झ्यालको पारदर्शी काँचबाहिर परेको
हिउँसँग रात झरिरह्यो।
भित्ताबाहिर खोपामा बास बसेको परेवा
साथ छुटेर हो वा एक्लोपनामा
रातभर घुरिरह्यो, म ब्यूँझिरहेँ।
बाहिरको चिसो एकान्त
मभित्र पनि पोखिएको छ
बन्द कोठाभित्र छु, बाक्लो सिरकमुनि
एक्लो र चिसो मन अझ कठ्याँग्रिंदै छ
झर्दै गरेका फुसफुसे हिउँका केस्राहरू
झ्यालमाथिबाट
मेरा सपना र रहरहरू चिस्याउँदै बिलाइरहे छन्।
यो थपिएको चिसोमा
मेरो एकान्त अझ चिसिइरहेको छ।
मेरा आवेग र अठोटहरू पनि चिसिइरहेकै छन्।
मन एक्लिएर कताकता बतासिन खोज्छ
तर, भारी मन बढ्न सक्दैन।
सायद गन्तव्यमा पनि हिमपात भएको छ।
मेरो उकालीमा पनि हिउँ जमेको छ।
मेरो ओरालीमा पनि हिउँ जमेको छ।
अलपत्र, अघि बढ्ने बाटाहरू हिउँले पुरिएका छन्
स्तब्ध म, निस्तब्ध रातसँग कानेखुसी गरिरहेछु।
परेवा कठ्याँग्रिएर होला, निस्तब्धता चिरिरहेछ
अप्रत्यासित परेको हिउँ
कालो रातलाई सेताम्मे चिस्याइरहेछ।
मेरा कामनाहरू जाडोले लुगलुग काँप्दै
मेरो अस्तित्वलाई गिज्याइरहेछन्।
मेरो समर्पणलाई गलत अर्थ लगाएर
रात स्पन्दनहीन झरिरहेछ।
मनका अटेसमटेस सपनाहरूलाई
बोझिल परेलीका डिलहरूमा जमाएर
निष्ठुर हिमपातले सेतै बनाएको
घरको कुनै छानोजस्तै
एकढिक्का हिउँझँै जमेर
एउटा युगलाई आफैँमा समेटी, किंकर्तव्यविमूढ
म आफूभित्रको नितान्त एक्लोपना बाँचिरहेछु ।
नेपाल साप्ताहिक ४३०
