मलाई याद छ ती दिनहरू अझैं
जति बेला म उत्साह र उमंग लिएर यहाँ आएको थिएँ
मेरा महत्वकांक्षाले आकाश छुने
सपना पुरा गर्ने लक्ष्यले गगन चुमेको थिएँ
एउटा सुन्दर घरसंसार सजाउने सपना
मेरो मानसपटलमा रोटे पिङ झैं घुमेको थियो
रङ्गीचङ्गी इन्द्रेणी धनुष झैं लागेको
यी विदेशी ढोकाहरू सम्झन्थे मेरै लागि खुलेको थियो
म यी सबै सुनौलो कल्परुपी संसार जित्नेछु
दन्त्य कथाको राजकुमार आफूलाई नै सम्झेको थिएँ
पक्कै हुनेछु विश्वविजेता एक पटक म
हिटलर र राजा अशोक बन्ने आशा राखेको थिएँ
टाढाबाट हेर्थें जब म यी मरूभूमिलाई
सुनै सुनले छाएको गगनचुम्बी महलहरू देखेको थिएँ
बाबु नजाऊ त्यो त मानव-कंकालको थुप्रो हो भन्दा
मेरो हुने प्रगतिदेखि डाहा भएको आभास गरेको थिएँ
तर हैन रहेछ ती छलकपटका भाषाहरू
मैले त आफ्नै खुट्टामा बन्चरो पो हानेको रहेछु
साथ दिने हातहरूलाई मैले गरेको तिरस्कारहरू
जलन हुन्छ आज मन यो भुल त ठुलै पो गरेछु
बाहिरबाट हेर्दा देखिने स्वर्ग जस्ता यी गन्तव्यहरू
हृदय बिझाउने काडै काडाँ पो भएछ
सुन्दर देखिने यी बालुवाको घरहरू
खोक्रो अमानवताले भरिएको खाडल पो रहेछ
बन्द होला जस्तै लाग्छ मेरा सासहरू
निस्सासिन्छु जब यी बन्द पर्खालभित्र
कहाली लाग्न थल्छ मलाई यी क्षणहरू
खै कहाँ छ म पाउँदिन यहाँ आत्मा पवित्र
पश्चतापको आगोले रन्काउँछ यो मन आज
सम्झन्छु तिमीलाई छ झझ्ल्को मधुरो
आमा म छिट्टै फर्कन्छु स्वदेश
मेरो वाचा भो तिमीलाई राख्दिन अधुरो

“परदेशमा वेदना”
शब्द शब्दमा पिडा छ!
खुट्टामा बन्चरो
महत्वकांक्षाले आकाश
अमानवता