Skip to content

तिम्रो सलनाल र मेरो माघे मेला


कति नयाँ बर्ष मनाउँछौ
कस्ता कस्ता नयाँ बर्ष मनाउँछौ
कहिले चुसकमा झुम्मिन्छौ अरे

कहिले अल्लाहमा खुम्चिन्छौ अरे
कहिले इदमा रमाउँछौ
कहिले क्रिसमसमा कराउँछौ
अनि कहिले सलनालको
चिसो जाडोमा मुटु कमाउँछौ
खै म कसरी तिम्रो त्यो
वास्तविकतालाई बोध गरूँ
परदेशका तिम्रा ती नयाँ बर्षहरू
परदेशका तिम्रा ती दशैहरू
परदेशका तिम्रा ती तिहारहरू !

एक पल्ट फेरि शुभकामना टक्र्यायौ
सलनालको भन्दै !
खुसी र सम्बृद्धिका कामना गर्यौ
नयाँ बर्षको भन्दै !
‘वल्लो घाट न पल्लो तिर’
न मैले सलनालको मर्म नै बुझ्न सकें
न परदेशको नयाँ बर्ष नै अनुभुत गर्न सकें
म त तावा र तमोरको किनारमा
सभाखोलाको माच्छा झिरमा उनेर
झिक्रा र दाउराले पोलेर
ढुङ्गाको सिरानीले
खुल्ला आकाश ओढेर
स्वातन्त्र चपाइरहेछु
सुन्दर जीवन अनुभुत गरिरहेछु,
कहाँ मैले तिमीले जस्तो
श्रीजङ्गा सांस्कृतिक सौगातमा
झुमिने मौका पाएँ र…………??
कहाँ तिमीले जस्तो
आँधीखोला साङगेतिक सौगातमा
रमाउनु पाएँ र…………….. ??

तिम्रो सलनाल सुन्दर नगरको बगैचामा
सिंगारिएको मण्डपमा प्रस्तुत होला
चार हजार किलोवाट भोल्टका
ध्वनिबक्सले संगीतमय होला
मेरो संगीत त यही न हो
मर्स्याङ्दीको एकोहोरो सुसेली,
हलेसीको भजन, फिकलको लैबरी
तमोर र तावा, रतुवा र मावाका
निरन्तर रुखो स्वरहरू…………!
तिनाउ र नारायणीका अनुदरीय तरङहरू….!!

तिमी मनाऊ तिम्रो सलनाल
भीडै भीडको बिचमा,
खचाखच भरिएका बेन्चहरूमा
उफ्र, चिच्याऊ कराऊ अनि रमाऊ
क्षणिक आनन्दको लागि..!,
म त चियर र बेन्चको बदला
धारे ढुङ्गामा टाँसिएर
तलको माइमेला हेर्छु
माघे मेला भर्छु, माइधार र दोमुखामा हर्षित हुन्छु,
पुसेले मलाई स्वागत गर्छ
उता रानी मेलाकी सोल्टीनी पाहुना पर्खिरहन्छिन,
ममा भाइचारा कायमै छ,
प्रकृति प्रद्धत्व प्रेम कायम छ
अनि म स्वाच्छन्द र स्वातन्त्र
मान्छे हुनुको गर्व कायमै छ,
यद्यपि मन दुखाउने छैनौ
शुभकामना छ तिमीलाई
तिम्रो सलनालको……….
तिम्रो नयाँ सालको………!

[नोट – सलनाल-कोरियाली नयाँ बर्ष, चुसक -कोरियाली दशै ]

बुद्धी मोक्तान
ताप्लेजुङ
हाल: दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *