“लोडसेडिंग” यो शब्द यति घृणित भई सक्यो कि जो सारा नेपाली जनताहरू दिग्दार र आजित छन् । लोडसेडिंगले गर्दा कहिले रातभर बत्ती छैन त कहिले दिनभर । अझ साँझ एक दुई घण्टा चाहिने समयमा झन् बत्ती नै हुदैन । बत्ती जाने आउनेको निश्चित समय तालिका भए पनि, त्यो रुटिनले कहिले काम गर्दैन । उफ्! दिक्क लाग्दो…..लोडसेडिंग, प्रत्येक दिन नेपालका शहरिया जनताको दिन चर्या गुनासो छ । हुँदा हुँदा नेपालभित्र मात्र रहनु भएका नेपाली जनताहरू मात्र नभई संसारभर छरिएर रहनुभएका गाँस कपास अनि अध्ययनको लागि जानु भएका नेपालीहरूलाई पनि सास्ती हुने क्रम जारी छ । अहिलेको आधुनिक परिवेश र विकाससंगै इन्टरनेट संजालले जोडिएको अबस्थामा पनि, हामी जो कोहीलाई संसारको एक ध्रुवबाट अर्को ध्रुवका पुज्यनीय आमा बुवा, श्रीमान श्रीमती देखि लिएर साथी भाइसंग पनि राम्ररी कुरा गर्न असफल हुदै गएका छौ । यो कुरा नेपाल बाहिर रहनु भएका सबै मित्रजनहरूले भोग्नु भएको हुन सक्छ । एक त विदेशको बसाइ त्यतिकै बिजी भइन्छ,त्यो माथि जब फुर्सद भयो कि इन्टरनेटमा बस्यो, उता आफ्नो मातृभूमि नेपालमा भने लोडसेडिंग बत्ती छैन रे, ४/५ घण्टा पछाडी आउछ होला इत्यादी सुनिन्छ । अनि मुख अमिलो पार्दै अर्को कुनै दिन इन्टरनेटमा कुरा गरौला भन्दै चित्त बुझाउनु परेको छ । अब विदेशमा जस्तो ठाउँमा काम नगरी माम नमिल्ने देशमा कति बेला सुत्नु,उठ्नु अनि काममा त अबश्य जानु नै पर्यो । त्यसैले अहिले यो लोडसेडिंगले नेपाल हाम्रो देश मात्र नभएर संसारभरका नेपालीहरूलाई पनि सास्ती दिएको छ ।
संसारमा जलस्रोतको दोस्रो धनी देश नेपाल हुँदा हुँदै पनि हाम्रो देशमा नै लोडसेडिंग किन? यो लोडसेडिंग मेरो, हामी सबैको दिमागमा घुमिरहने दृश्य हो । किन? कति समयका लागि? हामी कहाँ हजारौ इलेक्ट्रिकल इन्जिनीयर छन्, हाइड्रोपावर इन्जिनीयर छन्, राष्ट्रिय योजना आयोगमा धुरन्धुर योजनाकारहरू छन्….के उनीहरूलाई यो दुर्गति आउछ भन्ने ज्ञान थिएन होला? नेपालमा दिन प्रतिदिन जनसख्या बढ्दैछ, भवन निर्माण बढ्दै छन्, शहरिया जीवन बढ्दैछ । बिजुली आपूर्ति अझ बढी चाहिन्छ भनेर हाइड्रो पावरको निर्माणमा सहि निर्णय र भूमिका बिद्युत प्राधिकरण र उर्जा मन्त्रालयले किन समन्वय गर्न नसकेको?
लोडसेडिंगको असर हरेक क्षेत्रमा जोडिएको छ, अस्पताल, कलकारखाना, उद्योग, वित्तीय बैंक, बिद्यालय, होटेल पर्यटन, सुपरमार्केट अर्थात् जति पनि शहरिया जनजीवनमा आइ पर्ने चिजहरूमा बिजुली अनिबार्य छ । संसारका कुनै पनि बिकशित शहरमा १ घण्टा अचानक बत्ति जादा करोडौ नोक्सान हुन्छ र त्यो यदि सरकारी तवरबाट लापरबाही भएर भएको ठहरेमा, सरकारले त्यो नोक्सान बेहोर्नु पर्छ अर्थात् कुनै पनि संस्था, कम्पनि, उद्योग, कलकारखानालाई लागेको नोक्सान खर्च तिर्नु पर्छ । त्यसको ठिक उल्टो हाम्रो राष्ट्रमा लोडसेडिंगको मारमा सधै रुमल्लिने, राष्ट्र निर्माणमा बिजुली बिना कसरी सम्भब छ? बिजुली नभएर अलि अलि भएका उद्योग धन्दा पनि धरायसी भएर बन्द हुदैछन्, अब कसरी देशको आर्थिक उन्नति हुन्छ? के हामीले बैदेशिक रोजगारबाट कमाएको पैसा नेपाल पठाएर, फेरी हाम्रो परिवारले अत्याबश्यक चिज र किनेर खानेकुरा खादा, त्यो पैसा सबै विदेशतिर नै गएन र ? यसरी कति समय सम्म धान्न सकिन्छ ?
बिगत १०/११ बर्षदेखि सुरु भएको लोडसेडिंग माओवादी द्वन्द कालबाट बढेर गएको स्पस्ट देखिन्छ । पुराना जल विद्युत आयोजनाहरू यथावत हुदै अन्य साना जल विद्युत आयोजनाहरू चिलिमे २२.१ मेघावाट,पुवा खोला ६.२, काली गण्डकी ए १४४, भोटेकोशी ३६, खिम्ती ६०, मोदी १४, कुलेखानी दोस्रो ३२ मेघावाट थपिएका पनि हुन् । यस्ता आयोजनाहरू थपिदै जादा पनि अहिलेको शहरीकरण, जनसंख्या वृद्दि र विकासको गतिसंगै जोडिएका यान्त्रिक सामानहरूका कारण विद्युत खपत बढेको देखिन्छ । यहि कारण लोडसेडिंग दिन गुना चौगुना बढ्दै गएको छ । अर्को तर्फ नेपाल विद्युत प्राधिकरणको तर्क छ, हिउँदमा हिमनदीको बहाव घटेर कम बिजुली उत्पादन भएकोले यो अवस्था आएको कुरा अघि सार्छन । तर जब कुनै नया परियोजना सुरु गर्ने बेलामा फलाना आयोजना सफल भए पछि लोडसेडिंग नै हुदैन भनेर ठोकुवा गरेको पाइन्छ । आखिर अहिले सारमा बुझ्दा खेरि यी सबै कुराहरू हचुवाका भरमा भनिएको कुरा छर्लंग हुन आउछ । हिउँदमा नदीमा पानी पनि घट्छ र कम उत्पादन हुन्छ भने त्यसको वैकल्पिक अन्य परियोजनाहरू या अन्य देशबाट बिजुली किन्नलाई आधारभूत संभावना बारे किन सोचिएन? यसमा नदी खोला नालाहरूलाई दोष लगाएर विद्युत प्राधिकरण उम्कनु खोज्नु कति जायज छ । जल स्रोतको धनी देश नेपालमा करिब ४० हजार मेघावाट बिजुली उत्पादन हुन सक्ने अनुमान गरिएको छ । जसमा करिब ६०० मेघावाट मात्र उत्पादन भई सदुपयोग भईरहेको छ ।
नेपाल विद्युत प्राधिकरण या जुन सुकै सरकारी ओहोदा कार्यालयहरूमा जुन राजनीतिक हस्तक्षेप् अनि लुछाचुडी छ, त्यो परिपाटी अन्त्य नभए सम्म हामी नेपालीहरू अभागी नै रहने छौ । जब सरकार आफै आफ्नो रक्षाको लागि पद जोगाउन लागि मात्र सोच्छ भने देश विकास निर्माण ओझेलमा पर्छ नै । यो दुर्दशा देख्दा खेरि विगत १४/१५ देखिका कुराहरू कोट्याउनु पर्ने अवस्था आउछ । किन कि राष्ट्र बनाउन कसम खाएका राजनीतिक पार्टीहरू सरकार बनाउने र गिराउने खेलमा लागि परेको त्यो अवस्थाले वास्तबमा हामी नेपाली जनताहरू यो सास्ती भोग्न बाध्य भएका छौ । आखिर हामी जनतालाई सास्ती दिलाओस भनेर हामीले मत हालेर जनताको पीर मर्का बुझ्ने जनताको प्रतिनिधि चुनेर पठाएको होइनौ होला । तथापी अहिलेको यो अवस्थामा सभासद र मन्त्रिहरूप्रति वितृष्णा बढेर गएको महसुस गरिएको छ । अहिलेको यो अवस्थामा हामी गरिब राष्ट्र नेपालले अन्य देशबाट बिजुली किनेर चलाउने क्षमता पनि गौण छ । हामी जनताको कमजोरी पनि छ, यस लोडसेडिंगको विषयमा असार सावनतिर कसैले आवाज उठाउदैनौ । जब पुष माघ सुरु हुन्छ अनि हामी जनताहरू पनि जुर्मुर्याउछौ मतलब लोडसेडिंग सुरु भए पछि मात्र आँखा खोलिन्छ ।
अन्तमा निचोडमा हामी के गर्न सक्छौ? लोडसेडिंगलाई कम गर्नको लागि बिभिन्न विकल्पहरू छन् जसमा सोलार उर्जा पनि एक हो । उक्त सोलार उर्जा सर्वसाधारण जनताको पहुच भन्दा टाढा छ साथै यो बारे सरकार मौन देखिन्छ । साथै थर्मल प्लान्ट एक विकल्प हुन सक्छ, ६ मेघावाट क्षमताका थर्मल प्लान्ट विकसित मुलुकमा समेत निकै सहयोगी मानिन्छन । अन्य प्रबिधिमा गोबर ग्याँस अर्थात् फोहोर बस्तुहरूबाट बिजुली उत्पादन गर्न पनि सकिन्छ । प्रथमत हामीलाई दिगो सरकार अनि समय सापेक्ष चल्न सक्ने व्यवस्था चाहिएको छ । जुन व्यवस्थाले नेपाली जनताको भावनालाई ठेस नपुर्याओस, हामी जनताको कल्पनालाई साकार पारोस् । कुनै पनि समस्याको समाधान गर्ने बाटा हुन्छन नै, हामी अब आफै जनता नै स्वफूर्त बिकाश निर्माणमा लाग्नु पर्ने समय आएको छ । हामी नेपाल भित्र या विदेशमा रहेका सम्पूर्ण नेपालीहरू एक जुट भएर नेपालका प्रशासनिक क्षेत्र देखि सम्पूर्ण मन्त्रालयहरू, राष्ट्रिय योजना आयोग सम्म नेपालमा जल विद्युत आयोजनाको निर्माणमा जोड दिनु पर्छ भनेर, अघि सरेमा केहि त अबश्य परिवर्तन हुन्छ भन्ने पूर्ण आशा छ ।
बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
हाल न्युयोर्क

comments
बुद्ध दाजु; नेपालका नेताहरुमा
Nepal prati lekhiyeko yo lekh nikai sandarbhik lagyo..
Nepal prati lekhiyeko yo lekh nikai sandarbhik lagyo..