“प्यारी त्यसरी पीर नगर्नु । दुई वर्षमा त फर्किहाल्छु नि । त्यसपछि ल्याएको केही कमाईले बाबुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राति सुत्ने बेलामा आँसु पुछ्दै आफूलाई काखमा राख्दै भनेका यी वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ । रातभर आफ्नो जीवनसंगीसँग भावी जीवनको रुपरेखा कोरेर खाडी पसेका रमेशले सोचे जस्तो कहाँ सरल थियो र खाडी जीवन । मरुभूमिमा गोरु-सरह जोतिंदा पनि भने अनुसार ज्याला नपाउने र बारम्वार अनेक गल्तीको भागीदार बन्नु पर्दा उसलाई त्यहाँ वस्ने रहर कहाँ थियो र ! तर के गर्नु ? जीवनसंगीसँग बुनेका ती भावी सपनाहरू साकार पार्नैका लागि पनि आफ्नो जिउ-ज्यानको पर्वाह नगरी चाकडीमै रमाउन बाध्य छन रमेश । नयाँ घर बनाउने आमाबुबाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ती रहरहरू धेरै दिन टिक्न सकेन उसको पार्थिव शरीरसँगै ती सपनाहरू पनि चक्नाचुर भईसकेका छन । बाटो क्रस गर्ने क्रममा अनजान दुर्घटनामा परेर ऊ यस धर्तीबाट सदाका लागि विदा भए । उनको विदा सँगै जीवनसंगीको वेहाल भए, अनि भएका एक सन्तान छोराको वेहाल भए अनि त्यो रात बुनेका सबै सपनाहरू चक्नाचुर भई विदा भए । भर्खर तोतेबोली बोल्न थालेका छोरा र मलिन अनुहारका जीवनसंगीलाई मधुर मुस्कान छरेर खाडी प्रवेश गरेका उनी अब ब्रिफकेश बोकेर होईन कुनै बाकसमा कोचिएर आउदैछ । परिवारमा खुसी लिएर होईन विस्मात र पीडा बोकेर आउँदैछ ।
रमेशको मृत्युको खवर सुने लगतै बेहास बनेकी अन्जु आजकल पागल जस्तै बनेकी छिन । घरीघरी हाँस्छिन घरिघरी रुन्छिन अनि छिनछिनमै बरबराउँछिन । उनको यो दैनिकी जस्तै बनेको थियो तर केही उपचारपछि उनको यो पागलपन बिस्तारै हट्दै गयो । अनेक प्रयासपछि एक दिन रमेशको शव बाकसमा टम्म वाडेर आईपुग्यो । छिमेकीले यो लास अन्जुलाई नदेखाउन प्रयत्न गरे, तर सफल हुन सकेन । जव उनले आफ्नो प्राण प्रिय यसरी आफ्नो आंगनमा आईपुगे अनि उनले टोलाएको पतिको आँखा देखे अनि फेरि भक्कानिएर रुँदै बेहोस हुन थाली । बिलौना गर्न थाली । आखिर एउटी पत्नीको श्रीसम्पती भनेकै पति न हुन ! पति नै नहुँदो हो त अरु किन चाहियो ? उनी निरन्तर बिलौना गर्न थाली । यस बखत रमेश हुँदो हो त पहिले जस्तै काखमा राखेर आँसु पुछिदिन्थे होला । तर अब यो बिलौना रमेशले सुन्नेवाला थिएन । आयो टप्प टिप्यो भनेझै बिलौनाले फर्किन सक्दैनन रमेश । अब त बाँकी रह्यो केवल उसको वाचा बुनेका ती मिठा मिठा सपना अनि एक छोरा । रमेशको लास आइपुग्दा अन्जुर छोरा प्रतिक अनि परिवार मात्रै होईन छिमेकी कै आँखा रसाए । किनकि, ऊ गाउँकै सोझा मान्छेको रुपमा चिनिन्थ्यो ।
कयौं दिन ढल्यो रात ढल्यो । तर अन्जुको पीडा झन झन घट्नुको सट्टा वल्झिदै गयो । केही दिन त छिमेकीको ओहोर दोहोर पनि बाक्लै थियो तर अब त आफ्नै परिबार मात्रै थियो । समयको अन्तराल सँगै अन्जुको जीवनमा बिस्तारै कठिनाईले बास माग्यो । बिस्तारै समाजले उनी प्रति हेर्ने भावनामा तुसारापात हुदै गए । एक्ली नारीप्रति हेय भावनाले अलक्षणी कोणले एकाएक उनलाई सताउन थाल्यो । बल्झिएको उनको घाउमा नुन छर्ने काम गर्यो समाजले । उनीसँग त्यो व्यहार सहनुको कुनै विकल्प थिएन । समयसँगै उनको सुन्दर रुपमा वुढ्यौली छायो आँखामा आँसु टुटेन अनि मनमा कहिल्यै शान्ति छाएन । समाजले मात्रै होईन बिस्तारै परिवारले समेत हेय भावनाले हेर्न थाले । छोरा हुर्कदै गए छोरालाई राम्रो स्कुलमा पढाउने उनीहरूको रहर पनि रमेशको लाससँगै मरिसकेको थियो ।
घरमा अबिवाहित देवर भएकै कारण उनको र देवरबिचको सम्वन्ध भएको कुरा गाँउभरि हल्ला चल्न थाले । कुरा न हो एक कान दुई कान हुदै अन्ततः अन्जुकै कानमा पुग्यो । यो कुराले उनमा फेरि नयाँ पीडा छायो यस वखत आफ्नो हृदयको राजा रमेशलाई सम्झी मात्र सम्झी…। तर जति सम्झे पनि पुकारे पनि रमेश फर्कनेवालामा थिएन । अब उनी मुक्तिको विकल्प खोज्दै एक्लै भुनभुनाउन थाले । कहिले सोच्थी अब पासो लाएर मर्छु कहिले सोच्थी दहमा जान्छु । आखिर छोराको तगारो र माँयाले गर्दा उनको यो योजना सफल हुन सकेन । एक दिन सोचिन्, अब यो गाउँ नै छोडेर जान्छु । तर छोडेर पनि कहाँ जाऊँ, एक्लाएक्लै प्रश्नोउत्तर गरिरहिन् र अन्ततः माइती जाने निर्णयमा पुगे ।
दिनहरू वित्दै जाँदा निकै वर्ष बिते । यतिखेर छोरा प्रतिकले एसएलसी पास गरिसकेका थिए । प्रतिक पनि बाबु रमेश जस्तै सोझा र भलाद्मी स्वभावकै थिए । यही कारणले पनि सायद अन्जु भावी सपना बुनिरहेकी थिई । नत्र त्यो बेलै आत्महत्या गर्न सक्थी । आमाको पीडा सबै वुझ्थे उसले । त्यसो त दिउसो साथीभाइले दिएको एक टुक्रा खाजा समेत खल्टीमा राखेर आमालाई ल्याई दिन्थे । छोराको यस्तो बानीदेखि अन्जु निकै भावुक अनि खुसी थिई । एक दिन आमाछोरा गोठमा घाँस काटिरहेका थिए । यतिखेरै आमाले कुरा निकाले “बाबु, हामी यो समाजमा टिक्न सक्ने भएनौ । अब मामाघर माइतीतिरै गएर बसौं, हुन्न?” आमाको यो कुरा सुनेर छोरा प्रतिकले टाउको हल्लाए । ऊ आमाको कुरालाई नकार्न चाहन्नथे । आमालाई खुसी पार्नु नै आफ्नो कर्तब्य सम्झन्थे ऊ । त्यसको भोलिपल्टै स्कुल ब्याग र भएको झुत्रा कपडाहरू बोकेर कुखुराको डाँकसँगै डाडा काटे उनीहरूले । माइतीघर टाढै थियो अन्जुको । गएको केही दिन त राम्रै व्यवहार देखाए दाजु भाउजूले । तर दुःख पाएर आएकी पोइला गएकी चेलीलाई कहाँ राम्रो मान दिन्छन र हाम्रो समाजमा ? बिस्तारै बिस्तारै माइतमा पनि उनको बारेमा कुरा कात्न थाले । दाजु पो आफ्नो, भाउजू त पराई सम्झी उनले ।
एक दिन मामा माइजू कोठामा कुरा गरिरहेको प्रतिकले सुने । उनीहरू भन्दै थिए, “छोरी पाल्नेले छोरा पाल्दैन ।” यो कुराले प्रतिकको मनमा बाढी आयो। भित्रभित्रै मन रुवाए । तर आमालाई भन्दा पीर मान्ला भनेर भन्न चाहेनन् । एक्लो छोरा बुहारीको घुर्की बृद्ध बुवाआमाले सुन्न सकेन । छोरालाई छुटाएर राख्नु भन्दा छोरीलाई अन्तै बिहे गरिदिने ध्याउन्नमा लागे उनीहरू । आमाबुबाको सुरसार अन्जुलाई पटक्कै सह्य भएन । उनी त्यस्ती खालकी नारी थिइनन् । आफ्नो पति रमेशप्रतिको अघात माँया अझै ताजै थियो । उनको दोश्रो बिहे गर्ने कुरा उनको लागि अस्ताउन लागेको घाम जस्तै थियो । त्यसैले आमाबुबाको दोश्रो बिहेको प्रस्तावलाई ठाडै अस्विकार गरिन उनले । एउटी चेलीका लागि माइतीभन्दा प्यारो अरु हुन्न भनिन्छ । तर माइतीबाटै यस्तो अपहेलना भएपछि कसको के लाग्छ र ? माइतमा समेत बास नपाएपछि छोरासँग पीडा पोख्दै रुनथाली अन्जु । अब त प्रतिक मनमा आमालाई पाल्न सक्ने ऊर्जा तागत आई सकेको थियो । आमालाई सम्झाउदै भन्न थाले “आमा नरुनुस रोएर मात्र कति वस्ने ? पीर नलिनुस् । म तपाईलाई जसरी नि पाल्छु जाउ अब यहाँबाट पनि ।”
उसको बोलीमा उत्साह थियो, केही गरेर देखाउछु भन्ने भाव थियो । आफ्नो छोराले यस्तो बोलेको सुनेपछि अन्जु झसँग भईन र छोरालाई अंगाल्दै आँसु पुछेर माइत छाडी जाने निधो गरिन । उनीहरूको लागि अन्तिम विकल्प भनेको त्यो ठाउँ छोडेर जानु सिवाय केही थिएन ।
भोलिपल्ट झिसमिसेमै डाँडा काटे उनीहरूले उही पुरानो झुत्रा कपडाको पोका र स्कुले व्यागसँगै । आखिर उनीहरूको साथी भनेकै त्यही सिवाय अरु केही थिएन । उनीहरूको गन्तब्य निश्चित थिएन । कहाँ जाने कता वस्ने के खाने जस्ता प्रश्नले आमाको मन भारी हुँदै गयो । छोरा प्रतिकको मनमा भने यस्तो हतासभन्दा यो गर्ने र त्यो गर्ने जस्ता उत्प्रेरित भावले ओतप्रोत भयो । बाटोभरि आमालाई सम्हाल्दै धुलाम्मे शहर प्रवेश गरे उनीहरू । पति रमेशसँगको विछोडदेखि रसाएका आँखा र मनले प्रतिकको मायाले पिपलको छाँया जस्तै बन्यो अन्जुका लागि । उनको मनमा न्यानो आभास भयो । आँखामा खुसीका आँसु बग्न लागे । तै पनि भित्रभित्रै पीडा छचल्कियो । नातावाद र चाकडीपूर्ण शहरी जीवनमा अनजान यात्रु उनीहरूका लागि नौलो ठाउ थियो । त्यसैले धेरै घरमा कोठाको लागि चाकडी गरे तर पाउन सकेन । अन्ततः यात्रु प्रतिक्षालय नै डेरा भए उनीहरूका लागि । उनीहरूको कयौ दिनरात बिते त्यँहा । बोराकै सिरक डस्ना थियो उनीहरूको फुक्का खाना र चिसोपनले शरीर शिथिल बन्दै गयो । यस अबधीभर उनीहरू ज्यामी काम गरिरहेका थिए । थोरै भए पनि पैसा जम्मा पारेर एउटा घरमा कोठा लिए उनीहरूले । त्यसपछि छाक तार्दै केही पैसा जम्मा पारेर आवश्यक सामान जोरजाम गरे प्रतिकले । संयोग नै भन्नु पर्छ आमालाई पनि एउटा घरमा काम गर्ने अबसर मिल्यो । अब त दुवै जना काममा व्यस्त थिए । प्रतिकले आफ्नो काम सकेर बेलुका घर आउदा आमाले खाना तयार बनाई सकेको हुन्थ्यो । आमा अन्जुले काम गर्ने एक साहुको दयालु आँखाले प्रतिकको मिहेनतलाई देख्यो र एउटा जागीर लगाई दियो ।
उनीहरूको आर्थीक समस्या बिस्तारै सुधार हुदै गयो । भर्खरै उदाएको प्रतिकको जबानीपन त्यस माथि अफिसको जागिरले उनमा राम्रै व्यक्तित्व झल्किन्थ्यो । अधुरो रहेको एसएलसीपछिको पढाई पनि अब पढ्न थाले उनले । ऊप्रति नजर लगाउँने युवतीहरूको कुनै कमी थिएन यतिबेला । तर पनि यसतर्फ ध्यान दिन चाहेन उसले । आफ्नो आमालाई सुखसयलमा पाल्ने धोको थियो उसको । आफ्नो छोराको इमान्दारिता र लगनशीलता देखी निकै खुसी थिइन आमा पनि । अब त उनीहरूले नयाँ कोठा लिई सकेका थिए । बितेका ती दुःखद क्षणहरूलाई भुल्न चाहे तर सकेनन् अन्जुले । पतिप्रेमबाट टाढिए पनि छोराको मायाले उनमा नयाँ जोश र जांगर पलायो ।
यतिबेला प्रतिकले राम्रै जागीर भएका दुलही ल्याएका छन । अन्जु पनि काम गर्न जाँदिनन् । उनका दिनहरू छोरा बुहारीको पखाईमै वित्ने गरेका छन भने, छोरा बुहारी पनि आमाको सेवामा कतिपनि चुक्दैनन् । बिहान उठेर घरायसी काम भ्याएर मात्र अफिस जान्छिन दुलही शुशीला भने भान्छाको हरेक काममा सघाउन तल्लिन हुन्छन प्रतिक । पहिले पीडा र दुःखका आँसु झर्ने अन्जुका ती आँखाहरू अहिले खुसीका आँसु झार्न तल्लिन छन । अनेक वहानामा एउटा नारीले अर्की नारी माथी लााछना लगाउँने त्यो समाजले वाह प्रतिक ! भन्न थालेका छन । अनि अरुको माइतीमा आएर रजाई गरिरहेकी माइजू नामक ती दानवीय नारी आज दिदी भन्दै अन्जुकै प्रतिक्षामा बस्न थालेका छन । तर अन्जु अब त्यो माइती र गाउँलाई फर्केर हेर्न चाहन्न । किनकि, खुकुरीको ब्यथा अचानोलाई थाहा हुन्न ……।
