Skip to content

फेरि कसको जिन्दाबाद छ?


मुस्कुराओस बस्ती भन्छु
फेरि बस्ती आर्तनाद छ
शान्त रहोस् बस्ती भन्छु
फेरि बस्ती हतास छ
कही छैन यस्तो बस्ती
एउटा यो अपवाद छ
मर्ने दाजु मार्ने भाइ,
फेरि कस्को जिन्दावाद छ…. ?

चेतनाको संगीन छैन
हतियारको रवाफ छ
बन्दुकको ज्ञान छैन
सतावादको जवाफ छ
यस्तैहरू महपुरुष
यिनलाई कस्को आशीर्वाद छ
मर्ने काका मार्ने भतिज
फेरि कस्को जिन्दावाद छ …. ?

पहाड हेर्यो पहाड जल्छ
मधेश हेर्यो मधेश बल्छ
बन्नु छैन कुनै केही
दिन दिनै गजुर ढल्छ
स्वाभिमानका हरेक शीर
प्रति सेकेन्ड अरु गल्छ
भनौ कसरी संसारलाई
बुद्धको यो देश हिंसाले बर्वाद छ
मर्ने दिदी मार्ने बहिनी
फेरि कस्को जिन्दावाद छ…. ?

सदभावको गृवाण छैन
बिकासको निर्माण छैन
शान्तिको त कुरै छैन
स्वास्थ्य, शिक्षा, आवास
एउटा होइन पुरै छैन
किन भन्नु सतीको सराप छ
बिगारने यिनै देशभक्ति, राष्ट्रभक्ति
यिनलाई कस्को साथ छ
शान्त मेरो सुन्दर बस्ती
हिसाले बर्वाद छ
मर्ने बाबु मार्ने छोरा
फेरि कस्को जिन्दावाद छ…. ?

मेरो बस्ती फेरि फुलोस
धानको बाला आली झुलोस
झन्डा बोक्ने बेरोजगारे
बारी कान्ला कुलो डुलोस
भगवानको होइन हामीलाई
कर्मको आशीर्वाद छ
बाच्ने हामी नाच्ने हामी
सबैको जिन्दावाद छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *