Skip to content


छायाँ बनेर म सँगसँगै
हिड्ने बाँचाहरू
बाध्यताको उज्यालोले
मेटाई दिएपछि
निकटता र समीपता खोज्दै
मनमा आश्रय माँगेर
अन्तकतै डेरा सरिजाने
विवशता उब्जिएपछि
तिमी हरायौ
सोध्नै नपाईकन
तिमी हरायौ
सोच्नै नपाईकन
तिमी हरायौं
मनभित्र कुदिएका तिम्रा तस्विरहरू
बेबियानको बुद्ध झै नामेट पार्दैगयो
समयका तालिबानहरूले
आकारमा मात्र सीमित बनाएर

तिमी कहाँ छौ अनभिज्ञ छु म
मात्र आभास गरेर
तिम्रो सुवास पाउने गछु
त्यही आभास र सुवासको
समानान्तरमा
तिमीलाई सधै खोज्ने गर्छु
तिमी हरायौ
मानिसहरूको बस्तीबाट
तर हराएनौ
मेरो मनमस्तिष्कबाट
त्यसैले खोजी जारी छ
मात्र एकपटक भनिदेऊ न
तिमी कहाँ छौ

गोबिन्दसिंह रावत, टोरोन्टो
फरवरी २, २०११

1 thought on “तिमी छौ कहाँ ?”

  1. ठिस बुढा

    “तिमी छौ कहाँ ?” मन पर्यो
    धन्यवाद kbs सर गोबिन्दसिंह रावत सरको पढ्ने मौका दिनु भएकोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *