सिंदा
म सपनाको दासी बनेँ ।
जूनेली रातमा ,
सुरूयको खोजमा ,
म घण्टौँ तल्लीन रहेँ ।
अनि ,
जूनको प्रकाशलाई बिर्सिदा
म अँध्यारोको दासी बनेँ ।
भुल्न नसक्दा त्यो क्षण ,
जब प्रेमिकाको साथबाट टाढा भएँ ।
अनि
वर्तमानलाई विर्सिएर
म अतीतको दासी बनेँ ।
आध्यात्मवादबाट प्रभावित भएर ,
नास्तिकबाट आस्तिक भएँ ।
अनि ,
आफ्नो स्वतन्त्र जीवनलाई विर्सिदा
म अदृश्य इश्वरको दासी बनेँ ।
गुलाबको सुन्दरताबाट आकर्षित भएर
सँधै त्यसलाई हाँसिल गर्न चाहेँ ।
तर एक तिखो काँडाको घोचाईबाट
पिडीत भएर
म अत्याधिक क्रोधित भएँ ।
अनि ,
त्यसको सुगन्ध मास्ने भुल गरेर
म आफ्नै अहमताको दासी बनेँ ।
