Skip to content


‘मधुपर्क’ ५०० अङ्कमा प्रवेश गरेको छ माघ महिनाबाट वि.सं. २०२५ साल जेठ ३० मा तत्कालीन राजा महेन्द्रको शुभ जन्मदिनको अवसर पारेर प्रकाशन हुन थालेको ‘मधुपर्क’ को आयु साढे चार दशकको नजिकनजिक पुग्न लागेको छ । हुन त पचास वर्ष आयु पार गरिसकेका साहित्यिक पत्रिका अरू पनि हामी कहाँ नभएका होइनन्, तर मासिकरूपमा प्रकाशित भइरहने यस्ता पत्रिकामा भने अग्रस्थान मधुपर्कले नै ओगटेको छ ।

अहिले मलाई मधुपर्क प्रथम पटक निस्कँदाको क्षणको सम्झना भइरहेछ । बुबा गोपाल पाँडे असीम गोरखापत्रको नियमित ग्राहक नै हुनुहुन्थ्यो १९९२/१९९३ सालदेखि । यसैले अखबार पढ्ने बानी सानैदेखि लाग्यो । ‘शारदा’ र ‘उद्योग’ जस्ता मासिक पत्रिकाहरू पनि प्रायः ल्याउने गर्नुहुन्थ्यो बुबा । पढ्न पाइन्थ्यो । पछिपछि ‘इन्द्रेणी’, ‘प्रगति’, ‘रूपरेखा’, ‘रत्नश्री’, ‘रचना’, नेपालीजस्ता पत्रपत्रिका पनि उहाँलाई बेलाबखत प्राप्त हुन्थ्यो क्यार, घरमा ल्याउनुहुन्थ्यो । यी चाहिँ नियमितरूपमा सङ्कलित थिएनन् ।

वि.सं. २०२५ साल जेठदेखि गोरखापत्र संस्थानबाट ‘मधुपर्क’ नामको मासिक पत्रिका पनि प्रकाशित हुने रे, भनेर अलि अगाडिदेखि चर्चा हुन थालेको थियो । म पनि स्नातकोत्तर उत्तीर्ण भइसकेको समय थियो त्यो । गोरखापत्र, राइजिङ नेपालजस्ता समाचारपत्र मात्र (यद्यपि यसभित्र पनि साहित्यिक रचना त हुन्थे नै) प्रकाशित गर्ने प्रकाशन संस्थाले समाचारइतरको भिन्न पत्रिका कस्तो प्रकाशन गर्ने हो भन्ने कौतूहलको विषय बनेको थियो । विविध विषययुक्त मासिक प्रकाशन-आफ्नो यो परिचय दिएर निश्चित समयमा ‘मधुपर्क’ प्रकाशमा आयो ‘राष्ट्रिय वाङ्मयको समृद्धि गर्नमा सफलता प्राप्त गरोस्….’ भन्ने तत्कालीन राजाको शुभकामनाका साथ । मधुपर्कको पहिलो रचना नै म.वी.वि. शाहको कविता रहेछ ‘उपहार’ शीर्षकमा । नेपाली बौद्धिक समाजका लागि गोरखापत्रको उपहारका रूपमा मधुपर्कलाई सोचिएको जस्तो लाग्यो । जुन उपयुक्त पनि हो ।

बालकृष्ण सम, ऋषभदेव, मोहन कोइराला, कालीप्रसाद रिजाल, भवानी भिक्षु, यदुनाथ खनाल, ताराप्रसाद जोशी, अम्बिकाप्रसाद अधिकारी, कमल दीक्षित, पारशमणि प्रधान, पूर्णबहादुर मानव, जनार्दन सम, प्रेमराज शर्मा, रामानन्द जोशी, डा. विष्णुप्रसाद शर्मा जस्ता ख्यातनामा व्यक्तित्वहरूको रचनाले सुसज्जित मधुपर्कको पहिलो अङ्क निश्चय नै पठनीय सामग्रीका रूपमा देखापर्‍यो । बुबाले सायद ग्राहक बनेर हो कि मधुपर्क ल्याइदिन लाग्नुभयो पहिलो अङ्देखि नै । अनि हामी छलफल पनि गथ्र्यौं यसभित्रका सामग्रीका बारेमा । पहिलो अङ्कको लेखक सूची हेरेपछि बुबालाई खट्केछ क्यार, भन्नुभयो-”खोइ नारीलेखक ? यतिका पुरुषका एकजना नारी मात्र नारी ?” हुन पनि ‘दर्शन ः व्यवस्था’ स्तम्भमा एक जना नारी त्यो पनि सर्वसाधारण होइन ‘श्री ५ प्रिन्सेप शाह’दरबारीया व्यक्तित्वबाहेक अन्य साहित्य, संस्कृति, कला आदि स्तम्भमा नारीको नामोनिसान थिएन । त्यसैले अब मधुपर्कमा पनि मेरा रचना दिन बुबाले प्रेरित गर्नुभयो । आफूले पनि व्याकरणसम्बन्धी लेख (‘दुई’ बारे दुई कुरा) लेखेर मधुपर्कलाई दिनुभयो, जुन अङ्क ३ मा प्रकाशित भएको छ । गोरखापत्रबाटै साहित्यिक यात्रा प्रारम्भ गरेकी मैले धेरैजसो लेखहरू रत्नश्री (द्वैमासिक पत्रिका) मा दिने गरेकी थिएँ । बुबाको लेख छापिएपछि मोतीरामसम्बन्धी लेख (मोतीजयन्तीको प्रसङ्ग परेकोले) मधुपर्कमा प्रकाशनार्थ दिएँ, जुन त्यही सालको अङ्क ४ मा प्रकाशित छ । यसपछि कहिलेकाहीँ लेख दिँदै रहेँ । यसरी मेरा केही लेख मधुपर्कमा प्रकाशित हुन पुगे । मधुपर्कसँग जोडिन पुगेका कारण यसवर्ष ‘मधुपर्क सम्मान’ प्राप्त गर्ने अवसर पनि मिल्न गयो ।

आधा शताब्दी आयुको बाटोतिर लम्किरहेको र अहिले ५०० औँ अङ्क प्रकाशित हुन लागेको मधुपर्कको उन्नतिमा यसका सम्पादक समूहको महत्त्वपूर्ण योगदान छ भन्ने म ठान्दछु । यस अर्थमा म भैरव अर्यालको विशेष स्मरण गर्दछु । उहाँ सदा लेखका लागि आग्रह गरिरहनुहुन्थ्यो र कुनै काँटछाँट नगरी प्रकाशित गरिदिनुहुन्थ्यो, सायद मेरो लेखमा त्यस्तो झिक्नैपर्ने कुरा उहाँ केही देख्नुहुन्न थियो कि !

गोरखापत्रबाट प्रकाशित हुने मासिक पत्रिकाको नाम तुलसीनाथ ढुङ्गेलले जुराउनुभएको हो भनिन्छ-मधुपर्क । मधुपर्कको विश्लेषण गरेर बालकृष्ण समले पहिलो अङ्कमा यही शीर्षकमा एउटा रचना पनि प्रस्तुत गर्नुभयो जुन गद्यरूपको भए पनि कविता स्तम्भमा प्रकाशित छ । (समज्यूको गद्यकविताको नयाँ प्रयोग गर्नुभएको खुलासा दोस्रो अङ्क पृष्ठ ‘च’ मा भएको छ) । नेपाली बृहत् शब्दकोशअनुसार घिउ, मह र चिनीको मिश्रण मधुपर्क हो जुन अत्यन्त पवित्र हुन्छ र पुज्य व्यक्तिलाई अर्पण गरिन्छ, यस्तो विशेष अर्थ द्योतन गर्ने नाम पाएको ‘मधुपर्क’ नेपाली साहित्यमा र नेपाली मासिक पत्रिकाको इतिहासमा विशेष भएर नै रहनेछ । यही सोचेर होला नै यसका जन्मदाताले पत्रिकाको अग्रभाग मुखपृष्ठमा (प्रारम्भमा) यसको नाम झण्डैझण्डै त्रिकोणजस्तो पारी तीनतिर लेखेका छन्-‘मधुपर्क – मधुपर्क- मधुपर्क’ ।

नेपालीहरूको हृदयमा अमिट छाप छोडेको छ मधुपर्कले र नेपाली वाङ्मयमा अमर भएको छ मधुपर्क । बेलाबखत आकार परिवर्तन गरी सङ्कलकलाई असजिलो पर्न गएको कुरालाई समेत दृष्टिमा राखी अबदेखि एउटै आकारमा मधुपर्क प्रकाशित होस् भन्ने कामनाका साथ मधुपर्क सदा मधुमय बन्दै अरू कैयन वर्ष सफलतापूर्वक ‘चरैवेति-चरैवेति’ मा लागिरहोस् ।

१५९, डल्लुटोल

काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *