छोरी साधनाको ग्रायाजुएसन सेरीमनीमा भाग लिन युनिभर्सिटी अफ साउथ फ्लोरिडाको निम्तोमा २०६६ मङ्सिरमा म र मेरी पत्नी सपना अमेरिकाको फ्लोरिडा राज्यस्थित टेम्पा पुगेका थियौं ।
पुसमा अमेरिकाका विभिन्न राज्यमा हिउँ परेर सेताम्मे भएका बेला फ्लोरिडामाचाहिँ न जाडो थियो न त गर्मी नै । जाडोमा बढी जाडो नहुने अनि गर्मीमा पनि बढी गर्मी नहुने फ्लोरिडाको हावापानी साँच्चै लोभलाग्दो रहेछ । जाडो र गर्मी छल्न अमेरिकीहरू फ्लोरिडालाई गन्तव्य मान्दारहेछन् । हाम्रो धनकुटा, तेह्रथुम, भोजपुर, ताप्लेजुङतिरका मानिसहरू पुस माघमा जाडो छल्न तराईतिर गएजस्तो ।
त्यो दिन शनिबारको बिहान थियो । ज्वाइँ प्रकाशले साधनासित भन्नुभयो “आजको बिदामा मामुड्याडीलाई घुमाउन हेरिटेज भिलेज लगे हुन्न ? बाटाको सिन पनि देखिने, हेरिटेज भिलेजको रमाइलो पनि हेरिने कसो ?”
“पहिले आजको वेदर हेर्छु अनि निर्णय गरौँला नि त भनेर छोरी साधनाले फ्लोरिडा टेम्पाको वेदर गुगलमा सर्च गरी । त्यहाँको वेदर त घण्टा घण्टाको पो नेटबाट थाह पाउन सकिने रहेछ । त्यही वेदर फोरकास्टका आधारमा यात्रीहरूले कपडा, ज्याकेट आदिको पहिले नै जोरजाम गर्दा रहेछन् ।
कम्प्युटरमा वेदर हेर्दै छोरीले भनी “आज मध्यान्ह १२ बजे एकछिन पानी पर्ने रहेछ, १ बजे बतास चल्ने रहेछ, १ बजेर ३० मिनेट पछि घाम लागेर मौसम घमाइलो हुने रहेछ । ल, आज हेरिटेज भिलेज नै जाने ।” उसले फेरि भनी “र्फकंदा मेक्सिकन रेस्टुरेन्ट चिपोटलेमा डिनर खाने, त्यहाँ ड्याडीलाई मन पर्ने मासको दाल भात, रायोको साग, पापड र अरू सलाद पनि हुन्छ ।”
बिहानको खाना खाएर चारै जना घरबाट निस्कियौं । अमेरिकाका अरूअरू राज्यमा हिउँ परेको हुनाले होला बाहिर चिसो हावा चलेकोले मुटु कमाउने जाडो थियो । हामीले जाडो माने पनि हिउँ पर्ने राज्यबाट फ्लोरिडा घुम्न आउने यात्रीले यहाँको जाडोलाई जाडै नमान्दा रहेछन् ।
ग्ााडी चढ्ने बेलामा आकाशतिर देखाउँदै सपनाले छोरीसित सोधिन “धूवाँको मुस्लो पो कुदेको छ त , के हो त्यो नानी ?”
“मामु, वेदर फोरकास्ट गर्ने स्याटलाइट कुदेको बाटो हो त्यो ।” छोरीले भनी । उसले फेरि भनी “यहाँको आकाशमा त यो वेदर फोरकास्ट गर्ने स्याटलाइट हर्दम घुमिरहन्छ । त्यसैले त यहाँको वेदर एक्युरेट हुन्छ नि ।”
हामीकहाँ त मौसमसम्बन्धी समाचारमा पानी पर्छ भनेका दिन घाम लाग्छ, घाम लाग्छ भनेका दिन पानी पर्छ ।
आमाछोरी त्यसै विषयमा कुरा गर्दै थिए । उनीहरूका कुरा म चुपचाप सुनिरहेको थिएँ । कैयौं वर्षदेखि चुसेर अस्थिपञ्जरमात्र नबनाएका भए हाम्रो देशमा हामीले पनि बीसौं वर्षदेखिका जलवायु मापक यन्त्रको भरमा पर्नु पर्ने थिएन होला । भ्रष्टाचारका जरा र हाँगाबिगा नसग्लाएका भए त हाम्रो पनि आफ्नै निजी स्याटलाइट हुन्थ्यो होला, हामीसँगै स्वतन्त्र भएका देश विकासका बाटामा कहाँ पुगे तर हामी कहाँ छौं भन्ने सोचिरहेको थिएँ । वास्तबमा देश कङ्गाल पार्ने त स्वार्थी नेता र भ्रष्ट कर्मचारी नै हुन् भन्ने सोच्दै थिएँ ।
“के सोचेर बसिराख्या ? जाऊँ न ।” सपनाको भनाइले पो झल्याँस्स भएँ ।
म र सपना कारको पछिल्लो सिटमा बस्यौँ, छोरी अघिल्लो सिटमा बसी । ज्वाइँले चलाएको गाडी सडकका दाहिनेतर्फबाट गुड्न थाल्यो ।
छोरीले गाडीमा भएको जीपीएसमा पुग्ने ठाउँ र हिँडेका ठाउँको नाम, ठेगाना टाइप गरी । टाइप गरेका कुरालाई इन्टर गरी । जीपीएसमा एउटी महिलाको सुरिलो आवाज आउन थाल्यो “गो अहेड, टर्न राइट, टर्न लेप्ट, गो अहेड ।” उसको बोली ज्यादै तीखो थियो ।
ग्ााडी अघि बढ्दै थियो । गाडीका सामु बाटै बाटाहरू थिए । ती बाटाहरूमा एकनासले गाडीहरू गुडिरहेका थिए तर सडकका छेउमा कतै एक जना मानिस देखिँदैनथे । त्यहाँको हाइवेतिर मानिस त जानै नपाउँदा रहेछन् । त्यो देखेर सपनाले भनिन् “हाम्रो पूर्व पश्चिम राजमार्गमा त सधैँ मानिसको घुइँचोमात्र हुने होइन, गाईभैंसी, बाख्रापाठा र हाँसकुखुरा पिचमै बग्रेल्ती छाडिएका हुन्छन् । हामीले पनि तिनीहरूको व्यवस्थापन गर्न सक्ने हो भने त चल्लो किचिँदा सडक अवरोध हुने कुराको अन्त्य हुनेथियो कि ।”
“यु आर रङ !” जीपीएसबाट चर्को आवाज आयो । “के भयो दिदीले किन गाली पो गरिन् त ?” छोरीले ज्वाइँसित सोधी ।
ज्वाइँले भन्नुभयो “टर्न लेफ्ट भनेकी रहिछन् मैले राइट टर्न लिएँछु अनि दिदी त मसित आगो भइहालिन् ।”
ग्ााडी चलाउनेबाट त्रुटि भएछ भने पनि जीपीएसले त्यही त्रुटि भएका ठाउँबाट फेरि अर्को बाटोबाट घुमाउँदै घुमाउँदै तोकिएकै ठाउँमा पुर्याउँदो रहेछ ।
जीपीएसको निर्देशन सुन्दै हाइवेमा हामी वायुवेगमा हुइँकिँदै थियौं । घरि उकालो चढ्दै घरि ओरालो झर्दै, कहिलेसम्म बाटोमा कहिले नागबेली बाटोमा, कहिले लेफ्ट टर्न त कहिले राइट टर्न लिएर बायु वेगमा हुइँकिरहेको थियो हाम्रो गाडी । मैले विस्तारै भने यहाँ कतै रेस्टरुम (शौचालय) चाहिँ हुँदैन ? मैले विस्तारै प्रश्न गरें । मेरो भनाइ भुइँमा र्झन नपाउँदै ज्वाइँले भन्नुभयो यो हाइवेमा रेस्टरुम हुँदैन, हाइवेबाट पहिले बाहिर सबवेमा निस्कन पर्छ अनि….। उहाँले मेरो भाव बुझिहाल्नुभयो ।
“हाम्रो काठमाडौँमा पनि यस्ता जीपीएस जडान गरेर हिँड्ने दिन पछि कुनै दिन आउला कि नआउला, ?” सपनाले कल्पनाको कुरा व्यक्त गरिन्् । सडकका दुवैतर्फको एकनासले अनन्तसम्म फैलिएको समुद्र हेरेर म लठ्ठ परिरहेको थिएँ । त्यसैले मैले उनका प्रश्नको जवाफ दिएको थिइन् ।
छोरीले भनी “काठमाडौँको बसोवासै व्यवस्थित छैन त्यहाँ यस्तो जीपीएस जडान गर्ने हो भने त जीपीएस नै बौउलाउन बेर छैन ।”
छोरीका कुराले हामी सबै जना हाँस्यौं ।
बाटामा एउटा पुल आयो । हाम्रो गाडी जुन पुलमाथि गुडिरहेको थियो त्यो भन्दामाथि दुई वटा र तल अर्को एउटा पुल थियो । ती सबै पुलहरूमा दोहोरिलत्त गाडी गुडिरहेका थिए । फेरि कति अनुशासित हँकाइ, ओभर टेक कसैले कसैलाई नगर्ने । हर्न नबजाउने । एकनासले बाहन चलाउने । त्यसबेला मैले आफ्नो देशलाई सम्झिएँ, राजधानी काठमाडौँलाई सम्झिएँ । भित्रैदेखि दिक्क लागेर आयो ।
हामी कहाँ त कसैका गाडी पछाडि पर्नै हुँदैन, ओभरटेक गरिहाल्नु पर्दछ अनि चालकका हातकै छेउमा भएकोे हर्न जुनसुकै बेला पनि न्वारानदेखिको बल झिकेर नथिचे त जातै जान्छ । नजिकै मसिना बालबालिका हुन् कि रोगी असक्त हुन् कि विद्यालय होस् कि अस्पताल नजिक होस् वा कसैका कानको जाली नै किन नफुटुटोस्, त्यसको त बाल मतलव गरिन्न । त्यहाँ त असङ्ख्य गाडी गुडेका ठाउँमा पनि कसैले हर्न बजाउँदा रहेनछन् । हाम्रो देशमा चालकहरूको बुद्धिबङ्गारो खोइ कहिले पलाउला ? मेरा टाउका भित्र एउटा प्रश्नवाचक चिन्ह खडा भयो ।
मुलुकको विकासको पहिलो कुरा बाटो र दोस्रो नागरिक अनुशासन रहेछ । बाटाघाटा बनाउन कन्जुस्याइँ भएन भने अनि सबै नागरिक अनुशासित भए भने विकास त स्वतः स्फूर्त रूपमा हुँदै जानेरहेछ भन्ने मेरो मनले ठम्यायो तर आफ्ना देशमा न त त्यस्ता बाटाहरू देख्न पाइन्छ न नागरिक अनुशासनको परिकल्पना नै । भएका सारसौंदा बाटाहरूलाई अझ फराक बनाउनन पर्नेमा भएका बाटाहरू मिच्ने र सँघुर्याउनेहरू कै हैकम बढी चलेकोछ । भित्रदेखिको पीडा सुस्केरा बनेर बाहिर निस्कियो, बाटाका कारणले आफूले पनि कति झमेला खप्नु परेको छ, त्यसको वर्णन गरेरै के साध्य । हास्यव्यङ्ग्यकार भैरव अर्यालले भानुभक्तको अलकापुरी कान्तिपुरी नगरीको जवाफमा लेखेको एउटा कविताको चार पङ्क्ति मलाई त्यसबेला सम्झना भयो ।
पथ सातफुटे बस नौगजको
सिट बीस भए भीड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अलकापुरी कान्तिपुरी नगरी
हाम्रो गाडी प्यासिफिक ओसनको गल्फ अफ मेक्सिकोको समुद्रका बीचैबीचबाट बनाइएको बाटो छिचोल्दै हुँइकिरहेको थियो । बाटाका दुवैतिर नीलो समुद्र थियो । समुद्रका छालहरू म्ााथि उचालिएर आउने र जाने गरिरहेका थिए । समुद्रमा अनेकौं मानिसहरू माथिमाथि उडेका प्यारासुटका डोरीलाई हातले समातेर समुद्रमा बुर्कुसी मारिहेका थिए, हामी चार प्राणी उनीहरूको पुरुषार्थ हेरेर समयलाई जिस्काउँदै बाटो तताउँदै थियौं ।
बाटामा समुद्रमा निकै उच्च लठ्ठा हालेर बनेको एउटा अग्लो पुल सगरमाथाका देशका नागरिकको स्वागतमा उभिएजस्तो लाग्यो । नाकको डाँडीबाट र्झन लागेको कालो चस्मा देब्रे हातको चोर औंलाले माथितिर ठेल्दै दाहिने हातको चोर औंलाले त्यतै लक्ष गर्दै सपनाले जिज्ञासा मेटाउन सोधिन “अहो कति अग्लो पुल रहेछ ?”
“अस्ति हामी सेन्टपिट जाँदा कार्निभल भन्ने विशाल पानीजहाज डाउनटाउनका छेउमा ठूला लठ्ठाले बाँधेर राखेको देखेका थियौं नि हो त्यही पानी जहाज त्यही पुलको बाटो हुँदै आउँछ, कार्निभल आएपछि पुल पनि खुलेर बाटो खुला हुन्छ, कार्निभल क्रस भइसकेपछि फेरि पुल जस्ताको त्यस्तै भएर बस्छ ।” ज्वाइँ प्रकाशले सपनाको जिज्ञासालाई शान्त पारिदिनु भयो । त्यही बेला छोरीले भनी “अमेरिकाकै अग्लो पुलमध्येमा पर्छ रे त्यो पुल ।”
मैले त्यसबेला पनि आफ्नो देशलाई झलक्क सम्झें । सप्तकोसी, गण्डकी, कर्णाली र महाकाली नदीमा पनि यहींको सिको गरेर पुलको निर्माण गरी जल यातायात सञ्चालन गर्न सकेको भए हाम्रो देशको मुहारै फेरिने रहेछ नि ।
सप्तकोसीमा जल यातायात चलाउनु, समुद्रपारबाट नेपाल भित्रिने सम्पूर्ण सामानहरू हाम्रै चतरातिर विशाल बन्दरगाह बनाउनु, त्यहाँबाट पनि हुन सकेसम्म जल यातायातबाट ओसारपसार गर्नु र जल यातायात चल्न नसक्ने अवस्थामा स्थल यातायातबाट सामान ओसार पसार गर्नु हो भने आफ्नै देशका दाजुभाइले काम र माम दुवैकुरा पाउन सक्थे भन्ने सोचेर म मनको लड्डू घिउसित खाइरहेको थिएँ ।
नेपालका नेताहरूले पनि युरोप अमेरिकामा भएका विकासका कामहरू त देखेका होलान् नि तर उनीहरू सधैं सत्ताप्राप्तिको खेलबाट माथि उठ्न कहिले सकेनन् । जुन जोगी आए पनि कानै चिरेका झोलै भिरेका । कोही कोही राम्रा मानिस पुगे पनि अरू चोरैचोर मिलेर उसैलाई एक्लो वृहस्पति बनाउँछन् । राणा शासन हटेर प्रजातन्त्र आयो, शाहतन्त्र गएर गणतन्त्र आयो तर विवेकमा लागेको भोटेताला नखुलेर नेपालीले पाउनसम्म दुःख पाउन परेको छ । भ्रष्टाचारी कर्मचारी र स्वेच्छाचारी कथित नेताहरूको बोल्ने जिभ्रो र सोच्ने मनमस्तिष्कका बीच तालमेल हुन नसक्नु देश र जनताकै अभाग हो भन्ने म सोचिरहेको थिएँ । ममा अव्यक्त चिन्ताले डेरा जमाइरहृयो । समुद्र सकिएर हाम्रो गाडी बस्तीमा पस्यो ।
“त्यो अग्लो पुरानो पिलरजस्तो चाहिं के हो नि ?” सपनाको प्रश्नले म सोचमग्न संसारबाट तल उत्रिएँ ।
बिजुलीबत्तीको आविष्कार हुनुभन्दा पहिलेका लाइटहाउस हुन् ती बत्ती बल्ने ठाउँभन्दा माथिबाटचाहिँ उहिले बाजा बजाएर मानिसहरू भेला पारी सूचना दिने गर्दथे रे । किनभने त्यसबेला रेडियोको आविष्कार भएकै थिएन । हाम्रो देशमा पनि भीमसेन थापाले बनाइदिएको नेपालको धरहरा सर्वसाधारणलाई सूचना दिन बनाइएको हो भन्ने कुरा धेरैलाई हेक्का नहुन पनि सक्छ । बेलायतको पोस्टअफिस टावर र फ्रान्सको पेरिसमा रहेको इफल टावरको प्रतिनिधि ठानेँ मैले ती लाइट हाउसलाई । कसैले त ती लाइट हाउसलाई इन्फरमेसन हाउस पनि भन्दा रहेछन् ।
“विजुली बत्तीको विकास नभएको बेला अमेरिकामा राज्यले यस्तै लाइट हाउसमा बत्ती बालेर सडक उज्याले पाथ्र्यो रे ।” छोरीले भनी ।
हाइस्कुलमा पढ्दा अब्राहम लिंकनको जीवनी पढेको सम्झना भयो मलाई । लिंकन गरिब दाउरेका छोरा हुनाले उनी विद्यार्थी छँदा किताब किन्न सक्दैनथे । साथीसँग किताव मागेर ल्याउँथे र रातभरि सडकबत्ती मुनि बसेर पढ्थे । लिंकनका समयमा बिजुली बत्ती त थिएन कस्तो बत्तीमा पढ्थे, अतिसयोक्ति पो हो कि भन्ने लाग्दथ्यो । वर्षौंदेखि नपाएको प्रश्नको जवाफ त्यसबेला पाएजस्तो लाग्यो मलाई ।
मैले नियालेर हेरें लाइट हाउसलाई । आफ्ना पुराना कुरा भावी पुस्तालाई देखाउनु पर्दछ भनेर कति मजाले तिनीहरूको संरक्षण गरेका छन् उनीहरूले । हामीकहाँ यस्तो उदार सोच कहिले कसैमा आउन सकेको छैन । पाल्पामा कालीगण्डकीका किनारमा अवस्थित नेपालको ताजमहल अर्थात् रानीमहल जीर्ण भएर भत्कन लागेको समाचार केही वर्षअघि पढेको सम्झना भयो, पृथ्वीनगरको किचकबध पोखरीको बेहालको खबर पनि सम्झना भयो मलाई । सुदूरपश्चिम नेपालका अति पिछडिएका राउटेजातिको विकासका लागि छुट्याएको बजेट आफ्नै भोटर ख्याउटेको भलाइमा लगाए सत्ताको हालीमुहाली गरेर बस्नेले भन्ने समाचार पनि पढिएकै हो । अनि गणतान्त्रिक आन्दोलनमा शहिद भएका परिवारका लागि छुट्याएको छात्रवृत्तिको कोटामा नेताका छोराछोरीले पढ्दैछन् भन्ने समाचार पनि अखवारमा पढिएकै हो । जनआन्दोलनमा घाइते भएर अपाङ्गता लिएर बाँचेका र सहिदका परिवारको अवस्थालाई सम्झेर मलाई रुन मन लागिरहेको थियो ।
हामी सर्वसाधारणदेखि नेतासम्मका कुनै कसैले पनि महानता प्रदर्शन गर्न कहिले सकेनौ । उदाहरण बन्न कहिले सकेनौ । व्यक्तिगत स्वार्थबाट माथि उठ्न सकेनौं । कुनै कुराको फाइदा हुन्छ भने आचार, विचार, नीति, सिद्धान्त, धर्म छाड्न पनि कहिले पछि परेनौँ भने हामी खिएर साना बामपुड्के हुँदैछौं भन्न केको आइतबार ? मलाई भूपी शेरचनको ‘हामी’ शीर्षक कविताको पङ्क्तिको सम्झना भयो ।
हामी बाहिरबाट जति सुकै उच्च देखिए तापनि
भित्रभित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी लिलिपुटका मानव हौ
हामी लघु मानव हौं (घुम्ने मेचमाथि अन्धो मान्छेबाट)
म यस्तै अनेक कुरामा सोचमग्न भएँ । हामी एउटा वनका नजिकै पुगेका थियौं । “यु हृयाब रिच्ड योर डिस्टिनेसन” जीपीएसले गन्तव्यमा पुगेको उद्घोष गर्यो । हामी कारैकार पार्किङ गरेर राखेका ठाउँमा पुग्यौं । कारबाट निस्केर ज्वाइँले पार्किङलटको एउटा पिलरमा आफ्नो क्रेडिटकार्ड घोट्नुभयो । त्यही पिलरको तल्तिरको प्वालबाट रिसिप्ट बिल फुत्त निस्कियो । त्यो बिल कारको अगाडिको सिसाबाट प्रष्ट देखिने गरी राखिदिएर हामी अठारौं शताब्दीको अमेरिकाको प्रतिरूप कस्तो थियो होला भन्ने व्यग्र उत्सुकतासाथ हेर्न हेरिटेज भिलेजको गेटतर्फ छिटोछिटो पाइला चाल्नथाल्यौं । घडी हेरें दिउँसोको पौने २ बजेछ । घाम लागेर एक तमासको रमाइलो र घमाइलो वातावरणमा समयलाई जिस्काउँदै हामी हेरिटेज भिलेजको कलात्मक गेटतर्फ लाग्यौं ।
फेब्रुअरी ५, २०१०, फ्लोरिडा, अमेरिका
मधुपर्क २०६८ बैशाख
