१. आमुख
नेपाली साहित्यको कथा विधामा करिब पचास वर्षदेखि निरन्तररूपमा कलम चलाउँदै आएका विशिष्ट साहित्यकार सनत रेग्मी कथा क्षेत्रका सशक्त कथाकार हुन् । वि.सं. २००४ सालमा जन्मिएका रेग्मीको साहित्यिक कलम कथा विधामा नै समर्पित देखिन्छ । हालसम्म उनका ‘मातृत्वको चित्कार’ (२०२४), ‘चन्द्रज्योत्सना र कालो बादल’ (२०२५) ‘दिनान्त’ (२०३५, ‘बन्द कोठाहरूको सहर’ (२०४५), ‘लछमनीयाको गौना’ (२०५१), ‘समयसत्य’ (२०५४), ‘सनत रेग्मीका प्रतिनिधि कथा’ (२०६०), ‘स्मृतिदंश र अन्य कथाहरू’ (२०६६) गरी आठओटा कथासङ्ग्रहहरू प्रकाशित देखिन्छन् । मूलतः साहित्यिक, समाजसेवी र राजनीतिक गरी त्रिआयामिक व्यक्तित्वका धनी सनत रेग्मीको साहित्यिक व्यक्तित्व अझ प्रभावकारी देखिन्छ । साहित्य लेखनमा उनको उपस्थिति निबन्ध कविता आदि विधामा समेत रहेको भए पनि उनलाई कथा लेखनले नै साहित्यको सर्वोच्च उचाइमा पुर्याएको देखिन्छ । कथा लेखनमा निरन्तर र अविश्रान्तरूपमा यात्रारत रेग्मीका कथायात्रा तुलनात्मकरूपले हेर्दा केही मन्द गतिमा चलेको देखिए पनि गुणात्मकता र प्रभावकारिताका दृष्टिले भने उनका कथाहरू अग्रस्थानमा देखिन्छ ।
२. ‘स्मृति-दंश र अन्य कथाहरू’ मा विषयवस्तुगत सन्दर्भ
सनत रेग्मीको कथायात्राको पछिल्लो समयमा लेखिएको ‘स्मृति-दंश र अन्य कथाहरू’ शीर्षकको कथासङ्ग्रह समसामयिक विषयवस्तुमा आधारित उल्लेखनीय कथासङ्ग्रहका रूपमा देखिन्छ । जीवन भोगाइका क्रममा देखेका, भोगेका र सुनेका विभिन्न घटना तथा अनुभूतिहरूलाई कल्पना शीलताका रङ्गमा मिसाएर लेखिएका प्रस्तुत सङ्ग्रहका कथाहरू विविध विषयमा केन्दि्रत भई विभिन्न अन्तर्वस्तुहरू संयोजित भई निर्माण भएका देखिन्छन् । लामा छोटा गरी जम्मा तीस ओटा कथाहरूलाई सङ्गृहीत गरिएको प्रस्तुत कथासङ्ग्रहका कथाहरू आकार प्रकारका दृष्टिले, विषयवस्तुका दृष्टिले, प्रस्तुति र शैलीका दृष्टिले विविधतायुक्त देखिन्छन् । लामा, मझौला र छोटा गरी तीन प्रकारका आकारप्रकार भएका प्रस्तुत कृतिका अधिकांश कथाहरू लघुकथात्मक ढाँचाका पनि देखिन्छन् । वि.सं. २०५४ देखि २०६२ सम्मका करिव एक दशक समयावधिमा लेखिएका र विभिन्न साहित्यिक पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका कथाहरूको संयोजन गरिएको प्रस्तुत कृतिमा १ पृष्ठको लघुकथा भन्न मिल्ने कथादेखि १५ पृष्ठसम्मको लामो कथा पनि समावेश गरिएको छ । देशको समसामयिक राजनीतिक परिवेशको चित्रण, समाजमा देखिएका विविध प्रकारका विसङ्गति र विकृतिप्रति व्यङ्ग्य, मानवीय मूल्य र मान्यतामा आएको ह्रासको विभिन्न सन्दर्भसँग जोडेर चित्रण तथा प्रणय र यौनपरक सन्दर्भहरूको प्रस्तुति रहेको यस सङ्ग्रहका कथाहरू विविधतामय देखिन्छन् । जम्मा ३१ ओटा कथाहरू भएको र १२२ पृष्ठको आयाममा फैलिएका यस कृतिका कथाहरूमा स्थानीय परिवेशको चित्रण, आञ्चलिकता, गरिबी, ग्रामीण समाजको चित्रणदेखि विदेशी परिवेशमा आधारित पाश्चात्य संस्कृतिलाई आधार बनाई लेखिएका कथाहरू पनि सङ्गृहीत छन् । नेपालको राजनीतिमा आएको गृहयुद्धका समयमा लेखिएका यस कृतिका कतिपय कथाहरूमा तत्समयका राजनीतिक क्रान्तिले पारेका प्रभावहरूको व्यङ्ग्यात्मकरूपले चित्रण गरिएको छ । यसरी विविध सन्दर्भ र विविध पक्षहरूको संयोजन गरिएका यस कथाकृतिका रचनाहरूलाई विषयवस्तुको आधारमा निम्नप्रकारले वर्गीकरण गरेर चर्चा गरिन्छ!
१. सामाजिक विषयवस्तुमा सन्दर्भित कथा ।
२. राजनीतिक विषयवस्तुमा सन्दर्भित कथा ।
३. प्रणय र यौनपरक विषयवस्तुमा सन्दर्भित कथा ।
४. वैचारिक विषयवस्तुमा सन्दर्भित कथा ।
५. साहित्यिक विषयवस्तुमा सन्दर्भित कथा ।
२.१. सामाजिक विषयवस्तुमा सन्दर्भित कथा ः
प्रस्तुत ‘स्मृति-दंश र अन्य कथाहरू’ कृतिमा सङ्गृहीत कथाहरूमा सामाजिक पक्षमा देखिएका विविध वास्तविकताहरूलाई उजागर पारिएको छ । अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि आफ्नै देशको विकट ग्रामीण सामाजिक परिवेशको चित्रण पाइने यस कृतिका कथाहरूमा समाज देखिने गरिबी, अशिक्षा, विसङ्गति, अन्याय, दुःख, पीडा, सङ्कीर्णताजस्ता सन्दर्भहरूलाई विभिन्न घटना, पात्र र परिवेशका माध्यमबाट कथामा अभिव्यक्त गरेको पाइन्छ । विभिन्न परिवेशमा तयार पारिएका यी सामाजिक विषयवस्तुमा सन्दर्भित कथाहरूलाई अन्तर्वस्तुको दृष्टिले तालिकावद्धरूपमा यसप्रकार देखाइन्छ ः
माथि दिइएका कथाहरूमा कतै प्रतीकात्मक रूपमा सामाजिक पक्षमा देखा परेका नकारात्मक प्रवृत्तिहरूलाई देखाई ती प्रति व्यङ्ग्य गरिएको देखिन्छन् भने कतै समाजमा भएका र हुने गरेका सामान्य घटना वा सन्दर्भहरूलाई जोडेर यथार्थको चित्रण गरिएको छ । यसरी जुन प्रकारले प्रस्तुत गरिएका भए पनि यी सामाजिक विषयवस्तुमा सन्दर्भित कथाहरू असन्तुष्टिको प्रकटीकरण र अनुभूतिप्रधान भएर अभिव्यक्त भएको देखिन्छ । विभिन्न परिवेश र समयलाई लक्ष्य गरेर लेखिएका यी कथाहरूमा प्रत्यक्ष वा परोक्षरूपमा नेपाली समाजको यथार्थतालाई प्रकट गरिएका छन् ।
२.२. राजनीतिक विषयवस्तुमा सन्दर्भित कथा
प्रस्तुत कृतिमा सङ्गृहीत कथाहरूमध्ये अधिकांश कथाहरू राजनीतिक विषयवस्तुमा सन्दर्भित देखिन्छन् । नेपालको १२ वर्षे जनयुद्धकालका समयमा लेखिएका प्रस्तुत सङ्ग्रहका कथाहरूमा युद्ध र राजनीतिक क्षेत्रमा देखा परेका विसङ्गतिहरूलाई विभिन्न किसिमबाट प्रस्तुत गरेको देखिन्छ । हत्या र हिंसाको राजनीतिले साधारण जनमानसमा पारेका नकारात्मक प्रभाव तथा यसको प्रयोजनका सम्बन्धमा समेत सन्दर्भित भएर कतिपय कथाहरू लेखिएका देखिन्छन् । कथाहरूमा राजनीतिक विषयको अन्तर्वस्तुगत सन्दर्भ एकैरूपमा नभई विविध प्रकारले प्रयोग भएको पाइन्छ । कतै व्यङ्ग्यात्मकरूपमा कतै प्रतीकात्मक रूपमा, कतै यथार्थको प्रस्तुतिका रूपमा र कतै आलोचनात्मकरूपमा लेखिएका यी कथाहरू अधिकांश चाहिँ सङ्क्षिप्तरूपमा देखिन्छन् । विभिन्न सन्दर्भमा आधारित भएर लेखिएका यी कथाहरूलाई अन्तर्वस्तुका दृष्टिले तालिकाबाट यसप्रकार देखाइन्छ!
माथि उल्लेख गरिएका एघार ओटा कथाहरू कुनै न कुनै रूपमा राजनीतिक पक्षसँग सन्दर्भित भएर आएका छन् । कुनै कथामा राजनीतिक क्षेत्रमा भएका विसङ्गति विकृति देखाई तिनप्रति व्यङ्ग्य गरिएको छ भने कुनै कथाहरूमा राजनीतिक युद्धका कारण भएका हत्या हिंसा र यसले पारेका प्रभावहरूको चित्रण गरिएको छ । यसरी विभिन्न सन्दर्भ र परिघटनाहरूलाई जोडेर लेखिएका यस सङ्ग्रहका अधिकांश कथाहरू राजनीतिक विषयवस्तुमा सन्दर्भित देखिन्छन् ।
२.३. प्रणय-यौनपरक विषयवस्तुमा सन्दर्भित कथा
प्रस्तुत सङ्ग्रहका केही कथाहरूमा प्रणय वा यौनपरक विषयवस्तुलाई पनि कथानक बनाई प्रस्तुत गरिएका छन् । संस्मरणात्मक शैलीमा लेखिएका यी कथाहरूमा प्रतीकात्मकरूपमा संस्मरणात्मक रूपमा र जैविक आवश्यकताका रूपमा यौनलाई चित्रण गरिएका छन् ।
शिष्ट श्लील र प्रतीकात्मकरूपमा लेखिएको हुँदा प्रस्तुत कृतिका यौनपरक कथाहरू प्रभावकारी र सुन्दर देखिन्छन् ।
२.४. वैचारिक विषयवस्तुमा सन्दर्भित कथा
‘स्मृति-दंश र अन्य कथाहरू’ कृतिका केही कथा विचारप्रधार कथाका रूपमा देखिन्छन् । घटना, चरित्र तथा परिवेशको चित्रणमा भन्दा पनि विचार पक्षको बढी प्रवलता देखिएका यस्ता कथाहरूमा तर्क र धारणाहरूलाई कथानकमा अन्तगर्भित भएका देखिन्छन् ।
माथिका चारओटा कथाहरूमा पात्र, विषय र घटनाहरू रहँदा रहँदै पनि यी कथाहरू वैचारिक कथाका रूपमा अभिव्यक्त भएका छन् । अन्य पक्षका तुलनामा विचारपक्ष प्रमुख भएर आएका यी कथाहरूमा कतै कुनै दृश्य देखिसकेपछि त्यसबाट उठेका विचारहरूलाई कथावस्तु बनाइएका छन् भने कतै आध्यात्मिकतासँग सन्दर्भित विचारहरूलाई कथाका माध्यमबाट अभिव्यक्त गरिएका छन् । विभिन्न शैली र प्रस्तुतिमा आधारित भएर वैचारिक विषयवस्तुमा सन्दर्भित कथाहरू लेखिएका छन् ।
२.५. साहित्यिक विषयवस्तुमा सन्दर्भित कथा
विषवस्तुमा विविधता भएको यस कृतिमा साहित्यसँग सम्बन्धित विभिन्न प्रसङ्ग र घटनावलीहरूलाई समेत विषयवस्तु बनाएर लेखिएका कथाहरू समाविष्ट छन् । साहित्यिक क्षेत्रमा देखिएका विकृति, विसङ्गतिका साथै यस क्षेत्रमा लागेका मानिसहरूमा पाइने मनोवृत्तिको चित्रण गरी लेखिएका कथाहरूमा प्रशस्तरूपमा व्यङ्ग्यात्मकता पनि पाइन्छ । यी कथाहरूमा कतै एउटा साहित्यकारले खेप्नुपरेको आर्थिक विषमता र त्यसले पारेको प्रभावका बारेमा चित्रण गरिएको छ भने कतै विचार बौद्धिकता शून्य मान्छे धन र पैसाको आडमा साहित्यकार बन्न पुगेको यथार्थमाथि व्यङ्ग्य गरिएको छ भने कतै यस क्षेत्रलाई अनुत्पादक भनी हेयभाव राख्ने प्रवृत्ति र आफैँ सामन्ती भएर पनि सर्वहाराको कथा लेख्दै प्रगतिवादी साहित्यकार बन्ने प्रवृत्तिमाथि पनि व्यङ्ग्यात्मक किसिमले चित्रण गरिएको पाइन्छ ।
माथिका साहित्यिक क्षेत्रमा भएका विभिन्न प्रसङ्गहरूलाई विषयवस्तु बनाई लेखिएका यी कथाहरूमा यथार्थको चित्रण पाइनाका साथै यस क्षेत्रमा देखिएका नकारात्मक पक्षप्रति पनि तिखो व्यङ्ग्य गरिएको छ । कथाकारले यी कथाहरूका माध्यमबाट साहित्यिक क्षेत्रका विसङ्गतिप्रति असन्तुष्टिसमेत प्रकट गरेको देखिन्छ ।
३. निष्कर्ष
विभिन्न विषयक्षेत्रसँग सम्बद्ध भएर लेखिएका तीसओटा कथाहरूको सङ्कलन रहेको यस कथासङ्ग्रहभित्रका कथाहरूमा आकार, संरचना, विषय, परिवेश आदि विभिन्न दृष्टिले विविध प्रकारको रहेको देखिन्छ । सनत रेग्मीका अन्य कृतिका कथाहरूमा भन्दा यस सङ्ग्रहका कथाहरूमा अनुभूति र विचारपक्षको प्रवलता, आध्यात्मिक चेतना, वाहृय पक्षमा भन्दा आन्तरिकपक्षमा जोड तथा सन्देशमूलकता बढी पाइन्छ । सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित रेग्मीमा यी कथाहरूमा पनि समकालीन नेपालको प्रतिविम्ब झल्कनुका साथै मानिसका अनेकौँ प्रवृत्तिहरूको चित्रण गरी त्यसमाथि असन्तुष्टि समेत व्यक्त गरिएको पाइन्छ । मूर्त, सहज र सरल खालका कथा लेख्ने कथाकार सनत रेग्मीका कथाहरू मानवीय संवेदनाको मूर्तरूप बनेर प्रकट भएको देखिन्छ । यस प्रकार ‘सर्पदंश र अन्य कथाहरू’ मित्रका कथा अन्तर्वस्तुको विविधता पाइन्छ र वस्तुविन्यास प्रभावपूर्ण देखिन्छ ।
रत्ननगर, चितवन
मधुपर्क २०६८ बैशाख
