मलाई थाहा छ डढेलो गएको वनमा फेरि जराबुटा पलाउन सक्छ
साउनको भेलले बगाएर बंजर भएको भूमिमा फेरि खेती हुन सक्छ
तर यो मेरो खरानी भएको मन कहिल्यै हरियो हुन सक्दैन
मातृत्वको मृगतृष्णा झै भट्किएको जीवन कहिल्यै फर्कन सक्दैन
मलाई लागेको थियो तिम्रो जन्मले मेरा सबै सपनाहरू पुरा हुनेछ
यो अभाव र रिक्तताले भरिएको जीवन सबै भरिपूर्ण हुनेछ
त्यही सपना बुन्ने क्रममा म एकहोरो ममता बर्साईरहन्थे
माया ममता सर्वस्व तिमीलाई सुम्पी स्वप्न संसारमा हराईरहन्थे
आमा भनी गरिएका ती सम्बोधनहरू जब म सम्झन्छु
मेरो हृदय टुक्रिएर शिशा झै हुदाँ पनि बटुल्दछु
गुन्जन्थे जब तिम्रा ती कन्चन सुमधुर हसाँईहरू वरिपरि
नतमस्तक भै म सुन्दथें र मान्थें तिमी नै मेरो सर्वोपरि
तिम्रा ती मप्रति देखाउने प्रेम पर्दशनहरू मलाई लाग्दथ्यो आत्मीय
हात हल्लाई हल्लाई बोल्ने ती तोते बोलीहरू झनै कर्णप्रिय
अबोधताले भरिएको ती दृष्टिहरूले मलाई आज पिरोल्दैछ
तिम्रा दुई नयनबाट झरेका अश्रुहरूले मलाई पोल्दैछ
लाग्दछ यो त एउटा कथा थियो जसको थिएँ म पात्र
अनि तिमी मेरो मुटुको टुक्रा तर दैव भएछ खलपात्र
सम्झदाँ पनि जिरिङग् हुन्छ आज मन यो मेरो
सदैव तिम्रा झझल्को घुमिरहन्छ मेरो सेरोफेरो
हे दैव मैले गरे के पाप सजाय दियौ सबको माझ
आमा हुनु नै मेरो अपराध थियो भने लौ तयार छु म आज
देउ मृत्यु मलाई पनि किन राख्छौ तड्पाई हरेक साँझ
गर राज्य तिमी एकलौटी हरेक वात्सल्यतामाथि राज
म मरें तिम्रो लागि किन मलाई जिउँदो लास बनायौ
यस्तो लाग्छ सम्पूर्ण सृष्टि रिस मैमाथि खनायौ
देऊ पीडा अझ मलाई अब त लाग्न थाल्यो मीठो
दुख, दर्द बिनाको जीवन महशुस गर्छु किन किन नमीठो
(२०६७ साउन महिनाको बाढीले बगाएर दुईजना बालकद्वयको, जो दाजुभाइ र मेरो विधार्थी थिए, मृत्यु हुदाँ एउटा आमाले महशुस गरेको पीडालाई पोख्ने जमर्को)
बिना तामाङ्
काठमान्डौ ।
