यसै अङ्कदेखि मधुपर्क आफ्नो प्रकाशनको ४२ औं वर्ष पूरा गरी ४३ वर्षमा प्रवेश गर्दै छ । नेपालजस्तो प्रकाशन उद्योगको आवश्यक विकास हुन नसकेको तथा अझै पनि साहित्यलाई अनुत्पादक ठानिने समाजमा कुनै पनि साहित्यिक प्रकाशनले प्रकाशनको ५०० औँ अङ्क सफलतापूर्वक प्रकाशित गर्नु गौरव कै विषय मान्नु पर्छ । यसरी नेपाली भाषा-साहित्य र संस्कृतिको विकासमा सघाएर नयाँ राष्ट्रिय संस्कृतिको निर्माणमा भूमिका खेल्दै नेपाली साहित्यिक पत्रकारितामैं लामो इतिहास बनाउन सफल रहेको यति गरिमामय प्रकाशनमा लामो समयसम्म सम्लग्न रहनु मेरा लागि पनि कम गौरवको विषय होइन ।
नेपाली साहित्यिक पत्रकारितामा आ-आफ्ना युग निर्माण गरेका मधुपर्कका पूर्ववर्ती शारदा, रूपरेखा अब आफैँ इतिहास बनिसके । यसका अरू पूर्ववर्ती पत्रिका रचना, नेपाली, रत्नश्री, भानु आदि केही एकल र केही संस्थागत प्रयासमा धर्मराउँदै यात्रारत छन् । पहुँच, प्रसार र प्रभावका दृष्टिले तिनका आ-आफ्नै सीमा र क्षेत्रगत कमी कमजोरी रहेका छन् । आम नेपाली लेखक-पाठकसम्म सहज पहँुचका दृष्टिले मधुपर्क यी पत्रिकाहरू भन्दा गाडि नै छ । यसका उत्तरवर्ती अभिव्यक्ति, प्रज्ञा, मिर्मिरे, समष्टि, गरिमा आदिमध्ये पनि लेखक-पाठकको सहज पहुँच र प्रभावको सहभागिताका दृष्टिले सम्भवतः मधुपर्क अग्रस्थानमैं रहेको छ भन्दा अत्युक्ति नहोला !
मधुपर्क आज नेपाली साहित्यिक पत्रकारिताको गरिमामय प्रकाशन बनेको छ । यस्तो गरिमायुक्त प्रकाशनमा विविध भूमिका र हैसियतमा कहिले प्रत्यक्ष र कहिले परोक्ष नै भए पनि आफ्नो सक्रिय संलग्नता पाउनु मजस्ता साहित्य-पत्रकारिता कर्मीका लागि ठूलै गौरवको कुरा हो । आज यही मधुपर्कको ५०० अङ्क प्रकाशनका अवसरमा यससँगको आफ्नो नाता र लामो संलग्नता सम्झँदा म हर्षले फुरुङ्ग हुन्छु । सुरुमा मधुपर्क कै माया पाएर दुईचार साहित्यिक पाइला सारेको हुँ मैले ! पछि संयोगले यही मधुपर्कको सम्पादन यात्रामा प्रत्यक्ष-परोक्ष संलग्न हुन पुगेँ । अहिले यही गौरवपूर्ण प्रकाशनको प्रकाशकका रूपमा शुभचिन्तक पाठक-साहित्यकार समक्ष यो सुखद् भावना साट्न पाउनु मेरा लागि अत्यन्त हर्षको विषय हो । त्यही हर्षको अनुभूतिले मलाई आज मधुपकको ४३ वर्षे यात्रा र ५०० अङ्क प्रकाशनको कालक्रममा गाँसिएका अनेकौं घटना-सन्दर्भका सम्झना ताजा भइरहेका छन् । तीमध्ये यहाँ केही घटना-सन्दर्भको स्मरण गर्नु सान्दर्भिक हुनेछन् ।
मधुपर्कको चार दशकीय जीवनमा यसले धेरै स्वनामधन्य सम्पादकहरूको सीप, दक्षता र माया पाएको छ । यो त्यही मधुपर्क हो, जुन कुनै बेला शारदा, रूपरेखा, रचना र अन्य धेरै प्रतिष्ठित साहित्यिक पत्रकारिता कै पङ्क्तिमा प्रतिष्ठित थियो । यो त्यही मधुपर्क हो, जसले भैरव अर्याल, केशवराज पिँडाली, नारायणबहादुर सिंहजस्ता आफ्ना युगका प्रख्यात साहित्य शिल्पीहरूको सम्पादनमा आफूलाई स्थापित गराउने अवसर पायो ।
कुनै बेला गोरखापत्रको आकर्षणले मलाई सम्मोहित बनाउने गर्थ्यो । सानैदेखि लेख्ने बानी परेको म आफ्ना लेख र साहित्यिक रचनाहरू लिएर कहिलेकाहीँ त्यो सम्मोहक गोरखापत्रको सम्पादकीय कक्षमा पुग्ने गर्थें । बाहिरैबाट देखिने लामो कौसीयुक्त दुईतले गोरखापत्रको सम्पादकीय कक्षमा उत्तिकै भव्य व्यक्तित्वहरू कार्यरत रहन्थे । त्यहाँ सुरुसुरुमा मेरा परिचित दुईजना हुनुहुन्थ्यो- भैरव दाइ (स्वर्गीय भैरव अर्याल) र बलराम दाइ (स्वर्गीय बलराम श्रमजीवी) । भौगोलिक हिसाबले भैरव दाइ (स्वर्गीय भैरवप्रसाद अर्याल) र हामी नजिकै बस्थ्यौं । उहाँको घर जोरपाटी बजारमा थियो, मेरो जोरपाटी कै अलिमाथि आरुबारीमा । कहिलेकाहीं उहाँ हाम्रो घरमा पनि आउनु हुन्थ्यो । त्यसैले पनि भैरव दाइसँग म परिचित थिएँ । बलराम दाइको डिल्लीबजार स्थित घरमा त्यसअघि नै म बाबासँग दुई/चार पटक पुगिसकेको थिएँ । दुबै मेरा श्रद्धेय हुनुहुन्थ्यो- दुबै मेरा पिताजीका अभिन्न मित्र ! प्रसिद्ध निबन्धकार श्यामप्रसादले आफ्नो एक घण्टा विताउन शीर्षक निबन्धमा घडीको सुईको गतिमा चल्ने साथीको संज्ञा दिनुभएका बलराम श्रमजीवी साँच्चिकै घडीको सुइको भरमा चल्ने अर्थात समयको महत्त्व बुझेका मानिस हुनुहुन्थ्यो र नेपाली भाषा-साहित्यमा अत्यन्त राम्रो दखल भएको व्यक्ति ! सुप्रसिद्ध निबन्धकार भैरव दाइ कुसल सम्पादक मात्र नभएर सिकारु लेखक-साहित्यकारहरूका लागि प्रेरणापुञ्ज नै हुनुहन्थ्यो ।
त्यही कार्यकक्षमा अर्का दुईजनालाई पनि देख्थेँ म । एकजना गोरा गोरा अग्ला र अर्का होचा होचा कृष्णवर्णका ! मेरो सङ्कोची स्वभावका कारण सुरुमा म आफ्ना पूर्व परिचित दाजुद्वय भैरव र बलराम बाहेक अरूसँग चिनापर्ची र बोलचाल गर्ने आँट पनि हुँदैनथ्यो । पछि त्यो आवतजावत केही बाक्लिँदै गएपछि बल्ल मैले उहाँहरूको परिचय पाएको थिएँ- गोरा अग्ला मान्छे मैले पढिराखैकै हास्यव्यङ्गय निबन्धकार केशवराज पिँडाली हुनुहुँदो रहेछ भने होचाहोचा कृष्णवणर्ी नारायणबहादर सिंह ! त्यो पछिल्लो नाउँ पनि मेरा लागि अपरिचित नै भने थिएन । मैले मधुपर्कका पान्ााहरूमा धेरै पटक पढेको थिएँ त्यो नाउँ । त्यसरी गोरखापत्रका तिनै कार्यकक्षहरूमा देख्न र चिन्न पाएको थिएँ मैले नारायणबहादुर सिंह, केशवराज पिँडाली, ऋषभदेव शर्मा र दाताराम शर्माजस्ता कलमका आदरणीय मनीषिहरूलाई । आफूले नचिनेरै पनि पढ्दै आएका ती नाउँहरूसँग साकार परिचय गर्न पाउँदाका ती क्षण साँच्चै नै रोमाञ्चक थिए मेरा लागि ! ती सबै नाम मेरा लागि श्रद्धेय थिए । तिनै नामहरू मेरा लागि गोरखापत्रलाई श्रद्धा र मोहनीयुक्त बनाउन पर्याप्त थिए । ती मध्येपछि नारायणबहादुर सिंहसँग निकै समय साहित्यिक पत्रकारिताको व्यवहारिक ज्ञान पाएको थिएँ- उहाँको सहयोगीका रूपमा लेखरचना सम्पादन गर्दा । त्यो ठाउँ त्यस्तो थियो जहाँ भाषा, संस्कृति, साहित्य, ज्ञानविज्ञान, पत्रकारिता र अन्यक्षेत्रका मुलुक कै शिखर पुरुषहरूको आवागमन हुन्थ्यो । आगन्तुकहरूको उपस्थितिमा मात्रै होइन सहकर्मीहरूबीच पनि भाषा, साहित्य, कला-संस्कृति र पत्रकारिताका विविध पक्षमा गम्भीर कुराकानीहरू हुन्थे, चिन्तन मनन हुन्थ्यो ।
यसरी गोरखापत्र साँच्चै नै एउटा बौद्धिक थलोको रूपमा आफूलाई उभ्याइरहन्थ्यो, जुन पछि एकादेशको कथा बन्दै गयो । कहिलेकाहीँ जाने मजस्ता फुच्चेहरू त्यतिबेला त्यस्तो वातावरण देखेर अभिभूत हुनु स्वाभाविक थियो । त्यसमाथि गोरखापत्र मधुपर्कजस्ता यसका प्रकाशन आफैँ गुरु थिए, म र मजस्ता स्कुल कलेज पढ्ने हजारौं सिकारु लेखक र विद्यार्थीहरूका लागि । निबन्ध कसरी लेख्ने, गोरखापत्र हेरेर सिक- गुरुहरू भन्ने गर्नुहुन्थ्यो । वर्णविन्यास गोरखापत्र हेरेर सिक, गुरुहरू त्यसै भन्नुहुन्थ्यो । गोरखापत्र त्यतिबेला हाम्रा लागि शब्द कोश थियो, व्याकरण थियो र थियो सर्वोपरी गुरु ! त्यसैले लाग्थ्यो, यस्तो ठाउँमा यस्ता विद्वान्हरूको सान्निध्यमा काम गर्न पाए….! त्यस्ता त्यस्ता कलमका महारथीहरू काम गर्ने गोरखापत्र मेरो सधैंको आदर्श बन्ने गरेको थियो । एउटा प्राज्ञिक केन्द्र थियो गोरखापत्र मेरा दृष्टिमा । नभन्दै आठ-दश वर्ष अनौपचारिक रहेको गोरखापत्रसँगको परिचयपछि औैपचारिक बन्न पुग्यो । गोराखपत्रसँग मेरो औपचारिकसम्बन्ध स्थापित हुने बेलासम्ममा बलराम दाइ, दाताराम गुरु र ऋषभदेव गुरुजस्ता आदरणीय व्यक्तिहरू गोरखापत्रबाट बिदा भइसक्नु भएको थियो । भैरव दाइले त अझ अगाडि नै गोरखापत्रको मात्र होइन, समकालीन समाजकै दाउपेच, जालझेल र चाकडी चाप्लुसीमाथि चोटिलो व्यङ्गय प्रहार गरेर संसारलाई नै परित्याग गरिसक्नुभएको थियो !
संयोगबस केही वर्षपछि म आफू पनि सम्बद्धहुन पुगँे, त्यही गोरखापत्रको एउटा सामान्य कर्मी भएर । गोरखापत्रमा तीन पत्रको लिखित र अर्को मौखिक परीक्षा दिएर आउँदा त्यही समयमा लोक सेवाको लिखित परीक्षा उत्तीर्ण गरेर पनि गोरखापत्रको आकर्षणले सम्मोहित मैले लोकसेवाको अन्तर्वार्तालाई भन्दा गोरखापत्रको परीक्षालाई बढी महत्त्व दिएको थिएँ । हुनसक्छ त्यसैले लोकसेवाको अन्तर्वार्तामा नाम ननिस्किएको दुःखभन्दा त्यति बेला गोरखापत्रमा प्रवेश पाएकोमा बढी खुसी लागेको थियो । आज लगभग तीस वर्षको आफ्नो जीवन यसैको सान्निध्यमा विताइ सकेको छु र यो क्रममा यसभित्र देखेका नकारात्मक वातावरण र गुमाउँदै गएको भूमिका देखेर दुःख पनि लाग्ने गर्छ ! त्यसरी दुःख लाग्नुको कारण हो- अहिले ती आफूले देखेका प्रारम्भिक आकर्षण र बौद्धिक वातावरणको कुनै नामोनिशाना नरहनु !
बाल साहित्यका रचनालाई छाडेर मेरो पहिलो प्रकाशित रचना “कोपिला” शीर्षक कविता (२०२४(२०२५) सालतिर हाइस्कुलको वाषिर्क प्रकाशन चारुमतीमा प्रकाशित भएको भए पनि लेखनको प्रारम्भिक यात्रा मधुपर्कबाटै भयो । “कोपिला” शीर्षक त्यो कविता र “बालक” पत्रिकामा छापिएका बालकथा पछिको मेरो पहिलो अनुवाद कथा छाप्ने मधुपर्क नै थियो । अमेरिकी कथाकार एच.एन.मुन्रोले लेखेका “दुई शत्रु” शीर्षकको त्यो मेरो अनुवाद कथा असोज २०२७ (वर्ष ३ अङ्क ५) मा छापिएको थियो । यो सम्बन्धका दृष्टिले हेर्ने हो भने मधुपर्कसँगको मेरो सम्बन्ध लगभग ४० वर्षको भएछ- यसको जन्मको तेस्रो वर्षदेखि नै !
त्यतिबेला आफूले अनुवाद गरेको कथा मधुपर्कजस्तो पत्रिकामा छापिएर अझ पैँतीस-पैंतीस रुपियाँ पारिश्रमिक पाउनु मेरा लागि थोरै हर्षको कुरा थिएन । छापामा आफ्नो नाउँ छापिएको हेर्न चाहने मेरो रहरले पारिश्रमिकको अर्को दरिलो आकर्षणसमेत फेला पारेको थियो सायद् । त्यतिबेला मधुपर्कमा छापिएको त्यो अनुवाद कथा वापत मैले पाएको पारिश्रमिक मेरा लागि निकै ठूलो पारितोषिक थियो, ठूलै आकर्षण थियो । लेखेर-अनुवाद गरेर पैसासमेत पाइने, त्यो पनि मुलुक कै ठूलो सरकारी पत्रिकाबाट ! मेरो सिकारु लेखकका लागि त्यो अनुभव कम रोमाञ्चक थिएन । त्यसपछि त मधुपर्क प्रकाशित गर्ने गोरखापत्र संस्थानका प्रकाशन गोरखापत्र र मधुपर्कमा कहिले कथा, कहिले बाल साहित्य, कहिले निबन्ध र कहिले अखबारी लेख-रचना लेख्ने-छाप्ने, छापिने क्रम चलिरहृयो, निरन्तर नै चलिरहेको छ । खुला प्रतिस्पर्धाबाट २०३७ जेठ महिनामा गोरखापत्रको उप-सम्पादकमा प्रवेश गरेपछि त यो क्रमले झनै निरन्तरता पायो । हो, सुरुमा आफ्नो छापिएको नाउँ हेर्दा हुने खुसी र रोमाञ्च भने अहिले हुँदैन र त्यतिबेलाको त्यो रोमाञ्चकता र खुसी सम्झँदा पनि अहिले आफैंलाई अनौठो लाग्छ ।
सुरुमा मधुपर्कको प्रकाशन हुँदा त्यसको अलग्गै सम्पादन समूह वा विभाग थिएन । मधुपर्कको सम्पादन पनि गोरखापत्रकै लेख-रचना सम्पादन समूहबाट हुने गर्दथ्यो । त्यसैले मधुपर्कको पहिलो अङ्क गोरखापत्र दैनिकका तत्कालीन सम्पादक गोपालप्रसाद भट्टराईको सम्पादनमा प्रकाशित भयो । सहायक भनेर छापिए पनि काम गर्ने खास व्यक्तित्वहरू हुनुहुन्थ्यो- नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल ! कला-भाषा र साहित्य चेतका यी त्रिरत्नका पछाडि त्यतिबेलाका साहित्य महारथीहरूका सरसल्लाह र सहयोगको दरिलोसँग उपस्थित थियो । गोरखापत्रकै प्रधानसम्पादक मधुपर्कको पनि सम्पादक हुने यो क्रम पछिसम्म नै अर्थात् सम्भवतः २०४१ साउन महिनासम्म नै रहृयो । गोपालप्रसाद भट्टराईपछि सायद् थोरै समयका लागि नारायणबहादुर सिंह गोरखापत्रको कायममुकायम हुनुभयो र त्यही नाताले मधुपर्कका एक-दुई अङ्कमा उहाँका नाउँ सम्पादकमा छापियो होला । त्यसपछि भारतदत्त कोइराला गोरखापत्रका सम्पादक हुनुभयो र साथै मधुपर्कको पनि ! केही समयपछि उहाँ गोरखापत्रको सम्पादकबाट गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त हुनुभयो । त्यसपछि गोरखापत्र र मधुपर्कको सम्पादकमा आउनुभयो- गोकुलपसाद पोखरेल । यो पछिल्लो कालखण्ड मेरो गोरखापत्र प्रवेशको प्रारम्भिक समय थियो । भारतदत्त कोइराला र गोकुलप्रसाद पोखरेल महाप्रबन्धक तथा सम्पादक हुँदाको समयमा नै मैले गोरखापत्र संस्थानमा प्रवेश गरेको थिएँ- २०३७ जेठको पहिलो दिन !
सुरुदेखि २०३८ साल असारको पहिलो हप्तासम्म समाचार सङ्कलन अर्थात् रिपोर्टिङ र समाचार सम्पादनको दिवा समूहमा काम गर्ने जिम्मेवारी पाएको कारण नारायण माड्साबसँग मेरो त्यतिबिन अन्तरङ्ग सम्बन्ध हुन पाएको थिएन । सुरुमा म नवप्रवेशी कनिष्ठ समाचार सङ्कलक (रिपोर्टर) र सिकारु उप-सम्पादकका रूपमा प्रवेश गर्दा नारायण माड्साब र पिँडाली दाइ लेखरचनाको जिम्मेवारी समाल्ने जिम्मेवार कार्यकारी सम्पादक हुनुहुन्थ्यो । त्यो एक-दुई वर्षको कालखण्ड उहाँहरूका कुरा सुन्ने, भाषा, संस्कृति र साहित्यका विषयमा केही जिज्ञासा राख्ने अनि उहाँहरूको ज्ञानबाट केही लाभ प्राप्त गर्ने सीमामै सीमित रहृयो उहाँहरूसँगको मेरो सम्बन्ध । त्यसपछि केशवराज पिँडालीले उमेरको हदका कारण अवकाश लिनु भयो र त्यस शाखामा नारायण माड्साबलाई सघाउन सहयोगीका रूपमा पुगेको थिएँ म ! त्यति बेला अहिलेजस्तो धेरै जनशक्ति पनि थिएन । गोरखापत्रको सम्पादकीय विभाग मैं १६-१७ जना मात्र सम्पादक थियौँ । त्यसैले लेखरचना शाखाले नै दैनिक लेखरचना, सम्पादकीय, सम्पादकलाई चिठी, शनिवासरीय परिशिष्टाङ्कका साथै मधुपर्क मासिक र अझ समय समयमा निस्कने विशेषाङ्कहरूको योजना, रचना सङ्कलन, सम्पादन र व्यवस्थापन गर्नुपथ्र्याे । सम्पादकमा गोरखापत्रका सम्पादकको नाउँ छापिने भए पनि त्यसको प्रमुख जिम्मेवारी लेखरचना सम्पादक अर्थात् नारायण माड्साबमा थियो । उहाँले लाएअह्राएको काम अर्थात् रचनाका लागि सम्पर्क राख्ने, सम्पादन गर्ने, डमी तयार गर्ने, तस्बिरसंयोजन गर्ने, ब्लक बनाउन दिने र माड्सावको सल्लाह अनुसार साहित्य, कला र संस्कृतिसम्बन्धी समसामयिक सामग्री, अन्तर्वार्ता आदि तयार गर्ने, गराउने र प्रुफ हेराउने, प्रेससँग समन्वय राख्ने आदि जिम्मेवारी पूरा गर्नुपथ्र्यो सहयोगी अर्थात् त्यतिबेला मैले ! त्यसरी त्यतिबेला दुईजनाबाट सम्पादन हुने तिनै कामका लागि अहिले सिङ्गो मधुपर्क विभाग र गोरखापत्रको लेखरचना शाखामा गरी नौ-दशजना सम्पादक कार्यरत छन् । बिना कुनै सोच र योजना टेबलमा जे आयो त्यसैमा केही सामान्य ह्रस्वदीर्घ सच्याउने कामलाई सम्पादन मान्ने प्रवृत्तिबाट अलग हुनुहुन्थ्यो नारायण माड्साब ! उहाँमा स्पष्ट दृष्टिकोण थियो, योजनाबद्ध कार्यशैली थियो र थियो मधुपर्कलाई सार्थक-स्तरीय साहित्यिक पत्रिका बनाउने दरिलो सङ्कल्प ! कला-साहित्य र भाषाका क्षेत्रमा राम्रो पकड र समझ भएका नावसिंह स्वयम् लेखक साहित्यकार हुनुभएकाले पनि हुनसक्छ, उहाँ सम्पादन-संयोजनमा अत्यन्त गम्भीर हुनुहुन्थ्यो । त्यसको अर्थ, उहाँसँग काम गर्नु सजिलो थिएन तर कुनै कुरामा गल्ती भयो वा दृष्टि पुगेन भने सुरुमा झडङ्ग रिसाए पनि आफ्ना कनिष्ठ सहयोगीहरूलाई राम्ररी सिकाउने-सम्झाउने उहाँको गुणबाट जोकोही लाभान्वित हुन पाउँथ्यो, ममात्र होइन । त्यसैले पनि हुनसक्छ, गोरखापत्रमा मैले जे जति सिकेँ, नारायण माड्साबबाट बाहेक अरूबाट सायदै सिक्न सकेँ, सिक्न पाएँ । सिकारुलाई अत्यन्त प्रोत्साहन दिनेमा सम्पादक र साहित्यिक पत्रकारमा नाम राख्नुहुने भैरवदाइका बारेमा केही जानकारी थियो तर नारायण माड्साब पनि आफूभन्दा पछिल्ला पुस्तालाई प्रोत्साहन दिनमा कम हुनुहुन्नथ्यो ।
मेरो गोरखापत्र प्रवेशको त्यो प्रारम्भिक कालखण्ड अहिलेको भन्दा धेरै हिसाबले सहयोगी र बौैद्धिक थियो तर त्यतिबेलाको गोरखापत्रमा पनि नेतृत्वदायी जिम्मेवारी पाउन भने योग्यता र क्षमता मात्र पर्याप्त थिएन । त्यसका लागि त्यतिबेलाको शक्तिकेन्द्र अर्थात् दरबारका सचिवहरूको आशिर्वाद अनिवार्य हुन्थ्यो । त्यो शक्ति केन्द्रको दौराको फेर नसमात्नेका लागि ज्येष्ठता, योग्यता र क्षमताका भरमा योग्यताको कदर हुने सम्भव थिएन । यही सनातन प्रवृत्तिको शिकार भएर नै भैरव अर्याल, नारायणबहादुर सिंहले गोरखापत्रको सम्पादक अर्थात् प्रधानसम्पादक बन्न नपाएरै विदा हुनुपर्यो । यो पदको जिम्मेवारी प्राप्ति यहाँ कार्यरत प्रत्येक सम्पादक-पत्रकारहरूको अभीष्ट हुने गर्छ र आफूले सम्पादन गरेको छापाको सम्पादकीय नेतृत्वको त्यो अपेक्षा अत्यन्त स्वभाविक पनि हो ।
त्यस यथार्थ सिर्जित प्रभावका कारण सम्भवतः सम्पादक गोकुलप्रसाद पोखरेल र कार्यकारी लेख रचना सम्पादक नारायणबहादुर सिंहका बीच आन्तरिक प्रतिस्पर्धात्मक शीतयुद्ध चलिरहन्थ्यो । अनि उहाँहरूबीचको त्यो शीतयुद्ध रूपी असहज सम्बन्धको जाँतोमा पिसिने चाहिँ हामीजस्ता कनिष्ठ सम्पादनकर्मी हुन्थ्यौं । गोकुलदाइ -त्यतिबेलाका हामीभन्दा अग्रज र वरिष्ठहरूमा महाप्रबन्धक भारतदत्त कोइराला, सम्पादक गोकुलप्रसाद पोखरेल, मुकुन्द पराजुली, राधेश्याम भट्टट, सुरेन्द्रराज द्विवेदी, पुरु रिसाल लगायतलाई दाइको सम्बोधन गर्दथ्यौं भने नारायणबहादुर सिंहलाई सम्पादकलगायत सबैले माड्साब भनेर सम्बोधन गर्दथे ।) मा सम्पादक हुनुको पदीय अधिकार र जिम्मेवारीका कारणले पनि आफूले दिएका रचनाहरू प्राथमितामा परुन् र छापियुन् भन्ने चाहना हुनु स्वाभाविक हुन्थ्यो । अनि उहाँका आफ्ना नजिककाले प्रकाशनार्थ सम्पादकको हातमा रचना दिनु पनि स्वाभाविकै थियो । त्यस अवस्थामा गोकुल दाइ ती रचना सकभर आउँदो अङ्कमा छाप्ने निर्देशनसहित मलाई दिनुहुन्थ्यो । गोकुल दाइ प्रकाशन प्रमुख भए पनि पदीय अधिकार र जिम्मेवारीका हैसियतमा ती रचना म आफैँ छाप्न सक्दिनथें । प्रेसमा पठाउनु अघि मैले नारायण माड्साबको अनुमति लिनै पथ्र्यो । उता “यो पनि पठाउनु पर्ने थियो” भनेर कुनै रचना अघि सार्न नपाउँदै उहाँ त्यो पक्कै सम्पादकमार्फत आएको हुनुपर्छ भन्ने अनुमान गरेर भन्नुहुन्थ्यो- “आ….पन्छाइदिनोस् !” पन्छाउनुको अर्थ हुन्थ्यो, अहिले नछापेर कम प्राथमिकताको फाइलमा राख्ने । यसरी माथिल्ला दुई सम्पादकको त्यो असमझदारी र अहम्को टक्करका कारण समस्या पथ्र्यो हामीजस्ता कनिष्ठ सम्पादन कर्मीलाई ! यही असमझदारी र सम्पादक तथा लेखरचना सम्पादकबीचको द्वन्द्व चर्केपछि समाधानकै लागि पनि व्यवस्थापन प्रमुख भारतदत्त कोइरालाले एउटा उपाय खोज्नुभयो- मधुपर्कलाई गोरखापत्रबाट अलग गरेर स्वतन्त्र विभागका रूपमा चलाउने, त्यसको सम्पादकमा नारायणबहादुर सिंहलाई दिने । त, यसरी भएको थियो मधुपर्क विभागको जन्म र यसकै परिणति मधुपर्कको सम्पादकमा अलग्गै नाम छापिन थालेको थियो । त्यसको सँगसँगै गोरखापत्रको लेखरचना शाखा पनि अलग भयो र मलाई त्यही लेखरचना शाखाको जिम्मा दिइएपछि त्यो जिम्मेवारीसँगै मपनि मधुपर्कको सम्पादन समूहबाट अलग्गिएँ २०४१ भदौ महिनादेखि ।
त्यही कालखण्डमा अनेकौं सुखद् अनुभव सँगाल्न पाएको छु मैले । कवि शिरोमणि लेखनाथ र महाकवि देवकोटासँग साक्षात्कार हुन नपाएको मेरो पीडालाई नाट्य सम्राट बालकृष्ण सम, विशिष्ट गद्यशिल्पी भवानी भिक्षु, पोषण पाण्डे, दौलतविक्रम विष्ट, भूपी शेरचनजस्ता युगपुरुषहरूसँग परिचित हुने र उहाँहरूसँग अन्तर्वार्ता लिने अवसर जुराइदिएर केही भए पनि कम गर्न सघायो मधुपर्कले । यीबाहेक अरू पनि कतिपय रमाइला सन्दर्भहरू गाँसिएका छन् मधुपर्कसँगका । स्वनामधन्य साहित्यकारहरूसमेत त्यतिबेला म.वी.वि. शाह र चाँदनी शाहका कवितामाथि समालोचना लेखेर मधुपर्कमा छपाउन मरिहत्ते गर्दथे । कोही दरबारका सचिवहरूले दरबारी शक्तिका भरमा लेखेका स्कुल तहका पाठ्यपुस्तकलाई विश्वसाहित्यकैं क्लासिक सिर्जनाको संज्ञा दिएर सिङ्गो समालोचना लेख्दै मधुपर्कमा छपाउन जोड गथे । अनि त्यस्ता रचना नछापिँदा शिक्षा मन्त्री र दरबारका सचिवहरू गुहारेर फोन गर्न लगाउँथे छाप्नका लागि । कस्ताकस्ता कलमबीरहरू तँछाडमछाड् गर्दै दरबारका कृपापात्र बन्न सफल हुन्थे । यस्ता धेरै प्रसङ्ग र सन्दर्भहरूको साक्षी बन्ने अवसर दिएको छ मधुपर्कले ! यी सन्दर्भ र प्रसङ्गहरू अहिले नै खुलासा नगरि हालौं, त्यसको पनि समय आउने नै छ ।
मधुपर्क र गोरखापत्रको लेखरचना समूह अलग भएपछि २०४५ सालको वैशाख महिनासम्म गोरखापत्रको लेखरचना प्रमुखका रूपमा कार्यरत रहेँ म । त्यही बेला नगेन्द्र शर्माको व्यवस्थापनले गोरखापत्र संस्थानको रजत जयन्तीका अवसर पारेर युवा पाठकका लागि युवा मञ्च मासिकको प्रकाशन सुरु गर्ने निर्णय गर्यो । घोषित रूपमा गोरखापत्र संस्थानको रजत जयन्तीको सन्दर्भमा युवा मञ्चको प्रकाशन गरिएको भनिए पनि युवामञ्च प्रकाशनको भित्री योजनामा तत्कालीन युवराज दीपेन्द्रको उपनयन र उनलाई नेपाली युवा शक्तिको प्रतीकका रूपमा उभ्याउन सहयोग पुर्याउने रणनीतिक सोच प्रमुख प्रेरक तत्व थिए सायद् । त्यही क्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक बालमुकुन्ददेव पाण्डेकै प्रधान सम्पादकत्वमा युवा मञ्चको प्रारूप अङ्क अर्थात् प्रोटो टाइप अङ्क निस्कियो ।
आवरण पृष्ठमा दीपेन्द्रको तस्बिर र “शुभ-उपनयनसम्बन्धी विशेष” सामग्रीको जानकारी दिइएको युवामञ्चको जेठ २०४५ अङ्क अघिल्लो महिना वैशाख २४ गते सार्वजनिक भयो । डिमाइ आकारमा ६४ पृष्ठ मोटो प्रारूप अङ्कमा कतै नाम नदेखिए पनि त्यसको सबै तयारी र सम्पादन सम्पादक कृष्णभक्त श्रेष्ठबाट भएको थियो । उहाँकै नेतृत्वमा मधुपर्कको जस्तै युवामञ्च विभाग गठन गर्ने तयारी थियो
क्यार ! तर अन्त्यमा गोरखापत्र भित्रको खिचातानी र शक्तिकेन्द्रका खेलका कारण युवामञ्चको त्यो प्रारूप अङ्क गोरखापत्र अन्तर्गत नै प्रकाशित भयो । काम गर्नेको नाउँ कतै रहेन !
त्यसरी प्रारूप अङ्क निस्किएको युवामञ्चको पहिलो अर्थात असार अङ्क निकाल्न भनी बालमुकुन्ददेव पाण्डेको आदेशमा म युवामञ्च पुगेँ । त्यतिबेला मात्रै होइन अहिलेसम्म गोरखापत्रका पत्रकारहरू मासिक प्रकाशनमा जान चाहँदैनन् । मासिकमा जानुलाई दण्डित भएको ठान्ने मानसिकता हिजो थियो, आज पनि छँदै छ । त्यसैले त्यो पुरस्कार थिएन, अरूका दृष्टिमा सजायँ थियो । मेरो सोचाइ भने अलग थियो- गोरखापत्रलाई भजाएर नाजायज लाभ लिने मानिसकता नहुनेका लागि जता गरे पनि कार्म गर्नु त हो । त त्यसरी युवामञ्चको नियमित पहिलो अङ्कदेखि दुई वर्ष लगातार युवामञ्चको सम्पादन गरेर बीस हजारको प्रसार सङ्ख्या पुर्याएर छाडेको थिएँ मैले ! युवामञ्चमा बीचका पृष्ठमा रङ्गीन पूर्ण पृष्ठ तस्बिर प्रकाशन, बीचका दुबै पृष्ठमा रङ्गीन क्यालेन्डर छाप्नेजस्ता नर्याँ प्रयोगहरू भएका थिए त्यही समयका युवामञ्चमा । ती प्रयासले युवामञ्चको लोकप्रियता बढाउन राम्रै सहयोग पुगेको थियो त्यतिबेला ! आफूभन्दा माथि प्रधानसम्पादक र नायब प्रधानसम्पादक रहे पनि यी सबै योजना र सम्पादनका काम कनिष्ठ सहयोगीको सहयोगमा सम्पन्न गर्ने जिम्मेवारी आफैंले पूरा गरिन्थ्यो । त्यसरी असार २०४५ अर्थात पहिलो नियमित अङ्कदेखि युवामञ्चसँग गाँसिन पुगेको थिएँ म ! सम्पादकमा बालमुकुन्ददेव पाण्डे र नायव प्रधान सम्पाद कमा मुकुन्द पराजुली हुनुहुन्थ्यो भने सहायक सम्पादकमा म थिएँ । २०४६ कात्तिकदेखि मुकुन्द पराजुलीको नाम हट्यो, र २०४६ पुस अङ्कदेखि का.मु. सम्पादकमा आउनुभयो- श्रीप्रसाद गौतम ! सम्पादन समूहमा प्रधानसम्पादक र नायवको नाउँ वास्तवमा पदेन जिम्मेवारीको नाउँ हुन्थ्यो, काम त्यसपछिका नाउँहरूले गर्नुपथ्र्यो । यो परम्परा नै हो । त्यसैबीच दोस्रो जनआन्दोलन २०४६ को सफलता पश्चात गोरखापत्रका प्रधानसम्पादकमा बालमुकुन्ददेव पाण्डेलाई हटाएर व्यवस्थापनले श्रीप्रसाद गौतमलाई ल्यायो । उहाँकै अनुरोधमा २०४७ साउन १६ गतेदेखि म पनि युवामञ्चबाट गोरखापत्र कै लेखरचनामा फर्किएँ । अनि त्यसैबीच युवामञ्च पनि विभाग बनेर छुट्टै सम्पादकीय अस्तित्व कायम राख्दै प्रकाशित हुन थाल्यो ।
त्यसपछिका समयमा विभिन्न नीतिगत तहको संलग्नताका साथै मुना, युवामञ्च र गोरखापत्रको सम्पादकीय नेतृत्वका विविध जिम्मेवारी सम्हाले पनि मधुपर्कसँग मेरो प्रत्यक्ष सम्बन्ध हुन पाएन । २०६५ भदौ १५ मा दोस्रोपल्ट गोरखापत्रको प्रधानसम्पादकबाट हटाइएपछि भने बल्ल मलाई मधुपर्कको सम्पादकमा पठाइयो । यसरी यिनै उतारचढाव र बहुविध अनुभव-अनुभूतिका बीच लगभग २४ वर्षपछि मधुपर्क मासिकको सम्पादकीय नेतृत्व सम्हाल्न पुगेको थिएँ म । त्यो पुनरागमनमा मलाई बिरानोबाट घर फर्केको अनुभव भएको थियो ।
त्यही मधुपर्कको सम्पादनबाटै अनिवार्य अवकाश लिने तयारी गर्दागर्दै २०६५ असार १४ गते कार्यकारी अध्यक्षका रूपमा अर्को गहन जिम्मेवारी प्राप्त भयो । आफू सातौं तहको उप-सम्पदकमा प्रवेश गरेको संस्थामा लगभग तीस वर्षपछि त्यही संस्थानको कार्यकारी प्रमुखका रूपमा सरकारबाट गहन जिम्मेवारी पाउनु ठूलै अवसर र गौरवको कुरा हो मेरा लागि ! त्यसका लागि यो अवसर प्रदान गर्नुहुने र संस्थानभित्र मलाई सहयोग गर्ने सबै प्रति कृतज्ञ छु म !
