ल्होछार-ल्हो माने वर्ग, छार भन्नाले नयाँ वर्ष । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछारको ठुलो महत्त्व रहेकेा छ । यस वर्ष ताक (बाघ) वर्षको विदाई र ह्योई (खरायो) वर्षको स्वागतमा ल्होछार मान्ने तयारीमा गाउँदेखि सहरसम्मका तामाङ समुदाय जुटिरहेका छन् । ल्हो(वर्ग) बाह्रवटा हुन्छन् । अर्थात त्यसलाई ल्होखोर च्युङी भनिन्छ ।

विभिन्न पशुपंक्षी र जनावरका नामबाट ल्हो को नाम राखिएका छन् । प्रत्येक वर्ष एक-एकवटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोवा वा ल्हो दोवा भनिन्छ ।

तामाङ जातिले मान्ने ल्होछार (नयाँ वर्ष) प्रत्येक वर्षको माघ शुक्लपक्ष प्रतिपदाको दिनदेखि अर्थात चन्द्रवर्षको (प्रथम चन्द्र महिनाका) पहिलो दिनदेखि प्रारम्भ हुन्छ । ल्होछार पर्वको प्रारम्भको सम्वन्धमा यकिनका साथ भन्न नसकेपनि चिनिया ज्योतिषशास्त्रको इतिहास मा ४७०० वर्ष अगाडिदेखि मान्न थालिएको उल्लेख गरिएकेा छ । चीन तिब्बतका बहुसङ्ख्यक जनताले माथि उल्लेखित समयमा नै ल्होछार(ल्होसार) मान्ने गर्दछन् ।

ल्होछार पर्वको पूर्व तयारी- विशेष गरी यस पर्वको आउनु एक महिना अगाडि देखि नै तयारी सुरू गरिन्छ । गत वर्ष थालेर अधुरो रहेका कामहरू पुँरा गर्ने, आर्थिक हिसाव किताब मिलान गर्ने गरिन्छ । नयाँ वर्षका अप्रिय घटनाहरू नघुटुन भन्ने कामनासहित स्वस्ती शान्ति कर्मकाण्ड गरिन्छ । वितेकेा वर्षको अन्तिम दिन गाउँ, टोल, बाटोघाटो, आँगन, धारा, पँधेरो र चौताराहरू समेत सबैकेा सफाई गरिन्छ ।

ल्होछारको पूर्व सन्ध्या (ल्होछार इभ) पुरानो वर्षको अन्तिम दिन बिहान बत्ती बाल्नका लागि गुम्वाहरूमा जान्छन् । लामाहरूले नयाँ वर्षमा अपसकुन नपरोस्, प्रेतात्माले दुःख नदेओस् भन्ने कामनाका साथ मकुण्डो लगाएर नाच्ने गर्दछन् । ल्होछार पर्व मनाउने समुदायका हरेक व्यक्तिले नयँा वर्षलाई खराव, अपसकुन र विभिन्न बाधा अड्चनममुक्त वर्षका अवसरका रूपमा हेर्ने परम्परा रहेको छ । आ-आफ्नो थर, कुल र वंशको परम्परा अनुसार कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरूबाट आशिर्वाद तथा शक्ति माग्ने गरिन्छ ।

त्यसैगरी आगामी वर्षमा अन्नवाली सप्रियोस् भन्ने कामना गर्दै डालोमा बीउबिजन राख्ने तथा टुसा पलाएको वीउविजन राखी पुजापाठ गर्ने गरिन्छ । ल्होछारको अवसरमा सकेसम्म स- परिवार घरमा भेला भई भोज खाने, आतासवाजी गर्ने र नाचगान गरी साँझमा बालेको बत्ती रातभर बालि राखिन्छ ।

बत्तीले (दीपक) अँध्यारोलाई हटाई उज्यालो पारे जस्तै गरी परिवारमा सधैं हासी-खुसी छाइरहोस् भन्ने उद्देश्यले आकाश दीप बनाई घर-आगनमा रातभर बालिन्छ ।

ल्होछारको दिन- घरको जेठापाको सदस्य नुहाएर सफा चोखो भई बुद्धको तस्वीर अगाडि पानी, फलफूल्ँा कन्दमूल-आलु, ्भ्याकुर, खाप्से गेङ(ल्होछारमा बनाइएको विशेष रोटी) वावर आदि पकवानहरू चढाएर प्रार्थना गरिन्छ । सो अवसरमा आफ्ना पुर्खाहरूप्रति ध्ान्यवाद ज्ञापन गर्ने र समृद्धिको काम गरी परिवारका लागि आशिर्वाद मागिन्छ । पूजामा चढाइएका सामग्रीहरू पाहुनाहरूलाई नयाँ वर्षको सगुन तथा प्रसादको रूपमा वितरण गरिन्छ ।

पूजा सकेपछि सुख शान्ति निरोगीपन र दीर्घायुको लागि सवै सदस्यहरूलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघिउ तथा कोकोम्हेन्दो(टटेलाको फूल) को टीका तथा खादा आशिर्वाद स्वरूप दिने र परिवारको सदस्यले आफूभन्दा ठुलालाई ढोगेर खादा, उपहार दिई सुख शान्तिको कामना गरिन्छ ।

सोही दिन नयाँ वर्षको आगमनले समस्त जगतकै प्राणीहरूको कल्याणको कामना गरी साइत हेरीे हेराई ल्होछारको प्रतिकका रूपमा घर, गुम्वाहरूमा लुङदर दज्र्यु गाड्ने परम्परा रहेको छ ।

ल्होछार पश्चात- ल्होछार पर्वको भोलिपल्टदेखि मान्यजन, नातागोता र साथीसङ्गीको घर गई खादासहित भेटघाट गरी शुभकामना र आशिर्वाद आदान-प्रदान, चेलीबेटीलाई आमन्त्रण, गरी खुवाउने गरिन्छ ।

ल्होछार पर्वमा बनाइने विशेष खाद्य परिकारहरू –

(क)खाप्से-गहुँ, जौ, चामलको पिठोलाई चिनी र घिउसँग मुछी विभिन्न आकृतिमा काटेर घिउमा पकाएको रोटी ।

(ख) भाल्डु-तीते फापर तथा फापर वा सेतो कोदोको पिठोबाट बनाइएको परिकार ।

(ग) आलुम-गहुँ वा कोदोको पानी रोटी ।

(घ) बाबर-कुल पूजामा चढाइने सादा बाबर ।

(ङ) कन्दमूल-सवै प्रकारका तरूल, भ्याकुरहरू र विशेष बनतरूल र अन्य फलफूलहरू ।

(च) माछा, मासु ।

(छ) सेरसाङ-(पवित्र रत्न) फलाम, तामा, सुन र चाँदीको पानी ।

(ज) कारसुम-(सेती तीन पदार्थ) दुध, दही, नौनीघिउ

(झ) ङारसुम-(गुलियो तीन पदार्थ) चिनी, सखर, मह ।

(ञ) छेमार- मकै, गहुँ, चामललगायतका खाद्य पदार्थको सातु ।

(ट) गुथुग्पा- नौथरी खाद्य पदार्थहरू मिसाएर बनाइएको खाना, गुथुग्पासम्गै भाग्य चिन्ने सुभ चिन्ह वा प्राणीहरूको प्रतिकृति बनाइएको मिष्ठान्नहरू खाने प्रचलन रहेको छ ।

ल्होछार पर्व नेपालमा तामाङ, ल्होल्मो, मनाङ्गे, हुम्लीतामाङ, डोल्पाली, शेर्पा, तोप्केगोला, सिङ्सा, ताङ्वे, थकाली, जिरेल, गुरूङ, खाममगर, दुरा, भोटे नेस्याङ्बा आदि हिमाली तथा पहाडी मूलका आदिवासी/जनजातिहरूले ल्होछार (नयाँ वर्ष) चाड मान्दछन् ।

चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताइवान, मलेसिया, र सिङ्गापुरमा समेत माघ शुक्ल प्रतिपदाका दिन ल्होछार पर्व मनाइन्छ ।

शनिबार, गोरखापत्र
माघ १५, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *